३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जनता नदुख्ने राजनीति

देश महामारी, संकट, महँगी, अभाव, अत्यासले थिचिएका बेला सत्ताधारी पार्टीभित्र उर्लिएको छिनाझपटीको अन्तर्यमा जनता कहीँ छैनन् । बिनालगानी नाफा सोहोर्ने सबैभन्दा सहज राष्ट्रिय उद्यमशीलता भएको छ राजनीति ।
यादव देवकोटा

महिनादिनभन्दा बढीदेखि लगातारजसो दर्किरहेको झरी थामिने कुनै गुन्जायस छैन, यता पहाडमा । रोपाइँको याममा पनि झरी नदर्किए किसानहरूले न्वागी खानसमेत बेसाहाको बोरा घिसार्नुपर्नेछ । राजनीतिदेखि खाद्यान्नसम्म परनिर्भरता उसै पनि राष्ट्रिय पहिचान बनेकै छ । आर्थिक परनिर्भरताको घुम ओढेर राष्ट्रवादको बाउसे भने खुबै आत्मनिर्भरताको साथ मच्चिइरहन्छ ।

जनता नदुख्ने राजनीति

आफूलाई अब्बल राष्ट्रवादी देखाउन अरूलाई विदेशी दलाल, राष्ट्रघाती भन्दै हिलो छ्यापाछ्यापका कारण सक्कली अनुहार नै छ्यापिएको, पोतिएको हिलाले चिन्नै नसक्ने गरी लतपतिएको हुन्छ । लतपतिएको अनुहार बोकेर उपस्थित भएकाहरूमध्ये जानिन्न, को सक्कली राष्ट्रवादी हो र को नक्कली । नक्कली र सक्कली नै नचिनिने भएपछि जसले डकारे पनि भयो, राष्ट्रवादको पाल्सी श्लोक ।

सत्तामा अडेस लागेर नागरिकलाई, समाजलाई, अर्थतन्त्रलाई, उत्पादनलाई, देशलाई, राष्ट्रिय आत्मबललाई कमजोर र हीनतर बनाउन सकेको तागत खैंचनेहरू केही थान जगेडा ठट्यौलो भाषण वितरण गरेको भरमा सबैभन्दा चर्को राष्ट्रवादी बन्छन् । कम से कम चार दशकदेखि राजनीतिबाहेक अर्को कुनै आर्थिक उपार्जनको उद्यममा नलागेको राजनीतिक पेसेवर राजनीतिकै भरमा यताका दिनहरूमा सहरको सबैभन्दा सम्पन्न व्यापारीको जस्तो जीवनशैली बाँचिरहेको हुन्छ । जीवनको आरम्भदेखि सिंगै जिन्दगी दुःख पखाल्न पसिना निचोरिरहेका किसान, मजदुर भने झन्झन् निमुखा बनिरहेका छन् । देश झन्झन् दरिद्र बनिरहेको छ । वैदेशिक ऋणको भारले देश भीखमंगा हालतमा लडखडाएको छ ।

औषधिदेखि सडकसम्म, बिजुलीदेखि अदालतसम्म, संसद्देखि स्थानीय तहसम्म सबै विदेशी दान, अनुदान, ऋणमा निर्भर छन् । नागरिकलाई निमुखा, देशलाई दरिद्र, अर्थतन्त्रलाई भीखमंगा बनाएर आफू मोटाउने राजनीति गर्नेहरू नजाने कुन आत्मबलले राष्ट्रवादको पाल्सी र कर्कश सारेगम उग्राइबस्छन्, बिनालज्जा । पुस्तौंदेखि देशको सम्पत्ति बपौतीमा निजी भोग गरेर सन्तानहरू विदेशमा व्यवस्थापन गरिआएको वाक्पटु टेलिभिजनमा खै कुन आत्मबलले हो, मयलपोसमा ठाँटिएर सीमायुद्धको ऐलान गर्दै देशमा बुँद–बुँद पसिना सिञ्चन गरिरहेका भुइँमानिसहरूलाई राष्ट्रवादको गर्मी वितरण गरिरहेको हुन्छ, घनघोर राष्ट्रवादी बन्दै ।

उसै पनि बुद्ध, सीता, जनक, हिमाल, पहाड, फूल, जनावर, मिथकहरूमाथिका निबन्ध रटेर राष्ट्रियता मजबुत बनाउने महेन्द्रीय चेतनाको पाइनले तिखारिएको देश हो यो । त्यतिले नपुगे बेलायतीहरूसँग एकतिहाइ भूमि गुमाउने गरी देखाएको बहादुरीको वर्णनरूपी मजबुत राष्ट्रवादी आरनमा पुतपुताइरहेको गोल छँदै छ, राष्ट्रवादको चेतना अर्जाप्न । देशभित्रै गरिबी पखाल्ने, जिन्दगी अड्याउने मेसो नभेटेर भारतका गल्लीहरूमा, अरबको मरुभूमिमा रगत र पसिना निचोरिरहेका या त्यति पनि गर्ने ल्याकत नराख्ने हरितन्नमहरू राष्ट्रवादको ‘महेन्द्रमाला’ मा कहीँ गोचर हुँदैनन् । देशका रूपमा ढुंगा, माटो, सीमा स्तम्भरूपी भौगोलिक एकाइको मात्रै वर्णन गर्छ ‘महेन्द्रमाला’ ले । नागरिक, तिनको दुःख, नागरिक र देशको आर्थिक, सामाजिक, सांस्कृतिक यथार्थभन्दा महाभारत, वेद, उपनिषद्जस्ता मिथक, शास्त्रहरूमा व्याख्यातीत शासकीय मर्यादाको व्याख्या वितरण गरेर नागरिक चेतना डाम्छ ‘महेन्द्रमाला’ ले, राष्ट्रवाद धारिलो बनाउन । वर्तमान अवस्थाको यथार्थ तस्बिर होइन, पौराणिक कथाहरूको श्यामश्वेत तस्बिर वितरण गर्छ । यसर्थ कि, मानिसहरू विगतको महिमामण्डनमा भुलून् र वर्तमानलाई राम्ररी खुट्याउन नसकून् ।

सेता हिमाल र राता गुराँसका कविता, निबन्ध, गीतहरूको लोलोपोतोले, शासकहरूको पाल्सी राष्ट्रभक्तिको वर्णनले, वीरता र बहादुरीको झुटो इतिहासको ढोङले डाम्दाडाम्दा देशको असली अनुहार नै अस्तित्व संकटको मोडमा उभिएको छ । एक थान नक्सा जारी गरेर देशको अनुहार टालटुल पार्नुपर्ने नियतिबाट देश गुज्रिएको छ । पार्टी फुटाएरै भए पनि महाकाली सन्धि गरेर स्याटेलाइटमार्फत बिजुली बेचीवरी आएको १ खर्ब २० अर्ब रकमले देश झलझल बलेर नपुगेपछि अमेरिकीहरूको रणनीतिक दाउपेचको मायावी ‘सतरंजा’ मा लुटपुटिएर एमसीसीको ५० अर्ब रकम ल्याउनका लागि पनि पार्टी नै फुटाउन कस्सिएका छन् महान् राष्ट्रवादीहरू । आजसम्म विदेशी ऋण कति आयो, आएमध्ये कति साँच्चै विकासमा लगानी भयो, कति विकासको शीर्षकमा परामर्श, विज्ञ, नेता आदिको नाममा भाग लाग्यो, खोइ हिसाब ? विदेशी दान, अनुदान, ऋण ओइरिइरहने तर देश झन्झन् हीनतर बन्दै जाने किन भइरहेको हो, खोइ मीमांसा ?

ooo

यो लेख लेखिरहँदा म अडिएको माटो गोरखाको मध्यउत्तरी भेगमा अवस्थित बारपाक सुलिकोट गाउँपालिकामा पर्छ । बितेका पन्ध्र दिन यहाँका माटोकिरेहरूले हाड पग्लिने गरी पसिना चुहाए । भारी वर्षात्ले रुझाए पनि किसानहरू दंग छन् । यसर्थ कि, बेलैमा धानको गाभा टाँस्न पाए । पाए मात्रै के भन्नु, लगभग भ्याइसके । मकै खेतको कुरा बेग्लै हो । सहर पसेका तन्नेरीहरू कोरोना महामारीको छेक पारेर गाउँ नफर्किएका भए, जति टाँसिएको छ यता धानको गाभो, आधाभन्दा बढी बाँझै रहन्थे (बौरिने बाटामा अभिसरित गाउँको वर्णन अर्को छुट्टै लेखमा गरिएला नै) । रोपाइँको मैझारो गरेर हिलाम्मे भएको ज्यान पखाल्ने तरखरमा रहेका किसानको मन भने मैलिँदै जान थालेको छ । बलै बीउको जुगाड गरेर रोपाइँ टारे पनि खेतबारीमा हाल्ने मलको हाहाकार छ । बाढीपहिरोको त्रास बढेको छ ।

देशभर बाढीपहिरोको मारमा छन् नागरिक । बाढीमा परेर थातथलो र ज्यान गुमाउनेहरूको बाढी छ । कोरोना महामारीले निम्त्याएको संकट थेग्न नसकेर देशको अर्थतन्त्रमा नकारात्मक बाढी आएको छ । त्यसको मार पनि अदनाहरूकै टाउकामा बज्रिनेछ । यो संकटको बाढीले जनसाधारणको जिन्दगीमा ल्याएको अप्ठेरोको के हिसाब ! बाढी त सत्ताधारी दलभित्र पनि उर्लिएको छ । कसले कसको लाभको पद खोस्ने या कसरी जोगाउने भन्ने । कसले कसलाई निषेध गर्ने र को माथि पर्ने ।

देश महामारी, संकट, महँगी, अभाव, अत्यासले थिचिएका बेला सत्ताधारी पार्टीभित्र उर्लिएको छिनाझपटीको अन्तर्यमा जनता कहीँ छैनन् । जनताले बेहोरेको सास्ती, देशको बिग्रँदो अर्थव्यवस्था, जनजीवनलाई सम्बोधन गर्न असफल राज्यव्यवस्था सत्ताधारी पार्टीको उपल्लो तहको बैठकमा छलफलमै अटेको छैन । कसले कतिवटा पद लिने र नलिने खाइधन्दामा निमग्न छन् । उसो त, निजी लाभको जोडघटाउ गरेर घाँटी जोडेकाहरूबीचको बहसमा आफूले कति लाभ पाउने या उसले खायो मैले खान पाइनँ भन्ने छाडेर जनताको पीरमर्का उठ्ने कुरा अपेक्षा गर्नु नै अनुचित छ ।

उनीहरूलाई जनता दुख्दैनन् । देश दुख्दैन । अभाव, संकट, बेरोजगारी, बेथितिबाट प्रताडित जनजीवन दुख्दैन । बाढीले बगाएको बस्ती दुख्दैन । पहिरोले जीवन हरेको भिरालो पाखाका झुत्रेझाम्रेहरू दुख्दैनन् । बाढीले निलेका मैदानी भेगका झुपडीहरू दुख्दैनन् । लकडाउनका कारण खान नपाएर सडकपेटीमा जीवन निखारेको भरिया दुख्दैन । क्वारेन्टिनको अव्यवस्थापनले लुटिएको नागरिकको जीवन दुख्दैन । काखे नानी च्यापेर सयौं किलोमिटर भोकै रगताम्मे पैताला घिसारिरहेकी मजदुर दुख्दिन । मल, बीउ नपाएर तड्पिएको किसान दुख्दैन । सत्ताको लाभ दुख्छ । पद दुख्छ । खाइराखेको गुमाइएला कि भनेर । उसले मात्रै खायो, आफूले नपाइएला कि भनेर । खानु नै राजनीति भएको छ । गरिबको नाममा । महामारीको नाममा । बेरोजगार र रोजगारका नाममा । उपचारको नाममा । मृतकको नाममा । औषधिको नाममा । कफिनको नाममा । यतीको नाममा । ओम्नीको नाममा ।

खाने दाउपेच मिलाउनका लागि राज्यसत्ताको तलदेखि माथिसम्म सेटिङ छ । न सार्वजनिक लोकाचारको सुर्ता । न महामारीले मरणासन्न बनाएको नागरिक आत्मबलको सुर्ता । सत्तामा हुनेले त खाएको छ नै, उसलाई रिझाएर खान सत्ताले तेर्स्याएको जुवाको सोइलामा इमानको गर्धन छिराउन तँछाडमछाड गर्ने चेतनाका दुस्मनहरूको ताँती छ । देशको भविष्यसँग सरोकार राखेर सत्ता कृत्यमाथि प्रश्न उठाइरहेका चेतनशीलहरूको हुर्मत काढेर सत्ता–वितरीत हन्डी खान लम्पसार परेका अरिंगालहरूको ताँती छ ।

खाइरहेकाहरूबाट खोसेर आफू खान मुख मिठ्याइरहेकाहरूको अर्को ताँती छ । यो ताँतीलाई जनता, समाज र देशको भविष्य, विकास, उन्नति केहीको सुर्ता छैन । बिनालगानी नाफा सोहोर्ने सबैभन्दा सहज राष्ट्रिय उद्यमशीलता भएको छ राजनीति । आफू बन्ने । आफ्नो सात पुस्ताको भविष्य उजिल्याउने । जनताको, देशको पुस्तौंपुस्ता अन्धकारमा डुबाउने । बरबाद पार्ने । देशको बरबादीमा आफ्नो कायाकल्प गर्ने । जनताको बरबादीमा आफ्नो पुस्ता–दरपुस्ताको भविष्य सुधार्ने । करोडौं कमिसन मागिरहेको आफ्नो वफादार जोगाउने । आफ्नो यत्ति दुनो सोझ्याउन सत्तामा पुग्ने ।

OOO

नत्र त, कोरोना महामारीको सामना गर्न लकडाउनको कर्फ्युमा देशलाई थुन्नेबाहेक सरकारले गर्‍यो नै के र ? जनताले थुनिने, अपहेलित हुने र बेवास्ता भने सरकारबाट भरमग्दुर पाए । यती, ओम्नी हुँदै स्वास्थ्य सामग्री खरिदमा सत्ता सञ्चालकहरूको लाभग्रन्थि मोटाएको मोलमा गरिखाने निम्छरा हरितन्नमहरूले सयौं किलोमिटर सडक पैतालाको छाला उप्काउँदै नापे । राजकीय ओहोदामा विराजमानहरूले पाइखानादेखि जिमखानासम्ममा लाखौं–करोडौं उडाइरहँदा एउटा निम्छरो भरिया भोकको रापले दाम्रिएर निख्लाम सडकपेटीमा निदायो, चिरनिद्रामा, नाम्लो च्यापेर । अव्यवस्थित र उपेक्षित तवरले देश भित्रिएका पसिनाका बुँदहरू सत्ता अव्यवस्थाका कारण बिलखबन्दमा छन् । महिनौं समय पाउँदासमेत र अर्बौं रकम राज्यकोषबाट चाँदीकटाइ गरिँदासमेत क्वारेन्टिन व्यवस्थित गर्न नसकेकै कारण विदेशबाट फर्किएकाहरूमार्फत संक्रमण स्थानीय तवरसम्म विस्तारित भएको छ ।

देश कृषिप्रधान भनिएको छ (खासमा यो भ्रष्टाचारप्रधान देश हो) । खेतीको चटारोमा रहेका किसानले न समयमा बीउ पाए, न समयमै मल पाउने सम्भावना छ । केन्द्रदेखि स्थानीय तहसम्मका सत्ता सञ्चालकहरूलाई शासक हुने होड छ । जनताको दुःख दुख्ने र त्यसको समाधान खोज्ने प्रतिनिधि बन्ने होइन, शासकीय कुर्सीमा बस्ने र रवाफ, हैकम जमाउने चेतना माथिदेखि तलसम्मै सरोबरी छ ।

OOO

‘खाने’ राजनीतिले देश चल्दैन । ‘खाने’ हरूलाई जिताउने र शासक थाप्ने व्यवस्थाले झन्झन् हीनतर बनिरहेका जनताको जीवन उज्यालिन्न । स्वाभाविक प्रश्न उठ्छ, विकल्प के त ? कसैले किस्तीमा दिएको विकल्पले चलेन । पुराना राजा–महाराजाबाट नचलेको देश नयाँ राजा–महाराजाहरूबाट पनि चुसियो मात्रै । आफ्ना लागि विकल्प सोच्ने र खोज्ने काम गरिखाने पसिनाका बुँदहरूकै हो । गरिखानेहरूले सोच्न ढिला नगरून् । आफ्नो भविष्य सुरक्षित गर्ने परिपाटी खोज्न र आवश्यक परे खोस्न ढिला नगरून् ।

ट्विटर : @gaunkomanchhey

प्रकाशित : श्रावण ५, २०७७ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?