कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

जनमत विपक्षमा, नजर सत्तामा

२०४६ सालको परिवर्तनपश्चात् विरलै सत्ताबाहिर बसेको कांग्रेसले पुनः सत्ताकै खेल खेल्नु आत्मघाती साबित हुनेछ ।
सुदर्शन आचार्य

सत्तापक्षले प्रतिपक्षलाई बिटुल्याउन अनेक प्रयत्न गरिरहेको हुन्छ । तीमध्ये सबभन्दा सजिलो सत्ताको प्रलोभन हुन्छ, जुन खेल अहिले सत्तारूढ नेकपाको एउटा समूहले प्रतिपक्षी नेपाली कांग्रेसमाथि खेलिरहेको छ ।

जनमत विपक्षमा, नजर सत्तामा

नेकपाभन्दा बिलकुलै अलग लक्ष्य र सिद्धान्त भएको प्रतिपक्ष सत्ताको प्रलोभनमा नफस्नुपर्ने हो । तर धर्म, परम्परा, सिद्धान्त र इमान यस्ता पेचिला विषयवस्तु हुन्, जसलाई जोगाउन निकै कठिन छ । सत्तातर्फ आकर्षित हुनु नै प्रतिपक्ष कमजोर हुनु हो । प्रतिपक्ष कमजोर हुनु भनेकै लोकतन्त्र कमजोर हुनु हो । दूरदर्शी राजनीतिज्ञ रहेको प्रतिपक्ष सत्तामा सम्मिलित हुने त कुरै छाडौं, हिमचिमसम्म बढाउन उत्सुक हुँदैन । अर्कातिर, जो सत्तामा छन् ती पनि निहित स्वार्थका निम्ति उत्तरदायी प्रतिपक्षलाई बिटुल्याउन चाहँदैनन् । प्रजातान्त्रिक परिपाटी भएका मुलुकहरूमा न प्रतिपक्ष हत्तपत्त सत्तापक्षसँग मिल्छ, न सत्तापक्ष नै प्रतिपक्षलाई बिटुलो पार्न चाहन्छ । सत्ता र प्रतिपक्षबीच परम्परागत भद्र समझदारी हुन्छ, अलगअलग रहेर सर्वथा फरक तरिकाले राजनीति गरौं, जनसमर्थन लिएर मात्र सत्तामा जाऔं र आफ्नै हिसाबले देशको भविष्य निर्माणमा लागौं । तर, नेपालका सन्दर्भमा प्रतिपक्षी कांग्रेसको नजर सत्तातिर सोझिएको देखिँदै छ, जुन कांग्रेसको आस्था र विश्वासभन्दा फरक दृश्य हो ।

जनताले कांग्रेसलाई पछिल्लो निर्वाचनमा प्रतिपक्षको भूमिकामा खुम्च्याएका हुन् । समयसापेक्ष दृष्टिकोण र आकर्षक चुनावी नारासम्म तय गर्न नसकेको कांग्रेसले उक्त कालखण्डमा लिएको सहारा भनेकै ज्योतिषीको थियो । त्यसैले ऊ प्रतिपक्षमा थन्कियो । तर, अहिले आएर सत्ताभित्रको घरझगडामा खेल्दै सरकारमा सहभागी हुन खुट्टा उचालेको छ, जुन प्राकृतिक होइन । २०४६ सालको परिवर्तनपश्चात् विरलै सत्ताबाहिर बसेको कांग्रेसले पुनः सत्ताकै खेल खेल्नु आत्मघाती साबित हुनेछ । इतिहासको अध्ययन गर्न टाढा जानैपर्दैन । कांग्रेससँगै सत्ता साझेदारी गरेको माओवादी केन्द्रलाई कांग्रेसबाट अलग्याएर एकीकरण गरी निर्वाचनमा होमिएको नेकपासँग लगभग साइनो नै टुट्न लागेको केपी ओली समूहसँग सत्ता साझा गर्न कांग्रेसलाई कुन आकाशवाणीले प्रेरित गर्‍यो ? यसको जवाफ सत्तारोहणपूर्व नै कांग्रेसले देश र जनतालाई दिनुपर्छ ।

वाइडबडी, यति, ओम्नी, दूरसञ्चार, चिनी, सुन, बालुबाटर जग्गा, मेलम्ची प्रकरणजस्ता ठूला भ्रष्टाचारमा कांग्रेसले विरोधका नाममा सामान्य फेसबुक लाइभ गर्नेबाहेक अपेक्षित मुखरता देखाउन सकेन । कतिपय भ्रष्टाचार प्रकरणमा विरोधस्वरूप केन्द्रीय समितिबाट निर्णय गरिएका विषयमा समेत कांग्रेसले अस्वाभाविक मौनता साध्यो । जनमानसमा त्यति बेलै कांग्रेस मौका पर्नासाथ सरकारमा सामेल हुनकै लागि मौन बसेको आशंका थियो । पछिल्लो समय कांग्रेस नेतृत्वको बालुवाटारसँग बढेको हिमचिमले त्यो आशंकालाई धेरथोर पुष्टि गर्दै छ । समाजवादको कुरा गरेर नथाक्ने नेतृत्वलाई कांग्रेस पार्टी जीवित राख्न पसिना बगाउने आम कार्यकर्ताभन्दा राष्ट्रिय–अन्तर्राष्ट्रिय बिचौलिया नै प्रिय हुने गरेको यथार्थ कसैबाट लुकेको छैन । संवैधानिक निकायदेखि राजदूत नियुक्तिसम्म खरिद–बिक्री हुने गरेको घटना समाचारका रूपमा बेलाबखत सार्वजनिक भएकै हुन् । सरकारलाई अंकुश लगाएर जवाफदेही बनाउनुपर्ने प्रतिपक्षी कांग्रेसको भूमिकामा आज प्रेस र सामाजिक सञ्जाल छन् । कांग्रेसले जनभावना बुझ्न नसक्दा सत्ताले समेत उन्मत्त हुँदै बारम्बार विधि र पद्धतिविपरीत निर्णय लिइरह्यो । सत्ताका अस्वाभाविक गतिविधि नियन्त्रण गर्न स्वयं सत्तारूढ दलभित्रैबाट यति ठूलो स्केलमा विरोध हुनुपूर्व नै कांग्रेसले आफूलाई मुखर बनाउन सक्नुपर्थ्यो । दुर्भाग्य, यी विषयमा कांग्रेस नराम्ररी चुकिरह्यो ।

पटकपटक प्रधानमन्त्री हुने लालसाका कारण कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ताको हर गतिविधि जायज देख्न थालेका छन् । कदाचित् सत्तामा गइहाल्यो भने कांग्रेसको इतिहासका निम्ति त्योभन्दा दुर्भाग्य अर्को केही हुनेछैन । यति बेला विश्व अमेरिकी र चिनियाँ गरी दुई ध्रुवमा बाँडिँदै गएकाले एउटा रोज्नैपर्ने बाध्यता आइलागेकै हो भने पनि कांग्रेसले सत्ताबाहिर रहेरै आफ्नो कित्ता प्रस्ट पार्न सक्छ । सत्ताकै लागि अँध्यारो कोठामा बसेर तानाबाना बुनिएकै हो र त्यसका निम्ति सुवास नेम्बाङहरूले भूमिका खेलेकै हुन् भने भोलि कांग्रेस पनि सग्लो रहिरहन कठिन छ ।

राजनीतिबाटै विश्राम लिने उमेरका नेताबाट मुलुकले प्राप्त गर्ने भनेकै बोझ हो । तर, कांग्रेसका दोस्रो र तेस्रो पुस्ताका नेताहरू पनि २०/४० प्रतिशतको भाग खोज्न तल्लीन छन् । यिनले भोलि शतप्रतिशतको कांग्रेस हाँक्न सक्षम होलान् त ? कोभिड–१९ का कारण महाधिवेशन प्रभावित भए पनि संसद् र सञ्चारमाध्यमको भरपूर उपयोग गरेर सरकारका बेथितिविरुद्ध आवाज उठाउन नेतृत्वका अभिलाषी कांग्रेसलाई केहीले छेकेको थिएन । तर, युवानेता भनिएकाहरू पनि बालुवाटार पुगेर सत्तासँग खिचिएका तस्बिर सगौरव पोस्ट गरिरहेका छन् ! यसैबाट प्रस्टिन्छ, उनिहरूको चित्र र चरित्र ।

राजनीतिलाई बढ्दो उमेरका देउवाभन्दा भिन्न तरिकाले आत्मसात् गर्न नसक्नु युवापंक्तिमा ‘भिजन’ नरहेको प्रमाण हो । एउटा गुटको ताबेदारी र अर्को गुटको खबरदारी गर्न छाडेर कांग्रेसका युवाले सत्तासँगै स्वयं आफ्नै पार्टीभित्रका बेथितिविरुद्ध पनि संगठित रूपमा आवाज उठाउन सक्नुपर्छ । संघर्षभन्दा सत्तालाई प्रिय ठान्ने तथा सत्तातिरै आँखा लगाइरहने कांग्रेसबाट आगामी युगको प्रतिनिधित्व सम्भव छैन । प्रजापरिषद्झैं इतिहासको दराज–उन्मुख कांग्रेसलाई जनताको कांग्रेस बनाउन कांग्रेसभित्रै पनि उथलपुथल जरुरी छ । विरासतले मात्रै हुने भए भारतमा कांग्रेस आईका सामु बीजेपी राजनीतिमा स्थापित नहुन सक्थ्यो । इतिहास र विरासत भनेको गाथा गाउने विषय हो । वर्तमानमा त २०६२/६३ को आन्दोलनसमेत नदेखेको पुस्ता मतदाता भएर आउँदै छ, जसलाई आफ्ना कार्यक्रममार्फत आफूसँग जोड्न सक्नुपर्छ । भावी कार्यक्रमका सन्दर्भमा आफैं विलखबन्दमा परेको कांग्रेसको केवल चारतारे झन्डा मात्र हेरेर कोही युवा कांग्रेसप्रति आकर्षित हुने छैन । देशभरका लाखौं युवाका लागि देउवा सरकारमा जाऊन् वा नजाऊन्, त्यसले खासै फरक पार्दैन । फरक त युवाकेन्द्रित कार्यक्रम ल्याउन कांग्रेसले खेलेको भूमिकाले पार्छ ।

समग्रमा, सत्ताद्वारा सिर्जित बेथितिविरुद्ध आवाज उठाउने सक्षमताका आधारमा कांग्रेसको मूल्यांकन हुने हो । सत्ताकै लागि लालायित बनेका भए बीपी कोइरालाले त्यति लामो कालखण्ड जेल र निर्वासन बस्नैपर्ने थिएन । गणेशमान, किशुनजी, गिरिजाप्रसादजस्ता नेतालाई सत्तामा सामेल हुन पञ्चायतले आग्रह गरेको थिएन होला र ? तर पनि ३०/३० वर्ष किन संघर्षकै बाटो रोज्नुपर्‍यो ? यस्ता विषयको विश्लेषण नगरी आफ्नै दलभित्रका फरकमत राख्ने नेता–कार्यकर्तालाई बाँकी नराख्ने तर वैचारिक रूपमा आनका तान फरक पार्टीसँग सत्ता साझेदारी गर्न हौसिए कांग्रेसको राजनीतिक अवसान त हुन्छ नै, त्यति बेला कांग्रेस पार्टी नै पनि समाप्तिको बाटोमा लाग्नेछ । सच्चा प्रतिपक्ष इतिहासमा कहिल्यै विपरीत विचारवाला सत्तामा सहभागी बनेकै छैन । इतिहासमा यदाकदा राष्ट्रिय संकटको घडी आउँदा सत्तापक्षलाई सहयोगसम्म गरेको उदाहरण पाइन्छ । कोभिड महामारीका सन्दर्भमा नेपालमा पनि सत्तापक्षले प्रतिपक्षको सहयोग पाएकै छ । चीनमा सन यातसेनका पालामा माओ त्सेतुङले त्यस्तै सहयोग दिएका थिए, सत्तामा सहभागी बनेको होइन । त्यही सहयोगका कारण पछि माओको पार्टी झन् जनप्रिय र बलशाली बन्न पुग्यो ।

[email protected]

प्रकाशित : असार २३, २०७७ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?