विदेशको सीप कि कमाइ ?

दीप्स शाह

केही वर्षपहिले थोरै पैसाको जोहो होला भनी आमनेपालीझैं म वैदेशिक रोजगारीमा निस्किएँ । परदेशको बसाइले मेरो परिवारले केही सुविधा पायो अनि देशले रेमिट्यान्स । मजस्ता लाखौं युवा यसरी नै केही सपना साकार पार्न संसारको कुनाकुनामा छरिएका छन् । वैदेशिक रोजगारीका नाममा भएभरको जोस, जाँगर र स्फूर्ति पराई माटोमा विसर्जन गरिरहेका छन् ।

विदेशको सीप कि कमाइ ?

हामीले विदेशमा गरेको अर्थोपार्जनका कारण परिवारले पाएको सुविधा भनेको हातहातमा स्मार्टफोन र अलिक ठूला स्क्रिनका टेलिभिजन हो । अलि कमाइ हुनेले लुगा धुने मेसिन, छोराछोरीलाई बाइक–स्कुटर, गरगहना, महँगा लुगाफाटा, बिहे भोजमा देखाइने बडप्पन आदिमा खर्च गर्छन् । सहरमा घरघडेरी जोड्नु, घडेरी जोड्न नसके पनि डेरा गरी बस्नु अनिवार्य सुखसुविधाको सूचक बन्यो । साथसाथै निजी स्कुलमा छोराछोरी पढाउने ‘ट्रेन्ड’ नै बन्यो । सामान्य परिवारको दैनिकी बदलियो र यसैलाई हामीले आर्थिक उन्नति मानिरहेका छौं । तर के यो फेरिएको स्तर दिगो हो ? यसबाट हामीले जीवनोपयोगी सीप सिकेका छौं ?

वैदेशिक रोजगारीले मेरो परिवारले पहिलेभन्दा केही फरक जिन्दगी भोगेकै हो । थप सुविधा पनि उपभोग गर्‍यो । तर जब म देश फर्कें, मेरा कमाइका बाटाहरू ठप्पजस्तै भए । बाँच्ने तरिका फेरियो तर आर्थिक आधार फेरिएन । जस्तो, केही वर्षको कमाइ र परदेश बसाइले म र मेरो परिवारलाई इन्टरनेटको आदत पर्‍यो । मेसिनमा लुगा धुने, स्कुटरमा हुइँकिने जस्ता खर्चिला बानी पनि बसे । तर यही स्तरको जिन्दगी बाँचिरहन के म सधैंसधैं परदेशमा पसिना बगाइरहन सक्छु त ? पक्कै पनि सम्भव छैन । र, फेरि म र मेरो परिवारको दैनिकी उही वैदेशिक रोजगारीमा जानुअघिकै अवस्थामा फर्किने हो भने निश्चित छ हामी डिप्रेसनको सिकार हुनेछौं या हताश भएर आत्महत्यासम्म पनि गर्न सक्नेछौं । नत्र कि म नभए मेरो अर्को पुस्ता बिदेसिन बाध्य हुनेछ र यही सिलसिला दोहोर्‍याइरहन हामी अभिशप्त छौं । यहाँनेर म भन्नु मेरो पुस्ताको प्रतिविम्ब हो । म आम नेपालीको प्रतिनिधि पात्र हुँ ।

आदतले, सामाजिक प्रतिष्ठाको डरले या पारिवारिक दबाबले गर्दा जसरी पनि कमाइ गर्नैपर्ने र बोक्रे प्रतिष्ठा जोगाउने बाध्यता भइरहन्छ । यसकै परिपूर्तिका लागि हरेकजसो परिवार कोही न कोही सदस्यसँग टाढिरहनुपर्छ अनि मुलुकले पनि जोसिलो युवालाई सधैं गुमाइरहनुपर्छ । जबकि यो अन्तहीन त्याग भविष्यबिनाको अस्थायी कमाइ साबित भइरहेको छ । फेरिएको दैनिकीको यस्तो आयु अनिश्चित र छोटो छ । परिणामतः यसले निम्त्याउने आर्थिक, पारिवारिक, सांस्कृतिक, धार्मिक र राजनीतिक विचलनले गर्दा आजको पुस्ता चरम डिप्रेसनमा छ । साथै रेमिट्यान्सको ग्राफ जतिजति उक्ले पनि मुलुकको आर्थिक उन्नतिको ग्राफ तलतल धस्सिँदै गएको छ ।

युवाको जोसिलो जमातलाई देशमै दीर्घकालीन रोजगारी उपलब्ध गराई यहीँ बाँच्न सक्ने बनाउनु उन्नतिको आधार हो । विश्वव्यापीकरणको यो समयमा देशभित्रै खुम्चिरहनुलाई प्रगतिको सूचक भन्न नमिल्ला तर अस्थायी कमाइका लागि हरेक पुस्ताको जोस–जाँगर, विद्वत्ता र विज्ञता देशबाहिरै खेर गइरहेको छ । हुन त मुलुक निरंकुश निर्दलीय शासनदेखि प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतान्त्रिक व्यवस्थासम्म आइसकेको छ । तर आम जनताको जीवनस्तरमा कत्तिको आर्थिक–बौद्धिक परिवर्तन आयो ? जनताले के फरक जीवन पाएका छन् ? शासनव्यवस्था परिवर्तन भएसँगै मुलुकमा रोजगारीको वृद्धि भएको छ ? तन्त्रको फेरबदलले नागरिकको दैनिकीमा सुधार आएको छ ? छैन ।

लोकतन्त्र भनेको अर्थतन्त्रको औद्योगीकरण हो । आम्दानी र खर्चको बरोबर सन्तुलन मिल्नुपर्छ । तर बिहान उठेदेखि राति नसुतुन्जेल प्रयोगमा आउने सबै दैनिक आवश्यकताका चीजबीज रेमिट्यान्सले किनेर मुलुक बाँचिरहेछ । यसको सोझो अर्थ हो— देशमा उत्पादन हुँदैन । उत्पादन नहुनु भनेको उद्योग र कृषि क्षेत्रका कमाइका बाटा बन्द हुनु हो अर्थात् रोजगारी नहुनु । हामीले उत्पादन गरिरहेका छैनौं न त बेच्ने चीज नै छ । केवल किनिरहेछौं । र, किन्ने पैसाको जोहो गर्न परदेशका गल्ली र चौबाटामा भौंतारिरहेछौं । यो सिलसिला कहिलेसम्म ? अनि देश बनाउँछौं भनेर बराबर सत्ताको भर्‍याङ चढेर नेतृत्व सम्हाल्नेहरूको काम के हो ? मुलुक बनाउँछौं भन्नेहरूको काम सत्ताको चास्नीमा डुबेर मजदुरहरूको पसिनामा रमाउने र युवालाई हरियो पासपोर्ट थमाएर देशको सिमाना कटाइरहनु मात्रै हो ? यो देश बन्ने कहिले ? बनाउने कसले हो ?

प्रकाशित : श्रावण ८, २०७७ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?