१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

ढलको पानीबाट संक्रमितको पहिचान

जापान, अस्ट्रेलिया, इटाली, स्पेन, नेदरल्यान्ड लगायतमा ढलको पानीमा कोरोना भाइरसको मात्रा बढ्दा समुदायमा संक्रमितको संख्या पनि वृद्धि भएको अनुसन्धानहरूले देखाएका छन् ।
साधना श्रेष्ठ

‘ढलको पानीमा आधारित इपिडिमियोलोजी’ (वेस्टवाटर–बेस्ड इपिडिमियोलोजी) ढलको पानीमा जीवाणु/विषाणुहरूको पहिचान एवं मात्रा निर्धारण गर्ने र सोही तथ्यांकका आधारमा समुदायस्तरमा संक्रमणको अवस्था (आँकडा/तथ्य) पत्ता लगाउने प्रभावकारी विधि हो ।

ढलको पानीबाट संक्रमितको पहिचान

यस्ता तथ्य तथा आँकडाहरूले समुदायमा संक्रमण रोकथामका लागि नीति तथा कार्यक्रम तर्जुमा गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् । अमेरिकी अनुसन्धानकर्ता क्रिस्चियन डाफ्टनले सन् २००१ मा समुदायमा लागूऔषध दुर्व्यसनीको अवस्थालाई अध्ययन गर्न यो विधिलाई उपयोग गर्न सकिने सम्भावनालाइ पहिलोपल्ट औंल्याएका थिए । यसपछि विभिन्न पश्चिमा देशमा ढलको पानीमा लागूऔषधको पहिचानबारे अध्ययनहरू थालिए, जसले झन्झटिलो सर्वेक्षणबिना नै समुदायमा लागूऔषध दुर्व्यसनीहरूको वास्तविकता अध्ययन गर्न मद्दत पुर्‍यायो । विश्व स्वास्थ्य संगठनको अगुवाइमा सन् १९८८ देखि सुरु गरिएको ‘ग्लोबल पोलियो इराडिकेसन इनिसियटिभ्स’ कार्यक्रमअन्तर्गत ढलको पानीमा पोलियो भाइरसको नियमित परीक्षणलाई ‘पोलियो रोग धेरै हुने क्षेत्र’ पत्ता लगाउने उपायका रूपमा प्रयोग गरिएको थियो । सन् २०१३ मा इजरायलका केही समुदायमा सुषुप्त रूपमा पोलियो रोग फैलिएको तथ्य ढलको पानीमा पोलियो भाइरसको पहिचानका आधारमा पत्ता लागेको थियो । फलस्वरूप त्यहाँ पोलियो खोपका नयाँ नीति तथा कार्यक्रम बने र संक्रमणलाई नियन्त्रणमा लिइयो । यो घटना ढलको पानी परीक्षणबाट प्राप्त संक्रमणसम्बन्धी सूचनाहरू सो संक्रमणविरुद्ध लड्नका निम्ति अत्यन्त प्रभावकारी हुन्छन् भन्ने एउटा राम्रो उदाहरण बनेको छ ।

कोभिड–१९ का संक्रमितहरूमध्ये १८ देखि ३१ प्रतिशतमा कुनै लक्षण देखा नपर्ने तर उनीहरूले भाइरस भने सार्न सक्ने विभिन्न अनुसन्धानले देखाएका छन् । लक्षण देखाउने संक्रमितहरूमा लक्षण देखा पर्नु केही दिनअघिदेखि र लक्षण नदेखाउनेहरूमा श्वासप्रश्वाससम्बन्धी नमुनामा मात्र नभई दिसामा पनि भाइरस देखा पर्न सक्छ । पेटसम्बन्धी लक्षणहरू (झाडापखाला र अरू लक्षण) देखाउने र नदेखाउने दुवै किसिमका बिरामीहरूको दिसामा कोरोना भाइरस देखा पर्न सक्छ । यसका साथै श्वासप्रश्वाससम्बन्धी लक्षणहरू देखिन छाडेको केही दिनसम्म पनि बिरामीको दिसामा कोरोना भाइरस पाइएको अनुसन्धानहरूले देखाउँछन् । यी तथ्य हेर्दा ढलको पानीमा कोरोना भाइरस पत्ता लगाउन सकिन्छ । जापान, अस्ट्रेलिया, इटाली, स्पेन, नेदरल्यान्डजस्ता विकसित देशहरूमा ढलको पानीमा कोरोना भाइरसको पहिचान भएका शोधपत्रहरू प्रकाशित भएका छन्, जसमा ढलको पानीमा भाइरसको मात्रा बढ्दा समुदायमा संक्रमितको संख्या बढ्दै गएको तथ्यांक पेस गरिएको छ । कुनैकुनै अध्ययनले समुदायमा संक्रमण देखिनुभन्दा केही दिनअघि संकलित ढलको पानीमा पनि कोरोना भाइरसको पहिचान भएको देखाएका छन् । यी सबै तथ्यले ढलको पानीमा कोरोना भाइरसको पहिचान गरी ती तथ्यांकलाई अवसरका रूपमा प्रयोग गर्न सकिने संकेत गर्छन् । लक्षण नदेखाउने संक्रमितहरू कुल संक्रमितको गणनामा प्रायः पर्दैनन् तर उनीहरूको दिसामा भाइरस देखिने भएकाले ‘ढलको पानीमा आधारित’ समुदायस्तरको आँकडामा भने त्यो समूह पनि छुट्दैन । कोभिड–१९ लाई नियन्त्रणमा लिइसकेका देशहरूमा यो महामारीको दोस्रो लहर (सेकेन्ड वेभ) आउन सक्ने खतरा रहेको बताइन्छ । ढलको पानीमा भाइरसको नियमित परीक्षण गरिएका खण्डमा सो पानीमा भाइरसको मात्रा निरन्तर बढ्दै गए यसले समुदायमा संक्रमणको दोस्रो लहर सुरु हुन लागेको पूर्वसूचना पनि दिन सक्नेछ ।

अब चर्चा गरौं नेपालजस्तो विकासोन्मुख देशमा ‘ढलको पानीमा आधारित इपिडिमियोलोजी’ विधिको महत्त्व, चुनौती र सम्भाव्यताबारे । कोभिड–१९ को संक्रमण पहिचान, उपचार र रोकथाममा नेपालजस्तो देशलाई ठूलै भार पर्ने देखिन्छ । ढलको पानी समुदायको मिश्रित नमुना (कम्पोसिट स्याम्पल) भएका कारण त्यसको नियमित (प्रत्येक दिन वा हप्ता) नमुना संकलन र परीक्षणका निम्ति खर्च हुने स्रोत/साधन व्यक्तिमा संक्रमण परीक्षणका निम्ति खर्च हुने स्रोत–साधनको तुलनामा निकै कम हुन आउँछ । जानकारहरूका अनुसार, यो विधिद्वारा कुनै समुदाय/क्षेत्रमा, प्रत्येक व्यक्तिको परीक्षणबिना नै संक्रमितहरूको संख्या अनुमान लगाउन सकिन्छ तथा संक्रमण समुदायस्तरमा फैलिएको पूर्वसंकेत पाइन्छ । ढलको पानीमा भाइरसको पहिचान हुँदा संक्रमितको व्यक्तिगत विवरणबारे थाहा हुँदैन । हाल नेपालमा सही जानकारीको अभावमा कोभिड–१९ का संक्रमितहरूलाई हेय दृष्टि लगाउने गरिन्छ । स्वदेश फर्किएका कतिपय नागरिकलाई आफ्नै समाजले तिरस्कार गरेका, घर पस्न नदिएका र मानसिक तनाव सिर्जना गरिदिएका समाचारहरू सुनिन्छन् । तिरस्कृत हुने डरले लक्षण देखिए पनि मानिसहरू परीक्षणका लागि नजाने र समुदायमा संक्रमण फैलिने जोखिम झन् बढ्ने देखिन्छ । तसर्थ संक्रमितको पहिचान नै नहुने यो विधि हाम्रोजस्तो सामाजिक परिवेशमा अझै प्रभावकारी हुन आउँछ । यद्यपि यो विधिलाई स्वास्थ्य सर्वेक्षणको विकल्पका रूपमा नभई पूरकका रूपमा लिनुपर्ने जानकारहरू बताउँछन् ।

विकासोन्मखु देशहरूमा यो विधिका आफ्नै चुनौती छन् । विकसित देशहरूमा हरेक घरको ढल निकासलाई ढल प्रणालीमा जोडिएको हुन्छ, जुन अन्ततः ढल प्रशोधन केन्द्रमा मिसिन पुग्छ । यसले ढलको पानीको नमुना संकलन सहज हुनुका साथै प्रशोधन केन्द्रसँग जोडिएका क्षेत्रहरू र त्यहाँ निहित जनसंख्याको निर्क्योल गर्न सजिलो हुन्छ । यसैले ती देशमा ढलमा पहिचान भएको भाइरसको तथ्यांक र मात्रालाई जनसंख्यासँग मेल गराएर समुदायस्तरमा संक्रमणको अवस्था सजिलै बुझ्न सकिन्छ । तर हाम्रो देशमा केही सहरमा मात्र ढल निकासलाई प्रशोधन केन्द्रसम्म पुर्‍याउने गरिएको छ ।सबै घर ढल प्रणालीमा जोडिएका हुँदैनन् । केहीले सेप्टिक ट्यांक मात्र प्रयोग गर्छन् भने केहीले निकास सीधै नजिकैको खोलानालामा गर्ने गर्छन्, जसका कारण ढल प्रशोधन केन्द्रले कति जनसंख्याको ढल व्यवस्थापन गर्छ भन्ने यकिन हुँदैन । तसर्थ प्राविधिक हिसाबले ढलको पानीमा भाइरसको पहिचान नेपालमा कठिन नभए पनि आउने तथ्यांकलाई समुदायस्तरको संक्रमणको तथ्यमा रूपान्तरण गर्न असहज हुन्छ । केही चुनौती रहे पनि नेपालमा यो विधिको प्रयोगको सम्भावना उत्तिकै छ । नेपालका सहरहरूमा सीमित संख्यामा भए पनि ढल प्रशोधन केन्द्रहरू छन्, जसमा निकास भइरहेको पानी नियमित संकलन गरी भाइरसको परीक्षण गर्न सकिन्छ । कतिपय सहरमा समुदायकै पहलमा विकेन्द्रित ढल प्रणाली र प्रशोधन केन्द्रको स्थापना गरिएका छन् । ती केन्द्रमा पनि ढलको पानीको नियमित नमुना संकलन र परीक्षण गर्न सकिन्छ । विभिन्न देशमा प्रशोधन केन्द्रबाट मात्र नभई ढल प्रणालीको पाइपबाट पनि नमुना परीक्षण भइरहेको छ । ढल प्रणालीको स्थापना गरिएको तर ढल प्रशोधन केन्द्र नभएका क्षेत्रहरूमा नगर तथा गाउँपालिकासँगको समन्वयमा विभिन्न टोलबाट एकै ठाउँमा निकास हुने ढलको पाइप यकिन गर्न सकिएमा सो पानीको नमुना संकलन गर्न सकिन्छ । यसरी आएका जीवाणु/विषाणुका तथ्यांकहरूबाट समुदायस्तरमा संक्रमणको अवस्था बुझ्न सकिनेछ ।

ढलको पानीमा कोरोना भाइरसको पहिचान भए पनि यसको माध्यमबाट मानिसमा कोभिड–१९ सर्न सक्ने सम्भावनालाई अध्ययनहरूले पुष्टि गरेका छैनन् । ‘ढलको पानीमा आधारित इपिडिमियोलोजी’ विधिले ढलको माध्यमबाट मानिसमा कोरोना भाइरस फैलिन्छ भन्ने विषयलाई नभई सो पानीमा जीवाणु/विषाणुको पहिचान र मात्रा तय गरी त्यसका आधारमा समुदायमा संक्रमणको अवस्था बुझ्न सकिने विषयको उठान गर्छ । स्वास्थ्य सर्वेक्षणको यो पूरक विधि स्रोत–साधन सीमित भएको परिवेशका लागि विशेष महत्त्वपूर्ण मानिन्छ । साथै संक्रमितको व्यक्तिगत पहिचान नखुल्ने हुनाले हाम्रोजस्तो देशमा ठाउँअनुरूप साधारण संशोधन गरेर यो विधिको प्रयोग गर्न सके स्वास्थ्य संयन्त्रको स्रोत–साधनलाई केही राहत मिल्ने, संक्रमण रोकथामको नीति र नियम तर्जुमा गर्ने कार्यमा नयाँ आयाम थपिने अनि भविष्यमा फैलिन सक्ने महामारीविरुद्ध लड्न पूर्वतयारीको अभ्यास गर्ने अवसर मिल्नेछ ।

(श्रेष्ठ जापानको यामानासी विश्वविद्यालयमा वातावरणले जनस्वास्थ्यमा पार्ने असरहरूबारे अनुसन्धानरत छिन् ।)

[email protected]

प्रकाशित : असार २१, २०७७ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?