पञ्चायती : महानायकको फजुल बहस- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पञ्चायती : महानायकको फजुल बहस

अभिव्यक्ति स्वतन्त्रताको अति साधारण आम समझदारीलाई समेत आत्मसात् नगरी चलेको महानायकसम्बन्धी बहसमा क्षमायाचना र माफी बक्सको प्रकरण त्यस्तो ऐना हो, जहाँ सिनेमा क्षेत्रको बौद्धिकताको डरलाग्दो स्तर छर्लंग देखिन्छ ।
आहुति

काठमाडौँ — नेपाली सिनेमा र एकाध नाटकमा समेत विगत तीस वर्षदेखि क्रियाशील कलाकार राजेश हमाल सिनेमा क्षेत्रका महानायक हुन् वा होइनन् भन्नेबारे त्यस क्षेत्रमा रुचि राख्नेहरूबीच तात्तातो बहस चल्यो । सिनेमा क्षेत्रले उत्पादन गर्ने वैचारिकी र विभिन्न भाष्यका सम्बन्धमा नेपालका विश्वविद्यालयहरू र आम बौद्धिक जमात मूलतः सधैंजसो मौन रहँदै आएका छन् ।

त्यसैले यस बहसमा पनि आम बौद्धिक मौनतालाई आश्चर्यका रूपमा लिनुपर्ने अवस्था छैन । सामान्यतया यो मौनता वा उपेक्षा एउटा तर्कको आवरणमा उभिएको देखिन्छ— नेपाली सिनेमा स्तरीय छैनन्, तब के विमर्श गर्नु ! तर यो हेराइ न त तार्किक छ, न नै यथार्थसम्मत । नेपाली सिनेमाहरूमध्ये केही त अन्तर्राष्ट्रियस्तरमै समेत स्तरीय मानिन थालेका छन्, जसका बारेमा पनि बौद्धिक विमर्शहीन अवस्थाले गर्दा नेपाली सिनेमा स्तरहीन भएकाले विमर्श गर्नु आवश्यक छैन भन्ने तर्क मिल्दैन ।

अर्कातिर, सिनेमाहरू स्तरहीन छन् भने तिनले आम समाजमा घातक वैचारिकीलाई प्रवर्द्धन गरिरहेका हुन सक्छन् । तब त त्यसबाट आम मानिसको चेतनालाई रक्षा गर्न र तिखार्न बौद्धिक क्षेत्र झनै तीव्रताका साथ अगाडि पो आउनुपर्ने हुन्छ । सिनेमाको शैशवकाललाई मूल्यांकन गर्दै सिनेमाको प्रथम समालोचक मानिने रुसी लेखक म्याक्सिम गोर्कीले भनेका थिए- सिनेमा कला क्षेत्रको बहुआयामिक प्रभावकारी माध्यम हो । साहित्य, संगीत लगायतका ललितकलाका विभिन्न माध्यमले मानिसको चेतनाको रूपान्तरणका निम्ति मनोरञ्जनात्मक प्रभाव पार्छन् भन्ने सर्वस्वीकार्य मान्यताबाट हेर्दा सिनेमाले ललितकलाका सबैजसो रूपलाई अन्तरघुलन गरेर घनीभूत रूपमा चेतना प्रक्षेपण गर्ने तागत राख्छ भन्ने तथ्यलाई स्विकार्नैपर्ने हुन्छ । यस्तो विषयमा आम बौद्धिक क्षेत्रको उदासीनता एउटा घातक दुर्भाग्यबाहेक केही होइन र यो दुर्भाग्यपूर्ण सिलसिला जतिसक्दो छिटो समाप्त हुनु आवश्यक छ । महानायकसम्बन्धी बहसमा बौद्धिकहरूको चासो यसकारणले हुनु आवश्यक भएको होइन कि त्यस बहसका वादी वा प्रतिवादीमध्ये एक खेमालाई मजबुत बनाउनु जरुरी छ, बरु यसकारणले कि भनाभनको स्तरसम्म समेत गिर्न पुगेको त्यो बहसले टुंग्याउनीमा पुग्दा गलत वैचारिकी र नजिर बनाउन पुग्यो ।

हास्यव्यंग्य कलाकारितामा बढी काम गरेकी कलाकार दीपा निरौलाले एक टेलिभिजन कार्यक्रममा राजेश हमालको महानायकीमाथि प्रश्न उठाएपछि बहस र भनाभन सुरु भयो । सामाजिक सञ्जालमार्फत हमालका फ्यानले निरौलामाथि हजारौं बौबाती बोले र हमाल महानायक नै भएको जिकिर गरे । त्यसपछि हमालको महानायकीलाई प्रमाणित गर्न सो क्षेत्रमा गनिएका केही निर्देशक, कलाकार र निर्माताहरू देखा परे । लगातारको प्रहार र आलोचनाबीच कलाकार निरौलाले आफ्नो गल्ती भएको स्वीकार गर्दै क्षमायाचना गरिन् तर पनि बौबाती प्रहार रोकिएन । त्यही सिलसिलामा निरौला पक्षका कलाकार दीपकराज गिरी प्रकट भए क्षुब्ध, तिक्त र रातोपिरो मुद्रामा । उनले निरौलाबाट गल्ती भएकाले क्षमायाचना गरिसकेपछि पनि किन लगातार प्रहार जारी छ भन्दै त्यस काण्डलाई अन्त्य भएको देख्न चाहे । फर्मुला सिनेमाको अन्त्यमा ‘हिरोको पालो आउँछ’ भनेजस्तै चालमा राजेश हमाल सामाजिक सञ्जालमा प्रकट भए र आफ्ना फ्यानलाई गल्ती गर्नेलाई माफी दिन सिफारिस गरे ।

यसप्रकार कलाकार हमाल महानायक हुन् कि होइनन् भन्ने प्रश्न तत्कालका लागि अन्ततः ठेगान लाग्यो किनभने प्रश्न उठाउने पक्षले माफी माग्यो र ‘महानायक’ पक्षले माफी दियो । यो बहसमा दीपेन्द्र लामासहितका एकाध निर्देशक र कलाकारले वैकल्पिक दृष्टिकोण राख्न पनि खोजे तर त्यो प्रवृत्तिका रूपमा मुखर हुन सकेन । सिनेमा क्षेत्रकै पाको पुस्ताकाहरू यो बहसमा कहाँ उभिए, कसैलाई सायद पत्तो भएन । उनीहरू बोल्न नसक्ने अवस्था थियो वा बोल्नैपर्ने अवस्था नआउँदै विवाद सकियो, त्यो उनीहरूलाई नै थाहा होला । नेपाली सिनेमा इतिहासको राम्रो ज्ञाता प्रकाश सायमी पनि यसबीच पर्दामा उपस्थित भए तर यस विवादलाई सही दिशा दिने वैचारिकी उनीबाट आउन सकेन । वैकल्पिक सिनेमा बनाइरहेका अनि बहस चलाइरहेका नवीन सुब्बा, अनुप सुवेदी, छिरिङ रितारहरूले सायद यसलाई अनावश्यक देखेर आफ्नो समय लगाएनन् । तर जुनै कारणले भए पनि सचेत मान्छेले मौनता साध्न मिल्ने वा उपेक्षा गर्न मिल्ने विषय यो हुँदै होइन किनकि यस्ता बहसका निष्कर्षले समाजको युवा पुस्तालाई गहिरो गरी प्रभाव पार्छन् ।

आज संसारभरि नै सिनेमा क्षेत्रलाई बुझ्ने दुई मुख्य विपरीत अवधारणा छन् । एक— सिनेमा मुख्यतः उद्योग–व्यवसाय हो । त्यसपछि मात्रै कला हो । दुई- सिनेमा मुख्यतः कला क्षेत्र हो । व्यवसाय सहायक विषय हो । नेपालमा पनि स्वतः नै सिनेमा क्षेत्र यी दुई दृष्टिकोणमा विभक्त छ । यो कुरा बेग्लै हो, सिनेमा मुख्यतः कला क्षेत्र हो भनी मान्ने खेमा नेपालमा अत्यन्त कमजोर छ र सिनेमा मुख्यतः उद्योग–व्यवसाय हो भन्ने खेमा लगातार बलशाली छ । महानायकसम्बन्धी बहसमा प्रवेश गर्न यो वैचारिक खेमाबन्दीलाई बुझ्नु अनिवार्य छ । कलाकार हमाल महानायक हुन् कि होइनन् भन्ने बहसचाहिँ सिनेमा मूलतः उद्योग व्यवसाय हो, सहायक मात्र कला हो भन्ने वैचारिक खेमाभित्रको हो । जब सिनेमाजगत्लाई नै मूलतः नाफा कमाउने धन्दाका रूपमा बुझेर संरचना गरिन्छ, त्यसभित्र नाफाका निम्ति गरिने हरेक उद्यम स्वाभाविक बन्न पुग्छ । जे गर्दा नाफा हुन्छ, त्यही गर्न प्रेरित हुनुलाई नै आफ्नो आदर्श बनाएपछि नाफाको धन अनि नाफामा कमाइने प्रख्याति पनि आफ्नै नातामा, आफ्नै कृपामा सीमित पार्ने प्रपञ्च अनिवार्य बन्छ ।

त्यसै गरी बजार कब्जा गर्न चाहने फरकफरक नाफामुखी गुटहरू एकआपसमा प्रतिस्पर्धा र एकआपसलाई निषेध गर्ने उपद्रवमा लाग्नु पनि स्वाभाविक बन्छ । नाफाका निम्ति खेलिने यस्ता खेल जति ठूलो व्यावसायिक क्षेत्र हुन्छ, त्यति नै ठूला हुन्छन् । भारतीय सिनेमा क्षेत्रमा नाफा र प्रख्यातिको वर्चस्वको लडाइँ कुन स्तरमा सिनेमा व्यापारिक घरानाबीच घीनलाग्दो गरी जुधानमा छ भन्ने कुरा त त्यही चक्रव्यूहलाई झेल्न नसक्दा कलाकारहरू आत्महत्या गर्ने स्तरको निराशामा पुग्ने दृष्टान्तले पनि प्रस्ट पार्छ । नेपालमा सिनेमा व्यवसाय अकुत नाफाको क्षेत्र नबने पनि भाँति पुर्‍याएर काम गर्दा समाज सापेक्षतामा मनग्गे नाफा बटुल्न सकिने क्षेत्र त बनिसकेकै छ ।

त्यसैले ‘महानायक’ वाला बहस सिनेमालाई धन्दाका रूपमा बुझ्ने खेमाहरूबीचको एउटा सानो झडप रहेको बुझ्न खासै कठिनाइ पर्दैन । माफी माग्ने निरौला खेमाका दीपकराज गिरीले ‘...बरु गाउँमा गएर हलो जोतेर बाँचौंला !’ भन्नुको सार पनि धन्दाको पिरलोको वरपर नै छ ।

सामन्तवादी युगमा आम जनतालाई शासित बनाइरहन नै महानताको अवधारणा बनेको थियो । युरोपमा पिटर महान् वा एसियामा गौतम बुद्धलाई भगवान्को उपाधि त्यस समयका शासक वा शासनबाट फाइदा लिन सक्षमहरूले बनाएका थिए । वास्तवमा विज्ञानका सबै शाखाको निचोडलाई एक ठाउँ राखेर संश्लेषण गर्ने हो भने, मानिसहरू फरकफरक भूमिकामा हुन्छन् तर कोही पनि अर्कोभन्दा महान् हुन सक्दैनन् भन्ने निष्कर्ष नै अगाडि आउँछ । एउटै क्षेत्रमा काम गर्नेहरूमध्ये कोही अब्बल र कोही कमसल हुन सक्छन् तर जीवनका निम्ति अनिवार्य अर्को सन्दर्भमा अब्बलहरू कमसल र कमसलहरू अब्बल भइरहेका हुन्छन् । सामन्तवादी संस्कृतिअनुरूप नेपालमा शासकहरू वा शासकहरूकै वैचारिकी लागू गर्नेहरूले साहित्य–कलाका क्षेत्रमा कविशिरोमणि, आदिकवि, महाकवि, आशुकवि, नाट्यसम्राट्, स्वरसम्राट्, स्वरकिन्नरी, राष्ट्रकवि जस्ता क्रूर मानक पदवीहरू निर्माण गरे । वास्तवमा ती पदवीबाट सम्बोधित व्यक्तिहरू आफ्नो समयका र क्षेत्रका सकारात्मक वा नकारात्मक विशिष्ट प्रतिभा त थिए, तर तत्कालीन समय र भविष्यसम्मका निम्ति कुनै पनि मानेमा महान् मानक प्रतिभा थिएनन् किनकि त्यस्तो हुन सम्भवै थिएन । आजको युगमा ज्ञान त सबैलाई हुनुपर्छ, समाज वर्गीय छ । समाज समुदायगत संस्कृतिमा विभक्त छ र साथै रुचिगत विभिन्नतामा समेत फरकफरक छ ।

यस्तो अवस्थामा कुनै पनि क्षेत्रको खास पात्र, सबै वर्ग, समुदाय र रुचिगत क्षेत्रका निम्ति आदर्श वा महानायक कसरी बन्न सक्तछ ? त्यसैले महानताको अवधारणा खास विषयमा उम्दा वा ठूलो काम गर्न सक्ने व्यक्तिका रूपमा मात्र ठीक हो, जुन समाजका सबै व्यक्तिको फरकफरक गुणमा वा सन्दर्भमा लागू हुन्छ । अर्थात्, सबै व्यक्ति अन्ततः महान् हुन्छन् । त्यसैले महावाला अवधारणा अन्य मान्छेहरूलाई कमसल सिद्ध गर्ने विचार हो र त्यो कदापि ठीक होइन । राजेश हमाल नेपाली समाजको परम्परागत हिन्दू उच्च जातबाट सिनेमा क्षेत्रमा आए । उनी हुर्केको समाजमा नृत्यकर्म कमसल मानिन्थ्यो, तर पनि उनी त्यही क्षेत्रमा आए । देश–विदेशको औपचारिक शिक्षाले पनि उनलाई अन्य क्षेत्रमा तानेन । परिवारको उपेक्षाका बावजुद उनी सिनेमा क्षेत्रमै लागे । त्यो कलाकार हमालको कला क्षेत्रप्रतिको लगाव थियो । त्यो सम्मान गर्न लायक छ । तर त्यसको अर्थ अरूले चाहिँ त्यस क्षेत्रमा आउँदा सम्मानयोग्य कामै गरेनन् भन्ने त होइन । चलचित्र क्षेत्रमा आउनेमध्ये हमाल जीविका गर्न आएका थिएनन्, तब प्रख्यातिपछि पनि सिनेमालाई विश्वस्तरको वैचारिकीमा लैजान उनले केही मिहिनेत गरेको भए पनि हुने थियो तर त्यस्तो पहल सार्वजनिक भएन किनकि त्यस्तो उनले केही गरेनन् । व्यक्तिगत रूपमा कोही असल हुनु राम्रो कुरा हो तर त्यही कुरा अरूमाथि शासन गर्ने हतियार बन्नु कसरी सही हुन्छ र ?

कुनै कलाकार वा अन्य क्षेत्रका व्यक्तिलाई धेरै मानिसले मन पराउन सक्छन्, त्यही व्यक्तिलाई अर्को ठूलो जमातले मन नपराउन वा घृणा गर्न पनि सक्छन् । यो त सामान्य कुरा हो । मानिसको चेतनाको एउटा अवस्थामा प्रिय लागेको वस्तु चेतनाको अर्को अवस्थामा अप्रिय लाग्छ । एक समयका प्रेमीहरू अर्को कालखण्डमा मुखै हेर्न नचाहने बिराना पात्रहरूमा रूपान्तरण हुन्छन् नि, हैन र ? त्यसैले कोही मन पर्नु र आफ्नानिम्ति महान् लाग्नु वा पटक्कै मन नपर्नु भनेको मानिसको मनको नितान्त व्यक्तिगत भावनात्मक अवस्था हो । त्यस्तो भावनात्मक मनको अवस्थालाई सामाजिक मानक अवधारणा बनाएर त्यससँग असहमति राख्नेमाथि लाद्न मिल्दैन र लाद्नु अत्याचारबाहेक केही हुँदैन । ‘मलाई मेरो प्रेमी संसारकै सबैभन्दा सुन्दर लाग्छ, तँलाई पनि त्यस्तै लाग्नैपर्छ’ भन्न मिल्छ र ? त्यसैले यस्तो विषयमा अड्डी कसेर एकले अर्काको नूर गिराउने गरी चलेको बहस र भनाभन वास्तवमै बौद्धिक दरिद्रतासिवाय केही होइन ।

महानायकसम्बन्धी बहसको सांगे फेरि जसरी भयो, त्यो त झनै उदेकलाग्दो छ । कलाकार निरौला पक्षले कुनै गल्ती गरेकै होइन, तब माफी किन मागेको ? गल्ती नै नगरेकालाई गल्ती गरिस् भनेर माफी दिने भाँडभैलो फेरि किन गरेको ? निरौलालाई कोही व्यक्ति महानायक नलाग्न सक्छ र त्यो कुरा सार्वजनिक रूपमा भन्ने उनको अधिकार स्वतःसिद्ध छ । उनको अभिव्यक्तिसँग असहमत हुन पनि अरूले स्वतः पाउँछन् नै । यहाँ क्षमायाचना र माफी बक्सको अवस्था कसरी आउन सक्छ ? यस्तै ढंगले सोच्न थाल्ने हो भने राजनीतिक क्षेत्रमा हालत के होला ? प्रत्येक पार्टीको नेता उसको कार्यकर्तालाई ठीक वा महान् लागेको हुन्छ तर अर्को पार्टीको कार्यकर्ताका निम्ति बेठीक वा गद्दारसम्म लागेकै हुन्छ र त्यो कुरा सार्वजनिक रूपमा उनीहरूले पटकपटक भनिरहेका हुन्छन् । सिनेमा क्षेत्रकै पाराले व्यवहार गर्ने हो भने त प्रत्येक गल्तीमा फरक पार्टीका कार्यकर्ताबीच काटाकाट गर्नुपर्ने हुन्छ । त्यसैले अभिव्यक्ति स्वतन्त्रताको अति साधारण आम समझदारीलाई समेत आत्मसात् नगरी चलेको महानायकसम्बन्धी बहसमा क्षमायाचना र माफी बक्सको प्रकरण त्यस्तो ऐना हो जहाँ सिनेमा क्षेत्रको बौद्धिकताको डरलाग्दो स्तर छर्लंग देखिन्छ । यस फजुल बहसले सिकाएको गम्भीर पाठ यही नै हो— नेपाली सिनेमा क्षेत्रमा व्यापक सामाजिक आयाममा बौद्धिकता निर्माणका निम्ति गर्नुपर्ने काम अझै पनि रोगीको भाँति थला परेकै छ ।

(आइतबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : श्रावण १०, २०७७ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्

खोकनाको चीत्कार सुन !

विकास र प्रगति हुन्छ भन्ने नारा दिने तर कसरी हुन्छ भन्ने प्रश्नको उत्तर गायब गर्ने, झन् विकास कसैको विनाशमाथि गर्न मिल्दैन भन्यो भने विकासविरोधी बिल्लाको लाठोले ठोक्ने प्रवृत्तिलाई अब पनि खपिरहन नेपाली समाज किन बाध्य हुनुपर्ने ?
आहुति

गत असार २० गते ललितपुर जिल्लाको खोकनामा स्थानीय समुदायका पन्ध्र जना र प्रहरीतर्फ चार जना घाइते हुने गरी झडप भयो । काठमाडौं–तराई द्रुतमार्ग निर्माणका निम्ति सरकारले अधिग्रहण गर्ने निर्णय गरेको ३०० रोपनी जग्गामा स्थानीय समुदायले गर्न थालेको रोपाइँ रोक्न प्रहरीले प्रयत्न गर्दा त्यस्तो स्थिति बनेको थियो ।

झडपको खबर फैलिएपछि थोरै भए पनि त्यसतिर मानिसहरूको ध्यान खिचिन थालेको छ । तर जुन स्तरमा बहस सृष्टि हुनु जरुरी छ, त्यो भने हुन सकेको छैन । राज्यका निकाय र कतिपय व्यक्तिले खोकनाले उठाएको आवाजलाई केवल जग्गाको मुआब्जा नपुगेको असन्तुष्टिको स्तरमा सीमित बनाउन चाहेको देखिन्छ । विषयको गम्भीरता भने त्योभन्दा निकै गहिरो छ । द्रुतमार्गका लागि खोकना र बुङमती क्षेत्रको जमिन अधिग्रहण गर्ने निर्णयसँगै राज्यले तोकेको मुआब्जा लिन आह्वान गरेको समयसीमाभित्रै सरोकारवाला समुदायले आफ्नो असन्तुष्टिको निवेदन २०७२ सालमै जिल्ला प्रशासन र प्रधानमन्त्री कार्यालयमा पेस गरेका थिए । तर त्यसको सुनुवाइ भएन, बरु धमाधम निर्माणको योजना जारी राखियो । समुदायले संघर्षका कार्यक्रमहरूमार्फत आफ्नो असहमतिलाई संगठित रूपमा व्यक्त गर्न थालेपछि २०७५ सालमा त्यस क्षेत्रका संघीय सांसदको रोहबरमा सरोकारवाला प्रतिनिधिहरू, द्रुतमार्ग आयोजना प्रमुख, विद्युत् प्राधिकरणका निर्देशक, बाहिरी चक्रपथ आयोजना प्रमुख आदिबीच समस्यालाई निकास दिन सम्झौता भयो । तर त्यो पनि कता थन्क्याइयो, अत्तोपत्तो भएन । राज्यले निर्माण गर्ने आयोजनाहरूसँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय बासिन्दाको चासोलाई प्राथमिकतामा राख्नुपर्ने विश्वव्यापी मान्यतालाई ६ वर्षसम्म ठोस सम्बोधन गर्ने इच्छा राज्यले नदेखाउनु र उल्टै आज दमनमा उत्रिने ढाँचाकाँचा देखाउनुलाई कदापि सही मान्न सकिन्न ।

करोडौं पर्ने जमिन अत्यन्तै कम मूल्यमा गुमाउनुपर्ने पीडा त खोकनाको चीत्कारभित्र छ नै, त्यसभन्दा पनि बढी सिंगै बस्ती र आफ्ना सांस्कृतिक सम्पदाहरू ध्वस्त हुने आकलनबाट समुदाय आतंकित अनि आक्रोशित छ । विश्वकै सम्पदाविज्ञहरूको ध्यान खिच्न सफल रातो मच्छिन्द्रनाथदेखि थुप्रै धार्मिक–सांस्कृतिक सम्पदाहरू खोकना र बुङमतीमा छन् । त्यसो त परम्परागत नेवार बस्ती नेपालका सन्दर्भमा आफैंमा सांस्कृतिक सम्पदाको स्तरका हुन् । वास्तवमा त्यस्तो सयौं वर्ष पुरानो सम्पदामय बस्ती र सम्पदाको रक्षाको सवालमा पूरै देशको ध्यान जानु आवश्यक छ ।

काठमाडौं–तराई द्रुतमार्ग, १३२ केभी विद्युत् प्रसारण लाइन, बाहिरी चक्रपथ, वाग्मती कोरिडोर, नयाँ स्याटेलाइट सहर अनि काठमाडौं–तराई रेलमार्गजस्ता चालु वा परिकल्पित ठूला आयोजनाहरूको एउटा मुख्य द्वारविन्दु बनेको छ खोकना–बुङमती क्षेत्र । यदि त्यस सम्पदामय बस्तीको सुरक्षाको सवाललाई केन्द्रमा नराख्ने हो भने ती आयोजनाहरूले बस्तीलाई सर्लक्कै निल्ने भविष्यको दृश्य जोकोहीले आज सजिलै देख्न सक्छ । त्यसमध्ये पनि बाहिरी चक्रपथ कुन आवश्यकताले बनाउन लागिएको हो भन्ने विषय निकै खतरनाक देखिन्छ । आज वाग्मती उपत्यकाका सबै वडासम्म मोटरबाटो पुगेको छ, तब नयाँ चक्रपथ केका लागि ? अहिले पुगिसकेका बाटाहरूको स्तरोन्नतिले बस्तीको कुनचाहिँ आवश्यकता धान्न सक्तैन ? हालको चक्रपथबाट बढीमा पाँच किलोमिटर दूरीमा अर्को चक्रपथको निर्माण कुनै तर्कबाट पनि सही ठहर्दैन । बाहिरी चक्रपथ बनाउने अवधारणा भूमाफियाहरूको स्वार्थबाट स्वतन्त्र छ भन्ने पुष्टि गर्ने कुनै ठोस दलिल छैन । बाहिरी चक्रपथ बनाएपछि वाग्मती उपत्यकाको बचे–खुचेको प्राकृतिक पर्यावरण पनि सकिनेछ र यो एउटा शुद्ध कंक्रिटको जंगलमा रूपान्तरण हुनेछ । यही हो त अबको नेपालको वैज्ञानिक सहरीकरणको दिशा ? अनि सामुदायिक रूपमा चाहिँ सबैभन्दा बढी मार नेवार समुदायलाई नै पर्नेछ । एउटा चक्रपथको निर्माणपछि नेवारको

जनसंख्या बहुमतबाट ह्वात्तै तल झर्ने परिस्थिति आयो, अर्को चक्रपथ पनि बनेपछि नेवारको जनसंख्या निरीह अल्पसंख्यकमा पुग्नेछ । वाग्मती उपत्यकामा नेवारको जनसांख्यिक अल्पसंख्यता भनेको यहाँका सम्पदाहरूमाथिको तीव्र विनाशकरणको सिलसिला नै त हुनेछ ! त्यसैले हजार वर्षमा पनि बनाउन नसकिने सम्पदाहरू विकासका नाममा क्षणभरमै भताभुंग हुन सक्नेतर्फ सबैको ध्यान जानैपर्छ । अर्को कुरा, के नेपालमा खेतीयोग्य जमिनको रक्षाको मुद्दा नै अन्त्य गरिएको हो र ? होइन भने विकास–निर्माणका सन्दर्भमा त्यस पक्षलाई मनग्गे ख्याल त गर्नैपर्छ । त्यस कोणबाट पनि खोकना–बुङमतीको आजको सवाललाई हेरिनु नै पर्छ किनभने त्यहाँको खेतीयोग्य जमिन मात्र वाग्मती उपत्यकामा थोरै बचेको सग्लो खण्ड हो । ठूला आयोजनाहरू ठीक वा बेठीक जस्तो नियतले तर्जुमा गरिए पनि त्यससँग बहुआयाममा अर्बौं पुँजीको चलखेल हुन्छ । मूल ठेकेदार, साना ठेकेदारहरू, राजनीतिक र प्रशासनिक क्षेत्रका कमिसनखोरहरू, निर्माण सामग्री उत्पादक कम्पनीहरू, सप्लायरहरू र आयोजना निर्माणपछि सबैभन्दा बढी लाभ उठाउने समूहहरूको दृश्य–अदृश्यमा चलखेलको बवन्डर नै चल्छ । यस प्रकारका आयोजनावरपर नेपालमा भूमाफियाहरूको सलबलाहट सबैभन्दा बढी हुने गरेको छ ।

राज्यको रोहबरमा हुने त्यस किसिमको आर्थिक चलखेलको बवन्डरबीच आयोजनाको लपेटमा आउने गरेको स्थानीय समुदायचाहिँ सबैभन्दा निरीह अनि असहाय अवस्थामा थिलथिलो हुने दृष्टान्त नै आम रूपमा बढी छ । नेपाली समाजको सचेत तप्काले उपेक्षा गर्ने हो भने, खोकनाको चीत्कारलाई पनि अन्ततः विकासविरोधीका रूपमा डामेर त्यसमाथि डोजर कुदाई किचीपिची पार्ने सम्भावना नै बढी छ । शाह र राणा शासकहरूले गरेको सामुदायिक सम्पत्ति र सम्पदाहरूको लुटको सिलसिलाले विशाल कमलपोखरीहरूमा आज निजी छायादेवी कम्प्लेक्सहरू बन्न पुगे । टुँडिखेल टीठलाग्दो गरी खुम्चियो । सामुदायिक पोखरी, चरीचरनहरूमा भटाभट निजी दरबार र हवेलीहरू खडा गरिए । २००७ सालदेखि सुरु भएको आधुनिक विनाशकारी विकासको मोडलले वाग्मती उपत्यकाका खेतीयोग्य जमिन, सङ्ला नदीहरू, हराभरा पोखरीका स्रोतहरू र ढुंगेधाराहरू भटाभट निल्यो । हेर्दाहेर्दै काठमाडौं मलको जगले सुनधारा खायो । शासक–प्रशासकहरूका भातभान्सालाई न्यानो बनाउने कर्तुतकै काखीबाट वाग्मती उपत्यकाका चारैतिर पर्यावरणीय महत्त्वका थुम्काहरूमा सयौं अदृश्य कर्मका गुम्बाहरू बन्न पुगे र थपिँदै छन् । त्रिभुवन विश्वविद्यालयका निम्ति बलात् जग्गा अधिग्रहणका पीडित कीर्तिपुरका नेवारको आँसु अझै ओभाइसकेको छैन । यस्तो सरकारी अधिग्रहणहरूको मैमत्त नृत्यबाट थातथलो गुमाएर दरपुस्ता क्रूर उठीबासमा धकेलिएका उपत्यकावासीको कथाका पीडादायी दहहरू निकै गहिरा छन् । शाह र राणाहरूको शासनदेखि आजसम्म चाहे शासकहरूको भोगविलासका निम्ति होस् चाहे आधुनिक विकासका नाममा, वाग्मती उपत्यकामा सबैभन्दा मारमा परेको समुदाय नेवार नै हो । आफ्नो जमिन, आफ्ना परम्परागत सभ्यताकृत सम्पदाहरू विकासका नाममा गुमाएर नेवार समुदायले त्यसको लाभांश कति प्रतिशत पायो ? वास्तवमा आजको खोकनाको चीत्कारलाई इतिहासदेखि हुँदै आएको बेइमानीप्रति उठाइएको एउटा गतिलो सवालका रूपमा बुझ्नैपर्छ । खोकनाले भन्यो, ‘हामीसँग वार्ता गर्ने भए हाम्रो भाषा बुझ्ने मान्छे लिएर आऊ !’ यो भनाइको सानदार प्रतीकात्मक ऐतिहासिक अर्थ यही त लाग्छ— हामीसँग कहिल्यै ठीक ढंगले संवाद नै गरिएन; षड्यन्त्र मात्र गरेर लुटियो ! खोकनाको आजको प्रतिरोधलाई अझ यतिले मात्र पनि गहिराइमा अनुभूति गर्न नसकिएला । त्यसका निम्ति समाजशास्त्रका आप्रवासीबारेका केही निचोड र नेपालको विगत अढाई सय वर्षको इतिहासलाई पनि अगाडि राखेर हेर्नु आवश्यक छ ।

वाग्मती उपत्यकामा गोपालवंशी, महिषपालवंशी, किरात आदि जातिको बसोबास रहेको उल्लेख इतिहासमा पाइन्छ । तर उपत्यकालाई सर्वांगीण रूपमा सभ्यताकृत गर्ने कामचाहिँ लिच्छवि र मल्लहरूको राज्यकालमै बढी हुन पुग्यो । इसाको दोस्रो शताब्दीमा लिच्छविहरूको वाग्मती उपत्यकामा प्रवेशदेखि मात्र गणना गर्दा पनि यो सभ्यता करिब २,००० वर्षको हो । विभिन्न समयमा उपत्यका प्रवेश गरी बसोबास गरेका विभिन्न प्रजातिबीचबाट विकसित नेवार भाषाले एउटा राष्ट्रका रूपमा नेवार समुदाय निर्मित हुन पुग्यो र २,००० वर्षको सम्पदामय सभ्यताको सबैभन्दा पछिल्लो उत्तराधिकारीका रूपमा नेवार जाति अगाडि आयो । यो उत्तराधिकार नेवार समुदायले स्वाभाविक प्रक्रियामा प्राप्त गरेको थियो । त्यसैले त्यससँग गहिरो लगाव पनि उसैको हुने भयो र अझै छ । तर पृथ्वीनारायण शाहको शासनपछि उपत्यकाको हालहुकुम आप्रवासीका हातमा गयो । शाह या राणाहरू या आजसम्मकै मूल शासकको डफ्फा उपत्यकाबाहिरबाटै आउने क्रम चलिरहेकै छ । आप्रवासीको मूल ध्याउन्ना आफूलाई रैथाने बनाउनेमा हुनु स्वाभाविक छ । आप्रवासी जमात शासक भए शासन कसरी दीर्घजीवी बनाउने र स्रोत कसरी कब्जा गर्ने भन्ने नै मुख्य उद्देश्य हुने भयो । आप्रवासी जमात सामान्य नागरिक रहेछ भने, जीविका कसरी सुगम बनाउने भन्ने नै मुख्य सरोकारको विषय बन्न पुग्छ । आप्रवासीका निम्ति नयाँ ठाउँको पर्यावरण, सम्पदा र संस्कृति जोगाउने विषय प्राथमिकतामा पर्नै सक्तैन किनभने त्यसको महत्त्व र व्यापकतासँग उसको अनुराग जोडिएकै हुन्न । आप्रवासीहरू रैथाने बन्ने पुस्तौंको प्रक्रियापछि मात्र त्यहाँको प्रकृति, सम्पदा र संस्कृतिप्रति स्वाभाविक अनुराग निर्माण हुने हो । वाग्मती उपत्यकामा अढाई सय वर्षदेखि आप्रवासीसम्बन्धी यही समाजशास्त्रीय परिघटना लगातार घट्दै आयो । जो शासक रहँदै आए, उनीहरूलाई वाग्मती उपत्यकाको प्रकृतिको लय, सम्पदा र संस्कृतिबारे न गम्भीर ज्ञान नै भयो न त अनुराग नै । जो २,००० वर्षदेखिको सभ्यताको उत्तराधिकारी नेवार समुदाय थियो, उसले प्रकृति, सम्पदा र संस्कृतिबारे मूलतः निर्णय गर्नै पाएन, बरु दमनमा पो पर्दै आयो । प्रत्येक जाति–समुदायलाई एकअर्कोबाट तलमाथि सिद्ध गर्ने जातवादी शासनको वैचारिकीले नेवारबारे ‘नेवार इष्ट र बाउ दुष्ट कहिल्यै हुँदैन’ भन्ने भाष्यलाई प्रचार गर्‍यो, जसका कारण जनस्तरमा स्वाभाविक रूपमा पैदा हुने सुमधुरतामा समेत लगातार बाधा उत्पन्न हुँदै आयो । वाग्मती उपत्यकाको पर्यावरण, खेतीयोग्य जमिनको विनाश अनि सम्पदाहरूको नष्टीकरणको मुख्य ऐतिहासिक गुदी कारण यही नै हो, नत्र नदीभित्र अपान वायुसम्म छाड्न हुन्न भन्ने संस्कृतिको नेवार ज्ञानले निर्णय गर्न पाएको भए वाग्मतीमा फोहोर मात्रै बग्ने आजको दुर्भाग्यपूर्ण परिस्थिति जन्मिन सम्भव हुन्थ्यो होला त ? कदापि हुने थिएन ।

त्यसकारण नेपालको इतिहासका दुर्भाग्यपूर्ण यी कटु सत्यहरू, आधुनिक पुँजीवादी राज्यहरूले विकासका नाममा स्थानीय जनतामाथि लादेका तमाम दलनहरू र पर्यावरण एवं सम्पदाविरोधी हर्कतहरूलाई एक ठाउँमा राखेर हेर्ने हो भने, पहिलो निष्कर्ष सबैका अगाडि टड्कारो भएर आउँछ— स्थानीय समुदायको सरोकारलाई सर्वप्रथम न्याय गर्नुपर्छ, उनीहरूलाई चित्त बुझाउनैपर्छ र उनीहरूसँग कपटमा आधारित होइन जीवन्त संवाद गरिनुपर्छ । विकास र प्रगतिविरोधी एकाध व्यक्ति नियतवश हुन सक्छन्, तर सिंगै समुदाय कहिल्यै हुनै सक्तैन । विकास र प्रगति हुन्छ भन्ने नारा दिने तर कसरी हुन्छ र कसको प्रगति हुन्छ भन्ने प्रश्नको उत्तर गायब गर्ने, झन् विकास कसैको विनाशमाथि गर्न मिल्दैन भन्यो भने विकासविरोधी बिल्लाको लाठोले ठोक्ने प्रवृत्तिलाई अब पनि खपिरहन नेपाली समाज किन बाध्य हुनुपर्ने ? आधुनिक पुँजीवादी राज्यहरूले विकासका नाममा विश्वव्यापी रूपमा स्थानीय जनतामाथि बीभत्स कहरको पराकाष्ठा नाघेपछि नै अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को अभिसन्धि जन्मिन पुगेको तथ्यलाई नेपालका शासकहरूले कदापि बिर्सन मिल्दैन । नेपालका वर्तमान शासकहरूले आफूलाई जनहित पक्षको महानतम योद्धा दाबी गरिरहेका छन् । तर त्यति धेरै महानतम उदारता पनि परेन, कम से कम विश्वका निकृष्टभन्दा निकृष्ट शासकहरूले समेत प्रतिबद्धता जनाएको आईएलओको

अभिसन्धिको बुँदा १६९ को व्यवस्था त इमानदारीपूर्वक खोकनाका सन्दर्भमा अख्तियार गर्न तयार होऊन्, जसमा लेखिएको छ— ‘सम्बन्धित जनताले भोगिआएको भूमिबाट उनीहरूलाई हटाइनेछैन’ र ‘ठाउँसारी आवश्यक भएमा उनीहरूको स्वतन्त्र र सुसूचित सहमति लिएर मात्र त्यस्तो ठाउँसारी गरिनेछ ।’ यति गर्न पनि शासकहरू तयार हुन्नन् भने स्वाभाविकै रूपमा यी मुद्दा खराब व्यवस्था र खराब शासकविरुद्धको आगामी कठोर राजनीतिक आन्दोलनको एउटा अनिवार्य पृष्ठभूमि बन्ने नै छन् ।

प्रकाशित : असार २८, २०७७ ०९:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×