कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

पञ्चायती : महानायकको फजुल बहस

अभिव्यक्ति स्वतन्त्रताको अति साधारण आम समझदारीलाई समेत आत्मसात् नगरी चलेको महानायकसम्बन्धी बहसमा क्षमायाचना र माफी बक्सको प्रकरण त्यस्तो ऐना हो, जहाँ सिनेमा क्षेत्रको बौद्धिकताको डरलाग्दो स्तर छर्लंग देखिन्छ ।
आहुति

काठमाडौँ — नेपाली सिनेमा र एकाध नाटकमा समेत विगत तीस वर्षदेखि क्रियाशील कलाकार राजेश हमाल सिनेमा क्षेत्रका महानायक हुन् वा होइनन् भन्नेबारे त्यस क्षेत्रमा रुचि राख्नेहरूबीच तात्तातो बहस चल्यो । सिनेमा क्षेत्रले उत्पादन गर्ने वैचारिकी र विभिन्न भाष्यका सम्बन्धमा नेपालका विश्वविद्यालयहरू र आम बौद्धिक जमात मूलतः सधैंजसो मौन रहँदै आएका छन् ।

पञ्चायती : महानायकको फजुल बहस

त्यसैले यस बहसमा पनि आम बौद्धिक मौनतालाई आश्चर्यका रूपमा लिनुपर्ने अवस्था छैन । सामान्यतया यो मौनता वा उपेक्षा एउटा तर्कको आवरणमा उभिएको देखिन्छ— नेपाली सिनेमा स्तरीय छैनन्, तब के विमर्श गर्नु ! तर यो हेराइ न त तार्किक छ, न नै यथार्थसम्मत । नेपाली सिनेमाहरूमध्ये केही त अन्तर्राष्ट्रियस्तरमै समेत स्तरीय मानिन थालेका छन्, जसका बारेमा पनि बौद्धिक विमर्शहीन अवस्थाले गर्दा नेपाली सिनेमा स्तरहीन भएकाले विमर्श गर्नु आवश्यक छैन भन्ने तर्क मिल्दैन ।

अर्कातिर, सिनेमाहरू स्तरहीन छन् भने तिनले आम समाजमा घातक वैचारिकीलाई प्रवर्द्धन गरिरहेका हुन सक्छन् । तब त त्यसबाट आम मानिसको चेतनालाई रक्षा गर्न र तिखार्न बौद्धिक क्षेत्र झनै तीव्रताका साथ अगाडि पो आउनुपर्ने हुन्छ । सिनेमाको शैशवकाललाई मूल्यांकन गर्दै सिनेमाको प्रथम समालोचक मानिने रुसी लेखक म्याक्सिम गोर्कीले भनेका थिए- सिनेमा कला क्षेत्रको बहुआयामिक प्रभावकारी माध्यम हो । साहित्य, संगीत लगायतका ललितकलाका विभिन्न माध्यमले मानिसको चेतनाको रूपान्तरणका निम्ति मनोरञ्जनात्मक प्रभाव पार्छन् भन्ने सर्वस्वीकार्य मान्यताबाट हेर्दा सिनेमाले ललितकलाका सबैजसो रूपलाई अन्तरघुलन गरेर घनीभूत रूपमा चेतना प्रक्षेपण गर्ने तागत राख्छ भन्ने तथ्यलाई स्विकार्नैपर्ने हुन्छ । यस्तो विषयमा आम बौद्धिक क्षेत्रको उदासीनता एउटा घातक दुर्भाग्यबाहेक केही होइन र यो दुर्भाग्यपूर्ण सिलसिला जतिसक्दो छिटो समाप्त हुनु आवश्यक छ । महानायकसम्बन्धी बहसमा बौद्धिकहरूको चासो यसकारणले हुनु आवश्यक भएको होइन कि त्यस बहसका वादी वा प्रतिवादीमध्ये एक खेमालाई मजबुत बनाउनु जरुरी छ, बरु यसकारणले कि भनाभनको स्तरसम्म समेत गिर्न पुगेको त्यो बहसले टुंग्याउनीमा पुग्दा गलत वैचारिकी र नजिर बनाउन पुग्यो ।

हास्यव्यंग्य कलाकारितामा बढी काम गरेकी कलाकार दीपा निरौलाले एक टेलिभिजन कार्यक्रममा राजेश हमालको महानायकीमाथि प्रश्न उठाएपछि बहस र भनाभन सुरु भयो । सामाजिक सञ्जालमार्फत हमालका फ्यानले निरौलामाथि हजारौं बौबाती बोले र हमाल महानायक नै भएको जिकिर गरे । त्यसपछि हमालको महानायकीलाई प्रमाणित गर्न सो क्षेत्रमा गनिएका केही निर्देशक, कलाकार र निर्माताहरू देखा परे । लगातारको प्रहार र आलोचनाबीच कलाकार निरौलाले आफ्नो गल्ती भएको स्वीकार गर्दै क्षमायाचना गरिन् तर पनि बौबाती प्रहार रोकिएन । त्यही सिलसिलामा निरौला पक्षका कलाकार दीपकराज गिरी प्रकट भए क्षुब्ध, तिक्त र रातोपिरो मुद्रामा । उनले निरौलाबाट गल्ती भएकाले क्षमायाचना गरिसकेपछि पनि किन लगातार प्रहार जारी छ भन्दै त्यस काण्डलाई अन्त्य भएको देख्न चाहे । फर्मुला सिनेमाको अन्त्यमा ‘हिरोको पालो आउँछ’ भनेजस्तै चालमा राजेश हमाल सामाजिक सञ्जालमा प्रकट भए र आफ्ना फ्यानलाई गल्ती गर्नेलाई माफी दिन सिफारिस गरे ।

यसप्रकार कलाकार हमाल महानायक हुन् कि होइनन् भन्ने प्रश्न तत्कालका लागि अन्ततः ठेगान लाग्यो किनभने प्रश्न उठाउने पक्षले माफी माग्यो र ‘महानायक’ पक्षले माफी दियो । यो बहसमा दीपेन्द्र लामासहितका एकाध निर्देशक र कलाकारले वैकल्पिक दृष्टिकोण राख्न पनि खोजे तर त्यो प्रवृत्तिका रूपमा मुखर हुन सकेन । सिनेमा क्षेत्रकै पाको पुस्ताकाहरू यो बहसमा कहाँ उभिए, कसैलाई सायद पत्तो भएन । उनीहरू बोल्न नसक्ने अवस्था थियो वा बोल्नैपर्ने अवस्था नआउँदै विवाद सकियो, त्यो उनीहरूलाई नै थाहा होला । नेपाली सिनेमा इतिहासको राम्रो ज्ञाता प्रकाश सायमी पनि यसबीच पर्दामा उपस्थित भए तर यस विवादलाई सही दिशा दिने वैचारिकी उनीबाट आउन सकेन । वैकल्पिक सिनेमा बनाइरहेका अनि बहस चलाइरहेका नवीन सुब्बा, अनुप सुवेदी, छिरिङ रितारहरूले सायद यसलाई अनावश्यक देखेर आफ्नो समय लगाएनन् । तर जुनै कारणले भए पनि सचेत मान्छेले मौनता साध्न मिल्ने वा उपेक्षा गर्न मिल्ने विषय यो हुँदै होइन किनकि यस्ता बहसका निष्कर्षले समाजको युवा पुस्तालाई गहिरो गरी प्रभाव पार्छन् ।

आज संसारभरि नै सिनेमा क्षेत्रलाई बुझ्ने दुई मुख्य विपरीत अवधारणा छन् । एक— सिनेमा मुख्यतः उद्योग–व्यवसाय हो । त्यसपछि मात्रै कला हो । दुई- सिनेमा मुख्यतः कला क्षेत्र हो । व्यवसाय सहायक विषय हो । नेपालमा पनि स्वतः नै सिनेमा क्षेत्र यी दुई दृष्टिकोणमा विभक्त छ । यो कुरा बेग्लै हो, सिनेमा मुख्यतः कला क्षेत्र हो भनी मान्ने खेमा नेपालमा अत्यन्त कमजोर छ र सिनेमा मुख्यतः उद्योग–व्यवसाय हो भन्ने खेमा लगातार बलशाली छ । महानायकसम्बन्धी बहसमा प्रवेश गर्न यो वैचारिक खेमाबन्दीलाई बुझ्नु अनिवार्य छ । कलाकार हमाल महानायक हुन् कि होइनन् भन्ने बहसचाहिँ सिनेमा मूलतः उद्योग व्यवसाय हो, सहायक मात्र कला हो भन्ने वैचारिक खेमाभित्रको हो । जब सिनेमाजगत्लाई नै मूलतः नाफा कमाउने धन्दाका रूपमा बुझेर संरचना गरिन्छ, त्यसभित्र नाफाका निम्ति गरिने हरेक उद्यम स्वाभाविक बन्न पुग्छ । जे गर्दा नाफा हुन्छ, त्यही गर्न प्रेरित हुनुलाई नै आफ्नो आदर्श बनाएपछि नाफाको धन अनि नाफामा कमाइने प्रख्याति पनि आफ्नै नातामा, आफ्नै कृपामा सीमित पार्ने प्रपञ्च अनिवार्य बन्छ ।

त्यसै गरी बजार कब्जा गर्न चाहने फरकफरक नाफामुखी गुटहरू एकआपसमा प्रतिस्पर्धा र एकआपसलाई निषेध गर्ने उपद्रवमा लाग्नु पनि स्वाभाविक बन्छ । नाफाका निम्ति खेलिने यस्ता खेल जति ठूलो व्यावसायिक क्षेत्र हुन्छ, त्यति नै ठूला हुन्छन् । भारतीय सिनेमा क्षेत्रमा नाफा र प्रख्यातिको वर्चस्वको लडाइँ कुन स्तरमा सिनेमा व्यापारिक घरानाबीच घीनलाग्दो गरी जुधानमा छ भन्ने कुरा त त्यही चक्रव्यूहलाई झेल्न नसक्दा कलाकारहरू आत्महत्या गर्ने स्तरको निराशामा पुग्ने दृष्टान्तले पनि प्रस्ट पार्छ । नेपालमा सिनेमा व्यवसाय अकुत नाफाको क्षेत्र नबने पनि भाँति पुर्‍याएर काम गर्दा समाज सापेक्षतामा मनग्गे नाफा बटुल्न सकिने क्षेत्र त बनिसकेकै छ ।

त्यसैले ‘महानायक’ वाला बहस सिनेमालाई धन्दाका रूपमा बुझ्ने खेमाहरूबीचको एउटा सानो झडप रहेको बुझ्न खासै कठिनाइ पर्दैन । माफी माग्ने निरौला खेमाका दीपकराज गिरीले ‘...बरु गाउँमा गएर हलो जोतेर बाँचौंला !’ भन्नुको सार पनि धन्दाको पिरलोको वरपर नै छ ।

सामन्तवादी युगमा आम जनतालाई शासित बनाइरहन नै महानताको अवधारणा बनेको थियो । युरोपमा पिटर महान् वा एसियामा गौतम बुद्धलाई भगवान्को उपाधि त्यस समयका शासक वा शासनबाट फाइदा लिन सक्षमहरूले बनाएका थिए । वास्तवमा विज्ञानका सबै शाखाको निचोडलाई एक ठाउँ राखेर संश्लेषण गर्ने हो भने, मानिसहरू फरकफरक भूमिकामा हुन्छन् तर कोही पनि अर्कोभन्दा महान् हुन सक्दैनन् भन्ने निष्कर्ष नै अगाडि आउँछ । एउटै क्षेत्रमा काम गर्नेहरूमध्ये कोही अब्बल र कोही कमसल हुन सक्छन् तर जीवनका निम्ति अनिवार्य अर्को सन्दर्भमा अब्बलहरू कमसल र कमसलहरू अब्बल भइरहेका हुन्छन् । सामन्तवादी संस्कृतिअनुरूप नेपालमा शासकहरू वा शासकहरूकै वैचारिकी लागू गर्नेहरूले साहित्य–कलाका क्षेत्रमा कविशिरोमणि, आदिकवि, महाकवि, आशुकवि, नाट्यसम्राट्, स्वरसम्राट्, स्वरकिन्नरी, राष्ट्रकवि जस्ता क्रूर मानक पदवीहरू निर्माण गरे । वास्तवमा ती पदवीबाट सम्बोधित व्यक्तिहरू आफ्नो समयका र क्षेत्रका सकारात्मक वा नकारात्मक विशिष्ट प्रतिभा त थिए, तर तत्कालीन समय र भविष्यसम्मका निम्ति कुनै पनि मानेमा महान् मानक प्रतिभा थिएनन् किनकि त्यस्तो हुन सम्भवै थिएन । आजको युगमा ज्ञान त सबैलाई हुनुपर्छ, समाज वर्गीय छ । समाज समुदायगत संस्कृतिमा विभक्त छ र साथै रुचिगत विभिन्नतामा समेत फरकफरक छ ।

यस्तो अवस्थामा कुनै पनि क्षेत्रको खास पात्र, सबै वर्ग, समुदाय र रुचिगत क्षेत्रका निम्ति आदर्श वा महानायक कसरी बन्न सक्तछ ? त्यसैले महानताको अवधारणा खास विषयमा उम्दा वा ठूलो काम गर्न सक्ने व्यक्तिका रूपमा मात्र ठीक हो, जुन समाजका सबै व्यक्तिको फरकफरक गुणमा वा सन्दर्भमा लागू हुन्छ । अर्थात्, सबै व्यक्ति अन्ततः महान् हुन्छन् । त्यसैले महावाला अवधारणा अन्य मान्छेहरूलाई कमसल सिद्ध गर्ने विचार हो र त्यो कदापि ठीक होइन । राजेश हमाल नेपाली समाजको परम्परागत हिन्दू उच्च जातबाट सिनेमा क्षेत्रमा आए । उनी हुर्केको समाजमा नृत्यकर्म कमसल मानिन्थ्यो, तर पनि उनी त्यही क्षेत्रमा आए । देश–विदेशको औपचारिक शिक्षाले पनि उनलाई अन्य क्षेत्रमा तानेन । परिवारको उपेक्षाका बावजुद उनी सिनेमा क्षेत्रमै लागे । त्यो कलाकार हमालको कला क्षेत्रप्रतिको लगाव थियो । त्यो सम्मान गर्न लायक छ । तर त्यसको अर्थ अरूले चाहिँ त्यस क्षेत्रमा आउँदा सम्मानयोग्य कामै गरेनन् भन्ने त होइन । चलचित्र क्षेत्रमा आउनेमध्ये हमाल जीविका गर्न आएका थिएनन्, तब प्रख्यातिपछि पनि सिनेमालाई विश्वस्तरको वैचारिकीमा लैजान उनले केही मिहिनेत गरेको भए पनि हुने थियो तर त्यस्तो पहल सार्वजनिक भएन किनकि त्यस्तो उनले केही गरेनन् । व्यक्तिगत रूपमा कोही असल हुनु राम्रो कुरा हो तर त्यही कुरा अरूमाथि शासन गर्ने हतियार बन्नु कसरी सही हुन्छ र ?

कुनै कलाकार वा अन्य क्षेत्रका व्यक्तिलाई धेरै मानिसले मन पराउन सक्छन्, त्यही व्यक्तिलाई अर्को ठूलो जमातले मन नपराउन वा घृणा गर्न पनि सक्छन् । यो त सामान्य कुरा हो । मानिसको चेतनाको एउटा अवस्थामा प्रिय लागेको वस्तु चेतनाको अर्को अवस्थामा अप्रिय लाग्छ । एक समयका प्रेमीहरू अर्को कालखण्डमा मुखै हेर्न नचाहने बिराना पात्रहरूमा रूपान्तरण हुन्छन् नि, हैन र ? त्यसैले कोही मन पर्नु र आफ्नानिम्ति महान् लाग्नु वा पटक्कै मन नपर्नु भनेको मानिसको मनको नितान्त व्यक्तिगत भावनात्मक अवस्था हो । त्यस्तो भावनात्मक मनको अवस्थालाई सामाजिक मानक अवधारणा बनाएर त्यससँग असहमति राख्नेमाथि लाद्न मिल्दैन र लाद्नु अत्याचारबाहेक केही हुँदैन । ‘मलाई मेरो प्रेमी संसारकै सबैभन्दा सुन्दर लाग्छ, तँलाई पनि त्यस्तै लाग्नैपर्छ’ भन्न मिल्छ र ? त्यसैले यस्तो विषयमा अड्डी कसेर एकले अर्काको नूर गिराउने गरी चलेको बहस र भनाभन वास्तवमै बौद्धिक दरिद्रतासिवाय केही होइन ।

महानायकसम्बन्धी बहसको सांगे फेरि जसरी भयो, त्यो त झनै उदेकलाग्दो छ । कलाकार निरौला पक्षले कुनै गल्ती गरेकै होइन, तब माफी किन मागेको ? गल्ती नै नगरेकालाई गल्ती गरिस् भनेर माफी दिने भाँडभैलो फेरि किन गरेको ? निरौलालाई कोही व्यक्ति महानायक नलाग्न सक्छ र त्यो कुरा सार्वजनिक रूपमा भन्ने उनको अधिकार स्वतःसिद्ध छ । उनको अभिव्यक्तिसँग असहमत हुन पनि अरूले स्वतः पाउँछन् नै । यहाँ क्षमायाचना र माफी बक्सको अवस्था कसरी आउन सक्छ ? यस्तै ढंगले सोच्न थाल्ने हो भने राजनीतिक क्षेत्रमा हालत के होला ? प्रत्येक पार्टीको नेता उसको कार्यकर्तालाई ठीक वा महान् लागेको हुन्छ तर अर्को पार्टीको कार्यकर्ताका निम्ति बेठीक वा गद्दारसम्म लागेकै हुन्छ र त्यो कुरा सार्वजनिक रूपमा उनीहरूले पटकपटक भनिरहेका हुन्छन् । सिनेमा क्षेत्रकै पाराले व्यवहार गर्ने हो भने त प्रत्येक गल्तीमा फरक पार्टीका कार्यकर्ताबीच काटाकाट गर्नुपर्ने हुन्छ । त्यसैले अभिव्यक्ति स्वतन्त्रताको अति साधारण आम समझदारीलाई समेत आत्मसात् नगरी चलेको महानायकसम्बन्धी बहसमा क्षमायाचना र माफी बक्सको प्रकरण त्यस्तो ऐना हो जहाँ सिनेमा क्षेत्रको बौद्धिकताको डरलाग्दो स्तर छर्लंग देखिन्छ । यस फजुल बहसले सिकाएको गम्भीर पाठ यही नै हो— नेपाली सिनेमा क्षेत्रमा व्यापक सामाजिक आयाममा बौद्धिकता निर्माणका निम्ति गर्नुपर्ने काम अझै पनि रोगीको भाँति थला परेकै छ ।

(आइतबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : श्रावण १०, २०७७ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?