१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

मेलम्ची दुःख

सम्पादकीय

राजधानीका लागि मृगतृष्णासरह बन्दै आएको छ— मेलम्चीको पानी । कैयौं समय अलमलिएरै सही, पछिल्ला वर्षमा यो आयोजनाले ठोस आकार लिँदै थियो । तैपनि पानी राजधानीमा खस्ने भाका घरीघरी तोकिन्थ्यो, अनि के–के काण्ड आइलाग्थ्यो वा रचिन्थ्यो, र फेरि निर्धारित तिथि पर सर्थ्यो ।

मेलम्ची दुःख

पछिल्लो समय अबचाहिँ भाका नसर्ला कि झैं भइसकेको थियो । अघिल्लो साता आयोजनाले राजधानी जोड्ने साढे २६ किलोमिटर सुरुङमार्गको आठ सय मिटरमा पानी खसालेर सफल परीक्षण नै गरेको थियो । त्यही गतिमै परीक्षण सफल हुँदै गए भदौ अन्तिमबाटै उपभोक्तालाई पानी वितरण भइसक्ने बताइएको थियो । तर यसैबीच मंगलबार मेलम्ची आयोजनामा दुःखद घटना भएको छ । मुख्य सुरुङ (२६ किमि) मार्गभित्रको गेट एक्कासि फुट्दा बगेर एकको मृत्यु भएको छ, एक बेपत्ता छन् । उद्धार गरिएका दुई जना घाइते छन् ।

सुन्दरीजल जोड्ने सुरुङमार्गको ‘जिरो जेनेज’ देखि ८ सय मिटरसम्म पानी भर्खरै पठाइएको थियो । त्यसै क्रममा हेलम्बु–१, अम्बाथानस्थित मुहानस्थलको मुख्य सुरुङको गेट नम्बर १७ फुटाएर बीचमा जोडिएको अम्बाथान अडिटबाट निस्किएको पानीले बाढीको रूप लिँदा घटना भएको हो । मुख्य सुरुङबाट गेट फुटेर फर्किएको पानी बीचको गेट बल्बसमेत टुटाएर मुख्य सुरुङसँगै बीचमा जोडिने सहायक अडिटबाट निस्किएको थियो । गेट नम्बर १७ र गेट भल्भमा समस्या देखिएपछि दुई इन्जिनियरसहित हेल्पर र प्राविधिक सुरुङभित्र बुझ्न जाँदाजाँदै घटना भएको थियो । अचेल आयोजनामा ‘रिभिनिङ पार्ट’ र गेट नम्बर १७ लाई पूर्वतयारी राख्नेदेखि अन्य संरचनालगायतका काम हुँदै आएको थियो । सुन्दरीजलसम्म पानी लैजानका लागि महत्त्वपूर्ण मानिने मुख्य सुरुङको मेन गेट (गेट नम्बर १७) लाई बलियोसँग लगाउन ३ साता लाग्ने बताइएको थियो ।

सुरक्षित भनिएकै गेट नम्बर १७ कसरी फुट्यो यकिन भैसकेको छैन । मुख्य सुरुङभित्रको संरचना नै भत्किएको छ । जाँचबुझका लागि मन्त्रालयले प्राविधिक टोली गठन गरेको छ । त्यसले अध्ययनपछि फुट्नुको प्राविधिक तथ्य प्रकाश पार्ला नै, तर सुरुआती परीक्षणकै क्रममा भएको यो स्तरको दुर्घटनालाई सबै स्तरबाट गम्भीर रूपमा लिइनुपर्छ । निर्माण वा परीक्षणका क्रममा केकस्तो त्रुटि भएको हो निर्क्योल गरेर त्यसलाई सच्याउनुर्छ । आयोजनाका अन्य स्थानमा पनि त्यस्तै त्रुटि भएका छन् कि पनि जाँचिनुपर्छ ।

परीक्षण तथा सञ्चालनका क्रममा कुनै गडबडी हुँदा आयोजना र कार्यरत कामदार–कर्मचारीलाई मात्र होइन, मेलम्चीको स्थानीय बस्तीलाई पनि असर पर्न सक्छ । मंगलबारकै घटनापछि स्थानीय डराएका छन् । ‘कमजोर गेट र ड्यामले बस्ती बगाउने डर देखिएको’ भन्दै उनीहरूले प्रश्न गरेका छन्, ‘हामीले गुहार्न कहाँ जाने ?’ खासगरी, आयोजनाभन्दा केही पर र माथिका एक दर्जन ह्योल्मो, शेर्पा परिवार त्रासमा छन् । तसर्थ, के–कस्तो प्राविधिक कमजोरी भएको छ पत्ता लगाएर भविष्यमा यस्ता घटना नहोऊन् भन्ने सुनिश्चित गर्नैपर्छ । यसका लागि गम्भीरतापूर्वक जाँचबुझ हुनुपर्छ । साताअघि परीक्षणका क्रममा स्थानीय सरकारलाई कुनै जानकारी नदिइएकोमा सम्बन्धित हेलम्बु गाउँपालिका प्रमुखले रोष व्यक्त गरेका छन् । सुरक्षा सवालमा स्थानीय जनप्रतिनिधिले उठाएका प्रश्नलाई आयोजनाले सम्बोधन गर्ने प्रयास गर्नुपर्छ ।

भोलि सम्पूर्ण रूपमा सञ्चालनमा आउँदा कुनै पनि हालतमा थप ठूलो दुर्घटना नहोस् भनेर अझै बढी सावधानी अपनाउनुपर्छ । यो, एक–दुई महिना वा वर्ष मात्रै चल्ने नभएर निरन्तर सञ्चालन हुनुपर्ने लामो आयोजना हो । त्यसैले यसको मजबुती पक्षलाई त्यत्तिकै ध्यान दिइनुपर्छ । निर्माण पक्षबाट लापरबाही भएको पाइएमा नियमानुसार कारबाही गरिनुपर्छ । जोखिम र संवेनशील आयोजना निर्माण र सञ्चालनका विषयमा कुनै पनि सम्झौता गरिनु हुँदैन । भविष्यमा पनि यसतर्फ सम्बन्धित सबै सचेत बन्नैपर्छ ।

प्रकाशित : श्रावण १, २०७७ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?