कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भेन्टिलेटर र आईसीयू व्यवस्थापन अपरिहार्य

सम्पादकीय

मुलुकमा कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ बढ्दो छ । अहिलेसम्म यसबाट शिथिल बिरामी थोरै भए पनि संक्रमितको संख्या वृद्धि हुँदै जाँदा सधैं यही स्थिति नरहन सक्छ । कतिपय विज्ञका अनुसार अहिल्यै समुदायमा संक्रमण फैलिएको संकेत देखा परिसकेको छ ।

भोलि दीर्घरोगी र वृद्धवृद्धाजस्ता जोखिम वर्गमा पनि प्रकोप फैलियो भने उनीहरूमध्ये कतिपयका लागि सघन उपचार कक्ष (आईसीयू) बेड र भेन्टिलेटर आवश्यक पर्छ । त्यस्तो अवस्थामा विद्यमान पूर्वाधारले नपुग्न सक्छ । तसर्थ, बलियो पूर्वाधार निर्माण गर्न र व्यवस्थापन योजना बनाउन आवश्यक छ ।

देशभर ९ सय हाराहारी भेन्टिलेटर र दुई हजार आईसीयू बेड छन् । उपत्यकाका अस्पतालमा भेन्टिलेटरसहितका पाँच सय बेड मात्र छन् । मुलुकमा अबको केही सातामै कोरोना संक्रमितको संख्या ४० हजार पुग्ने आकलन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रोगसित जुध्ने तयारी पनि त्यहीअनुरूप गर्न जरुरी छ । बिरामीको ५ प्रतिशतलाई मात्र आईसीयू र भेन्टिलेटर आवश्यक पर्‍यो भने पनि अहिलेको पूर्वाधारले नधान्न सक्छ, यसतर्फ सचेत हुनैपर्छ ।

खासगरी, जनघनत्व बढी भएको काठमाडौं उपत्यकामा पछिल्ला दिनमा संक्रमण जुन रूपमा बढिरहेको छ, यसबाट पनि स्वास्थ्य पूर्वाधारप्रति सजग हुनैपर्ने देखिन्छ । उपत्यकामा ‘यात्रा इतिहास’ नभएका र लक्षण नदेखिएकामा पनि संक्रमण पाइएको छ । कदाचित् संक्रमण भित्रभित्रै फैलियो र जोखिम वर्गलाई पनि भेट्यो भने गम्भीर बिरामी बढ्न सक्छन् । त्यतिबेला अक्सिजन उत्पादनदेखि भेन्टिलेटर र आईसीयू बेड पनि थप्नुपर्ने हुन्छ । पछि स्थिति भयावह भएपछि अत्तालिनुभन्दा अहिल्यै यससम्बन्धी तयारी गर्नु अपरिहार्य छ ।

कोरोना संक्रमणले फोक्सोमा आक्रमण गर्ने र निमोनिया हुने भएकाले अक्सिजनको मात्रा पुर्‍याउन बिरामीलाई कृत्रिम श्वासप्रश्वासका लागि भेन्टिलेटर चाहिन सक्छ । उनीहरूलाई सघन उपचार कक्षमै राखेर निगरानी गर्नुपर्ने हुन सक्छ । त्यसैले, अहिलेसम्म गम्भीर बिरामी बढी छैनन् भनेर ढुक्क भएर बस्न मिल्दैन, त्यसो गर्नु नागरिकको स्वास्थ्यप्रति खेलाँची हुनेछ । संक्रमितको संख्या अकासिँदै जाँदा भोलि जुनसुकै बेला केही दिनमै विद्यमान पूर्वाधारले नथेग्ने अवस्था आउन सक्छ । त्यतिन्जेलसम्म भेन्टिलेटर र आईसीयू बेडको पर्याप्त जोहो गर्न सकेनौं भने दीर्घरोगी र वृद्धवृद्धाजस्ता जोखिम वर्गलाई बचाउन मुस्किल पर्न सक्छ ।

अर्कोतर्फ, विकसित मुलुकमा मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धा भए पनि नेपालजस्तो अल्पविकसित मुलुकमा भने युवा वर्ग नै सबैभन्दा बढी चपेटामा पर्ने सम्भावना हुन्छ । विकसित मुलुकमा वृद्ध उमेरका संक्रमितले उपचार पाए पनि शरीरले थेग्नै नसकेका कारण मृत्यु भएको देखिन्छ । नेपालमा भने उपचार पाए निको हुने वर्गसमेत आवश्यक अस्पताल–सुविधा नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था आउन सक्छ । मुलुकमा अहिलेसम्म संक्रमित करिब १६ हजार ७ सय जनामध्ये झन्डै ७ हजार त २१ देखि ३० वर्षसम्मका छन् । झन्डै ४ हजार ३१ देखि ४० वर्षसम्मका छन् । करिब १७ सय ४१ देखि ५० वर्षसम्मका छन् । त्यस्तै, ११ देखि २० वर्षसम्मका झन्डै ३ हजार छन् । यी समूहका व्यक्तिमा जटिलता देखियो भने पनि उचित उपचार पाएमा निको हुने सम्भावना धेरै हुन्छ । त्यही भएर, सरकारले स्वास्थ्य पूर्वाधारको पाटोमा विशेष ध्यान दिनैपर्छ ।

सरकारले प्रकोप रोकथामका उपायका साथै उपचारका सम्पूर्ण प्रबन्धमा ध्यान दिनुपर्छ । सर्वप्रथम त, सकेसम्म समुदायमा संक्रमण फैलिन दिनु हुँदैन, छिटफुट रूपमै सीमित राख्नुपर्छ । त्यसका लागि ‘कन्ट्याक्ट ट्रेसिङ’ र परीक्षणको मात्रा बढाउनुपर्छ । नमुना परीक्षण पनि उत्तिकै गरिनुपर्छ । र, हरेक परिस्थितिको आकलन गर्दै सरकार सम्पूर्ण हिसाबले तयारी अवस्थामा बस्नुपर्छ । यसबीचमा करिब डेढ सय आईसीयू बेड र सयभन्दा केही बढी भेन्टिलेटर थपिएको भए पनि यो संख्या पर्याप्त छैन । स्वास्थ्य मन्त्रालयले भएका आईसीयू बेड र भेन्टिलेटरको उचित व्यवस्थापन गर्नुपर्छ र यिनको संख्या पनि बढाउनुपर्छ । सघन उपचार कक्षमा भेन्टिलेटरसहितको सेवा दिन सक्ने गरी जनशक्ति तयारी अवस्थामा राख्नुपर्छ । यससम्बन्धी आवश्यक तालिम/प्रशिक्षण पनि प्रदान गर्नुपर्छ । भेन्टिलेटर र आईसीयू बेडका लागि निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूसित पनि उचित समन्वय गर्नुपर्छ । साथै, अक्सिजनको मात्रा उल्लेखनीय रूपमा बढाएर हरेक अस्पतालमा तयारी अवस्थामा राख्नुपर्छ । भोलि, अक्सिजन नै नपुगेर ज्यान जाने स्थिति आउन दिनु हुँदैन ।

प्रकाशित : असार २८, २०७७ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना महामारीपछि पहिलो पटक ट्रम्पले लगाए मास्क

एजेन्सी

वासिङ्टन — कोरोना भाइरस(कोभिड–१९) को महामारी फैलिएयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो पटक मास्कमा देखिएका छन् ।सार्वजनिक स्थलमा मास्कबिनै उपस्थित हुने गरेका ट्रम्पले शनिबार मेरिल्यान्डस्थित सैनिक अस्पतालको भ्रमणका क्रममा मास्क लगाएका हुन् ।

तस्बिर : एपी

वाल्टर रीड नेसनल मिलिटरी मेडिकल सेन्टरमा उनले घाइते सैनिकहरुलाई भेटेका थिए । .यसभन्दा पहिले ट्रम्पले मास्क लगाउन अस्वीकार गर्दै आएका थिए ।

राष्ट्रपति ट्रम्पले हालसालै आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो बाइडनले मास्क लगाएको कुराप्रति पनि टिप्पणी गरेका थिए । शनिबार भने उनी ह्वाइट हाउसबाटै मास्क लगाएर निस्किएका थिए । अस्पतालमा धेरै मान्छेसँग भेट हुने र उनीहरुले मास्क लगाओस् भन्ने चाहना व्यक्त गर्ने भएकाले आफूले मास्क लगाएको ट्रम्पले बताएका छन् । ट्रम्पले भने, ‘म मास्क लगाउने कुराको विरुद्धमा कहिल्यै पनि थिइनँ । तर मलाई लाग्छ हरेक कुराको एउटा समय र एउटा ठाउँ हुन्छ ।’

कोरोना महामारीको संक्रमण फैलिएसँगै अप्रिलमा अमेरिकी रोग नियन्त्रण केन्द्र(सीडीसी) सार्वजनिक स्थलमा सबैलाई मास्क लगाउन आग्रह गरेको थियो । तर राष्ट्रपति ट्रम्पले भने आफूले मास्क नलागउने बताएका थिए । उनले आफ्ना सहयोगी र कर्मचारीहरुको नियमित जाँच भइरहेकाले आफूले मास्क लगाउनै नपर्ने जिकिर गर्दै आएका थिए ।

कोरोना भाइरसको संक्रमणका हिसाबले अमेरिका विश्वमै सबैभन्दा बढी प्रभावित मुलुक हो । आइतबार बिहानसम्म अमेरिकामा संक्रमितको संख्या ३२ लाख ४५ हजार नाघेको छ भने एक लाख ३४ हजार ७ सय ७७ जनाको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये करिब १० लाख निको भएका छन् ।

जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरका अनुसार आइतबार बिहानसम्म विश्वभर कोरोना संक्रमितको संख्या एक करोड २६ लाख नाघेको छ । त्यस्तै विश्वभर कोरोनाबाट ५ लाख ६४ हजारभन्दा बढीको मृत्यु भएको छ भने करिब ७० लाख निको भएका छन् ।

प्रकाशित : असार २८, २०७७ ०८:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×