सावधानी अपनाऔं, महामारी सकिएको छैन

सम्पादकीय

कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर चैत ११ गते ‘लकडाउन’ सुरु गरिँदा मुलुकमा जम्मा दुई जना संक्रमित रहेको पुष्टि भएको थियो । तीमध्ये एकलाई पहिल्यै निको भइसकेको थियो । झन्डै चार महिनापछि मंगलबार रातिदेखि सरकारले लकडाउन अन्त्यको घोषणा गर्दा मुलुकले यसको गहिरो संकट भोगिरहेको छ ।

सावधानी अपनाऔं, महामारी सकिएको छैन

संक्रमण लगभग देशभरि फैलिएको छ । हालसम्म करिब १८ हजारमा संक्रमण पाइएकामा ५ हजारभन्दा बढी निको हुनै बाँकी छन् । यसबीचमा ४० जनाको मृत्यु भइसकेको छ । यसको अर्थ हो, खतरा जारी छ । लकडाउन सुरु भएको बखतभन्दा जोखिमको मात्रा बढी छ । तसर्थ, लकडाउन अन्त्य गरे पनि सरकारले महामारी रोकथाम र नियन्त्रणका पहलहरू जारी राख्नुपर्छ । मानिसहरूको आवागमन बाक्लिँदै जाने भएकाले सरकारी संयन्त्रहरू अझ बढी चनाखो हुनुपर्छ । नागरिकहरू आफैं पनि पूर्ण रूपमा सतर्क रहनुपर्छ । संक्रमण सर्ने–नसर्ने, फैलने–नफैलने व्यक्तिविशेषको चालचलन वा होसियारीमा धेरै भर पर्छ ।

जोखिम जारी नै रहे पनि सरकारसित लकडाउन अन्त्य गर्नुको विकल्प बाँकी थिएन । झन्डै तीन महिनासम्म निरन्तर निर्विकल्प रूपमा लगाइएको र त्यसपछिका दिनमा पनि आंशिक रूपमा बाँकी राखिएको लकडाउनले अर्थतन्त्र चौपट बनिसकेको थियो/छ । मानिसहरूको आवागमनदेखि कच्चा पदार्थको आपूर्तिसम्म रोकिँदा आंशिक खुलेको लकडाउनमा पनि अनुमतिप्राप्त उद्योग–कारखाना पूर्ण रूपमा चल्न सकेका थिएनन् । आफ्नै सवारीसाधन नहुनेहरूलाई कामका लागि पैदलयात्राले नभ्याउने दूरीमा पुग्ने उपाय थिएन । सधैं यसैगरी चल्न न मुलुकका लागि सम्भव थियो, न नागरिकका लागि । गरिखाने वर्गको उहिल्यै बेहाल भइसकेको थियो । त्यसैले मुलुकको अर्थतन्त्र चलायमान बनाउन र जनजीविका सहज तुल्याउन लकडाउनको अन्त्य आवश्यक थियो ।

यस्तो बेला लकडाउन खोल्नुको अर्थ देशको अर्थतन्त्र र नागरिकको दैनिकी सहज बनाउनु मात्र होइन, मुलुकलाई विश्वव्यापी महाव्याधिको चक्रबाट मुक्त बनाउन अझ जटिल परीक्षा दिनु पनि हो । हिजो कडा लकडाउन भएकै बेला उच्च दरमा संक्रमण अकासिएको तथ्य यहाँ भुल्नु हुँदैन । अब त निजी यातायातमा जोरबिजोर हटाइएको छ, सरकारी कार्यालयमा एकै ‘सिफ्ट’ मा काम हुनेछ । यही साउन १५ बाट ट्रेकिङ, ट्राभल्स, पर्वतारोहण, पर्यटन व्यवसाय खुल्नेछन् । सामूहिक भोज र भेलाबाहेक होटल र रेस्टुरेन्ट पनि खुला हुनेछन् । त्यस्तै भदौ १ गतेदेखि लामो दूरीका सवारीसाधन, विद्यार्थी भर्ना, परीक्षा सञ्चालन आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान, अन्तर्राष्ट्रिय खेलकुद प्रशिक्षण र प्रारम्भिक चरणका खेलहरू पनि सुरु हुनेछन् । यी सबै सुरु हुनु भनेको मानिसहरूको आवागमन र जमघट बढ्नु हो । यस्तो अवस्थामा आवश्यक स्वास्थ्य सावधानी नअपनाएमा कसैमा संक्रमण रहेछ भने अरू धेरैमा सजिलै सर्ने जोखिम बढी हुन्छ, त्यही भएर सम्बन्धित सबैले उचित सतर्कता अपनाउनैपर्छ ।

अबका दिनमा सरकार, विभिन्न सेवाप्रदायक र नागरिक सबैले आ–आफ्नो उत्तरदायित्वको पालना गर्नुपर्छ । सरकारले यथासम्भव मुलुकलाई सामान्य परिस्थितिमा ल्याउन आफ्ना काम–कारबाहीलाई प्रभावकारी बनाउनुपर्छ । संक्रमितहरूको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्न अब झनै चुनौती हुन्छ, त्यसका लागि सरकारी निकायले आफ्नो क्षमतामा वृद्धि गर्नुपर्छ ।

केही समययता पीसीआर परीक्षणको दर घटाइएको छ, यसलाई बढाउनुपर्छ । काठमाडौं उपत्यकाजस्ता घना बस्ती भएका सहरमा ‘यात्रा इतिहास’ नै नभएकामा पनि संक्रमण पाइएको छ, त्यसैले संक्रमित पत्ता लगाउन उपयुक्त रणनीति अपनाउनुपर्छ, नमुना

परीक्षणहरू बढाउनुपर्छ । निश्चित स्थानमा बढी मात्रा संक्रमित पाइएमा त्यहाँ निषेधित क्षेत्र तोक्नुपर्ने अवस्थासमेत आउन सक्छ । सरकार तदर्थवादी शैलीमा मात्रै अघि बढेमा संकट अविच्छिन्न रहिरहन्छ, त्यस्तो हुन दिनु हुँदैन । यो महामारी आफैं हट्दैन, सरकारको उचित प्रयत्न र नागरिकको सावधानीले संक्रमण बढ्न नदिएर यसलाई पन्छाउँदै जानुपर्छ । चार महिनासम्म लगाइएको लकडाउनको सरकारले पूर्ण सदुपयोग गर्न सकेको भए सायद अहिले संक्रमण नियन्त्रणकै स्थितिमा आउन असम्भव थिएन । अब हिजोका गल्तीबाट पाठ सिक्नुपर्छ । भोलिका दिनमा संकट गहिरिन नदिन र स्थिति नियन्त्रणमा ल्याउन सरकारी निकायले उचित पहल जारी राख्नैपर्छ ।

सेवाप्रदायकहरूले पनि स्वास्थ्य सतर्कताका लागि सरकारी निर्देशनको पालना गर्नुपर्छ । सरकारले विद्यालय/कलेज सञ्चालनदेखि सभा–गोष्ठी, सिनेमाहल, सामूहिक खेल र तोकिएकाबाहेक अन्तर्राष्ट्रिय नाकाबाट प्रवेशमा अझै रोक लगाएको छ । अर्को सरकारी सूचना नआएसम्म यसको पालना गरिनुपर्छ । सार्वजनिक यातायात सञ्चालकहरूले यात्रुहरू चढाउँदा, ओराल्दा र सिटमा राख्दा व्यक्तिगत दूरी कायम गराउनुपर्छ । सरकार या यातायात व्यवसायीहरूले कुन–कुन किसिमका सवारीसाधनमा यात्रुहरूबीच कसरी व्यक्तिगत दूरी कायम गर्ने भनेर मापदण्ड नै बनाउनु उत्तम हुन्छ । हरेक सार्वजनिक सवारीमा ‘ह्यान्ड स्यानिटाइजर’ राखिनुपर्छ । यात्रुहरूलाई मास्क अनिवार्य गरिनुपर्छ । यस्तै नियमहरू रेस्टुरेन्ट र होटलहरूका हकमा पनि लागू हुनुपर्छ ।

अब खुला माहोल भयो भन्दैमा नागरिकहरूले घरबाहिर निस्कँदा मास्क लगाउने, सम्भव भएसम्म हात धुने, ह्यान्ड स्यानिटाइजरको प्रयोग गर्ने कुरा बिर्सनु हुन्न । भीडभाड हुन नदिनेमै जोड हुनुपर्छ । सकेसम्म त्यस्तो स्थानमा जानु हुँदैन । वृद्धवृद्धा वा जोखिममा भएका समूहले अझ बढी आफ्नो ख्याल गर्नुपर्छ, सम्भव भएसम्म घरबाहिर ननिस्कनु नै उत्तम हुन्छ । बढ्दो आवागमनका कारण संक्रमण सर्ने जोखिम पनि बढेको तथ्य हरेकले ध्यान दिनुपर्छ । प्रत्येक नागरिकले सचेतनापूर्वक पाइला चाल्दा मात्रै महामारी घटाउन सकिन्छ । तसर्थ, सरकारले आफ्ना काम–कारबाहीलाई प्रभावकारी बनाउन जति आवश्यक छ, त्यति नै खाँचो पर्छ सेवाप्रदायक र आम नागरिकहरूले आफ्नोतर्फबाट सतर्कता अपनाउन । यो बेला सबै पक्षमा जिम्मेवारीबोध हुनुपर्छ, किनभने लकडाउन हटाइए पनि महामारी सकिएको छैन ।

प्रकाशित : श्रावण ८, २०७७ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?