कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नवराज विकहरूले सिकाएका पाठ

प्रकारान्तरले अपराधी भएका गैरदलितहरूले दलितहरूसँग पुस्तौं अन्याय गरे–गराएकामा सामूहिक माफी माग्ने कि नमाग्ने ?
विद्यानाथ कोइराला

बलिदान दिवस
क्लाउडियस राजा हुन् । प्यागन धर्मावलम्बी । बहु–ईश्वरवादी । भ्यालेन्टाइन क्याथोलिक इसाई । कुरा तेस्रो शताब्दीको हो । क्लाउडियसको आदेश थियो— सिपाहीलाई बिहा गर्न नदिने । भ्यालेन्टाइनले चाहिँ सिपाहीलाई बिहे गराए । त्यसैले उनी सिपाहीप्रिय भए ।

त्यही दोषमा जेल सजाय भोगे । जेलमा हुँदा जेलरकी आठवर्षे दृष्टिविहीन छोरीलाई हेरविचार गर्थे । आफूलाई मृत्युदण्ड दिने दिन उनले जेलरकी छोरीलाई प्रेम सन्देश लेखे । सन्देशमा दुई शब्द थिए, ‘तिम्रो भ्यालेन्टाइन ।’ विश्वभर प्रेम दिवस मनाउने कुरा त्यही सन्देशबाट आयो । सिपाहीलाई बिहे गर्न दिएकाले । ‘तिम्रो भ्यालेन्टाइन’ लेखेकाले ।

नेपाली सिपाहीलाई क्लाउडियसले जस्तो बिहा गर्न कसैले रोकेन । बरु साम्यवादको भ्रूण जन्माउने प्लेटो सिपाही र राजनीतिज्ञले बिहे गर्नु हुँदैन भन्थे । यहाँ क्लाउडियस र प्लेटो मिल्थे । अहिले न क्लाउडियसजस्ता प्यागन धर्मावलम्बी छन्, न त प्लेटोजस्ता साम्यवादी । त्यसैले प्रेमकै कारण ज्यान गुमाएका नवराज विक र प्रवीना (काल्पनिक नाम) मल्लका पुस्ताले न प्यागनको सोच बोके, न प्लेटोको साम्यवादी सोच बोके । रोममा भ्यालेन्टाइन मारिए । नेपालमा नवराज विक, टीकाराम सुनार, गणेश बुढामगर,लोकेन्द्र सुनार, सञ्जीव विक र गोविन्द शाही मारिए । सन्त भ्यालेन्टाइन मार्ने प्यागन थिए । नेपालीको सैद्धान्तिक दुर्भाग्य नै भन्नुपर्छ, नवराजहरू मार्नेमा प्रकारान्तरले साम्यवादी मतदाता नै हुन पुगे । त्यसबाहेक जातीय उच्चता र नीचताको चिन्तन बोक्नेहरू थिए । तिनैले दलित, जनजाति तथा तागाधारी मिलेर प्रेम प्रदर्शन गर्न गएका ६ युवालाई जानीजानी मारे । त्यहाँ स्थानीय सरकार थियो । त्यो मौन रह्यो । त्यहाँ पुलिस थियो । नवराजहरू मार्न जानेलाई तर्साउन त्यसले हवाइफायरसम्म गरेन । गोली पनि चलाएन । यस मानेमा अकर्मण्य बन्यो । आखिर किन ?

नेपालीले भ्यालेन्टाइन दिवस मनाउन थाल्यौं । जोडी हुनेले । जोडी नहुनेहरूले १५ फेब्रुअरी मनाए । त्यसको नाम एकल सचेतना दिवस (सिंगल अवेरनेस डे) राखे । छोटकरीमा ‘स्याड डे’ । नेपाली युवाले स्याड डे मनाउन थालेका छैनन् । कसैले त्यो पनि सुरु गर्न सक्छ । लहर ल्याउन बजार तयार हुन्छ । भ्यालेन्टाइन डे मनाउने जस्तो । यस्ता नेपाली युवाले नवराज विक र साथीहरूको नाममा प्रेम दिवस मनाउन सकिन्न र ? किनकि प्रेममा एकल भएर आत्महत्या गर्नेहरू धेरै छन् । जोडी भएरै आत्महत्या गर्नेहरू पनि थुप्रै छन् । एकल मारिनेहरू पनि छन् । तर नवराज विकहरू सामूहिक रूपमा मारिए । यस अर्थमा नवराजसहित ६ जना १७ देखि २१ वर्षसम्मका युवाहरू प्रेम प्रदर्शन गर्न जाँदा निर्ममतापूर्वक मारिए । त्यस्तो दिनलाई नेपाली प्रेम दिवस भन्न मिल्दैन र ? एक जना भ्यालेन्टाइन मारिँदा भ्यालेन्टाइन डे मनाउने जोडीहरूले एकपटक सोच्ने हो कि ? स्याड डे मनाउनेहरूले पनि सोच्ने हो कि ? क्रान्तिकारी विवाह भनेर समाचार बनाउने तथा समाचार लेखाउनेहरूले क्रान्तिकारी प्रेमको बलिदान दिवस पो मनाउने हो कि ? प्रेमको शहादत दिवस पो भन्ने हो कि ? त्यसैको सम्झनास्वरूप चौरजहारीमा प्रणयपार्क पो बनाउने हो कि ?

राजनीतिक सिद्धान्तको उदय र अस्तय ‘मलाई लिन आऊ’ भन्ने प्रवीनाको एसएमएस पछ्याएर जानेहरू दलित मात्र थिएनन् । जनजाति थिए । तागाधारी थिए । साम्यवादी थिए । नेपाली कांग्रेस थिए । यस अर्थमा युवाहरूमा साम्यवादमा सबै समान भन्ने व्यावहारिक चिन्तन थियो । त्यसैले तिनले नवराजलाई साथ दिए । दलितलाई साथ दिए । त्यो साम्यवादी समताको व्यावहारिक प्रयोग थियो । राजनीतिक सिद्धान्तको उदय थियो । व्यक्तिगत छनोट सिद्धान्तको उदय थियो । यसनिम्ति नवराजहरू साम्यवादी समताका आदर्श हुन् । व्यक्तिगत छनोटका आदर्श हुन् । समता र व्यक्तिगत छनोटको आदर्शलाई आत्मसात् गरेरै प्रवीनाले नवराजलाई एसएमएस लेखिन् । कानुनले नाबालिग भने पनि उनी जानकार हुन् । उनलाई रुकुम पश्चिममा जातीय विभेदको खाडल छैन भन्ने जानकारी थियो । उनी पनि साम्यवाद–दीक्षित युवती हुन् । उनको दीक्षा, शारीरिक बनोट तथा नवराजसँगको प्रेम कहानी त्यसको साक्षी छ । त्यस्ती सबल प्रवीनालाई लिन जाने युवाहरूलाई क्रान्तिकारी साम्यवादी दलका जनप्रतिनिधि डम्बरबहादुर मल्लले सम्मान गरेनन् । उनी वडाध्यक्ष हुन् । माओवादी दीक्षा लिएका । साम्यवादी शिक्षा लिएका । नवराजहरू मार्न जानेमा उनकै मतदाता थिए । उनैका विरादरहरू थिए । एकाध बुढामगर र शाही । जे भए पनि सबै जना तत्कालीन माओवादी र, सीके लालका शब्दमा, अहिलेका दोहोरो नेकपा थिए । मारिने युवामा पनि टीकाराम सुनारबाहेक सबै साम्यवादी थिए । जानकारहरू त्यसै भन्छन् । आफ्नै दलले आफ्नै दलका समर्थक मार्नु भनेको दलीयताको अस्तय हो । त्यो पनि प्रेम गरेको अपराधमा । नेपाली कांग्रेसका युवा मात्र मारिएका भए दलीयताको छनक देखिन्थ्यो । तर त्यसो पनि भएन । यस अर्थमा साम्यवादी राजनीतिक सिद्धान्तको अन्त्य भएको दिन पनि त्यही थियो ।

साम्यवादी राजनीतिमा सर्वहाराको न्यायका लागि लड्ने प्रण हुन्छ । समर्पण हुन्छ । मेरो यही बुझाइ थियो । तर नवराजहरूभन्दा मार्नेहरू सम्पन्न छन् । यस अर्थमा नवराजहरू सर्वहारा हुन् । यहीँनेर प्रश्न आउँछ— सर्वहाराहरू नै सर्वहारालाई मार्न किन उद्यत भए ? साम्यवादीकै शब्दमा सोधौं— के तिनीहरू सुराकी हुन् त ? के तिनीहरू पुँजीवादका पिछलग्गू हुन् त ? के तिनीहरू दलाल हुन् त ? के तिनीहरू नोकरशाही प्रवृत्तिका हुन् त ? के तिनीहरू बिचौलिया हुन् त ? के तिनीहरू उपनिवेशवादी हुन् त ? के तिनीहरू सामन्त हुन् त ? के तिनीहरू सामन्तीका भरौटे हुन् त ? के तिनीहरू विस्तारवादी हुन् त ? के तिनीहरू गद्दार हुन् त ? के तिनीहरू राष्ट्र्रघाती हुन् त ? के तिनीहरू विसर्जनवादी हुन् त ? के तिनीहरू संशोधनवादी हुन् त ? के तिनीहरू फासिस्ट हुन् त ? नाजीवादी हुन् त ? यसरी हेर्दा साम्यवादीले जनतालाई जुरुकजुरुक पार्ने कुनै पनि शब्दले नवराजहरूलाई छुँदैन । आखिर नवराज त प्रेमी थिए । अरू युवाहरू जन्ती थिए । यो यथार्थले प्रश्न गर्न बाध्य गर्छ— के साम्यवादी दर्शनले व्यावहारिक जग नबनाएकै हो त ? साम्यवादीकै शब्दमा, बाघको छाला ओढेको स्याल बनेको हो त ? के साम्यवादी दर्शनको व्यावहारिक अस्त भएकै हो त ? ज्युँदा राजनीतिशास्त्रीहरूले घोषणा गर्लान्— चौरजहारी घटनामा हाम्रो सिद्धान्तको अन्त्य भएकै हो । हामीले पढे–पढाएका मार्क्स, लेनिन, माओका विचारहरूको अवसान भएकै हो । यो स्थितिमा सिद्धान्त र व्यवहार जोड्ने राजनीतिक संस्कार बनाउन नेतृत्वलाई तयार पार्ने कि त ?

पितृसत्ताको अन्त्य

महिला अबला हुन् । समाजले त्यही भन्यौं । कानुनले त्यही भन्यौं । विकासेले त्यही भन्यौं । दोस्रो दर्जाकी हुन् । महिलावादीले त्यही भन्यौं । लैंगिक समतावादीले त्यसै भन्यौं । सरकारले त्यसै भन्यौं । तर प्रवीना मातृसत्ताकी प्रतिमूर्ति हुन् भन्न सकेनौं । उल्टै नाबालिग भन्दै छौं । प्रेम गर्न जान्नेलाई । रोमान्स गर्न जान्नेलाई । केटाको घरमा गएर एउटै कोठामा रात बिताउन सक्नेलाई । प्रेमी मारिएकामा आफ्ना लागि सहानुभूतिको एक शब्दसम्म व्यक्त गर्न नसक्ने महिलावादीहरूलाई कसरी बुझ्लिन प्रवीनाले ? आफ्ना बोली लुकाउने लैंगिक समतावादीलाई कसरी चिन्लिन् उनले ? उनी निर्दोष हुन् । उनको प्रेम पवित्र हो । न उनी नवराजहरूलाई मार्न गइन्, न उनले मारिन् । नवराज बोलाउने उनको एसएमएस हो भने पनि उनी अपराधी हैनन् । प्रेमी हुन् । आफ्नो प्रेमीलाई लिन आऊ भन्नु उनको हक हो । त्यही एसएमएसले उनको कुरकुरे बैंसको प्रेम खोस्यो । ती प्रेमखोसुवा बाबाआमा, नातेदार तथा छिमेकीलाई के भन्लिन् उनले ? कसका निम्ति यो अमानवीय हत्या गर्‍यौ भनेर सोधिन् प्रवीनाले भने के जवाफ दिने अदालतले ? समाजले ? पितृसत्ता र मातृसत्ताको बहस चलाउनेहरूले ? प्राज्ञिकहरूले ?

छोरी लाने निम्ता पाएका नवराजहरू आउँदा ‘फेरि आइस् तँ डु... ?’ भन्ने आमालाई पितृसत्ता भन्ने कि मातृसत्ता भन्ने हो ? बाबुभन्दा पहिले झम्टन आउने प्रवीनाकी आमाको तागतलाई पितृसत्ता मान्ने कि मातृसत्ता मान्ने हो ? प्रेमीसहित ६ जनाको हत्यामा पनि विचलित नभई आफूलाई सन्तुलनमा राखेर बोल्न सक्ने प्रवीनालाई पितृसत्ताको नाममा कमजोर साबित गर्ने कि नगर्ने ? यी र यस्ता प्रश्नको उत्तर दिन नसक्ने महिलावादी तथा लैंगिक समतावादीले के सिकाउने समाजलाई ? कि भनिदिने हो— प्रवीना मातृसत्ताकी नमुना हुन् । प्रवीनाकी आमा त्यस्तै प्रतिमूर्ति हुन् । पितृसत्तालाई चुनौती दिन सक्ने । लैंगिक समताको व्यावहारिक प्रयोग गर्न सक्ने । ती आमा–छोरीको तागतलाई लिएर पितृसत्ताको अन्त्य भएको घोषणा गर्ने कि नगर्ने ? पितृसत्ता र मातृसत्ताका कुरा गर्नेहरूले नेपाली सन्दर्भ जोडेर पढ्ने–पढाउने संस्कार बनाउने कि नबनाउने ?

जातीय सचेतनाको विजय

मल्लहरूमा राजसी शैली छ । बाहुनलाई ठूलो जात भन्नेहरूले यो कुरा बुझेनौं । बुझ्दैनौं पनि । अरू जातजातिले स्विकारेका छन्, बाहुन केटाले कथित पानी चल्ने जातकी केटी विवाह गरे उनको जात माथि उक्लिन्छ । समाजशास्त्रीय तथा मानवशास्त्रीय शब्दमा अनुलोम विवाह हुन्छ । अर्थात्, केटीले केटाको थर स्विकार्छिन् । केटाकै थरको सन्तान जन्माउँछिन् । सामाजिक परम्परा त्यही भन्छ । तर मल्ल, शाह, तथा शाहीहरू भिन्न छन् । वर्णव्यवस्थामा क्षत्री समूहमा पर्ने यी जातका छोरीहरू बाहुनले विवाह गरे पनि बाहुनको थर लिन्नन् । बरु हमाल बन्छन् । माइतीको थर पनि लिन्नन् । मल्ल, शाह, शाहीजस्ता ठकुरी खानदानको चलन त्यही हो । यस अर्थमा ठकुरी खानदानमा जातीय सचेतना बलियो छ । साम्यवादी बन्दा पनि यो सचेतना गएको छैन । आर्थिक निश्चयवादी मार्क्स, लेनिन, माओहरूले बुझ्न नसक्ने सचेतना । त्यही सचेतनामा दबिएर साम्यवादी दर्शन मर्‍यो भनिदिए के हुन्छ ? समाजशास्त्री तथा मानवशास्त्रीहरूले मालनोवोस्की त बुझ्छौं । गर्ज, म्याक्सवेभर र दुर्खाइम त बुझ्छौं । तर जाजरकोट र रुकुम पश्चिमका मल्लहरूलाई भने बुझ्न सक्तैनौं भनिदिए के हुन्छ ? हाम्रा राजनीतिज्ञहरू सिद्धान्तहरू त बुझ्लान, समाज बुझ्दैनन् भनिदिए के हुन्छ ? समाज जोडेर सिद्धान्त बताउन सक्तैनन् भनिदिए के हुन्छ ? नवराजहरूलाई जातीय सचेतनाले खायो भनिदिए के हुन्छ ?

लोकेन्द्र शाही सजातीय भए पनि दलितपक्षीय भएकाले मारिए भनिदिए के हुन्छ ? गणेश बुढामगर जनजाति भए पनि दलितपक्षीय भएकाले मारिए भनिदिए के हुन्छ ? नवराज विक, टीकाराम सुनार, लोकेन्द्र सुनार र सञ्जीव विक दलित भएकै कारण मल्लहरूको जमातबाट मारिए भनिदिए के हुन्छ ? समाजशास्त्री तथा मानवशास्त्रीहरूसँग केही जवाफ छ कि त ? राजनीतिज्ञहरूसँग पो केही जवाफ छ कि त ? यसको अर्थ हो— मानवशास्त्री तथा समाजशास्त्रीहरूले विदेशी दार्शनिकका कुरा गर्दा नेपाली सन्दर्भ जोड्ने संस्कार पो बनाउने कि ?

प्रस्तुतिको सिकार बने–बनाइएका दलित

दलितका परम्परागत पेसाको अनुशीलनले भन्छ— उनीहरू सिद्धान्तकार हुन् । जल, जमिन र वायुको सन्तुलन मिलाउन जान्नेहरू । त्यही सिद्धान्तमा आधारित भएर उनीहरू प्राविधिक भए । समाज वैज्ञानिक भए । व्यावहारिक वैज्ञानिक । सामाजिक हिसाबले उनीहरू पृथ्वी भए । सहनशील । उपमाको दृष्टिले महाभारतका जडभरत । ज्ञानी । अरू अज्ञानीले होच्याउँदा पनि चुपचाप स्विकार्ने । जडभरतले राजाको तामदान बोके जस्तो । तर राजाले जडभरतलाई चिने । नेपाली दलितलाई चाहिँ सरकारले चिनेन । शासकले चिनेन । विकासेले चिनेन । त्यसैले तिनलाई विपन्न मान्यो । यसरी हेर्दा दलितहरू सिद्धान्तकार भएर पनि विपन्न हुन बाध्य भए । प्राज्ञिक भन्नेहरूले तिनका सिद्धान्त खोजेनौं । व्यावसायिक तथा प्राविधिक शिक्षावालाले तिनलाई प्रमाणपत्रविहीन ठान्यौं । उद्यमीले तिनलाई बेरोजगार मान्यौं । ज्ञानी तथा अध्यात्मवादी भन्नेहरूले तिनलाई अज्ञानी मान्यौं । यसरी हेर्दा दलितहरू प्रस्तुतिको सिकार बने । बनाइए ।

नवराजहरू त्यही प्रस्तुतिको सिकार भए । जन्मसिद्ध वैज्ञानिक नवराजहरू । जन्मसिद्ध प्राविधिक नवराजहरू । जन्मसिद्ध ज्ञानी नवराजहरू । यो र यस्तै यथार्थ परिचय भएको भए नवराजहरू सम्मानित हुन्थे । मारिन्नथे । दलित अधिकारकर्मीहरूले कहिले बुझ्लान् ? कहिले बुझाउलान् ? ‘अप्रिसिएटिभ इन्क्वायरी’ भनेर तालिम दिने विकासेहरूले कहिले सोच्लान् ? स्वरोजगारको फलाको बोक्ने अर्थशास्त्रीले कहिले बुझ्लान् ? यस अर्थमा नवराजहरू नकारात्मक प्रस्तुतिको सिकार भए भनिदिए के हुन्छ ? सरकार चलाउनेहरूको नकारात्मक प्रस्तुतिले नवराजहरू मारिए भनिदिए के हुन्छ ? दलित अधिकारकर्मी तथा विकासेहरूले दलितलाई चित्रण गरेको परिणतिले नवराजहरू मारिए भनिदिए के हुन्छ ? ती सबै प्रस्तुतिमा दलितलाई ‘अछूत’ हौ भन्ने–भनाउने अपराधी शास्त्रकारहरू तथा तिनका मतियारहरूको दलनमा नवराजहरू मारिए भनिदिए के हुन्छ ?

अध्यात्मवादी वा धार्मिक भन्ने–भनाउनेसँग उत्तर छ त ? यसको अर्थ हो— नवराजहरू मार्नमा दलितलाई प्रस्तुत गर्ने धार्मिक, सामाजिक, विकासवादी, सरकारवादी चिन्तकहरू पनि अपराधी हौ भनिदिए के हुन्छ ? यो अपराधबाट मुक्त हुन देशका सबै पालिकाबाट जातीय छुवाछूत अन्त्य गर्ने कि नगर्ने ? यसको प्रमाणका लागि आवश्यक परे मूलशास्त्र, राजनीतिक दर्शन, सामाजिक विश्वासबारे व्यापक संवाद गर्ने कि ? प्रकारान्तरले अपराधी भएका गैरदलितहरूले दलितहरूसँग पुस्तौं अन्याय गरे–गराएकामा सामूहिक माफी माग्ने कि नमाग्ने ? अनुहार मिल्छ । संस्कार मिल्छ । स्थानविशेषको भाषा मिल्छ । धर्म मिल्छ । यो स्थितिमा दलितको अन्तरघुलन अभियान चलाउने कि नचलाउने ?

यसका लागि शुक्लयजुर्वेदी कण्व शाखाको शतपथ ब्राह्मणको बृहदारण्यकोपनिषद्को आधार लिए हुन्छ । त्यसले भन्छ— ब्रह्म जान्ने ब्राह्मण हुन् । सूर्य, ब्रह्म ब्राह्मण हुन् । इन्द्र, सोम, वरुण, पर्जन्य, मृत्यु, यम, ईशान क्षत्री हुन् । वसु, रुद्र, आदित्य, मरुत, विश्वदेव वैश्य हुन् । पूषा, पृथ्वी शूद्र हुन् । वर्णाश्रम धर्म त्यसरी बुझिन्छ (आचार्य श्रीराम, पृ. २५५) । भगवान् बुद्धको त्रिपिटकीय उत्तरले थप आधार दिन्छ । दलित सुजाताको हातको खीर खाएपछि आएको बुद्धत्वले अझ व्यावहारिक उत्तर दिन्छ । सन्त रविदास आफैं दलित हुन् भन्ने बुझ्नेले थप उत्तर पाउँछ । रैक्क ऋषि दलित हुन् भन्ने जान्नेले अर्को उत्तर पाउँछ । सदैव समावेशी बनेका राजा सहलेस दलित हुन् भन्ने जान्नेले थप उत्तर पाउँछ । सामाजिक न्यायका प्रतिमूर्ति हुन् दलित दीना र भद्री बन्धुहरू भन्ने जान्नेले अझ अर्को उत्तर पाउँछ । यस्तो संवादले छुवाछूतको एउटा जरो काटिन्छ । सामाजिक जरो छिनाल्न सामाजिक संवाद नै चाहिन्छ । अन्तरपुस्तेनी संवाद । त्यस्तो संवादले यजुर्वेदसम्मत निरालम्बोपनिषद्को भनाइ खोज्छ । त्यसले भनेको छ— आत्माको शरीर, रगत, मासु केही पनि हुँदैन । न वर्ण हुन्छ । त्यसैले जातजाति भनेको केवल व्यवहारका निम्ति बनाइएको हो । अर्थात्, जातजाति भनेको शरीर–भेद होइन; केवल व्यवहार–भेद हो (ऐ., पृ. २२३) । तेस्रो जरा राजनीतिसँग हुन्छ । तिनको घोषणापत्र लागू गर्नैपर्छ भनिदिए पुग्छ । चौथो जरो कानुनमा हुन्छ । कानुनविद्ले संविधानको प्रावधान लागू गर्नैपर्छ भन्ने हो भने एकसाथ छुवाछूतको जरो काटिन्छ । दलित बस्तीको संस्कृतीकरण तथा अनिवार्य शिक्षा एवं रोजगारीले अन्तरघुलन सम्भव बन्छ । भारतको मेघालयका केही बस्तीमा जस्तो । प्रश्न हो— राजनीतिक नेतृत्वले यो जिम्मेवारी लिन्छ त ? तिनका शीर्षस्थ नेताहरूले यो कुरामा निर्णायक विचार दिन्छन् त ? यसो गर्ने हो भने नवराजहरू चिरकालसम्म सम्झिइन्छन् । कतै दलितमुखी, प्रेममुखी वा राजनीतिक सिद्धान्तमुखी भएर सोच्ने कि ? प्रकाशित : श्रावण १, २०७७ ०८:४९

प्रतिक्रिया
पठाउनुहोस्

कम्बोडियामा २८ नेपाली अलपत्र

न स्वदेश फर्किन सक्छन्, न सुरक्षित बस्न
जनकराज सापकोटा

काठमाडौँ — चारैतिर कोरोना कहरले गाँजेका बेला मोरङको सुन्दर हरैंचा नगरपालिकाका ६ जनासहित २८ नेपाली कम्बोडियाको राजधानी नोम पेनमा अलपत्र परेका छन् । संगठित मानव तस्करले आकर्षक तलबको लोभ देखाएपछि त्यहाँ पुगेकाको डेढ महिनायता बिचल्ली छ ।

फाइल तस्बिर : रोयटर्स

कोरोना संक्रमणका कारण अन्तरदेशीय उडान सेवा बन्द भयो । त्यससँगै उनीहरूलाई लैजाने एजेन्ट सम्पर्कविहीन भएपछि अवैध रूपमा बसिरहँदा संकटमा परेका हुन् ।

गत मंसिरदेखि माघको बीचमा संगठित मानव तस्करको आश्वासनमा परेर काम गर्न भन्दै कम्बोडिया पुगेका उनीहरूसँग न श्रम स्वीकृतिको कागजात छ न त भिसा नै । कान्तिपुरसँग सम्पर्कमा आएका सबैजसो पीडितहरू ४ देखि ६ लाख रुपैयाँ बुझाएर बिजनेस भिसामा थाइल्यान्ड पुगेर त्यहाँबाट अवैध रूपमा कम्बोडिया पुर्‍याइएकाहरू हुन् । सुरुका केही महिना निर्माण क्षेत्रमा काम गरे पनि डेढ महिनायता अलपत्र छन् । पीडितहरूले सुरुवाती कामको पूरै पैसा पनि नपाएको गुनासो गरे । अहिले स्वदेश फर्किन सक्ने तथा काम गरेर बस्न सक्ने दुवै अवस्था नरहेको भन्दै उनीहरूले अलपत्र परेको सुनाए ।

एक पीडितले आफू सुन्दर हरैंचाकी लोकमाया राईमार्फत धनकुटाका किसन राईको सम्पर्कमा पुगेको र उनैलाई साढे ४ लाख बुझाएको बताइन् । अर्की पीडितले श्रीमान्लाई कम्बोडिया पठाउन घर धितो राखेर किसनलाई नै साढे ५ लाख बुझाएको बताइन् । पीडितहरूमध्ये धेरैले बैंकमार्फत र केहीले नगद बुझाएको देखिन्छ । सुन्दर हरैंचा नगरपालिकाका शेरबहादुर खड्का, दीपक पराजुली, विष्णुबहादुर कटुवाल, चन्दन सरदार, पदम राई, सूर्य क्षत्री, नारायणबहादुर अधिकारीसहितका २८ जनालाई धनकुटा छिन्ताङका किसान राईले कम्बोडिया बस्ने लोकमाया राई, हरिकुमार राई, केदार राई, राशि राईसँगको मिलेमतोमा अवैध रूपमा कम्बोडिया पुर्‍याएका हुन् । पीडितहरूका अनुसार अलपत्र परेका केहीको राहदानी राशिले कब्जामा लिएकी छन् ।

कतिपयको राहदानी एजेन्ट केदार राईले राखेको र आफूहरूलाई खान बस्नकै समस्या भएको पीडितले बताए । आफ्नो नाम सार्वजनिक हुँदा मानव तस्करका एजेन्टहरूले नेपालमा रहेको परिवारका सदस्यलाई समेत अप्ठ्यारो पार्ने हुँदा नाम नबताउने सर्तमा भने, ‘बिहान खाए साँझ के खाने भन्ने भएको छ ।’ एक पीडितले फागुन २५ मै आफूहरूको भिसाको म्याद सकिएको र त्यसयता मात्रै अवैध रूपमा बसेकाले १५ सय डलरभन्दा धेरै जरिवाना शुल्क पुगिसकेको बताए । निर्माण क्षेत्रमा काम गर्ने र मासिक १ लाख २० हजारसम्म तलब हुने आशामा पुगेका पीडितहरूले सुरुका केही महिना काम पाएको तर त्यसको पनि पूरै ज्याला नपाएको बताए । डेढ महिनायता कामविहीन भएका उनीहरू पैसाको माया मारेर घर फर्किने सुरुमा भए पनि अन्तर्राष्ट्रिय उडान बन्द भएकाले र अवैध बसाइको जरिवाना शुल्क बढ्दै गएकाले कसरी फर्किने भन्ने समस्यामा छन् । एक पीडितले आफूहरूको समस्याबारे थाइल्यान्डस्थित नेपाली दूतावासमा पनि जानकारी गराइएको तर कुनै सुनुवाइ नभएको बताए ।

कम्बोडियामा अन्य देशको तुलनामा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको देखिन्न । मंगलबारसम्म त्यहाँ १ सय ६५ संक्रमित देखिएको मध्ये पीडितहरू रहेको राजधानीमा ६१ संक्रमित मात्रै रहेका छन् । संक्रमणको जोखिमभन्दा पनि अवैध रूपमा बस्नेहरूप्रति कम्बोडिया सरकारको कडा नीति र अवैध बसाइबापत तिर्नुपर्ने जरिवाना प्रत्येक दिन बढ्दै गएकामा पीडितहरू चिन्तित छन् ।

कम्बोडियामा आफ्ना परिवारका सदस्य अलपत्र परेपछि पीडित परिवारहरूले असार १७ मा इलाका प्रहरी कार्यालय इटहरीमा पनि ६ जनाविरुद्ध निवेदन दर्ता गराएका छन् । इटहरी प्रहरीले धेरैजसो पीडितको रकम उठाउने काममा सक्रिय धनकुटा छिन्ताङका किसन राईलाई सोधपुछका लागि झिकाउन भन्दै छिन्ताङस्थित प्रहरी कार्यालयलाई पत्राचार गरिसकेको छ ।

छिन्ताङस्थित प्रहरी कार्यालयका इन्स्पेक्टर नारायण गौतमले उपस्थिति गराइदिनू भन्दै इटहरी प्रहरीबाट पत्र आए पनि किसन फरार रहेको बताए । उनले प्रहरीमा उपस्थित हुन्छु भनेर किसन सम्पर्कविहीन बनेको बताए । मुख्य आरोपित किसनसँग पछिल्लो एक सातायता प्रतिक्रियाका निम्ति सम्पर्क गर्न खोजे पनि सम्पर्क हुन सकेको छैन । इन्स्पेक्टर नारायणले किसनका बुबाले छोरालाई उपस्थित गराइदिने बताएपछि आफूहरू ढुक्क भएको तर उनी प्रहरीलाई छक्याएर भागेको बताए । इटहरीस्थित प्रहरी कार्यालयका इन्स्पेक्टर खदानबहादुर श्रेष्ठले पीडितहरूको निवेदनउपर अनुसन्धान भइरहेको तर खोजिएका व्यक्ति फेला परिनसकेको बताए ।

कम्बोडियाबाट सम्पर्कमा आएका पीडितहरूले आफूहरूलाई दुई समूह बनाएर दुईवटा अपार्टमेन्टमा राखिएको बताए । पीडितका परिवारजनले कोरोना संकटमा अलपत्र परेका आफ्ना मान्छेको जीवनरक्षा गरिदिन अपिल गरे । कतिपयले घर धितो राखेर त कतिले ऋण काढेर एजेन्टलाई पैसा बुझाएको र यतिबेला आफ्ना मान्छे अलपत्र परेकाले दोब्बर समस्या थपिएको बताए । एक पीडितकी श्रीमतीले भनिन्, ‘कम्बोडियाबाट श्रीमान्ले आत्तिँदै फोन गर्नुहुन्छ । यता म कसलाई गुहार गर्न जाऊँ ?’

प्रकाशित : श्रावण १, २०७७ ०८:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×