पराक्रमी ‘सिंगल’ हरू

प्रेम र शारीरिक सम्बन्ध नितान्त निजी विषय हुन् । विवाह नगरी यी दुवै हासिल गर्ने स्वतन्त्रता प्रत्येक बालिग नागरिकलाई छ ।
शीतल दाहाल

‘अविवाहित महिला संसारकै खुसी’, ‘एक्लो हुनु सृजनात्मक हुनु हो’, ‘अविवाहित हुनु आफ्नो मर्जीको जीवन जिउन पाउनु हो’ शीर्षकका लेख सामाजिक सञ्जालमा जब आइपुग्छन्, तब ती हामीजस्ता ‘सिंगल’ हरूलाई सबैभन्दा पहिला फरवार्ड गरिन्छन् ।

त्यस्ता सामग्री फरवार्ड गर्ने मेरा प्रिय मित्रहरूलाई कटाक्ष गर्नु या प्रत्युत्तर दिनु यो आलेखको उद्देश्य होइन । ती बरु यो लेखका प्रेरक हुन् । ‘सिंगल’ र सामाजिक सञ्जालमा अभ्यस्तसमेत भएकी हुनाले ‘सिंगल’ हुनुका फाइदा र बेफाइदा म आफैंले लेख्दा उपयुक्त ठानेकी हुँ ।

केही दिनअघि सामाजिक सञ्जालमा ‘आई निड अ हग’ (मलाई अंकमाल आवश्यक छ) शीर्षकको करिब तीन मिनेट लामो भिडियो भेट्टाएँ र दोहोर्‍याई–तेहर्‍याई हेरें । एउटी युवती/महिलालाई प्रत्येक दिन प्रेमीको अंकमाल जरुरी हुन्छ, पुरुषको प्रेमिल स्पर्शले महिलाको शरीरमा कसरी सकारात्मक ऊर्जा उत्पादन गर्छ, दिनमा कम्तीमा एकपटक अंकमाल गर्दा महिलाको रक्तचाप सन्तुलित रहन कसरी मद्दत गर्छ, अंकमालले महिलामा प्रेमको हर्मोन उत्पादन गर्न र निराश पार्ने टक्सिनहरूलाई कसरी उत्सर्जन गर्न सहयोग गर्छ भन्ने विवरण उक्त भिडियोमा छ । अरू साथी पनि त्यस सुन्दर भिडियोका हकदार हुन् भन्ने ठान्दै मैले त्यो कैयौंलाई तत्काल फरवार्ड गरें । हेर्ने धेरैले त्यसलाई कसरी लिए कुन्नि, तर मजस्तै ‘सिंगल’ एक साथीले उक्त भिडियोले आनन्दको बदला तनाव दिएको बताइन् ।

‘सिंगल’ हरूका बारे हाम्रो समाजको बुझाइ छ— मन लागेको ठाउँ जान पाउने, मन लागेको कुरा गर्न पाउने, पारिवारिक बन्धनबाट मुक्ति मिल्ने, सन्तानप्रतिको चिन्ता नहुने, अर्काको झन्झट बोक्न नपर्ने, आर्थिक व्ययभार कम हुने, पारिवारिक उत्तरदायित्व वहन गर्न नपर्ने । तपाईं पाठकहरूलाई पनि लाग्न सक्छ— ‘सिंगल’ हुनु गजबै फाइदाको कुरा हो । तर आफ्ना समस्या राख्नुअघि हामी ‘सिंगल’ को प्रश्न तपाईं ‘डोयट’ (जोडीवाला) हरूलाई— के लोग्नेको स्वास्नी र स्वास्नीको लोग्ने नहुनेबित्तिकै संसारका सबै नातासम्बन्ध गुमनाम हुन्छन् ? विवाह गरेर सन्तान नजन्माउने व्यक्तिहरू लट्टाईबाट छिनेको चंगाझैं सम्पूर्ण रूपमा मुक्त, असम्बन्धित र गैरजिम्मेवार हुन सक्छन् ? एकल हुनेबित्तिकै सबै सामाजिक, आर्थिक, मानवीय र पारिवारिक उत्तरदायित्वबाट विमुख हुन मिल्छ ? बिहे नगर्नेहरू पूर्ण रूपमा फुक्काफाल हुन्छन् ? बिहे नगर्नेहरूले अर्काको पीरमर्का बुझ्दैनन् ? बिहे नगर्नेबित्तिकै पारिवारिक जिम्मेवारीबाट भाग्दै निर्जन टापुको संसार सिर्जना गरेर बाँच्न सकिन्छ ? ‘सिंगल’ लाई चाहिँ प्रेम जरुरी हुन्न ?

कतिपय साहित्यकारले भनेका छन्— प्रेमका अनेक अभिव्यक्तिमध्ये यौन सर्वोत्कृष्ट हो । अनि ‘सिंगल’ हरूको सवालमा प्रेम र ‘प्रेमको उत्कृष्ट अभिव्यक्ति’ को स्थान समाजमा कहाँनिर छ ? यस्तो स्वाभाविक मानवीय/जैविक/भावनात्मक अभिव्यक्तिमा ‘सिंगल’ हरूलाई रुचि लाग्ला कि नलाग्ला ? आमविवाहित जोडीको जस्तै अविवाहितहरूको यौन जिज्ञासा र आवश्यकता कस्तो हुन्छ ? के ‘एक्ले’ हरू जीवनभर हाम्रो समाजले भ्रमपूर्ण तवरले पत्याएको तर विज्ञानले नमानेको ‘भर्जिन’ अवस्थामै रहलान् ? ‘सिंगल’ हरूमा शारीरिक सुखभोगको रहर नहोला ? समाजका लागि ‘सिंगल’ हरू अर्कै ग्रहका प्राणी (एलियन) हुन् । हुन पनि ‘सिंगल’ हरू हाम्रो समाजका अल्पसंख्यक हुन् र समाजलाई ‘सन्की एकल’ हरूका यस्ता उत्ताउला र छाडा सवालमा खास चासो नहुन सक्छ ।

चर्चामा रहेका केही नामलाई मिडिया बेलाबेला सोध्छन्— तपाईंको विचारमा यौन के हो ? सबैजसोको उत्तर हुन्छ– ‘दालभातमा अचारजस्तै । यौनबिनाको जीवन सार्थक हुँदैन ।’ विवाह नामक संस्थामा दर्ता नभई यौनाधिकार नपाइने समाजमा एकलहरूले यौनसुख खोज्नु अपराध हो । किनकि समाजले विवाहबिनाको शारीरिक सम्पर्कलाई वर्जित मात्र गरेको छैन, यौनलाई पापको मुहानसमेत भनेको छ । समाज/परिवारको स्वीकृति, विवाह विधि जस्ता प्रक्रिया पूरा नगरेका विपरीतलिङ्गीले कोठाभित्र समय बिताउनु अति आपत्तिजनक कृत्य हो ।

कथङ्कदाचित् त्यस्तो अवस्थामा राज्यको प्रहरीले भेट्टायो भने अपमान र पक्राउ गरिने मात्र होइन, भोलिपल्ट मिडियामा ‘आपत्तिजनक अवस्थामा रंगेहात पक्रिएको’ भन्दै तपाईंको तस्बिर र नाम छापिने सम्भावना हुन्छ । अर्थात्, ‘सिंगल’ हरू शारीरिक, मानसिक र शैक्षिक रूपमा जतिसुकै परिपक्व भए पनि अर्को योग्य वयस्कसँग स्वैच्छिक सम्बन्ध राख्न मिल्दैन । एक अविवाहित (अझ त्यसमा पनि महिला) ले यौनजस्ता ‘छाडा विषय’ मा बहस गर्न खोजे तल्लो स्तरका टिप्पण्कीो सामना गर्न तयार रहनुपर्छ । त्यो छोटो भिडियोबारे लामो छलफलपछि हामी दुई मित्रको निष्कर्ष रह्यो— न्यानो अंकमालका भोका संसारका सबै उमेर र वर्गका सबैजसो प्राणी छन् । त्यस अंकमालको जरुरी हामी ‘सिंगल’ लाई त्यति नै छ, जति आम जोडीलाई छ । प्रणय साथीको प्रेमिल स्पर्शले शरीरमा सकारात्मक ऊर्जा र प्रेमिल हर्मोन उत्पादन गर्छ, निराश पार्ने टक्सिन फाल्छ भन्ने थाहा पाउँदा कसलाई खुसी नलाग्ला ? तीव्र व्यक्तिगत प्रतिस्पर्धा र असन्तुष्टिको यो युगमा आफ्नो प्रियतमको न्यानो अँगालोमा चैनको सास फेर्न कसलाई मन नलाग्ला ? तर वैवाहिक प्रमाणपत्र नभएकै कारण यति सुखद अनुभूतिबाट एकल वयस्कहरूलाई वञ्चित गर्ने सामाजिक सोच भर्त्सनायोग्य छ, भत्काउनयोग्य छ ।

प्रेम र शारीरिक सम्बन्ध नितान्त निजी विषय हुन् । विवाह नगरी यी दुवै हासिल गर्ने स्वतन्त्रता प्रत्येक बालिग नागरिकलाई छ । यस्तो स्वतन्त्रताको माग गर्नेबित्तिकै हामीलाई ‘बिहे नगरीकनै ?’ भन्दै एक हात लामो जिब्रो फड्कार्दै ‘समाज भँडुवा’ को संज्ञा दिइन्छ । विवाहपश्चात् श्रीमान्को मृत्यु भएका, कुनै कारण सम्बन्धविच्छेद भएका या कुनै दीर्घरोगले थलिएका पुरुषका श्रीमतीको प्रेम र यौनाधिकारको अवस्था त झन् कति कहालीलाग्दो होला ! महिलाले एकपटक जग्गे घुमेर लोग्ने वरण गरेपछि आफ्नो शरीर र शरीरसँग जोडिएका सबै चाहना ‘अनादिकालसम्म सुम्पिनुपर्ने’ गजबको चलन र मान्यता छ हाम्रो । विधवा नामकरण गरिएकी श्रीमतीको यौनिक आवश्यकता लोग्नेको चितासँगै जलाइन्छ । धर्म र संस्कारको नाउँमा, डर या धम्कीको आडमा समाजले त्यस्ता स्वाभाविक जैविक चाहनालाई नियन्त्रणमा राखेको थाहा पाएर ती महिलाको मनमा कति आगो बल्दो हो !

जड समाजका मक्किएका चलन र सोच कतिलाई महान् त्याग र गौरवशाली परम्परा लाग्दा हुन् । तर तपाईं हामीले आफन्त, छिमेक, घरकै एकल अथवा विधवा महिलालाई एकपटक यो प्रश्न सोध्ने हिम्मत गरेका छौं— श्रीमान्को मृत्युसँगै तपाईंको शारीरिक चाहना पनि मरेको हो ? यस्ता प्रश्नले स्वाभाविक निचोड निस्कनेछ— पाप–धर्मको त्रास देखाएर, इज्जत–बेइज्जतका कथा बुनेर विधवाहरूको यौन र प्रेम चाहनाको हत्या र हरण गरिएको हो । बुहारीको अकाल मृत्यु हुँदा छोराका लागि नयाँ बुहारी भित्र्याउन ढिलो नगर्ने समाजले अब बुझ्नुपर्छ— छोरा मरेपछि बुहारीहरूलाई पनि अर्को सुयोग्य पात्रको जरुरी हुन्छ, जसबाट बुहारीका शारीरिक र भावनात्मक रहर पूरा होऊन् ।

विधवा र एकलले मात्र आफ्ना यौन–प्रेम चाहना दबाउनुपरेको सत्य होइन । देशका लाखौं युवा विदेशमा छन् । तिनका जवान श्रीमती लोग्ने आउने आशामा छन् । बिहे गरेको तीन महिनामा लोग्ने विदेश जान्छ । विदेश गएको दुई–पाँच वर्षमा केटो ‘लाहुर’ बाट फर्कन्छ वा नफर्कन पनि सक्छ । हाम्रो समाजलाई सबैभन्दा ठूलो चिन्ता लोग्नेको अनुपस्थितिमा युवतीले अरूसँग शारीरिक सम्बन्ध राख्ली कि भन्ने हुन्छ ! विदेशमा केटाले के गर्ला भन्ने प्रश्न उल्लेख्य हुँदैन, किनकि, ‘ऊ त छोरो मान्छे !’ पुरुषलाई यौन–प्रेम सहज हुँदा महिलालाई भने त्यस्तो छँदै छैन । यति सार्वभौम कुरामा समेत समाजले स्त्री जातिमाथि खुला विभेद गरेको छ । समाजमा हुन सक्ने विचलनको जिम्मा जहिले पनि महिलाको काँधमा हुने लाग्थ्यो, तर होइन रहेछ, महिलाको योनिमा हुने रहेछ । सिंगो समाज संस्कार जोगाउने नाउँमा महिलाको योनि जोगाउन लागिपरेको सत्य कसैबाट लुकेको छैन । महिलाले कुनै पनि मूल्यमा आफ्नो विवाहित पुरुषबाहेक अर्कोसँग सम्बन्धमा रहन भएन भन्ने मान्यता किन स्थापित भयो भने समाजको नेतृत्व पुरुषले गर्छन् । आफ्नो नेतृत्वमा हुँदा आफ्नो जाति वा पक्षमा हालीमुहाली गराउनु मानवीय स्वभाव हो । महिलाले कोसँग हिँड्ने, उठ्ने या सुत्ने भन्ने फैसला पुलिंगी समाजले गर्छ । समाजको नेतृत्व पुरुषले गर्ने भएकै कारण विधवा महिला, ‘सिंगल’ महिला वा विदेशमा

लोग्ने भएका महिला हरदम पुरुषकै निगरानी र नियन्त्रणमा रहन्छन् । पुरुषहरूको वर्चस्व भएको र पुरुषसंहिता लागू भएको यो समाज महिलाका लागि उकुसमुकुसपूर्ण छ । यसमा महिलाहरूको हालत युद्धबन्धकको जस्तो छ । पुरुष समाजसँग सम्झौता गरेर, हो मा हो मिलाउनेलाई त उकुसमुकुसपूर्ण छ भने, विद्रोही एकलहरूको हालत के होला ? विद्रोहको बेचैनीमा पनि चैनको सास फेरेर आफ्ना इच्छाबेगर जिन्दगी बाँच्ने नाउँमा सम्झौता नगर्ने पराक्रमी ‘सिंगल’ हरूलाई सलाम ! प्रकाशित : असार १७, २०७७ ०९:२७

प्रतिक्रिया
पठाउनुहोस्

दृष्टिविहीनलाई बैंक दुर्गम

बैंकिङ कारोबार तथा मुद्रा पहिचानको सन्दर्भमा सबैभन्दा मर्कामा परेको नेत्रहीन वर्गका विभिन्न समस्या पहुँचका अभावले सिर्जना भएका छन् ।
लक्ष्मणप्रसाद ज्ञवाली

दृष्टिविहीनहरूले मुद्रा पहिचान गर्न सक्दैनन् भन्दै खाता खोल्ने चरणदेखि नै बैंकहरूले भेदभाव गर्दै आएका छन् । नेत्रहीनहरूलाई बैंक खाता खोल्न, पैसा राख्न वा झिक्न अभिभावक चाहिन्छ । यसो किन गरियो भन्ने प्रश्नमा बैंकहरूले जवाफ दिन्छन्— पैसा चिन्न नसकेर ठगिने हुनाले ।

यदि नेत्रहीनहरूले सजिलै नोटहरू चिन्न सक्ने भए यो विडम्बना खेप्नुपर्ने थिएन । यही विषयमा २०६३ सालमा राष्ट्र बैंक र नेत्रहीन संघबीच हाल प्रचलित सात प्रकारका नोटमा संकेत राख्ने समझदारी भएको थियो । हजारको नोटमा तीन र पाँच सयको नोटमा दुई थोप्ला ‘टेक्टाइल फर्म्याट’ मा राख्ने अनि अन्य पाँच प्रकारका नोटमा पनि क्रमशः यस्तै चिह्न राख्दै जाने सहमति भयो । पहिलोपटक छामेर चिन्न सकिने नोट निष्कासन हुने ग्यारेन्टी गरियो । यही समझदारीअनुरूप २०६४ असोज ११ मा राष्ट्र बैंकबाट जारी नोटहरूमा चिह्नहरू राखिए पनि, तर ती छामेर पहिचान गर्न नसकिने खालका थिए । चिह्नहरू स्पर्शयोग्य नबनाइँदा नोट चिन्न असम्भव भयो । नेत्रहीन संघले आपत्ति जनाएपछि राष्ट्र बैंकले ‘रिप्रिन्ट’ भएर आउँदा यस्तो नहुनेमा विश्वस्त पारेको थियो ।

खाता खोल्नमै अवरोध गर्दै आएका वाणिज्य बैंकहरूले नेत्रहीनहरूको क्षमताको बेवास्ता गरी उनीहरूलाई अधिकारबाट वञ्चित गर्न खोज्नु समानता र गोपनीयताको हकविरुद्ध हो । मुद्रा पहिचानको समस्या देखाएर प्रविधिको द्रुततर विकास भइरहेको समयमा बैंकहरू नेत्रहीनहरूलाई इ–बैंकिङ, मोबाइल बैंकिङ, डेबिट तथा क्रेडिट कार्डजस्ता सेवा प्रदान गर्न हिचकिचाइरहेका छन् । संविधानले हरेक नागरिक कानुनका अगाडि समान हुने ग्यारेन्टी गरेको छ । पहुँच नपुग्ने विशेष आवश्यकता भएका व्यक्ति वा समुदायका निम्ति विशेष व्यवस्था नगरिनु भेदभाव हो । बैंकिङ कारोबार तथा मुद्रा पहिचानको सन्दर्भमा सबैभन्दा मर्कामा परेको नेत्रहीन वर्गका विभिन्न समस्या पहुँचका अभावले सिर्जना भएका छन् । राज्यका कानुनहरूको अध्ययन गर्‍यो भने सबैजसो कानुनमा पहुँच पुर्‍याउने व्यवस्था पाइन्छ, व्यवहारमा भने ठीक विपरीत छ ।

नेत्रहीनहरू पहुँचकै अभावमा आफ्नो क्षमता साँघुरो पारेर बिचरा बन्न बाध्य छन् । प्रतिकूल परिस्थितिमाझ संघले निरन्तर चिह्न राख्न र बैंकिङ सेवाहरूमा पहुँच पुर्‍याउन छलफल चलाइरहेकै छ । तर राष्ट्र बैंकले खासै चासो दिएको छैन । अन्य केही मुलुकमा दृष्टिविहीनहरूले छामेर नोटको दर पत्ता लगाउन सक्ने चिह्नहरू राखिएको राष्ट्र बैंकलाई राम्ररी थाहा छ । नेपालमा भने अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । तर, राष्ट्र बैंकले दृष्टिविहीनहरूले छामेर पहिचान गर्न सक्ने नोटहरू प्रचलनमा ल्याइसकेको दाबी गरेको छ । २०६७ माघ १७ मा निवेदक दीपक भट्टराई रहेको परमादेशको मुद्दाको फैसला भएको थियो । नेपाल कानुन पत्रिका (२०६८, अंक–४, निर्णय नं. ८६०२) मा प्रकाशित फैसलाको पूर्ण पाठको अध्ययन गर्दा थाहा भयो राष्ट्र बैंकले दृष्टिविहीन व्यक्तिहरूले सहज रूपमा चिन्न सक्ने नोटहरू प्रचलनमा ल्याइसकेको उल्लेख गरेको रहेछ । अझ त्यसमा लेखिएको छ— हाल प्रचलनमा रहेका नेपाली मुद्राहरूमध्ये रु. ५००।– र रु. १०००।– दरका नोटहरूमा ‘ब्लाइन्ड रिडेबल फिचर’ राखिसकिएका छन् ।

२०६४ सालमा निष्कासित नोटका मसीका थोप्लाहरूलाई नै ‘ब्लाइन्ड रिडेबल फिचर’ भनिएको हो वा दृष्टिविहीनहरूले सो कुरा थाहा पाउन नसकेको वा राष्ट्र बैंकले झुटो विवरण सर्वोच्च अदालतमा पेस गरेको हो ? यसबारे राष्ट्र बैंक गम्भीर हुनु जरुरी छ । सोही लिखित जवाफमा ब्रेल लिपिमा संकेत राख्दैमा दृष्टिविहीनहरूले मुद्राको दर पहिचानमा भोग्नुपरेको समस्या समाधान हुँदैन र हाम्रोजस्तो बढीभन्दा बढी नगदमा कारोबार गर्ने प्रचलन भएको देशमा नोटको हिफाजत हुँदैन भनिएको छ । एकातिर नोटमा संकेत राख्न सुरु गरिसकिएको छ भन्ने, अर्कातिर संकेत मेटिने डर तथा नोट ‘मिसह्यान्डलिङ’ का कारण समस्या आउन सक्छ भन्ने जस्ता परस्पर विरोधाभासपूर्ण अभिव्यक्तिले राष्ट्र बैंकको दोहोरो चरित्र उजागर गरेको छ । नोटमा राखिने संकेत मेटिएर समस्या जस्ताको तस्तै हुन सक्ने तर्क दिएर राष्ट्र बैंक दृष्टिविहीनहरूको समस्याबाट सजिलै पन्छिन खोजेको त होइन ?

राष्ट्र बैंकको यस प्रकारको जवाफप्रति सबै दृष्टिविहीन र सरोकारवालाको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त जवाफमा दृष्टिविहीनहरूले नोटका दर पहिचान गर्न सक्ने गरी नोटमा संकेत राख्न सुरु गरिएको भनिएको छ । यदि राष्ट्र बैंकले संकेतहरू राखेर नोटहरू निष्कासन गर्न सुरु गरेकै हो भने यो खुसीको कुरा हो । नत्र सर्वोच्च अदालतमा विपक्षी बनाएको मुद्दाको लिखित जवाफका लागि मात्र त्यसो भनिएको हो भने राज्यको केन्द्रीय बैंक दृष्टिविहीनहरूप्रति संवेदनशील छैन भन्ने बुझिन्छ । वाणिज्य बैंकहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचलन आदिको बारम्बार उदाहरण दिने गरेका छन् । सबै नागरिकको पहुँच सुनिश्चित गरी संविधानले लिएको समानताको नीति अवलम्बन गरिरहेको बताउँछन् । तर, अहिलेको अवस्थामा ‘एक्सेसिबिलिटी’ को अभाव देखाउँदै दृष्टिविहीनहरूलाई सहज रूपमा बैंकिङ सुविधा उपलब्ध गराउन भने वाणिज्य बैंकहरू हिचकिचाउँछन् । पटक–पटक ‘ब्लाइन्ड रिडेबल’ नोटहरू प्रकाशित गरेका छौं भन्न रुचाउने राष्ट्र बैंकले संविधान र कानुनहरूले सुनिश्चित गरेको समानताको व्यवहारलाई कार्यान्वयन मात्रै गरिदिने हो भने नेत्रहीन व्यक्तिहरू लाभान्वित हुन्थे अनि आफू सक्षम नागरिक भएको महसुस गर्न सक्थे ।

प्रकाशित : असार १७, २०७७ ०९:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×