हुलाकी : नेकपा र भाजपा उस्तैउस्तै 

मोदी र ओलीका विकास–कथनमा स्मार्ट सिटी र ठूला भौतिक संरचनाका समान सपना सुनिन्छन् । भारतीय आदिवासीमाथि निरन्तर भइरहेको दमन र यता काठमाडौंनजिकै खोकनामा जारी आन्दोलन दबाउने प्रयत्न पनि एकै विचारधारा निःसृत कर्म हुन् । 
उज्ज्वल प्रसाई

काठमाडौँ — नेपाल–भारत सम्बन्ध अहिले सुमधुर छैन । दुई छिमेकीबीच उत्पन्न समस्या हल गर्ने पर्याप्त प्रयत्नहरू नभएको सहजै बुझ्न सकिन्छ । सतहमा आएका अभिव्यक्ति र देखिएका गतिविधिले आशावादी बन्न दिँदैनन् । पर्दापछिल्तिर कुनै फरक तरंग छ भने सत्ताको सुमेरु घुमिरहेका ‘खास नागरिक’ बाहेक अरूलाई त्यो थाहा हुँदैन ।

हुलाकी : नेकपा र भाजपा उस्तैउस्तै 

आम नागरिकमा भने नरेन्द्र मोदी नेतृत्वको भारत र खड्गप्रसाद ओली नेतृत्वको नेपालबीच सम्बन्ध न्यानो बन्न सकेन भने कस्ता दुष्परिणाम भोग्नुपर्ला भन्ने अडकलबाजी सुरु भएको छ । एकातिर भारतको मिचाहा प्रवृत्ति जारी रहने डर छ भने, अर्कातिर अयोध्या विवादले नागरिकस्तरमै समस्या उत्पन्न गराउने संशय पनि छ ।

भूराजनीतिका रहस्यमयी तन्तुमा भन्दा राजनीतिक समाजशास्त्रमा रुचि हुनेका लागि भने चिन्तनको यो रोचक घुम्ती हो । आपसी सम्बन्धमा चिसोपन घटाउन नसकेका दुई मुलुकका सत्ताधारी नेता र दलका वैचारिक धरातल एवं आन्तरिक राजनीति भने कसरी उस्तै भएका ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र भारतीय जनता पार्टी (भाजपा) दुवैका आर्थिक सपना उस्तै छन्, जो अहिले असफल छन् । नवउदारवादी आर्थिक नीति तथा कार्यक्रममार्फत द्रुत आर्थिक वृद्धिको परिकल्पनामा दुईबीच खासै भिन्नता छैन । शिक्षा र स्वास्थ्य क्षेत्रलाई बिलकुल आर्थिक मुनाफाको मैदान बन्न नदिनेमा दुवैले कुनै सुझबुझपूर्ण प्रयत्न गरेका छैनन् । कम्तीमा कोरोना त्रासदीले सिकाएका पाठलाई आत्मसात् गरेको पनि देखिएको छैन । लाभको आकांक्षामा ठूलो फरक होला तर दुवै सत्ताधारीले आफ्ना वरपरका मुठीभर व्यापारी समूहलाई केन्द्रमा राखेर काम गरेको बुझ्न कुनै ठूलो अर्थवेत्ता भइरहनुपर्दैन ।

मोदी र ओलीका विकास–कथनमा स्मार्ट सिटी र ठूला भौतिक संरचनाका समान सपना सुनिन्छन् । भारतीय आदिवासीमाथि निरन्तर भइरहेको दमन र यता काठमाडौंनजिकै खोकनामा जारी आन्दोलन दबाउने प्रयत्न पनि एकै विचारधारा निःसृत कर्म हुन् ।

अमेरिकी सहायता परियोजना (एमसीसी) बारे नेकपाभित्र भएका बहसमा मार्क्सवाद वा समाजवादको सारंगी होइन, राष्ट्रवादको दुन्दुभि मात्रै सुनियो । एमसीसीजस्ता आर्थिक अनुदान मात्रलाई एक्लो र सबैभन्दा महत्त्वपूर्ण घटना मानेर वर्तमान सरकारको आलोचना गर्ने नेकपा नेताले विकासको नवउदारवादी अवधारणामा प्रश्न उठाउँदैनन् । विकासका वैकल्पिक चिन्तनमा सामान्य गफसम्म गर्दैनन् । निजगढमा भएका रहस्यमयी खेलबारे प्रश्न गर्दैनन्, खोकनाले उठाएका प्रश्नमा मौन रहन्छन् ।

नेपालका घागडान नवउदारवादी अर्थशास्त्रीहरूले एमसीसी विवादलाई नेकपाभित्रको गुटगत रडाकोमा मिचिएको बाच्छो त्यसै भनेका होइनन् । आफ्ना स्वार्थ नमिल्दा अमेरिकालाई आर्थिक एवं सांस्कृतिक साम्राज्यवादी भनेर गाली गर्ने नेकपा नेताले पार्टीको आन्तरिक लडाइँको मौकामा फेरि एकपटक त्यही कथ्यलाई हतियार बनाएको बुझाइ गलत होइन ।

अमेरिका, युरोप र सिंगो पश्चिमा जगत्लाई आलोचना गर्ने काममा अरू कोहीभन्दा अघि छ भाजपा । मुस्लिम र क्रिस्चियन धर्मलाई लाञ्छित गर्न भाजपाले प्रयोग गर्ने सांस्कृतिक प्रदूषणको कथ्य नेपालका दक्षिणपन्थीलाई पनि उत्तिकै प्यारो छ । नेकपा नेता तथा कार्यकर्ता सो कथ्य फैलाउनमा सबैभन्दा अब्बल छन् । पछिल्लो समय चीनलाई विस्तारवादी भएको आरोप लगाएपछि भारतीय टीभी च्यानलले प्रोपोगान्डाको नयाँ मसला पाएका थिए । भारतीय विस्तारवादलाई परास्त गरेको पुष्टि गर्न ओली सरकारले पास गरेको नेपालको नयाँ नक्सालाई यहाँ पनि उस्तै प्रोपोगान्डा बनाइयो ।

नेकपा र भाजपा नेतृत्वमा नागरिकताबारे समान बुझाइ छ । मुस्लिमद्वेषी नागरिकता विधेयक भाजपाले त्यसै ल्याएको होइन । उताको विधेयकलाई यताका नेकपा नेताले सार्वजनिक रूपमै प्रशंसा गरेका थिए । कश्मीर स्वायत्तताको मलिन धुकधुकी निमोठेको केही समय बित्न नपाउँदै हिन्दु बहुसंख्यकलाई उपहारस्वरूप नागरिकता विधेयक टक्र्याएको थियो भाजपाले । कश्मीरको स्वायत्तता सिद्ध्याउँदा यताका नेकपा विद्वान्ले खुसी व्यक्त गरेर लेख र निबन्धहरू लेखे । यता मधेस आन्दोलन निस्तेज पारेर ल्याइएको संविधानका आधारमा राष्ट्रवाद एवं पित्तृसत्तावादलाई एकसाथ मजबुत पार्दै नागरिकता विधेयक ल्याइयो ।

भाजपा भन्छ— हिन्दी भाषा बोल्ने, हिन्दु, पुरुषको शासन र गेरुवा रङको साम्राज्य स्विकार्नेहरू नै असल र पक्का भारतीय नागरिक हुन् । नेकपा भन्छ— मधेस र भारतलाई घालमेल पारेर शंका गर्ने, पुरुषको शासन स्विकार्ने, हिन्दु वर्णाश्रमलाई वैज्ञानिक पद्धति ठान्नेहरू नै असल नेपाली नागरिक हुन् ।

आफ्नो मुलुकका मधेस, महिला, दलित र जनजातिका पेचिला मुद्दा दबाउन नेकपाले राष्ट्रवादको खड्ग उज्यायो । आदिवासी, दलित, कश्मीर र मुस्लिम समुदायलाई काबुमा राख्न भाजपाले ‘५६ इन्च’ को राष्ट्रवाद तेर्स्यायो । इतिहास र संस्कृतिबारे कसैले सवाल गरे नेकपा र भाजपा दुवैले हिन्दु वर्णाश्रम धर्मलाई आधार मानेर राष्ट्रवादीय संश्लेषण गर्छन् ।

नेपालको कम्युनिस्ट पाठशालामा हुर्केका दुई भिन्न धार मिलेर अहिलेको नेकपा बनेको हो । सो पाठशालामा मार्क्सवादको सैद्धान्तिक अन्वेषण कति भयो, थाहा छैन, तर राष्ट्रवादको रटानमा भने त्यस पाठशालाका विद्यार्थीहरू पारंगत छन् । आकार एवं सामरिक सामर्थ्यमा आफूभन्दा साह्रै ठूलो भारतले उत्पन्न गर्ने भयका कारण बढ्ने राष्ट्रवादको ज्वरोलाई आलोचनात्मक विमर्शको विषय बन्न दिइएन । बरु पञ्चायतले असाध्यै बलियो बनाएको राष्ट्रवादलाई मार्क्सवादभन्दा बढ्ता प्रभावी सैद्धान्तिक जग बनाएरै ‘कम्युनिस्ट आन्दोलन’ रचियो ।

राज्य पुनःसंरचनामार्फत समुदायबीच समता स्थापना गर्ने र त्यसैका आधारमा आन्तरिक एकता बलियो बनाउने मुद्दामा तत्कालीन नेकपा माओवादी केन्द्र सकारात्मक थियो । यो मुद्दा छोडेर राष्ट्रवाद मात्रलाई वैचारिक धरातल बनाउनेमा मतो मिलेपछि तत्कालीन माओवादी र एमालेको सहकार्य एवं एकता सम्भव भएको हो । माथि नै भनियो, राष्ट्रवादका मूल तत्त्व मधेसद्वेष, हिन्दु धर्म र वर्णाश्रम, खस नेपाली भाषा र पितृसत्तावाद हुन् ।

भाजपाको जननी राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) हो । आरएसएसबारे सामान्य सूचना राख्ने मान्छेलाई यसभन्दा थप व्याख्या गरिरहनुपर्दैन । गोरखपुरको गीता प्रेसबाट प्रकाशित धर्मग्रन्थलाई राजनीतिक विचारधाराको मूल स्रोत बनाउने पार्टीमा राष्ट्रवादको प्रभाव हुनु सामान्य हो । यस मामिलामा नेकपाभन्दा भाजपा बढी इमानदार छ किनभने उसले आफू वामपन्थी वा समाजवादी भएको दाबी कहिल्यै गरेको छैन । असली हिन्दु राष्ट्रवादी भएकामा उसले हाकाहाकी गर्व गर्छ । भारतमा रहेका भाजपा आलोचकले उसको सैद्धान्तिक धरातलबारे भ्रम पालेका छैनन् ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री खड्गप्रसाद ओलीको आलोचना गर्ने एउटा वृत्तले भने उनलाई खोक्रो राष्ट्रवादी भन्छ । नेपाली कांग्रेस र अहिले सत्तामा नभएका अरू पार्टी र तिनका समर्थकले ओलीको राष्ट्रवाद असली नभएको दाबी गर्छन् । आलोचकलाई जवाफ दिने क्रममा एकपटक ओलीले भने, ‘केही मान्छे खोक्रो राष्ट्रवाद भन्छन्, कस्तो हुन्छ त भरिलो राष्ट्रवाद ?’ खोक्रो राष्ट्रवादको आरोप लगाउनेहरूले आफ्नो राष्ट्रवादलाई सत्ताको प्रयोगशालामा परीक्षण गर्ने अवसर कम पाएका हुन सक्छन् । नेकपा र ओलीले भने संविधान निर्माणदेखि सत्ता सञ्चालनसम्मका उपक्रममा राष्ट्रवादको पटकपटक परीक्षण गराइसके । सबै परीक्षणबाट नेकपाको राष्ट्रवाद ‘भरिलो’ पुष्टि भइसकेको छ ।

राजनीतिक दलका रूपमा नेकपाले र सो पार्टीको नेताका रूपमा खड्गप्रसाद ओलीले राष्ट्रवादकै कसीमा आफ्ना अभिव्यक्ति, कर्म एवं भविष्यमा पूरा गर्ने दायित्वबारे स्पष्ट पारिसकेका छन् । त्यही कसीमा नरेन्द्र मोदीका विचार एवं कर्म पहिल्यैदेखि स्पष्ट थिए । त्यसैले हिन्दु मिथक र मौलिकताबारे मात्रै होइन, विज्ञान र इतिहासलाई हेर्ने उनीहरूको अन्दाज पनि उस्तै देखिएको हो । समग्रमा, दुई छिमेकी मुलुकका प्रधानमन्त्रीको व्यक्तित्व पनि उस्तै हुनुको कारण हो- समान वैचारिक धरातल ।

दुवै मुलुकका प्रधानमन्त्रीका व्यक्तित्वमा प्रचुर आत्मविश्वास झल्किन्छ । यी दुवैका प्रशंसकले उनीहरूको आत्मविश्वासकै सबैभन्दा धेरै तारिफ गर्छन् । आफ्ना विचार र कर्ममा ज्यादै स्पष्ट मान्छेलाई सुल्झेका मान्छे भन्ने चलन छ । भारतका प्रसिद्ध लेखक हरिशंकर परसाई ‘एक सुलझा आदमी’ शीर्षक निबन्धमा लेख्छन्, ‘आत्मविश्वास सम्पत्ति, ज्ञान र सामर्थ्यबाट पैदा हुन्छ तर आत्मविश्वासको सबैभन्दा ठूलो स्रोत भने मूर्खता हो ।’

(शुक्रबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : श्रावण १, २०७७ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?