कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मध्यम वर्गको शोकगीत

मध्यम वर्ग नाफाको चक्करमा समाज र मानवीय सम्बन्धलाई नै बलि दिने पुँजीवादको अब्बल अनुयायी बन्ने होडमा छ । यो कुलीन वर्गजस्तै आत्मकेन्द्री मात्रै बन्दै छैन, असामाजिक र आपराधिक चरित्रको समेत बन्न पुगेको छ ।
सरिता तिवारी

यो लेखको शीर्षक जर्मन कवि हान्स मग्नस एन्जेन्स बर्गरको कविता ‘मिडल क्लास ब्लुज’ बाट सापट लिएकी हुँ । उनको यो छोटो, सरल कविताले औंलामा बढिरहेका नङ चपाएजसरी आफ्नै विवेक र वर्तमान चपाइरहेको एउटा विशाल वर्गमाथि तीखो कटाक्ष गर्छ ।

मध्यम वर्गको शोकगीत

मध्यम वर्ग भविष्यप्रति दिशाहीन हुँदै, बिस्तारै आफैंलाई ध्वस्त पार्दै मौनताको संस्कृतिमा बाँच्न बानी परेको कुरामा कविसँग मेरो बोधको तान जोडिन्छ । सन् साठीको दशकमा जर्मनीमा लेखिएको यो कविताले सारतः हाम्रो आजको कथासमेत भन्न सक्छ जस्तो लाग्छ ।

मध्यम वर्ग जोसँग आजको समयका सबैभन्दा कठोर चुनौती छन् । मध्यम वर्ग जसको चाहनाले आजको समाजको नापनक्सा नै अभूतपूर्व रूपले फेरिन सक्छ । तर, यो वर्ग त्यस्तो ठोस प्रयत्नका लागि तयार छैन मात्रै होइन, लोभ, आलस्य र आडम्बरले ग्रस्त रोगीसमेत देखिएको छ । जीवनका व्यापक तहमा प्रभाव पार्न सक्ने समाजको ठूलो तप्का पैसा र पैसाले किन्ने नक्कली प्रतिष्ठाको आकांक्षामा अमानवीय र आपराधिकसमेत बन्दै गएको छ । यस्तो प्रवृत्तिको आलोचक पनि मध्यम वर्ग नै हो तर त्यही आलोचक मध्यम वर्ग पनि संगठित र व्यवस्थापनकारी बन्न सकेको छैन । किन ?

000

असार १ गते हेटौंडाको कर्रामा एउटा जघन्य हत्याकाण्ड भयो । यो कुनै आवेशप्रेरित हत्या थिएन । यसमा संलग्न ठहरिएका अभियुक्त पेसेवर हत्यारा वा मानसिक रूपले अस्वस्थ व्यक्ति पनि होइनन् । यो चोरी–डकैतीका क्रममा भएको आकस्मिक हत्या पनि होइन । २४ वर्षकी सुस्मिता क्षत्री भरभराउँदो युवा वयमै मारिइन्, त्यो पनि आफ्नै लोग्नेको घरभित्र !

उनीमाथि रचिएको हिंसा र हत्यासम्मको चक्रव्यूह यस्तो देखिन्छ, कसै गरी उनी ज्युँदो रहने अवस्थै थिएन । त्यो दिन वा अर्को कुनै दिन, उनलाई मारिन्थ्यो नै । शिक्षित, पठित र कथित संस्कारी भनिएका मान्छेले नै तिनलाई मारे । आफ्नै ससुरा, सासू र नन्द–आमाजू मिलेर योजनाबद्ध रूपमा तिनको बाँच्न पाउने अधिकार खोसे । यो हत्याको कारण थियो— सुस्मिताका मृत लोग्नेको नामसँग जोडिएको बिमा रकम । लोग्ने गुमाएकी सुस्मिताको आत्मसम्मान र भविष्यभन्दा बिमाबापत आउने पैसा ठूलो ठहरिएपछि हत्या निर्विकल्प बन्यो । पैसाका अगाडि विवेक पराजित भयो । म महिला भएर वा छोरीकी आमा भएर जति आर्त मनले यो घटनालाई हेर्छु, मानवसम्मत विवेक र समाजको बदलिँदो रूपमाथि आलोचनात्मकसमेत भएर सुस्मिता हत्या प्रकरणका घटनाक्रम केलाउनुपर्छ भन्ने ठान्छु । यो प्रकरण यस्ता अनेक घटनाहरूको एउटा अर्को कडी बन्न आइपुगेको छ । हत्यासम्मकै परिणाममा नदेखिएका अनगिन्ती सुस्मिताहरू अहिले पनि घरघरभित्र प्रताडित छन् भन्ने स्पष्ट संकेत यसले दिन्छ । दाइजो लगायतका आर्थिक–सांस्कृतिक प्रताडनाको सिकार अरू कैयौं सुस्मिताका खबरबाट समाज बेखबर छैन, भलै ती कुनै अखबारमा छापिएका होऊन् या नहोऊन् ।

एक वर्षअघि मात्रै वीरगन्जका डाक्टर सचितानन्द यादवले आफ्नै श्रीमती सुनिता यादवको हत्या गरे । बीसौं लाख बराबरको दाइजोले नपुगेर मारुती कारसमेत माग गरेका डाक्टरले आफ्नो माग पूर्ति नगरेको ‘अपराध’ मा सुनिताको प्राण खोसे । दुई वर्षअघि दाइजोको रकम पूरा नदिएको भन्दै सिरहामा लोग्ने र घरका अरू सदस्यकै हातबाट जस्मिन खातुन मारिइन् । त्यसअघि जनकपुरमा दाइजोकै निहुँमा मारिएकी रञ्जना शर्मालाई मार्ने लोग्ने, जेठाजु र जेठानीसमेत थिए । सुस्मिता हत्या र बाँकी प्रकरणको भूगोल र समुदाय फरक छ । हत्याको कारण पनि तात्त्विक रूपले फरक छ । तराई मधेसलाई ‘दाइजोका निहुँले बुहारी मार्ने’ बर्बर समाजका रूपमा चित्रण गर्ने आम प्रवृत्तिलाई यस्ता घटनाले थप मलजल गरेका पनि छन् । तर प्रश्न पहाडे मूलकै परिवारमा पनि महिलाको अस्तित्व र आत्मसम्म्मान कति सुरक्षित छ भन्ने हो । त्यहाँ सुस्मिता, सुनिता, जस्मिन र रञ्जनाजस्ता छोरीहरू कस्ता कहरले बाँच्दै होलान् भन्ने हो ।

अपवादका रूपमै किन नहोस्, श्रीमतीले श्रीमान्को हत्या गरेका घटना पनि नदेखिएका होइनन् । पछिल्ला दिनमा जातका आधारमा गरिएका हत्या प्रकरण पनि उल्लेख्य छन् । समग्रमा सबै खाले अपराधको डोरो मध्यमवर्गीय चरित्रसँग जोडिन्छ । जहाँ आर्थिक प्रलोभनदेखि सांस्कृतिक र उच्चजातीय अहम्सम्मले ज्यानै लिने अपराधवृत्ति रोज्न प्रेरित गरेको छ । यो व्यक्ति वा निश्चित ठाउँ र समुदायको मात्रै होइन, समग्र मध्यम वर्गको आदर्श र सही देखिने हिप्पोक्रेसीभित्र लुकेको निहित स्वार्थ र प्रवृत्तिसँग गाँसिएको सवाल हो ।

000

आजको कुरा गर्दा मध्यम वर्ग समाजको मूलधार हो । कोरोना प्रकोपले विश्वभर नै वर्गसन्तुलन फेरिन्छ भन्ने अर्थशास्त्रीय भविष्यवाणीका बीचमा उभिएर हेर्दा भोलिको समाजका वर्गीय ग्राफ र चित्र कस्ता होलान्, अहिल्यै भन्न सकिन्न । तर हालसम्मलाई नेपाली जनसंख्याको ठूलो भाग मध्यम वर्गले ओगटेको तथ्य छर्लंग छ । अथाह महत्त्वाकांक्षा र असीमित इच्छाहरूको पांग्रामा गुडेर कुदिरहेको यही वर्ग वास्तविक अर्थमा समाजको चलायमान वर्ग पनि हो । यसले सामाजिक चेतनाका अवयवहरू संस्कृतिदेखि धर्मकर्म, रीतिथिति, नैतिकता, विचार–विमर्श र बजार सबै कुराको अघोषित ठेक्का लिए जस्तो देखिन्छ । र, त्यसमा यो वर्ग अलि बढ्तै ‘गौरवान्वित’ पनि देखिन्छ ।

मध्यम वर्ग उच्च वा निम्न वर्गका तुलनामा वस्तुदेखि विचारसम्मका अनेकौं कुराको ठूलो मात्राको खपतकर्ता हो । यो बाहिरबाट जति नैतिक, सृजनात्मक र प्रगतिशील देखिन्छ, नेपथ्यमा अधिकांशतः मानसिक र चारित्रिक रूपले भ्रष्टीकृत हुँदै, मक्किँदै र ध्वस्त हुँदै गइरहेको समेत छ भन्ने मतमा तपाईं सहमत नहुन पनि सक्नुहुन्छ । तर हाम्रा निजी सम्मति वा असम्मतिले मात्रै समाजको सच्चाइ र चित्र फेरिनेचाहिँ होइन ।

मार्क्सवादी समाजवादीहरू मध्यम वर्गलाई ‘अवसरवादी’ भन्थे । आजका दिनसम्म आइपुग्दा नेपालमा मात्रै होइन, संसारभरि नै न मार्क्सवाद सग्लो छ न समाजवाद नै स्पष्ट छ । अहिले न सर्वहारा र पुँजीपतिबीच आमनेसामने भएर गर्ने संघर्ष प्रकट भएका छन् (जहाँ मध्यम वर्ग दुइटा वर्गबीच हल्लिरहेको पेन्डुलम बन्नुपरेको होस्), न त कुनै एक पक्षतिर लागेर मध्यम वर्गले अवसर छोप्ने दाउपेच नै यति बेला विद्यमान छन् । यतिखेर त मध्यम वर्ग नै हरेक सामाजिक उथलपुथलको विषय र केन्द्र बन्नुपर्ने स्थितिमा छ । यसैसँग नै अहिलेका सामाजिक–राजनीतिक आन्दोलन र अभियान हाँक्ने वस्तुगत आधार र दायित्व छन् । तर यी सबै कुराका लागि यो वर्ग आफैंमा कति तयार छ ? प्रश्न यहाँनेर छ ।

समाजशास्त्रीहरू मध्यम वर्गलाई सर्वहारा र कुलीनबीचको खैरो–धमिलो (ग्रे एन्ड ब्लर) मध्यवर्ती धर्सो भन्छन् । तर पुँजीवादको तीव्र प्रभावले यो धर्सोको विस्तार व्यापक बनाएको छ । आजको मध्यम वर्ग नाफाको चक्करमा अन्धाधुन्ध दौडँदा समाज र मानवीय सम्बन्धलाई नै बलि दिने पुँजीवादको अब्बल अनुयायी बन्ने होडमा छ । यो कुलीन वर्गजस्तै आत्मकेन्द्री मात्रै बन्दै छैन, असामाजिक र आपराधिक चरित्रको समेत बन्न पुगेको छ । समाज सामूहिक होइन, सम्पूर्ण रूपले वैयक्तिक एकाइमा रूपान्तर हुने क्रम आक्रामक रूपले बढ्दो छ । मानवशास्त्री डम्बर चेम्जोङका शब्दमा, ‘पुँजीवादले मानिस सामाजिक प्राणी हो भन्ने तथ्यलाई उल्ट्याएर मान्छे द्रव्यपिशाची जीव हो भन्ने कुरालाई स्थापित गरिदिएको छ । अहिलेको सम्पूर्ण विश्वव्यवस्थाको मूल द्वन्द्व नै सोसल बिइङ र इन्डिभिजुअल बिइङका बीचमा छ ।’

सामाजिकता नष्ट हुँदै व्यक्तिसत्ता नै निर्णायक हुने स्थितिमा कसै गरेर पनि सुविधा, सुख र आडम्बर तीनै चीजको संग्रह गर्न र त्यसका लागि जस्तोसुकै आर्थिक, नैतिक या सांस्कृतिक पतनलाई सही ठहर्‍याउन सक्ने अवस्थामा पुग्ने भएपछि मध्यम वर्ग कुनै नौलो क्रान्तिको वाहक पनि बन्न सक्छ भन्ने पत्याउन मुस्किल छ । हद भए यसभित्रको विवेकवान् समूहले सूचना संयन्त्रबाट केही हस्तक्षेप गर्न सक्ला ।

ह्यासट्याग या अन्य तरिकाले सामाजिक सञ्जालमार्फत जनमत बनाउन सक्ला तर माथि उल्लेख गरिएका जस्ता हत्या र हिंसाले संवेदित, चिन्तित हुने वा त्यस्ता अपराधको अंशियारका रूपमा आफ्ना भूमिकालाई पनि समीक्षा र आत्मसात् गर्ने, प्रतिकार अभियानहरू चलाएर सडकमा निस्कने, सार्वजनिक विरोध गर्ने अथवा अदालत, संसद् र सरकारलाई आलोचनात्मक दबाब दिने स्तरमा आम जनसंख्यालाई प्रभाव पार्न कोही तयार देखिन्न । किनभने मध्यम वर्गसित यति बेला केवल महत्त्वाकांक्षा र तत्कालीन आवेग मात्रै छ, संगठित प्रतिरोधको इच्छा र कार्यक्रम छैन । दलहरूले क्रान्तिको कोर्स सकियो भने जस्तै मध्यमवर्गीय चेतनामा पनि परेको छ— क्रान्ति र आन्दोलनको मौसम त सकिइसक्योÙ अब कमाउनु, खानु, मनोरञ्जन गर्नु र रहर लागे लेखपढ, बुद्धिविलास गर्नु नै आजको मान्छेको साध्य हो ।

निर्मला हत्याकाण्डपछि नेपाली समाज ‘हाइबर्नेसन’ बाट एकपल्ट बौरिए–बौरिए जस्तो भएको हो तर त्यो प्रतिरोधलाई एउटा स्पष्ट विचार र नेतृत्वले कार्यक्रमिक रूपमा ल्याएको थिएन । त्यो स्वस्फूर्त थियो । आन्दोलन र अभियानको स्वामित्व लिने र दिशा दिने स्पष्ट देखिने नेतृत्व नहुँदा सत्ता र शक्तिको खेलले त्यति ठूलो र देशव्यापी जनलहरलाई छल्न र झुटखेती चलाइरहन सम्भव भयो ।

000

दुई दशकअघिसम्म सर्वहारा क्रान्तिको मसाल धपधपाएको समाजमा भकाभक मौलाएको प्रतिक्रान्तिका सूचकहरूले पनि भन्छन्, नेतृत्वको मात्र होइन जनस्तरमा पनि हिजैको जस्तो निम्न वर्गप्रति समानुभूति नरहने र आत्मकेन्द्री चिन्तन विकसित हुँदै जानुले आजका जरुरी आन्दोलन विषयान्तर भएका छन् । मध्यम वर्गका हामी अधिकांश लेख्दा–बोल्दाचाहिँ भयंकर प्रगतिशील, जीवनशैली पुँजीवादी र सोच सामन्तवादी नै रहने प्रवृत्तिको सिकार भएका छौं । यो अवस्था भूमण्डलीकृत पुँजीवादको प्रभावले मात्रै होइन, हाम्रै दिशाहीनता र विवेकहीनताले पनि निम्त्याएको हो ।

अपवादबाहेक वर्गस्वार्थ नमिल्नासाथ मान्छेको अस्तित्वको अस्वीकार हत्याकै तहमा ओर्लंदासम्म हामी लगभग मौन छौं । समाजमा महिला, दलित र उत्पीडितहरूमाथि घोर हिंसा हुँदा, मारिँदा हामी करिबकरिब चुपचाप छौं । अखबार र सामाजिक सञ्जालबाहेक बाँकी समाजमा तृण बराबरको तरंग उत्पन्न हुन सकेको छैन । समाजमा बाहुबलको धाक, घृणाको प्रसार र अपराधको विस्तार हुनुमा भ्रष्टीकृत दलतन्त्र र दण्डहीनतालाई प्रश्रय दिने राज्यसत्ता मात्रै होइन, मध्यमवर्गीय मौनता र बुझपचाइ पनि बराबर जिम्मेवार छैन र ?

प्रकाशित : असार २३, २०७७ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?