बहस : अयोध्यादेखि अयोध्यासम्म - विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बहस : अयोध्यादेखि अयोध्यासम्म 

विगतबारे दाबी–प्रतिदाबी पर्याप्त प्रमाणबिनै वा अन्वेषकका निष्कर्ष आउनुअघि नै हुने गर्छन् । यस्ता दाबीलाई हो वा होजस्तै बनाउने कार्यचाहिँ शक्ति र सत्ताले गर्छ । शक्ति र ज्ञानको सम्बन्ध यहीँनेर केलाउने हो ।
सुरेश ढकाल

काठमाडौँ — ‘भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको छ ।’ असारका अन्तिम दिनहरूमा नेपाली पत्रपत्रिकामा सम्भवत सबैभन्दा बढी लेखिएको वाक्य यही हो । कत्तिलाई यो सामान्य रमाइलो मात्रै लाग्यो होला, कत्तिलाई चाहिँ आर्कमिडिजको आविष्कार बराबरको विलक्षण उपलब्धि ।

नेपालका प्रधानमन्त्रीको उपरोक्त अभिव्यक्तिप्रति मलाई त्यतिबेला मात्रै चासो लाग्यो, जब एक प्राज्ञले त्रिभुवन विश्वविद्यालयको एक अनुसन्धान केन्द्रलाई प्रधानमन्त्रीको उक्त दाबीलाई सहयोग पुग्नेगरी अनुसन्धान गर्न निर्देशन दिए । प्रधानमन्त्रीको दाबीपछि नेपालको पुरातत्त्व विभागले त्यस ठाउँमा उत्खनन गर्ने रहर उजागर गर्‍यो । सुन्नमा आयो, केही विद्वान्ले ‘अयोध्या भनेको वीरगन्ज पश्चिमपट्टिको ठाउँ हो’ भन्ने प्रोजेक्टका लागि प्रस्तावनापत्रहरू तयार पार्न थालिसके । शक्ति र ज्ञानबीचको सम्बन्ध बुझ्ने एउटा पहलु र इतिहास पठनको राजनीतिक आयाम थाहा पाउने एउटा पाठ हुन सक्छ यो सन्दर्भ । त्यसैले प्राज्ञ, विश्वविद्यालय र पुरातत्त्व विभाग आदिको तत्परता अर्थपूर्ण लागेको हो मलाई । कुन समय र सन्दर्भको गर्भगृहबाट जन्मिएको थियो यस्तो हुटहुटी भन्ने कुराले यसको अर्थ–विस्तारमा सहयोग पुर्‍याउँछ ।

थप सन्दर्भ, धार्मिक र उन्मादी राष्ट्रवाद दक्षिण एसियामा अत्यधिक चर्चा भएको विषय हो । यसको उद्देश्य र अन्तर्यबारे पनि यथेष्ट बहस भएकै छन् । भन्न परोइन कि यसको केन्द्रमा भारत छ । अझै विशिष्ट रूपमा भन्दा भारतीय जनता पार्टीको सरकार र त्यसका नेतृत्वकर्ता नरेन्द्र दामोदारदासको शासन । धार्मिकताको जगमा ठड्याइएको राष्ट्रवाद निःशृत राजनीतिक अभीष्ट कसैका लागि अनुकरणीय हुनु हुँदैन ।

भ्रमित इतिहास र राजनीतिक लाभ

गत वर्ष सम्पन्न भारतको १७ औं लोकसभाको निर्वाचनमा भाजपाले अत्यधिक बहुमतले चुनाव जित्यो । भारतमा जोडतोडले चलिरहको दक्षिणपन्थी उभारको उच्चतम विन्दु थियो यो परिणाम सायद । चुनावी परिणाम जित्नेको सामर्थ्य एवं चातुर्य र पराजित हुनेको कमजोरीको कसीमै मूल्यांकन गरिने हो । भारतीयहरूले प्रशस्तै विश्लेषण गरेकै छन् यस परिणामबारे । थप कुरा पछि गरौंला । तर, केचाहिँ अहिले नै भनौं भने नेपालको चुनावी सन्दर्भ र परिणामबारे भने पर्याप्त विश्लेषण नै हुने गरेका छैनन्, केवल ठूला–साना विश्लेषकहरूको अनेक बान्कीका टिप्पणीबाहेक ।

तर, म यहाँ भारतीय वा नेपाली चुनावी परिणामको लेखाजोखा गर्दै छैन । त्यो अहिलेको सन्दर्भ होइन । सबैलाई थाहा भएको कुराचाहिँ के हो भने भाजपाको जितमा हिन्दूत्व र राष्ट्रवादको आधारभूमि बलियो थियो । यी दुवैमा समानता थियो त घृणा र पराइकरणको राजनीतिको । त्यस्तो घृणाको निसानामा पर्थे भारतीय मुसलमान । उनीहरू घृणाको मात्रै सिकार हुनुपरेका थिएनन्, त्यसबाट सृजित त्रासदीको पनि सिकार भएका थिए ।

भारतीय राजनीतिमा सामान्य ज्ञान हुनेले पनि जान्ने यथार्थ के हो भने सन् १९९० को दशकको सुरुआती वर्षसम्म भारतीय जनता पार्टीको यस्तो उभारको कमैले मात्र परिकल्पना गरेका थिए । तर, भयो । यसको सुरुआत त्यस्तै एक त्रासदीपूर्ण घटनाबाट सुरु भएको थियो ।

कुरा सिधै सुरु गरौं । धार्मिक उद्दण्डता विनाशको प्रमुख कारकमध्ये एक हो । स्मरण गरौं, भारतको उत्तरप्रदेश, अयोध्यास्थित बाबरी मस्जिद यस्तै एक धार्मिक उद्दण्डताको सिकार भएको थियो । मुगल राजकुमार बाबरले सोह्रौं शताब्दीमा बनाएको उक्त मस्जिद हिन्दू कट्टरपन्थीहरूले ६ डिसेम्बर १९९२ मा ध्वस्त पारिदिएका थिए, हिन्दू महाग्रन्थ रामायणका नायक रामको जन्मस्थल ठानिएको भूमिमा बनेको थियो भन्ने आग्रहका कारण ।

भारतीय पुरातत्त्वविद् बीबी लालले सन् १९७५–७६ मा उक्त स्थानमा उत्खनन गरेका थिए । त्यस उत्खननले कुनै चाखलाग्दो मध्यकालीन तथ्य फेला पार्न सकेको थिएन । तर, जुन १९९२ मा जमिनको सतहभन्दा १२ फुट तल कुँदिएका केही इँटाहरू फेला परे भनियो । केही भारतीय पुरातत्त्वविद्ले हतारमा एउटा पुस्तिका प्रकाशित गरिहाले, ‘रामजन्मभूमि अयोध्या ः न्यू आर्केओलोजिकल डिस्कभरिज’ शीर्षकमा । उक्त पुस्तिकाले के दाबी गर्‍यो भने एघारौं शताब्दीको हिन्दू मन्दिरको भग्नावशेषमा बाबरी मस्जिद ठड्याइएको थियो र उनीहरूले तर्क गरे– उक्त मन्दिर बाबरले नै भत्काएका थिए ।

भाजपा, विश्व हिन्दू परिषद्, राष्ट्रिय स्वयंसेवक संघ आदिको कट्टरपन्थी धर्मान्धताको आवेगको निसानामा पर्‍यो मस्जिद र सखाप भयो एउटा सम्पदा । त्यसले भारतीय मुसलमानहरूलाई दुःखी र आक्रोशित तुल्याउनु स्वाभाविक थियो । सांस्कृतिक सम्पदा नष्ट गर्नु निन्दनीय कार्य थियो । धार्मिकताभन्दा धार्मिक व्यापार र रोष बढी भएको भारतमा धेरैले यसको खुलेर विरोध गर्न पनि चाहेनन् वा भनौं सकेनन् । आश्चर्य, धेरैको ध्यान के कुरामा गएन भने साँच्चै त्यहाँ भनिएजस्तै एघारौं शताब्दीको राम मन्दिर थियो त ? के त्यहाँ पर्याप्त पुरातात्त्विक प्रमाण फेला परिसकेका थिए, जसले त्यस ठाउँमा राम मन्दिर भएको पुष्टि गरोस् ?

आजभन्दा एक दशकअघि नै इतिहासविद् सुप्रिया वर्मा र जया मेननले ‘इकोनोमिक एन्ड पोलिटिकल विक्ली’ (डिसेम्बर ११, २०१०) मा ‘आर्कियलोजिकल सर्भे अफ इन्डिया’ को अयोध्यामा गरिएको उत्खनन विधि र प्रतिवेदनमाथि नै प्रश्न गरेर लामो बहस गरेका थिए र निचोड निकालेका थिए— त्यहाँ प्राज्ञिक लगनले काम गरेको थिएन । भत्काइएको मस्जिद राम मन्दिरको भग्नावशेषमा खडा गरिएको पूर्वाग्रही मान्यताबाट निर्देशित थियो र प्रतिवेदन सोहीअनुरूप आएको थियो ।

त्यसअघि नै ‘अयोध्या : आर्कियलोजी आफ्टर डेमोलिसन’ (२००३) पुस्तकमार्फत प्राचीन इतिहासविद् धनेश्वर मण्डलले नयाँ र ताजा भनिएको उपरोक्त अन्वेषण र उपलब्धिको खण्डन गरिसकेका थिए । उक्त पुस्तकको प्राक्कथनमा रोमिला थापरले भनेकी थिइन्, ‘राजनीतिक अभीष्टका लागि अनुसन्धान र अन्वेषण लतारिनु हुन्न ।’ सर्वपल्ली गोपाल, रोमिला थापर, विपन चन्द्रा, सब्यसाची भट्टाचार्यलगायत २५ जना ख्यातिनामा इतिहास अन्वेषकले ‘बाबरी मस्जिद : राम जन्मभूमि विवाद इतिहासको राजनीतिक दुरुपयोग हो’ भनेर उतिबेलै वक्तव्य जारी गरेका थिए, जुन आज पनि उत्तिकै सान्दर्भिक ठानिन्छ ।

रमाइलो कुरा त केही प्राप्त पुरातात्त्विक प्रमाणकै आधारमा भनिँदै छ, ‘खासमा त्यो बुद्धस्थल थियो, बौद्ध धर्मावलम्बीहरूको तीर्थस्थल, जसलाई नासेर राम मन्दिर बनाइएको थियो ।’ विगतबारे यस्ता दाबी–प्रतिदाबी पर्याप्त प्रमाणबिनै वा अन्वेषकका निष्कर्ष आउनुअघि नै हुने गर्छन् । यस्ता दाबीलाई हो वा होजस्तै बनाउने कार्यचाहिँ शक्ति र सत्ताले गर्छ । शक्ति र ज्ञानको सम्बन्ध यहीँनेर केलाउने हो ।

बाबरी मस्जिद विनाशको उक्त घटना राम्रोसँग नसेलाउँदै सन् १९९४ मा नयाँदिल्लीमा वर्ल्ड आर्कियोलोजिकल कंग्रेसको तेस्रो सम्मेलन भएको थियो । त्यस सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्न आएकी थिइन्, मेरी नर्वेली गुरुआमा प्राध्यापक हाल्यान्ड । ती प्राध्यापकले नेपालमा पनि केही पुरातात्त्विक अनुसन्धान सुरु गरेकी थिइन् । यद्यपि अर्की प्रसिद्ध जर्मन पुरातत्त्वविद् गुर्डुन कोर्भिनससँगको विवादपछि उनले नेपालको अध्ययनलाई निरन्तरता दिन पाइनन् । यसको पनि रोचक कथा छ, कुनै बेला भन्नका लागि । दुःखद, तिनै कोर्भिनसको बीभत्स हत्या भएको थियो २००६ को जनवरीमा, भारतको पुने सहरमा । उनका अनुसन्धान र प्रकाशित कार्यहरू नेपालको प्रागइतिहासका महत्त्वपूर्ण स्रोत हुन् । जब म मेरी प्राध्यापकसँग प्रसंगहरूमा पुरातत्त्व, पहिचान र विगतको स्वामित्वको राजनीतिबारे बहस गर्ने गर्थें, उनी मज्जा मानेर सुनाउँथिन्, नयाँदिल्ली सम्मेलनका किस्सा । जब त्यस सम्मेलनमा अयोध्याको कुरा उठ्थ्यो, भारतीय पुरातत्त्वविद्हरू यसरी बाझ्न थाल्थे रे, मानौं त्यहाँ अरू कोही छैनन् र सभा हल कुस्तीको मैदान हो । जब मोटाघाटा भारतीय प्राध्यापकहरू टेबुल नाघेर एकआपसमा लाप्पा नै खेल्न तयार भए, तब धेरै विदेशी सहभागी डराएर हल नै छोडेर बाहिर निस्केका थिए रे ! पछि उक्त कंग्रेसको अन्तर्राष्ट्रिय कार्यसमितिले त्यस विषय नै छलफलबाट हटाउने निर्णय गर्नुपरेको थियो ।

इतिहास, धर्म र राजनीतिको गलत अनुपातको मिसावटले निम्त्याउन सक्ने विनाशको मानक कथा थियो, बाबरी मस्जिदको विनाश । त्यहाँ केबल एक सांस्कृतिक स्मारक मात्रै ध्वस्त भएन, हजारौंको ज्यान पनि गयो । त्यही भग्नावशेष र लासहरूबाट उठेको थियो– नयाँ बहस, धर्मको आडमा घृणाको राजनीति र नयाँ द्वन्द्व, जसले भारतीय राजनीतिलाई अर्कै मोडमा पुर्‍याइदियो । त्यही मोडिएको राजनीतिक पथको यात्राबाट आजका मुकामसम्म आइपुगेका थिए— नरेन्द्र दामोदारदास र भाजपा । इतिहास र धर्मजस्ता संवेदनशील विषय जब राजनीतिक सत्ताको लहडका वस्तु बन्न पुग्छन्, कल्पना गर्न सकिने एउटै परिणाम अनिष्ट मात्र हो ।

यो उबेलाको राम र अयोध्याको कथा थियो, भारतको । अहिले हाम्रै भूमिमा अयोध्या र रामको नयाँ कथा भन्ने रहर गरिएको छ, यसको पटाक्षेप कस्तो हुने हो अन्योलै छ । तर, राजनीतिक चातुर्य र प्राज्ञिक चेतनाको बीचमा प्रस्ट सीमा कोर्न नसक्ने हो भने कुनै पनि खाले सुखद कल्पना गर्न सकिन्न । भारतीय सन्दर्भ एक दृष्टान्त मात्र थियो ।

राजनीतिक चातुर्य र प्राज्ञिक चेतना

उपरोक्त दृष्टान्तका आडमा भन्न खोजेको कुरा के मात्र हो भने इतिहास निरन्तर लेखन र पुनर्लेखन गरिने विषय हुन्, किनकि ती अन्तिम र अपरिवर्तनीय सत्य होइनन् । त्यसैले पनि इतिहासले सहजै राजनीतिक चरित्र ग्रहण गर्छ । प्राचीन इतिहास झनै जटिल विषय हो, जसबारे पुरातात्त्विक प्रमाणभन्दा मिथक, धार्मिक विश्वास र लोककथन बढी प्रभावकारी हुने गर्छन् । माथि नै भनियो— जब इतिहास, धर्म र राजनीतिको अस्वाभाविक घुलन हुन्छ, तब त्यहाँ तर्कहरूको अन्त्य र उन्मादी हर्कतले शिर उठाउँछ । शक्तिका बलमा वा शक्तिपूजनका खातिर गरिने अन्वेषण वा लेखिने वृत्तान्त शक्तिमा आउने ह्राससँगै बिलाउन थाल्छन् । कमजोर इतिहास चेत भएको समाजको चरित्र त्यस्तै हुने गर्छ ।

अन्त्यमा

जब राजनीति निश्चित राजनीतिक दर्शनबाट निर्देशित हुन छोड्छ, तब राजनीतिले लक्ष्य निर्क्योल गर्न सक्दैन । लक्ष्यविहीन राजनीतिको बाटो स्वाभाविक रूपमा अन्योलग्रस्त बन्छ र नेता तथा कार्यकर्ता दिग्भ्रमित । नेपालको वर्तमान राजनीतिको मनोदशा पनि यही हो । तर, प्राज्ञ र विश्वविद्यालय, अनुसन्धान, अन्वेषण गर्नेहरू त्यसैगरी दिग्भ्रमित हुन हुन्न । राजनीति गर्नेका रुचि, चातुर्य र अभीष्ट प्राज्ञिक महत्त्व र प्राथमिकताका नहुन पनि सक्छन् । तसर्थ प्राज्ञ र अन्वेषकमा आफ्ना एजेन्डा र प्राथमिकता निर्धारण गर्ने चेत र सामर्थ्य हुनैपर्छ ।

(शनिबार कान्तिपुरमा प्रकाशित हुने प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : श्रावण ९, २०७७ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्

हामीसँगै बाँचिरहेका ‘नियान्डरथल’

होमो सेपियन्स र नियान्डरथल कम्तीमा पनि केही हजार वर्ष सँगसँगै एकै भूगोल र एकै समयमा बाँचेका थिए । वैज्ञानिकहरू अनुमान गर्छन्— उनीहरूबीच पर्याप्त जैविक–सांस्कृतिक बसउठ र संसर्ग भएको थियो ।
सुरेश ढकाल

कोभिड–१९ को महामारीले बिथोलेको यो समय मानवता नै आम निराशाबाट गुज्रिरहेको छ । आधा वर्षको लगभगमा विश्वका एक करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने पाँच लाखभन्दा बढीको मृत्यु भइसकेको छ ।

यतिबेला मान्छेलाई लाग्न सक्छ— यही नै ठूलो संकट हो र सत्य पनि यही हो । यद्यपि यी प्रश्न सान्दर्भिक बन्दै गएका छन्— यो क्षणिक संकट हो या यसले मानवजातिको अस्तित्व नै संकटमा पार्न सक्छ ? के मान्छेको जाति साँच्चै संकटोन्मुख छ ? मान्छेकै सामूहिक विश्व दृष्टिकोण, जीवन दर्शन र व्यवहारले यसलाई निर्धारण गर्नेछ । यो तहको विश्लेषण र विमर्श मेरो क्षमताभन्दा निकै परको विषय भएकाले म त्यता आकर्षित हुने कुरै भएन । तर, यही मेसोमा म आफ्ना केही निजी र कम महत्त्वका अनि विशृंखलित स्मृतिको सहारामा विचरण गर्न खोजिरहेको छु । यतिबेला मेरो स्मृतिमा छ— नियान्डरथल मानव, जो आजभन्दा करिब ३० हजार वर्ष पहिले लोप भएको मानिन्छ ।

प्रसंग कतिपय

सन् १९९० को सुरुआती वर्षमा नेपालमा एचआईभी एड्सको त्रास फैलिन थालेको एकाध वर्ष मात्रै भएको थियो । तर, त्यो छिट्टै उत्कर्षमा पुगेको थियो । खासगरी एचआईभी कसरी एकअर्कामा सर्छ भन्ने विषयमा त्रासदीपूर्ण हल्ला खुबै हुन्थे । एचआईभी संक्रमित व्यक्तिले अर्को व्यक्तिलाई छुँदैमा यो रोग सर्छ भन्ने हल्ला व्याप्त थियो । बसहरूमा नचिनेका मान्छेले छोडेको सिटमा उसको तातो रहुन्जेल बस्न हुन्न भनिन्थ्यो । एउटा मान्छे प्रत्येक अर्को मान्छेलाई भाइरसवाहकको रूपमा हेर्थे । र, हल्ला यस्तोसमेत थियो— यसले संसारलाई ध्वस्त पार्न सक्छ र मानव जातिकै अस्तित्व संकटमा पार्न सक्छ ।

त्यसैताका मैले एमए मानवशास्त्रको पढाइ सुरु गरेको थिएँ । यद्यपि एचआईभी/एड्सको फैलँदो संक्रमण र मेरो स्नातकोत्तर पढाइका बीच फजुलको सम्बन्ध पनि थिएन । मलाई मानवशास्त्रतर्फ आकर्षित गर्ने एउटा कारण भौतिक मानवशास्त्रको पढाइ पनि थियो । सायद विज्ञानको असफल विद्यार्थी हुनुपरेको पीडा मेरो मनको कतै भित्री तहमा पो थियो कि १ पछि म प्राथमिक तहमै सही, एकाध वर्ष विज्ञान शिक्षकसमेत बनेको थिएँ । तसर्थ म सकेसम्म फिजिकल/बायलोजिकल एन्थ्रोपोलोजीे विषयको कक्षा छुटाउँदैनथेँ । एक दिन मानव

उद्विकासको नियमित कक्षामा नियान्डरथल मानव भनिने एउटा पात्रको प्रवेश भयो । प्रवेश यसरी भयो कि मानौं यो भयंकर रहस्य थियो । किनकि हाम्रा प्राध्यापकले नियान्डरथल यस संसारबाट एकाएक लोप भयो र त्यसको पक्का कारण अहिलेसम्म थाहा छैन भन्ने कथा बडो रहस्यमयी कथावाचकले झैं सुनाउँथे । अन्त्यमा बडो गम्भीर भएर र कुनै ठूलै अनुसन्धानको खुलासा गरेजसरी प्राध्यापकले हामीलाई भनेका थिए, ‘मलाई त के लाग्छ भने त्यो नियान्डरथल एड्सजस्तै रोग लागेर सखाप भएको पनि हुन सक्छ ।’ बुझ्न कठिन थिएन— त्यतिबेला एड्सले मानवजातिको अस्तित्व नै संकटमा पार्न सक्छ भन्ने हल्ला खुबै हुने गरेको थियो, जसरी अहिले कोरोना भाइरसबारे हुन्छ ।

त्यसयता झन्डैझन्डै तीन दशक बित्न थालिसकेछ । बेलाबेला नियान्डरथलसँग प्रसंगवश वा बिनाप्रसंग पनि जम्काभेट भइरहन्छ आजभोलि पनि । तर, वैज्ञानिक र अनुसन्धानकर्ता नै भन्छन्— अहिलेसम्म निश्चित रूपमा थाहा भइसकेको छैन, आखिर तिनीहरू कसरी हराए ? कहाँ हराए ? यो महामारीकालमा कोरोनाका कारण मानव सभ्यता र मानव जातिको अस्तित्व नै संकटमा छ भन्ने संकथन, त्यसैले सामान्य र नियमित प्रक्रिया हो । यो केही समयको अन्तरालमा बल्झिरहने कुनै विभ्रमात्मक मनोदशा हो ।

सार्वजनिक वृत्त, पत्रपत्रिका र अन्य सञ्चारमाध्यममा केही विद्वान्ले गम्भीरताका साथ भनेको सुनिन्छ, ‘कोरोना भाइरसले मानवजातिको अस्तित्व नै संकटमा पार्नेछ ।’ विद्यालय पढ्दाताका हामीलाई साथीहरूले बताउने गरेको वाग्मती किनारको कलिको कथाजस्तै गरी ती विद्वान्हरू मानव अस्तित्वको संकटापन्न अवस्थाका कथा बताउँछन् । बेलाबेला साथीहरू भन्थे, ‘कलि कम्मरभन्दा माथि आइसक्यो, अलिअलि ढल्की पनि सक्यो, अब यो ढल्यो भने पृथ्वीमा प्रलय हुन्छ ।’ कताकता मनमा भयमिश्रित उत्सुकता जाग्थ्यो नै । त्यतिबेला खुब गइन्थ्यो पशुपति परिसरको वाग्मती किनारतिर, कलि कति ढल्किसक्यो र कहिले पृथ्वीमा प्रलय होला भन्ने अनुमान लगाउन । खासगरी गर्मी महिनामा हाफटाइमपछि वाग्मतीमा पौडी पनि खेल्ने, कलि पनि हेर्ने नियमित प्रक्रिया नै हुन्थ्यो । यस्ता कुराको प्रभाव यसरी पर्छ कि केही समयपछि मानिसलाई यो साँचो कुरा हो भन्ने भान पर्न सक्छ । तथ्यभन्दा चर्चामा बढी नै अभिरुचि राख्ने समाजमा यो झनै बढी सत्य सुनिन्छ ।

अहिले यसरी एउटा भाइरसका कारण मानव जातिको अस्तित्व संकटमा परेको कुरा सुनिरहँदा मलाई भने उही नियान्डरथलको झझल्को आउने गर्छ बेलाबेला । मानवशास्त्रका मेरा प्राध्यापकका अनुसार, अर्को कुनै भाइरस जसले एड्सजस्तो कुनै महामारी ल्याएको हुन सक्थ्यो र त्यसैका कारण उक्त प्रजाति नै समूल नष्ट भएको पनि हुन सक्थ्यो ।

त्यसै दशक अर्थात् १९९० को अन्तिम वर्षतिर नर्वेको वर्गेन विश्वविद्यालयमा एमफिल गर्दै गर्दा नियान्डरथलसँगको जम्काभेट बाक्लै भयो । खासमा त्यहाँ नियान्डरथलसँगको पहिलो भेट अलिक फिल्मी पारामा भएको थियो अर्थात् नियान्डरथलको इन्ट्री नै त्यसरी गराइएको थियो । ओभरकोट, गोलो ह्याट र कालो चस्मामा सजिएर एक औसत अमेरिकी उचाइभन्दा अलिक होचो तर बलिष्ठ ज्यान भएको न्युयोर्कको भीडमा हिँडिरहेको नियान्डरथल । ऊ तीस हजार वर्षभन्दा अघि नै यस धर्तीबाट लोप भइसकेको हाम्रो नजिकका आफन्त थियो भनेर कसैले पनि चिन्न सकेनन् । भनियो ऊ हलिउड अभिनेताजस्तो देखिन्थ्यो त्यसरी हिँडिरहँदा । वाह, क्या फिल्मी इन्ट्री !

त्यस्तो इन्ट्रीमार्फत नियान्डरथलको क्यारेक्टर स्थापित गर्न खोजिएको थियो कि ऊ हामीजस्तै, खासगरी युरोपेली खालको आम मान्छेजस्तै थियो ।

नियान्डरथलको युरोपेली नाता

हामीभन्दा अग्रज एक युरोपेली सहपाठी थिए, जो प्रयोगात्मक पुरातत्त्व (एक्स्पेरिमेन्टल आर्कियलजी) को अध्ययन र अभ्यास पनि गर्थे । अर्थात् बीसौं हजार वर्षपहिले, जतिबेला धातुको उत्खनन भएकै थिएन, त्यतिबेला मानिसले कसरी त्यति राम्रा, आधुनिकजस्ता लाग्ने ढुंगे हतियार बनाए होलान् भनेर खोज, अनुसन्धान गर्ने र त्यस्तै औजारको नक्कल बनाउने अभ्यास गर्थे उनी । उनी अब्सिडियन, फ्लिन्टजस्ता ढुंगाका थुप्रावरिपरि बसेर टाकटाक–टुकटुक गरिरहेका हुन्थे । उनी उत्तरपाषाणकालीन ढुंगे हतियारमा रुचि राख्थे र त्यो नियान्डरथलकालीन समयको कुरा थियो । जब म उनको प्रयोगशालामा जान्थें, उनी सधैं फरक प्रकारको प्राग्ऐतिहासिक काल्पनिकीबारे उत्सुकताका साथ कुरा गर्थे । तर, मलाई कता–कता लाथ्यो— उनमा नजानिँदो युरोपेली उच्चताभास थियो । उनी भन्थे, ‘हामी उत्तरी युरोपेलीहरू युरोपमै उद्भव भएको नियान्डरथलका सन्तति हौं, बाँकी तिमीहरू अफ्रिकी घाँसे मैदानबाट सर्वत्र फैलिएका होमो स्यापिएन्सका सन्तान हौ । हाम्रो जिन नै फरक छ ।’

यद्यपि उनले हामीलाई अन्य व्यवहारमा कहिल्यै विभेद गरेनन् । तैपनि मलाई भने सधैं लागिरह्यो— यो उनको मनको भित्री तहमा ननिख्रेको नस्लवाद थियो । युरोपमा टाउको उठाउन खोजिरहेको नव–नाजीवादको सुषुप्त बीज थियो त्यो सायद । उच्चताभास मात्रभन्दा पर नस्लीय विभेदको गृहकार्य गर्दै थिए सायद उनी । तर, उनको व्यवहारको कारण मलाई कहिल्यै कुनै प्रकारको लघुताभासको महसुस गर्नु परेन । मैले केही सन्दर्भ खोज्ने प्रयास पनि गरें । तर, उनको तर्कलाई प्रमाणित गर्ने केही पुरातात्त्विक प्रमाण वा भरपर्दो आधार भने पाइनँ । बताइरहनु परेन, त्यसयताका दुई दशकमा नियान्डरथलबारे त्यसअघि थाहा नभएका अनेकन तथ्य बाहिर आइसकेका छन् ।

जर्मन मानव भूगोलवेत्ता र एथ्नोग्राफर फ्रेदरिक रात्जेल वातावरणीय निर्धारणवादमा विश्वास गर्थे रे । उनको मान्यता थियो— मानव इतिहासमा कुनै पनि आविष्कार सर्वाधिक अनुकूल वातावरणमा मात्रै सम्भव हुन्छ, त्यस्तो उपयुक्त वातावरण र व्यक्तिहरू उत्तरी युरोपमा थिए । उनको यस्तो मान्यता लामो समयसम्म काफी प्रभावकारी रह्यो र अनर्थसहित युरोपेली उच्चताभासलाई मलजल गर्न सहयोग पुर्‍यायो । युरोपमा र युरोपबाट गएका गोराहरूले स्थापित गरेको उपनिवेश उत्तरी अमेरिकामा प्रकट हुने नस्लीय चिन्तन यस्तै सन्दर्भहरूको समुच्च परिणाम पनि हो ।

केही हप्ताअघि अमेरिकाको मिनिओपोलिसमा काला जातिका जर्ज फ्लोएडको गोरा प्रहरी अधिकृतद्वारा गरीएको हत्या त्यस्तै नस्लवादको प्रकटीकरण थियो । जसरी विश्वको यो खण्डमा फरक–फरक जातका मान्छेहरू ब्रह्माका विभिन्न अंगबाट जन्मिएका हुन् भन्ने विश्वास र त्यसैको आधारमा नि:सृति विभेदपूर्ण जात व्यवस्था समय–समयमा चरम अपराधको कारणको तहसम्म प्रकट हुन पुग्छ । पछि थाहा हुँदै गयो युुरोपियनहरू नियान्डरथलका सन्तान थिए भन्ने केही कमजोर भ्रम पनि आधार रहेछन् । तथ्यले त के संकेत गर्दोरहेछ भने युरोपियनहरू मात्र होइन, अन्यत्रका मानिसले पनि औसतमा २ प्रतिशत जति नियान्डरथलको डीएनए बोकेका हुँदा रहेछन् । त्यस अर्थमा त सम्भावना छ— तपाईं/हाम्रो जिनमा पनि नियान्डरथलको जिनांश हुन सक्छ । नियान्डरथल हामीसँगै बाँचिरहेको हुन सक्छ ।

न्याचुरल हिस्ट्री म्युजियमका प्राध्यापक क्रिस स्ट्रिंगरको नेतृत्वमा भएको एक प्रयोगात्मक अनुसन्धानले के देखायो भने अफ्रिकाबाट बसाइ नसरेका समूहका सन्ततिबाहेक अन्य सबैका जिनमा केही प्रतिशत नियान्डरथलको डीएनए हुनेरहेछ । उनको अध्ययनले नै देखाएको हो— मूल अफ्रिकीबाहेक अन्यका जिनको बनावटमा १ देखि ४ प्रतिशतसम्म डीएनए हुन्छ ।

आजको आधुनिक मान्छेको आदि कुलपुर्खा करिब ६५ हजार वर्षअगाडि अफ्रिकाबाट निस्किएर फैलिन सुरु गरेका हुन् । उनीहरू क्रमश: उत्तरतिर, पूर्वतिर लागे भने एक समूह अफ्रिकाभन्दा बाहिर फैलिएन र त्यहीँभित्र मात्रै वितरित भए । यसरी प्राचीन आधुनिक मानवको पुर्खा स्पष्ट तीन समूहमा बाँडिए र पछि अन्यमा । उनीहरू करिब ४६ हजार वर्षपहिले मात्रै उत्तरी युरोप पुगेको अनुमान गरिएको छ । यसको अर्थ उनीहरू अर्थात् होमो सेपियन्स र नियान्डरथल कम्तीमा पनि केही हजार वर्ष सँगसँगै एकै भूगोल र एकै समयमा बाँचेका थिए । वैज्ञानिकहरू अनुमान गर्छन्— उनीहरूबीच पर्याप्त जैविक–सांस्कृतिक बसउठ र संसर्ग भएको थियो । युरोपमा करिब ४० हजार वर्षदेखि नियान्डरथल क्रमश: विस्थापित वा विलोपीकरणको क्रममा गएको देखिन्छ । होमो सेपियन्सको अतिक्रमण कति जिम्मेवार थियो नियान्डरथलको विस्थापन र लोप हुनुमा भन्ने विषय आज पनि नियान्डरथल अध्ययनको एउटा मूल सवालको रूपमा रहने गरेको छ । कतिपय अनुमान त के पनि छ भने सेपियन्सहरूले नै नियान्डरथललाई आफूमा सम्पूर्ण रूपमा विलीन गराएका थिए । ‘नियान्डरथल्स रिभिजिटेड : न्यू अप्रोचेज एन्ड पर्सपेक्टिभ’ भन्ने पुस्तक उपरोक्त शीर्षकमै सम्पन्न भएको गोष्ठीका कार्यपत्र हुन्, जसले यस्ता अनेक सम्भावना र बहसलाई एकै ठाउँमा ल्याउने काम गरेको छ ।

को थिए नियान्डरथल ?

जर्मनीको डसल्डर्फ नजिकको नियान्डर उपत्यकामा भेटिएको मानव अवशेषको नामकरण गरियो— होमो नियान्डरथलेन्सिस् अर्थात् नियान्डरथल मानव । डार्बिनको विकासवादको सिद्धान्त ‘ओरिजिन अफ स्पेसिस’ (१८५८) प्रकाशित हुनु ठीकअघि (१८५६) मा उक्त मानवाशेष फेलापरेको थियो । त्यो त्यसप्रकारको पहिलो मानव अवशेष थियो, जुन पहिलाको भन्दा फरक थियो । नियान्डरथल आधुनिक मान्छे (जस्तै) नै थियो, पूर्ण विकसित सांस्कृतिक मान्छे । त्यसपछि क्रमश: प्राप्त भएका अवशेषका आधारमा के भन्न सकियो भने तिनीहरू युरोपतिर र अलिपछि मध्य र पश्चिम एसियाको छेउछाउसम्म समेत बरालिन भ्याएका रहेछन् । सायद मेरा ती अग्रज सहपाठीको कुरामा केही दम थियो, जो आफूलाई नियान्डरथलको सन्तान हुँ भनी ठान्थे र हामीलाई पराइ कुलको ।

पछिल्लो समय युअल नोहा हरारीको किताब ‘सेपियन्स : अ ब्रिफ हिस्ट्री अफ म्यानकाइन्ड’ खुब चर्चामा रह्यो । संसारभरमै पछिल्ला वर्षमा सर्वाधिक पढिएको गैरआख्यान पप–किताब होला सायद यो, जसले नियान्डरथललाई पनि धेरै पाठकमाझ पुन: एकपटक परिचित गराइदिएको हुनुपर्छ । उनका किताब पढेका पाठकले पक्कै याद गरेको हुनुपर्छ, आजभन्दा एक लाख वर्षअघिसम्म पनि यस धरतीमा मानिसका ६ प्रजाति अस्तित्वमा थिए । नियान्डरथल तिनैमध्येको एक थियो : स्यापियन्सको अर्थात् हाम्रो सबैभन्दा नजिकको र सबैभन्दा पछिसम्म सहयात्रारत पुर्खा ।

नियान्डरथल संगठित जीवन बाँच्थे । सामूहिक रूपमा सिकार गर्थे, ठूला–ठूला हात्तीलगायतका जनावरको सिकार गर्न सक्थे । धारिला र चोटिला ढुंगे हतियार बनाउन खप्पिस भइसकेका थिए । आगोको जतन गर्न र पकाएर खान जान्दथे । जनावरको छालाको लुगा खुटेर न्यानो लगाउन सिकिसकेका थिए । मृतकलाई गाड्थे र साथमा केही उपहारसमेत छोड्थे । त्यसबेला खास–खास खालका संस्कारहरूको विकास भइसकेको थियो भन्ने पुरातात्त्विक प्रमाणहरू फेला परेकै छन्, मानौं उनीहरूमा पनि मृत्युपर्यन्तबारे सोच थियो । खासमा आधुनिक मानवको भन्दा नियान्डरथलको खोपडीको आकार ठूलो थियो । साधारणतया मान्छेको खोपडीको आकार १३५० देखि १४०० घन सेमि हुन्छ भने नियान्डरथलको १५०० देखि १५२० घन सेमिसम्म । यद्यपि आधुनिक मान्छेभन्दा उनीहरू चतुर भने थिएनन् । यदि चतुर हुँदा हुन् त अहिले उनका सन्तानले हाम्रा परापुर्खाबारे यसरी लेखिरहेका, पढिरहेका हुँदा हुन् । यद्यपि यो विषय सम्झँदा मात्रै पनि रमाइलो र अलौकिक लाग्ने परिकल्पना हो ।

यी सब पुरातात्त्विक प्रमाणका आधारमा भनिएका हुन् । सांस्कृतिक रूपले यति विकसित भइसकेको मानव प्रजाति कसरी अलप भयो ?

पुरातात्त्विक प्रमाणहरू भन्छन्— करिब–करिब ४० देखि ३० हजार वर्षपहिले आइपुग्दा यो मानव प्रजाति अस्तित्वबाट नै लोप हुन पुग्यो । त्यसरी सखाप हुनुको अनेक अनुमानित कारण छन् । त्यसमध्ये एक त्रिविविका मानवशास्त्रका उपरोक्त प्राध्यापकले भनेजस्तै यस्तै कुनै महामारीले प्रजाति नै सखाप भएको हुन सक्छ भन्ने अनुमान पनि एक हो । तर, हालसम्म उक्त अनुमान विश्वसनीय बनाउने खास प्रमाण भने फेला परिसकेका छैनन् । कोरोनाले मानव अस्तित्व नै संकटमा पर्छ भनेर मान्छेका भविष्यबारे जेजस्ता अनुमान गरिन्छन्, त्यसैगरी विगतबारे पनि अनुमान हुन्छन् नै ।

नियान्डरथलको विनाशकथा : एक नियति

हाम्रा पुर्खा अर्थात् होमो सेपियन्सको अतिक्रमणले गर्दा नियान्डरथल अर्थात् होमो नियान्डरथलेन्सिसलाई सखाप पारे भन्ने ठान्नेहरूको जमात ठूलै छ । अहिलेको मान्छेको हिंसात्मक स्वभाव र क्रूरता हेर्दा त्यो हो कि भन्ने पनि लाग्न सक्छ । भूमण्डलीकरणको सुरुआत सम्भवत: त्यही विन्दुबाट भएको थियो र भूमण्डलीकरणबाट पर्न सक्ने परिणामको पनि ।

हालसम्म बढी विश्वसनीय ठानिएको विनाश कथा भने ‘द ह्युमन्स हु वेन्ट एक्सिटिंक्ट : ह्वाई नियान्डरथल डाइड आउट एन्ड यु सर्भाइभ्ड’ का लेखक क्लाइभ फिनलेसोनले दिएका छन् । उनका अनुसार, नियान्डरथलले आफूलाई छिटो गतिमा चलिरहेको जलवायु एवं पारिस्थितिक परिवर्तनसँग अनुकूलन गर्न नसकेका कारण सखाप भएका हुन् । प्राध्यापक फिनलेसोन सेपियन्स चलाख र तीक्ष्ण बुद्धिका थिए तसर्थ मन्दबुद्धिको नियान्डरथललाई विस्थापित गरिदिए भन्नेजस्ता सरलीकृत व्याख्यामा विश्वास गर्दैनन् बरु अनुसन्धानमा आधारित भएर तर्क गर्छन् । उनी भन्छन्, ‘नियान्डरथल ठूला हिमयुगीन जनावरहरूको सिकारमा अत्यधिक भर पर्थे । जलवायु परिवर्तनसँगै ती जनावर टिक्न नसकेपछि तिनमा आश्रित नियान्डरथलहरू पनि टिक्न सकेनन् ।’ यद्यपि तातो अफ्रिकी भूगोलबाट फैलिने क्रममा क्रमश: आफूलाई जलवायु अनुकूलन बनाउँदै लगेको होमो सेपियन्ससँगको प्रतिस्पर्धा पनि सहायक कारण हुन सक्छ । तर, दुईबीचको प्रत्यक्ष मुठभेडको उपयुक्त र पर्याप्त प्रमाण भने भेटिएका छैनन् । सेपियन्सहरूको लामो दूरीको सम्पर्क, उन्नत सिकारविधि, खाद्यान्न–स्रोतमा पनि विविधता आदि कारणले गर्दा नियान्डरथलको तुलनामा सेपियन्स सक्षम थिए भन्ने तर्क अस्वाभाविक लाग्दैन ।

यस सन्दर्भमा के कुरा याद गरिनुपर्छ भने करिब २५ लाख वर्षको सांस्कृतिक मानवको इतिहासबारे आज जे–जति भनिएका छन् ती हालसम्म प्राप्त पुरातात्त्विक प्रमाणका आधारमा भनिएका हुन् । पुरातात्त्विक अन्वेषण अति विशिष्टीकृत कार्य मात्र नभई ज्यादै महँगो पनि हुन्छ । तसर्थ नयाँ–नयाँ तथ्य, सन्धान र विश्लेषण आउन समय लाग्छ । प्राप्त नयाँ तथ्यसँगै मानवको इतिहास–कथा पनि फेरिँदै जान सक्छ । मानवनिर्मित वा उपयोग गरिएको पहिलो पाषाण औजार प्राप्त समयदेखि गणना गरिएर सांस्कृतिक मानवको प्राचीनता २२ देखि २५ लाख वर्षसम्म भनिएको हो । मानव जातिको पहिलो सांस्कृतिक पहिचान उसले औजार निर्माण र उपयोगसहित श्रमको विशिष्टतामा नै निहित छ । तिनै मानवनिर्मित ढुंगे हतियारलगायतका भौतिक वस्तुहरू सांस्कृतिक उद्भव र उद्विकास अध्ययन गर्न उपलब्ध स्रोत हुन्, जुन लेख्य सामग्रीभन्दा निष्पक्ष र भरपर्दा प्रमाण हुन्छन् ।

मानव अस्तित्व संकटमुक्त छैन

नियान्डरथलको विनाश–कथा किन सान्दर्भिक छ आजको युगमा ? यो महत्त्वपूर्ण प्रश्न हो । करोडौं वर्षको इतिहास भएको पृथ्वी र दसौं लाख वर्षको इतिहास भएको मान्छेको इतिहाससामु यो आधुनिक मान्छेको दुई लाख वर्षको इतिहास वा ३० हजार वर्षको एकछत्र शासनको अवधि धेरै होइन । जुन दरमा पृथ्वीमा प्रकृतिको दोहन भइरहेको छ, जुन लयमा जलवायु परिवर्तन भइरहेको छ, यदि मान्छले आफ्नो हन्तकाली स्वभाव नबदल्ने हो भने एउटा समय आउनेछ, जतिबेला मान्छेको अस्तित्व अभेद्य संकटमा पर्नेछ । पृथ्वीबाट विलय हुने सूचीमा नियान्डरथल अन्तिम नहुन सक्छ । त्यसो त यतिबेला यस चराचर जगत्मा कति वनस्पति र जीवका प्रजाति लोपोन्मुख छन्, त्यसको यकिन तथ्यांक छैन भने आजभन्दा अघि कति लोप भए भन्ने तथ्यांक त परको कुरा भइगयो । अर्थात् हामी यसै पनि निरन्तर विनाशको चक्रमै छौं ।

निजी स्वार्थ, नाफा र आराम मान्छेको वैश्यिक चरित्र हो र त्यस अर्थमा संसारका सबै मान्छेको मनोवृत्ति उस्तै हुन्छ अर्थात् उनीहरू निजी लाभका लागि जुनसुकै मूल्य चुकाउन पनि हिचकिचाउँदैनन् । यस्तो खाले नाफाखोर पुँजीवादी संकथनले सीमित मान्छेका नाफाका लागि आम मान्छेको वियोग स्वाभाविकजस्तो बनाइदिएको छ । पृथ्वी भएकाले मानव अस्तित्व सम्भव भएको हो न कि मानव भएका कारण पृथ्वी भन्ने कुरा हामीले बिर्सिसकेका छौं । पृथ्वीको एकोहोरो दोहन र प्रकृतिको विनाशमा आधारित विकास र समृद्धिको आखिरी परिणामबारे नि:संकोच बेवास्ता गर्नेहरूले बुझ्नुपर्ने अति साधारण कुरा के मात्र हो भने प्रकृति र वातावरणसँग अनुकूल हुन नसक्दा नियान्डरथल लोप भएका हुन् । संस्कृति र प्रकृतिमैत्री विकासले मानव जीवन मात्र होइन पृथ्वी र यहाँ द्रुत गतिमा भैरहेको जैविक विविधताको पनि जगेर्ना गर्नेछ । अहिले त लोप भएका नियान्डरथलका कथा पढिदिने हामी छौं तर त्यतिबेला त हाम्रो विलोप कथा पढिदिने कोही हुनै छैनन् ।

कार्ल मार्क्स, जो पुँजीवादी अर्थव्यवस्थाको व्याख्याता हुन् तथा उनी आलोचक अर्थराजनीतिक सिद्धान्तकारका रूपमा परिचित छन् । तर, उनको मानव प्रकृति सम्बन्धका धारणा कमै चर्चा हुन्छन् । मार्क्स भन्छन्, ‘एउटा समस्त समाज, एउटा राष्ट्र्र वा सहअस्तित्वमा रहेका समग्र समाज र राष्ट्र एकै ठाउँमा आए पनि उनीहरू यो धरतीका मालिक होइनन् । उनीहरू यो धराका केवल उपभोगकर्ता, लाभग्राही मात्र हुन् र आउँदो पुस्ताका लागि उनीहरूले यो पृथ्वी अहिलेभन्दा उन्नत अवस्था हस्तान्तरण गरेर जानुपर्छ ।’

के आजको मान्छेले त्यस्तो न्याय गर्न सक्ला आफ्नै सन्ततिका लागि ? वा आफ्नै सन्ततिको विनाश अझै छिट्टै निम्त्याएर जानेछन् ? यो प्रश्न कुनै एक व्यक्ति, समाज वा राष्ट्रमाथि होइन, आजको सभ्यतामाथि हो ।

प्रकाशित : असार २०, २०७७ १२:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×