१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अबको युग हातमा सीप हुनेको

अटोमोबाइल, मेकानिकल, विद्युत्, कृषि र निर्माणसम्बन्धी सीप तथा प्रशिक्षक तयार पार्ने कामको सुरूआत युद्धस्तरमै गर्नुपर्छ ।
सुरेशराज शर्मा

मुलुकको चौतर्फी विकास अपरिहार्य भइसकेको छ । तर, यसका लागि आवश्यक ऊर्जाशील र कर्मशील युवाको जमात तयार भइसकेको छैन । त्यस जमातभित्र सक्षम योजनाकार, सक्षम प्राविधिज्ञ, सक्षम व्यवस्थापक र सक्षम शिल्पकार वा सीपयुक्त कामदार पर्छन् । मुलुकमा भएका शिक्षण संस्था र तालिम केन्द्रहरूले त्यो भूमिका निर्वाह गरिरहेका हुन्छन् ।

अबको युग हातमा सीप हुनेको

राम्रो योजना चाहिन्छ । त्यसको कार्यान्वयन गर्न सक्ने अठोट र क्षमता पनि चाहिन्छ । जनस्तरमा ‘यिनीहरू गर्छु भनेका कुरा गर्न सक्छन्’ भन्ने विश्वास पनि चाहिन्छ । गर्न सक्नेलाई प्रोत्साहन गर्ने र नसक्नेलाई दण्डित गर्ने परिपाटी पनि चाहिन्छ । गर्न नसक्नेलाई हटाउन नसक्ने वा मोलाहिजा गर्ने संस्कारको अन्त्य हुनैपर्छ ।

हालैका वर्षहरूमा भीषण बाढी–पहिरो गएको, ठूलो भुइँचालो गएको र हालसालै कोरोना भाइरसको सङ्क्रमणसमेत भएको छ । यी कार्यको सम्पादन राम्रोसँग भयो कि भएन, बाहिरी जगत्ले पनि हेरिरहेको छÙ मुलुकभित्र पनि जनताले धैर्य जनाउँदै हेरिरहेका छन् । आजको समयमा भित्री प्रतिस्पर्धा मात्र होइन, बाहिरी प्रतिस्पर्धा पनि त्यत्तिकै चर्को रूपमा देखा परिरहेको छ । उत्पादित वस्तुको स्तर र मूल्य, रोजगारीको अवसर र तालिम तथा शिक्षा दिने अवसर पनि सीमारहित (बोर्डरलेस कमोडिटिज) हुन पुगेको छ । योग्य छन्, सक्षम छन् भने जहाँ पनि बिक्छन् । योग्य र सक्षम छैनन् भने कहीँ पनि बिक्तैनन् । उच्च शिक्षा दिने संस्थाहरूको स्तर मापन (ग्लोबल र्‍याङ्किङ) तटस्थ संस्थाहरूले गरिरहेका छन् । स्तर मापन गर्ने ‘एक्रिडिटेसन सिस्टम’ पनि निकै सशक्त भएको छ । हामी तिनको मापनका आधारमा अवसर पाइने समयमा छौं ।

विज्ञान र प्रविधिको विकासको वेग पनि बेजोडको भएको छ । औद्योगिक क्रान्ति (इन्डस्ट्रियल रिभोल्युसन) पश्चात् तीव्र औद्योगिक विकास भयो । त्यसको लाभ बढी विकसित र नवविकसित राष्ट्रले लिए । त्यसपछि हरित क्रान्ति र श्वेत क्रान्ति (ग्रिन रिभोल्युसन एन्ड ह्वाइट रिभोल्युसन) को युग आयो । त्यसको लाभ हाम्रा छिमेकी मुलुकहरूदेखि इजरायल, न्युजिल्यान्ड, अस्ट्रेलिया, भियतनाम, कम्बोडिया, मलेसियाजस्ता थुप्रै नवविकसित राष्ट्रहरूले राम्रैसित लिइरहेका छन् । अहिले सूचना प्रविधि (इन्फर्मेसन टेक्नोलोजी) र जीव प्रविधि (बायोटेक्नोलोजी) को युग छ । त्यसमा पनि चुक्यौं भने हामी असफल राष्ट्रको पङ्क्तिमा पुग्न सक्छौं । अठोट, चुस्तपन (स्मार्टनेस) र चनाखोपनमै हाम्रो विकास निर्भर गर्छ ।

अब ध्यान आफ्नै समस्यातिर केन्द्रित गर्न खोजौं । पहिले त हामी परनिर्भरताको अवस्थाबाट मुक्त भई आत्मनिर्भरताको अवस्थामा पुग्नैपर्छ । विश्वविद्यालयका स्नातक होऊन् वा सीप–परीक्षणमा सफल भएका प्राविधिज्ञ वा कामदार, ती प्रमाणपत्र बोक्ने होइन कि जहाँ पनि माग गरिने पोख्तता बोक्ने हुनुपर्‍यो । स्नातक त भयौं, तर रोजगारी पाउनलायक भएनछौं भनी ‘नो अब्जेक्सन लेटर’ बोकेर त्यही कुरा सिक्न बाहिर जाने क्रमलाई रोक्नुपर्‍यो । यस्तै कोर्स पढ्न लोभ्याउने अस्ट्रेलिया, कोरिया, बेलायत, अमेरिकासम्मका आएर नेपालबाट पचासौं हजारमा बाहिर लगिन थालेको दशकौं भइसक्यो । नेपालले बाहिर जान खोज्ने होइन, यहाँ पनि शिक्षा र तालिम उम्दा दर्जाको छ भनेर देखाउने शिक्षण संस्था वा तालिम केन्द्रहरू बनाउनुपर्‍यो । त्यस काममा नेपालको उद्योग–व्यवसायसित हातेमालो वा साझेदारी गर्नुपर्‍यो । सञ्चारमाध्यमले पनि यस्ता संस्था नेपालमा बनाउन र देखाउन भनिदिनुपर्‍यो । कहीँ बाहिरी संस्थाको पो विज्ञापन भइरहेको छ कि भन्ने हेरेर राष्ट्रप्रेम जगाइदिनुपर्‍यो ।

नेपालकै विश्वविद्यालय र मेडिकल कलेजहरूमा आधाभन्दा बढी सिटमा विदेशी विद्यार्थीले पढेका उदाहरणहरू छन् । सूचना प्रविधिको विधामा त्यो हुन सक्ने अवस्थामा हामी पुगेका पनि छौं । गलैंचा, पस्मिना, ऊनीका ओढ्नेहरू उम्दा दर्जा र स्तरका बनाएर युरोप–अमेरिकासम्म राम्रैसित निर्यात गरेका पनि थियौं । अब त ऊन उत्पादन गर्ने भेडा, च्याङ्ग्रा आदिका गोठहरू पनि शून्य र उजाड हुन लागेको देख्तै छौं । उच्च गुणस्तरका काठ र वनस्पति नेपालमै छन् । वनौषधि पनि यहीँ छन् । सुगन्धित तेलहरू हुने वन पैदावार पनि यहीँ छन् । काष्ठकला, पाषाणकला र धातुकलामा आफ्ना कीर्तिहरू परसम्म पुर्‍याएका कालिगडहरूले प्रोत्साहन नपाएकाले उनीहरू पेसा छोड्दै वा झोक्राएर बस्तै गएको अवस्थामा भेटिन थालेका छन् ।

आधारभूत तहको सीप विकास गर्न शिक्षा मन्त्रालयको मात्र होइन, कृषि, वन, स्वास्थ्य, श्रम तथा युवा रोजगारी, निर्माण–यातायात मन्त्रालयहरूको पनि सामूहिक प्रयास आवश्यक देखिन्छ ।

कृषिका लागि उर्वर भूमि यहीँ छ । वन पैदावारका लागि त्यस्तै छ । जल ऊर्जा पनि त्यस्तै छ । सुन्दर, शान्त, विशाल भनिएको प्राकृतिक रूपले अत्यन्त सुन्दर नेपालको सुन्दरतालाई फस्टाउन दिएर पर्यटक लोभ्याउन सक्यौं भने अथाह अवसर यहीँ छन् ।

हामीले हाम्रो शिल्पकलालाई जोगाउनु छ, जुन गाह्रो पनि छैन । सीप सिकाउने काम सीप भएकै प्रशिक्षकलाई दिनुपर्छ । सीप सिकाउने प्रशिक्षक हामीलाई पचासौं हजारमा चाहिएका छन् । ती कहाँ तयार हुन्छन् र कसले तयार गर्छ, त्यतातिर हेरेका छैनौं । १ लाख सीपयुक्त कामदार तयार गर्ने संरचना बनिसकेको छैन । हामी चाँडै ७–८ लाख जनशक्ति तयार गर्छौं भनेर सरकार कस्सिएको देख्तै छौं । सीप सिकाउने ठाउँ सीप भएकै ठाउँ हुन सक्छ । औद्योगिक क्षेत्रको सीप उद्योगमै सिकाउनुपर्छ । कार्पेन्ट्री सिकाउने काम काठ उद्योगमै हुनुपर्छ । स्वास्थ्यसम्बन्धी सीप अस्पतालमै सिकाउनुपर्छ । कृषि प्राविधिज्ञ कृषि फार्म या कृषि उद्योगबाटै उत्पादन गर्नुपर्छ । ‘हस्पिटालिटी’ व्यवस्थापन क्षमता होटल, लज, रेस्टुराँमै सिकाउनुपर्छ । माध्यमिक र उच्च माध्यमिक विद्यालयमा ज्ञान त सिक्छन्, तर सीप सिक्तैनन् । यो कुरा बुझ्नु आवश्यक छ । हुन सक्ने कुरा गरौं, हुनुपर्ने ढंगबाट गरौं । हामीले पार गर्नुपर्ने बाटो लामो छ । तर ढंगसित गर्‍यौं भने छोटो पनि हुन सक्छ ।

आज ट्रान्सपोर्टसम्बन्धी सीप (अटोमोबाइल स्किल), उत्पादनसम्बन्धी सीप (मेकानिकल स्किल), विद्युत्सम्बन्धी सीप, कृषिसम्बन्धी सीप, निर्माणसम्बन्धी सीप र प्रशिक्षक तयार पार्ने काम प्राथमिकतासहित युद्धस्तरमै थाल्नुपर्छ । कोसँग बढी बुद्धि छ भनेर बुद्धिमान्हरू खोज्ने होइन; गर्न सक्ने, रोजगारी मात्र नदिई तालिमको प्याकेज बनाउने, तालिमको स्तर निर्धारण गर्ने, तालिममै बलियो साझेदारी गर्ने सहयात्री (पार्टनरसिप) चाहिएको छ । व्यावहारिक ज्ञान उत्पादन स्थलमै गर्न दिने र प्रशिक्षणको काममा सघाउन खोज्ने हो भने तालिमको खर्च धेरै कम हुन जान्छ । राम्रो साझेदारीका हस्तीहरू खोज्न मात्र सक्नुपरेको छ ।

अब आधारभूत तहको सीप विकास गर्न शिक्षा मन्त्रालयको मात्र होइन, कृषि, वन, स्वास्थ्य, श्रम तथा युवा रोजगारी, निर्माण–यातायात मन्त्रालयहरूको पनि सामूहिक प्रयास आवश्यक देखिन्छ । मध्यमस्तरका प्राविधिज्ञमा उच्च तहको प्राविधिज्ञको सहायकको भूमिका खेल्न सक्ने र तल्लो स्तरको सुपरभाइजर तथा केही हदमा सम्भारकार्य (मेन्टिनेन्स) लाई सघाउन सक्ने पनि क्षमता रहनुपर्ने हुँदा यस तहको शिक्षा विद्यालय जाने उमेर समूहलाई दिने गरी सीटीईभीटीले व्यवस्था गर्नुपर्ने हुन्छ । यस्तो काम उच्च शिक्षा दिने संस्थाले पनि गर्नुपर्ने र केही हदमा औद्योगिक क्षेत्र, बैंक र रेस्टुराँमा समेत गर्नुपर्ने देखिन्छ । यसमा निजी तथा आवासीय विद्यालयहरूले खेल्न सक्ने भूमिका पनि निकै ठूलो छ ।

-शर्मा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति हुन् ।

प्रकाशित : श्रावण ६, २०७७ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?