कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बालबालिकालाई आमाको साथ

केही समयअघि कलेज जीवनका एक सहपाठीसँग म फेसबुकमा जोडिएँ । करिब सत्र–अठार वर्षपछाडि कुरा हुँदा हामीले यतिका समयसम्म सामाजिक सञ्जालमा आपसमा नजोडिएकामा अचम्म मान्यौं । कुराकानीका क्रममा थाहा भयो, उनी विदेश गएर पढीवरी नेपाल फर्केर जागिर खाँदै रहेछन् । उनको दुई वर्षको छोरो रहेछ । 

बालबालिकालाई आमाको साथ

‘म्याम के गर्नुहुन्छ त ? बाबु पनि सानै रैछ ।’ मैले ‘बाबु सानै रैछ’ चाहिँ आमाले अबको एक–दुई वर्ष बाबुकै लागि समय दिने होलिन् भन्ने अर्थमा भनेकी थिएँ ।

‘उनी त पढाइ पूरा गर्न बाहिर पो गएकी छन्,’ उनले भने ।

‘यति सानो बाबु छोडेर ?’ मेरो मनै कटक्क भयो ।

‘उनी गएको त आठ महिना भैसक्यो । बाबु पन्ध्र महिना हुँदै पो गएकी ।’

साना बालबालिका छोडेर वैदेशिक रोजगारी र अध्ययनको सिलसिलामा विदेश जाने आमाहरू धेरै देखे पनि मैले आफ्नै नातागोता र साथीभाइमा यस्तो अनुभव गर्न पाएकी थिइनँ ।

केही समयअगाडि सामाजिक सञ्जालमा त्रिभुवन विमानस्थल परिसरको एउटा भिडियो भाइरल भएको थियो, जसमा विदेश जाँदै गरेकी आमालाई बच्चाले रुँदै भन्दै थियो, ‘मामु, चाँडै आइस्योस्, हस् ? त्यहाँ काम गर्न सकिसेन भने आइहालिस्योस्, हस् ?’ उसको तोतेबोली मुस्किलले बुझ्न सकिन्थ्यो । तर कति परसम्म सोच्न सकेको त्यो बच्चाले ! विदेशमा दुःख हुन्छ, काम गर्नुपर्छ भन्ने कुरा उसले सायद अरूका कुराकानीबाट सुनेको थियो । उसको बोलीले आमाको पनि भक्कानो फुटाएको भिडियोमा देख्न सकिन्थ्यो ।

तर मेरा साथीको छोरो त यति सानो थियो, आमा कतै जाँदै थिइन् भन्ने पनि बुझ्न सक्तैनथ्यो । रात परेपछि दूध खान मन लाग्दा कति खोज्यो होला ! पलपल आमाको अभाव खड्कियो होला ।

व्यक्त गर्न नसक्ता कस्तो गर्‍यो होला ? मेरो मनमा धेरै तर्कना खेले । मैले मन थाम्न सकिनँ र साथीलाई भनें, ‘तपाईंहरू निर्दयी हुनुहुँदो रैछ । कम्तीमा छोरो चार–पाँच वर्षको त हुन दिनुपर्छ नि !’

उनलाई पनि यस्तै अनुभव भइरहेको रहेछ । बडो दिक्क मान्दै भने, ‘हाम्रो बेबी कति अभागी रैछ ! बाहिर जाने प्लान बेबी हुनुभन्दा अगाडिको थियो । फ्याट्ट डिसिजन गरियो । तर जन्मिने बच्चाको पनि मन हुन्छ भनेर हामीले भुल्यौं । अब चाहेर पनि यो समय फिर्ता गर्न सक्तैनौं । अति दुःख लागेको छ । बाल्यकालमा आमाको मायाबाट ऊ वञ्चित भयो । केही गरे पनि त्यो अभाव म पूरा गर्न सक्तिनँ ।’

हाम्रो देशमा यस्ता उदाहरण प्रशस्त छन् । साना बच्चा छोडेर वैदेशिक रोजगारीमा जाने आमा र बच्चाको छुट्टै पीडा छ । कतिको बाध्यता छ, कति रहरले हिँडेका छन् । कारण जेसुकै होस्, बालबालिका आफूले पाउनुपर्ने अधिकारबाट वञ्चित भइरहेका छन् ।

उनीहरूले कम्तीमा दुई वर्ष पनि आमाको दूध खान पाएका छैनन्, आमाको साथ पाएका छैनन् । यसकारण कतिपय बच्चा एकलकाँटे हुने, झर्किनेसम्म गरेको मैले देखेकी छु । समय र जमानालाई कारण देखाएर कतै हामीले उनीहरूमाथि अन्याय त गरिरहेका छैनौं ? हामी स्वार्थी त भइरहेका छैनौं ? कारण त हामी देखाउँछौं छोराछोरीको भविष्यका लागि भनेर, तर वर्तमानबारे चाहिँ सोच्नुपर्दैन र ?

हाम्रा पुर्खाले पुरुष कमाउन जाने अनि महिलाले घर–व्यवहार हेर्ने रीति त्यसै बसाएका होइन रहेछन् । पितृसत्तात्मक देश भएर मात्र यो सब गरिएको होइन रहेछ । यसमा बालबालिकाको मनोविज्ञान पनि जोडिएको रहेछ । जति नै गरे पनि बाबुले आमाको ममता दिन सक्तैन । आमाको क्षतिपूर्ति गर्न सक्तैन । बाल्यकालमा त झनै बालबालिकालाई पलपल आमाको साथ चाहिन्छ ।

पढ्न पनि जानैपर्छ, कमाउन पनि जानैपर्छ । तर समय मिलाएर गर्न सकिन्छ कि यी काम ? बच्चालाई चार–पाँच वर्षसम्म समय दिएर ऊ केही बुझ्ने भएपछि हामीले आफ्mनो कर्म गरे हुन्न ? कि त बच्चा हुनुअगाडि नै ?

[email protected]

प्रकाशित : श्रावण २, २०७७ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?