कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मेरुदण्डको स्याहार

रवीन्द्र बस्नेत

लकडाउनयता हामी अधिकांश समय विद्युतीय उपकरणहरू चलाउँदै घरै बस्न बाध्य छौं, कामका लागि होस् या मनोरञ्जनका लागि । यस्तो गर्दा हामीले शरीरलाई सही आसन (पोस्चर) मा राखेका हुँदैनौं । शारीरिक क्रियाकलाप पनि कम भइरहेको हुन्छ ।घरमा भएका बेला हामीले लामो समय शरीरलाई एउटै आसनमा राख्छौं ।

मेरुदण्डको स्याहार

ल्यापटप, मोबाइललगायत सुतेर अथवा सोफामा ढल्किएर चलाउँछौं जसले गर्दा मांसपेशी दुख्ने समस्या देखा पर्छ । यसरी बसिरहँदा शरीरमा रक्त सञ्चार राम्ररी हुन पाउँदैन र पछि गएर मुटु एवं फोक्सो (कार्डियोपल्मोनरी) मा समस्या पनि उत्पन्न हुन सक्छ । राम्रो आसनमा नबस्दा अनेक समस्याले सताउन सक्छ, जसको उपचारभन्दा रोकथाम निकै सहज हुन्छ । लकडाउनका बेला मेरुदण्डमा समस्या पर्न नदिन केही सजिला उपाय यी हुन् :

१. शारीरिक आसनमा सुधार : शरीरलाई राम्रो आसनमा राख्न कार्यस्थान र काममा प्रयोग हुने सामग्रीमा सुधार गर्नुपर्छ । कुर्सी, टेबल सहज हुनुपर्छ । कुर्सी र टेबलबीचको दूरी ख्याल गर्नुपर्छ, ताकि धेरै बेर गर्दन झुकाइरहनु नपरोस् । कुर्सीमा बस्दा कमरपछाडि सिरानी राख्नुपर्छ । खुट्टा धेरै बेर झुन्ड्याइराखे पैताला फुल्न सक्छन् । त्यसैले खुट्टामुनि सानो स्टुल राख्नुपर्छ । बेलाबेला आसन बदल्नुपर्छ ।

२. ओछ्यानको कम प्रयोग : खाली समयमा ओछ्यानमा ढल्किने गर्नाले मांसपेशीहरूमा असर पर्दै जान्छ । लामो समयसम्म ढल्किरहँदा मांसपेशी कडा हुँदै जान्छ । ढाड दुखेका बेला सुत्नुसट्टा घरभित्रै हिँडडुल गरे पीडा घट्दै जान्छ । गर्भवती महिलाले लामो समयसम्म आराम गरिरहँदा मांसपेशी कसिने हुन्छ अनि प्रसवका बेला धेरै कठिनाइ हुन सक्छ ।

३. शरीरलाई फुर्तिलो बनाउने : दैनिक घरायसी कामकाज गरिरहँदा मांसपेशीहरूमा रक्तसञ्चार बढ्छ र शारीरिक–मानसिक समस्याबाट छुटकारा पाइन्छ ।

४. पौष्टिक आहार : लकडाउन लम्बिँदै गरेका कारण खानपानप्रति हाम्रो आकर्षण बढ्दै गएको छ । तर, घरमा पकाइएका भए पनि तेल, मसला वा गुलियो बढी हालेका खानेकुराले शरीरमा बोसो जम्मा भई तौल बढ्दै जान्छ । यसै कारण पछि ढाड दुख्ने समस्या हुन सक्छ । यो बेला शारीरिक क्रियाकलापमा कमी हुने भएकाले खान हुने र नहुने कुरामा ध्यान दिनुपर्छ । फलफूल, सागसब्जी, गेडागुडी, अनाज खान हुनेमा पर्छन् भने चिनी, सोडाजन्य पदार्थ, तारेको तरकारी, मसलायुक्त खाना खान नहुनेमा । पानी पर्याप्त पिउनु अत्यावश्यक छ ।

५. व्यायाम : शरीरलाई लचिलो, फुर्तिलो र बलियो राखिराख्न नियमित व्यायाम जरुरी छ । व्यायाम सधैं मांसपेशीको लचकता र क्षमता बढाउने खाले गर्नुपर्छ । मेरुदण्ड अथवा ढाडको क्षमता र लचकतालाई सधैं कायम राख्नुपर्छ । हाम्रो शरीरको निकै महत्त्वपूर्ण भाग हो यो । तर कोही व्यक्तिमा पहिलेदेखि नै समस्या छ भने विशेषज्ञ चिकित्सकको परामर्शअनुरूपका व्यायामहरू नियमित रूपमा गर्नुपर्छ ।

६. चिसो र तातो सेकाइ : सामान्य रूपमा हामी चिसो अथवा तातोले सेकाइ गर्ने गर्छौं । तर चिसो र तातो के–कस्तो अवस्थामा प्रयोग गर्ने भन्ने जान्न आवश्यक छ । यदि मांसपेशी जकडिएको वा दुखेको महसुस भए तातोले सेक्नुपर्छ भने सुन्निएको, मांसपेशीहरूको भित्री चोट, आलो घाउ लगायतमा चिसोले ।

यस्तो सावधानी अपनाउँदा–अपनाउँदै पनि ढाड, गर्दन वा काँध दुख्ने, हातखुट्टा झमझमाउने वा लुला हुने जस्ता समस्या देखा परे र यसका कारण दैनिक कार्यव्यापारमा अवरोध पुग्न थाले विशेषज्ञ चिकित्सिकसँग यथाशीघ्र सम्पर्क गर्नुपर्छ । दैनिक जीवन प्रभावकारी बनाउन शरीरको हरेक भागको मांसपेशी र मेरुदण्डको राम्रो स्याहार गर्नुपर्छ, जुन राम्रो आसन, व्यायाम र खानपानबाट सजिलै सम्भव हुने गर्छ ।

(बस्नेत ह्याम्स अस्पतालको फिजियोथेरापी विभाग प्रमुख हुन् ।)

प्रकाशित : असार २६, २०७७ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?