कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

कांग्रेसको भावी नेतृत्व

जनता राजनीतिक दलका जात्रा र तमासा हेर्दाहेर्दा आजित भैसकेका छन् । अब हुने कुनै पनि पार्टीको नेतृत्व–संयोजन देश र जनताप्रति उत्तरदायी हुनुपर्छ ।
किशोर नेपाल

चुनावी अंकगणितले पारेको अप्ठेरो अवस्थामा सत्ता र शक्तिको बहुदलीय समीकरण बनाउन अब्बल मानिने कांग्रेस सभापति तथा प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवालाई यसपटक नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीबाट ठगिएको अनुभूति भएको छ ।

कांग्रेसको भावी नेतृत्व

असार १७ गते बुधबार साँझ आफूलाई प्रधानमन्त्री निवास, बालुवाटार बोलाएर एमसीसी, नागरिकता लगायतका प्रस्तावहरू र सम्भावित समीकरणबारे गम्भीर वार्ता गरेका प्रधानमन्त्री ओलीले असार १८ गते बिहीबार कसैलाई थाहै नदिई राष्ट्रपतिबाट संसद्को छैटौं अधिवेशनको हठात् अन्त्य गराउलान् भनी देउवाले सोचेका थिएनन् । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी, निर्माणको दुई वर्षपछि, आपसी विवादले थिलथिलो भएको अवस्थामा प्रमुख प्रतिपक्षी दलको भूमिका प्रभावकारी बनाउने आकांक्षा कांग्रेसका केही नेताले पक्कै पालेका थिए । तर, कांग्रेसका बाँकी नेताहरू यतातिर ध्यान दिने मनस्थितिमा थिएनन् । स्वयं सभापति देउवामा पनि नयाँ समीकरण निर्माणमा खासै रुचि देखिएन ।

कांग्रेसका अधिकांश कार्यकर्ताले वामपन्थीहरूसँग राजनीतिक समीकरणविरुद्ध अभिव्यक्ति दिएका छन् । गएको चुनावमा माओवादीसँग गठबन्धन नगरेको भए कांग्रेसको मत घट्ने थिएन भन्ने पनि धेरै छन् । नेपालमा कांग्रेस र पछिल्लो समयका वामपन्थी हाकाहाकी एकअर्काको विरोधमा लागेको प्रत्यक्ष नै छ । यो अवस्थामा देउवाले आफ्ना मित्र प्रधानमन्त्री ओलीको सरकार टिकाउन रुचि नराख्नु बेठीक होइन । सम्भवतः यही कारणले होला, पछिल्लो समयमा सभापति देउवा आगामी महाधिवेशनको सफलतामा केन्द्रित हुन थालेका छन् । आगामी फागुन ७ गतेका लागि निर्धारित महाधिवेशनको मिति निर्धारण गरिएको छ । त्यतिन्जेल देशबाट कोरोना महामारीको चाप हट्ने अनुमान गरिएको छ ।

यसपटक कांग्रेस महाधिवेशन निकै रोचक हुने देखिएको छ । अहिलेसम्म सभापतिका सशक्त उम्मेदवारका रूपमा हेरिएका देउवाले महाधिवेशनमा सभापतिको उम्मेदवार नबन्ने निर्णय गरे भने आश्चर्य मान्नुपर्नेछैन । उनी सभापतिको उम्मेदवार नबन्ने छनक देखिन थालिसकेका छन् । ‘भित्रिया’ स्रोतका अनुसार, उनी धेरै किचकिच सहने मुडमा देखिँदैनन् । उनले आफ्नो ‘मनपेट’ कसैलाई दिएका छैनन् र पनि आफ्ना केही शुभचिन्तकसँग यो कुराको उठान गरेका छन् । उनी आफैं केही द्विविधामा परेका देखिन्छन् । खास गरी धर्मपत्नी आरजु देउवाको कांग्रेस राजनीतिमा खासै पकडको स्थिति देखिन नसकेको अवस्थामा आफू अर्को एक अवधि सभापति भएर धर्मपत्नीलाई सघाउने कि उनलाई उनकै योग्यताको भरमा छाडिदिने ? सभापति देउवाको धर्मसंकट यही नै देखिन्छ । देउवाले आफूलाई सभापति पदमा नदोहोर्‍याउने हो भने पार्टीभित्र उनको मर्यादा र प्रतिष्ठा हलक्क बढ्नेछ । सभापति जो भए पनि, पार्टी सल्लाहकारका रूपमा उनको स्थान सुरक्षित रहनेछ । देउवाको अवकाशले पार्टीका नेता–कार्यकर्ताहरूमा नयाँ उत्साह थपिनेछ । सभापतिमा जो जिते पनि पार्टीका लागि देउवाले दिएको योगदान चर्चित हुनेछ र त्यसको महिमा बढ्नेछ ।

अहिले कांग्रेस सभापति पदका महत्त्वपूर्ण आकांक्षीहरूमा महामन्त्री शशांक कोइराला अनि केन्द्रीय सदस्यहरू कृष्ण सिटौला, प्रकाशमान सिंह र शेखर कोइरालाका नाम समाचारपत्रहरूमा देखिएका छन् । देउवा सभापति पदमा नलडेको अवस्थामा उनको बागडोर, प्रत्यक्ष वा अप्रत्यक्ष, उपसभापति विमलेन्द्र निधिको हातमा आइपर्ने देखिन्छ । यसो भएमा कांग्रेस महाधिवेशनको रौनक बढ्नेछ । माथि उल्लेख गरिएका नामहरूमध्ये कृष्ण सिटौलाबाहेक अरू नामसँग विरासत जोडिएको छ । सिटौलाले आफूलाई गिरिजाप्रसाद कोइरालाले माओवादीसँग गरेको सम्झौताको विरासतसँग पनि जोडेका छन् । त्यति बेलाको सम्झौता प्रक्रियामा उनको साथमा शेखर कोइराला पनि भएको बिर्सिनु हुँदैन । अर्को पक्षमा, गिरिजाप्रसाद कोइराला र माओवादीबीचको सम्झौतामा कुनै एक व्यक्तिको हकदाबी लाग्दैन । त्यसमा सबै कांग्रेसीको समान दाबी रहन्छ । त्यो अवस्थामा विरासतसँग नजोडिएका एक मात्र नेता सिटौला नै हुन सक्छन् ।

विरासतकै कुरा गर्ने हो भने, मायाले ‘मुनु’ भनेर बोलाइने शशांक कोइराला बीपी कोइरालाका कान्छा सुपुत्र हुन् । विरासतको राजनीतिमा उनी पहिलो पंक्तिमा आउँछन् । र पनि, बीपीका सुपुत्र भएका कारण मात्रैले कांग्रेस सभापतिमा उनको चयन सहज होला भन्न सकिँदैन । कांग्रेसले संस्थागत रूपमा आफ्ना नेताहरूलाई राजनीतिक विरासतका रूपमा स्थापित गर्ने प्रयत्न कतै पनि गरेको देखिँदैन । बीपी, गणेशमान सिंह, सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सूर्यप्रसाद उपाध्याय, महेन्द्रनारायण निधि लगायतका महत्त्वपूर्ण नेताहरू लोकतन्त्रप्रतिको सैद्धान्तिक निष्ठा, समाजवादी सिद्धान्त र जीवनदृष्टि तथा देशप्रतिको कर्तव्यपरायणताका कारण माथि उठेका हुन् । शशांकका लागि महाधिवेशनको मैदान सोचेजति सहज पनि नहोला ।

परिवर्तित समयले मानिसका जीवनमूल्यमा आमूल परिवर्तन ल्याएको छ । लोकतान्त्रिक आन्दोलनका मूर्धन्य नेताहरूको जीवनशैली र आजको जीवनशैलीमा ठूलो अन्तर छ । समयको यो पाटोलाई बिर्सिनु शशांकका लागि मात्रै होइन, कांग्रेस सभापति पदका आकांक्षी सबैका लागि उत्तिकै जरुरी छ । शशांकले सुपरिचित नेत्र चिकित्सकका रूपमा नाम कमाएका छन् । उनको व्यक्तित्व आकर्षक छ । उनलाई हेर्नेका आँखा बीपीको अनुहारमा टक्क रोकिएको अनुभव गर्ने धेरै छन् ।

सर्वमान्य नेता गणेशमान सिंहका सुपुत्र प्रकाशमान सिंह कांग्रेस सभापति पदमा चुनाव लड्न उत्सुक मात्रै होइन, दृढ पनि देखिएका छन् । विद्यार्थी जीवनदेखि नै प्रजातन्त्रप्राप्तिको आन्दोलनमा सक्रिय रहेका सिंहले नेपाल विद्यार्थी संघको निर्माणमा ठूलो योगदान पुर्‍याएका थिए । काठमाडौंमा नेपाली कांग्रेसको संगठन निर्माणमा पनि प्रकाशमान सिंहको योगदान कम छैन । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा कांग्रेसभित्र मौलाएको एकाधिकारवादी राजनीतिक चरित्रविरुद्ध कांग्रेसभित्रैबाट चालिएको अभियानको कर्मठ नेता तथा अभियन्ताका रूपमा पनि सिंहको परिचय स्थापित छ । नेपालको राजनीतिमा देउवाको नेतृत्वमा भएको कांग्रेस विभाजनले सुखद परिणाम दिन सकेन । पछि देउवा कांग्रेस मूलधारमा समाहित भयो । देउवासँग असहमति बढ्न थालेपछि प्रकाशमान सिंह देउवाविरोधी खेमामा फर्किए । त्यसपछिको समयमा प्रकाशमान सिंहको राजनीतिक व्यक्तित्व मौलाउँदै गएको छ । प्रतिनिधिसभाको पछिल्लो चुनावमा प्रकाशमान सिंहविरुद्ध साझा पार्टीका रवीन्द्र मिश्र उम्मेदवार उठेका थिए । सिंहका लागि यो चुनौती निकै खतरनाक साबित भएको थियो ।

शेखर कोइराला कांग्रेस सभापति पदका अर्का आकांक्षी हुन् । शेखर पनि कोइराला परिवारका महत्त्वपूर्ण सदस्य हुन् । नेपाली कांग्रेसकी नेत्रीका रूपमा लोकतान्त्रिक अभियानको सफलताका लागि नोना कोइरालाको योगदान अविस्मरणीय छ । विराटनगरस्थित कोइराला निवासमा बसेर पूर्वदेखि पश्चिमसम्मका कांग्रेस संगठनहरूको निर्माण र विकासमा ‘नोना आमा’ ले गरेको असीम दुःख सम्झिने धेरै छन् । शेखर तिनै नोना कोइराला तथा बीपीका माइला भाइ केशवप्रसाद कोइरालाका सुपुत्र हुन् । बीपी कोइरालाको देहावसानपछि नेपाली कांग्रेस पार्टीलाई अघि बढाउन नोना कोइरालाले गिरिजाप्रसाद कोइरालाको ‘ब्याकबोन’ का रूपमा काम गरेकी थिइन् । उनले खडा गरेको त्यो विरासतमाथि शेखर कोइरालाको दाबी जायज मानिन्छ । त्यसबाहेक, शेखर आफैं विद्यार्थी जीवनमा आन्दोलनकारीको भूमिकामा निरन्तर देखा परेका थिए । ‘कालाजर’ का विशेषज्ञ चिकित्सक शेखर कोइरालाले धरानस्थित बीपी कोइराला शिक्षण अस्पतालको स्थापना र विकासमा महत्त्वपूर्ण योगदान गरेका छन् ।

महेन्द्रनारायण निधि नेपाली कांग्रेसभित्र गान्धीवादी विचारका संवाहक हुन् । निधिले सक्रिय राजतन्त्र र पञ्चायत व्यवस्थाविरुद्ध निःशस्त्र आन्दोलन गरे । उनको आन्दोलन विचारको आन्दोलन थियो । निधिका कान्छा सुपुत्र विमलेन्द्र निधि विलक्षण प्रतिभा नभएको भए सानै उमेरमा नेपाल विद्यार्थी संघको नेतृत्वमा पुग्ने थिएनन् । २०३६ सालमा भएको नेपाल विद्यार्थी संघको जनकपुर अधिवेशनमा स्वयं बीपी कोइरालाले निधिलाई त्यसको नेतृत्व सुम्पिनुभएको थियो । विमलेन्द्रमा नेपाली कांग्रेसको सभापति पदको चुनाव लड्ने आकांक्षा नभएको त पक्कै होइन होला । उनले अहिलेसम्म हाउभाउले पनि आफ्नो इच्छा जताएका छैनन् । जुन दिन विमलेन्द्र निधिलाई लाग्नेछ सभापति पदप्रति शेरबहादुर देउवा निस्पृह छन्, त्यो दिन मात्रै उनले आफ्नो उम्मेदवारीको घोषणा गर्नेछन् ।

विमलेन्द्र नेपालको प्रजातान्त्रिक आन्दोलनका एक जुझारु व्यक्तित्व हुन् । मधेसको राजनीतिमा कांग्रेस पछि परेको अहिलेको अवस्थामा विमलेन्द्रको उम्मेदवारी प्रभावकारी हुन सक्छ भन्ने राय धेरैको छ । विमलेन्द्रले पिता महेन्द्रनारायण निधिको विरासतको प्रतिनिधित्व गरे पनि राजनीतिमा उनले आफ्ना पिताको अहिंसात्मक राजनीतिको पदचाप पछ्याएनन् । तत्कालीन पञ्चायत राजनीतिको प्रतिरोध गर्न अहिंसा मात्र पर्याप्त छैन भन्ने मान्यता राख्ने पिँढीका सदस्य हुन् उनी ।

कांग्रेसको महाधिवेशनमा खोजिने भावी नेतृत्वका सम्बन्धमा अहिलेसम्म देखिएको परिदृश्य यही हो । यो परिदृश्य अहिले जेजस्तो भए पनि, शेखर र शशांक दुई दाजुभाइबीच सहमति भएन भने चुनाव दुवैका लागि प्रत्युत्पादक हुनेछ । यो परिदृश्यमा भोलिका दिनमा अरू धेरै नाम थपिन सक्छन् । त्यो कुनै ठूलो कुरा होइन । अहिले वामपन्थी दलका नेताहरूलाई शक्ति र सत्ताको लोभले जसरी गाँजेको छ, कांग्रेसीहरूले त्यो मोड पटकपटक पार गरिसकेका छन् । जनता राजनीतिक दलका जात्रा र तमासा हेर्दाहेर्दा आजित भैसकेका छन् । अब हुने कुनै पनि पार्टीको नेतृत्व–संयोजन देश र जनताप्रति उत्तरदायी हुनुपर्छ । मुख्य सूत्र यही नै हो ।

प्रकाशित : असार २५, २०७७ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?