कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

भय बेच्ने उपक्रम !

गणतन्त्रको जतिसुकै दुहाई दिइए पनि राज्य सञ्चालन सम्भ्रान्तहरूको सानो समूहले नै गर्ने हो । अल्पतन्त्र हावी रहेको गणतन्त्र भनेको धूर्तहरूले वैधानिक वा अवैधानिक तरिकाले सत्ता कब्जा गर्ने शासन व्यवस्था हो ।
सीके लाल

अपेक्षा गरेभन्दा धेरै बढी सफलता हात पारेपछि औसत व्यक्तिमा अत्यधिक अभिमान (ह्युब्रिस) उत्पन्न हुन्छ भन्ने मान्यताका उदाहरण नेकपा दोहोरोका सर्वेसर्वा, खस–आर्य समुदायका नृजातीय मुख्तियार एवं देशका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली हुन् ।

भय बेच्ने उपक्रम !

गोत्रहत्यामा संलग्न रहेको पापको बोझले थिचिएका चन्द्रशमशेर सुत्नका लागि हरेक रात खोपी फेर्ने गर्थे भन्ने किंवदन्ती प्रचलित छ । उनलाई आफ्नै दाजुभाइसँग डर लाग्थ्यो होला । उनी चीन वा बेलायतसँग तर्सिएर संविभ्रमित (पारान्वाइड) भएको कतै सुनिँदैन । सर्वेसर्वा शर्मा ओली राणा प्रधानमन्त्रीहरूभन्दा शक्तिशाली राजनीतिक व्यक्तित्व हुन् । सायद त्यसैले उनका आशंकाहरू पनि गम्भीर प्रकृतिका छन् । आफूलाई हटाउन ‘भारतीय चलखेल’ भएको आक्षेप सर्वेसर्वा शर्मा ओलीले सार्वजनिक रूपमा लगाएका छन् । उनले नाम नतोके पनि अर्थ्याउन गाह्रो नहुने राजदूतावासलाई तथाकथित षड्यन्त्रमा मुछेका छन् । सरकार प्रमुखबाट त्यतिसम्मको ‘भन्डाफोर’ भइसकेपछि आवश्यक कूटनीतिक, राजनीतिक, प्रशासनिक एवं कानुनी कारबाहीसमेत पक्कै अगाडि बढ्ने होला । तत्कालका लागि भने सामान्यजनको उत्तेजनालाई आफ्नो पक्षमा सक्रिय गराउन नृजातीय मुख्तियार एक हदसम्म सफल भएका छन् ।

दक्षिणपन्थी राजनीतिको कार्यसूचीमा रक्षात्मक राष्ट्रवाद, सारहीन देशाहंकार एवं निराधार अन्य–घृणाजस्ता चारित्रिक पक्षलाई स्वाभाविक मान्ने गरिन्छ । अहिले राष्ट्र जेजस्तो छ, त्यही सर्वश्रेष्ठ हो भन्ने मान्यता स्वीकार गरिसकेपछि राष्ट्रवादी व्यक्तिमा आक्रामक अकड स्वतः आउँछ । बल, विद्या, बुद्धि, धन वा कौशलजस्ता गुणहरूले पनि व्यक्तिमा अहंकार उत्पन्न गराउन सक्छ । देशाहंकारलाई भने कुनै यथार्थपरक आधार चाहिँदैन । बुद्ध जन्मेका थिए, गोर्खालीको खुकुरीले अर्जेन्टिनालाई तर्साएको थियो र सगरमाथा छ । त्यति भए त देशाहंकार देखाउन पुगिहाल्यो ! अन्य–घृणा त त्यसभन्दा पनि सहज उत्तेजक भाव हो । देशभित्रको खराब परिस्थितिका लागि कसैले जिम्मेवारी लिनुपर्दैन, वास्तविक वा काल्पनिक ‘शत्रु’ खडा गरेर सामूहिक असफलताको दोष त्यस्तो विरोधीको टाउकामा थोपरिदिए पुग्छ ।

सार्वजनिक मनोविज्ञानको अन्तरंग वैरी (इन्टमिट एनमी) अवधारणाअनुसार दर्पणछाया (मिरर इमिज) जस्तो व्यक्ति वा समूहलाई शत्रुका रूपमा प्रस्तुत गर्न सबभन्दा सजिलो हुन्छ । भारतले युद्ध चीनसँग हारेको हो, तर समान सभ्यताको पाकिस्तानलाई दुस्मन ठहर्‍याउन बढी ऊर्जा खर्चिने गर्छ । बीसौं शताब्दीको सुरुताका जर्मनीका सम्भ्रान्त यहुदीलाई ‘जर्मनभन्दा पनि बढी जर्मन’ भनेर चित्रण गर्ने गरिन्थ्यो । अन्ततः तिनको ‘एउटै भाषा, एउटै भेष र उस्तै सभ्यता, उही देश’ भनिने सादृशीकरण (असिमलेसन) नै जर्मनीका यहुदीहरूको अपराध ठहर्‍याइयो ।

राष्ट्रिय राजनीतिको आवश्यकता एवं आधुनिकताको मान्यताले गर्दा कसैकसैले आत्मनियन्त्रण कायम राखे पनि नेपालको वर्चस्वशाली समुदायमा मधेसीहरूलाई आन्तरिक अन्तरंग वैरी देखाउने प्रवृत्ति व्यापक छ । भारतप्रतिको वैरभाव खासमा मधेसी द्वेषको विस्तार हो । सामाजिक यथार्थलाई राजनीतिक अभीष्टका लागि धूर्तताका साथ प्रयोग गर्ने कलामा सर्वेसर्वा शर्मा ओलीको टक्करको राजनीतिकर्मी समसामयिक राजनीतिमा कोही पनि छैन । आफ्ना सबै असफलतालाई लुकाउन मात्र होइन, सम्भाव्य चुनौतीलाई निस्तेज गर्नसमेत उनले नियमित सन्दिग्धलाई दोषी ठहर्‍याउने षड्यन्त्रको सिद्धान्त प्रयोग गरेका छन् । अन्ध ‘भारत विरोध’ आधारित उग्र राष्ट्रवादको त्यस्तो अस्त्रलाई राजा महेन्द्रले कुटिलताका साथ प्रयोग गरेका थिए । सन् २००२ पछि मधेसी द्वेष एवं भारत विरोधको राजनीति पटके प्रयोगको रणनीति भइसकेको थियो । सर्वेसर्वा शर्मा ओलीले सन् २०१५ मा जथाभावी तवरले चलाएको राष्ट्रवादको मारक खड्गमा खिया लागिसक्यो वा त्यो हतियार अझै पनि उत्तिकै धारिलो छ भन्ने कुरा उनको जनधारणा प्रबन्धन कलामा देखिनेछ ।

अभिमत सञ्चालन

गणतन्त्रको जतिसुकै दुहाई दिइए पनि राज्य सञ्चालन सम्भ्रान्तहरूको सानो समूहले नै गर्ने हो । लोकतन्त्रमा त्यस्तो समूह सक्षम, समावेशी, पारदर्शी एवं उत्तरदायी प्रकृतिको हुन्छ । प्रजातन्त्रमा निर्वाचित जनप्रतिनिधिले वर्चस्वशाली समुदायको शासनलाई संवैधानिक आवरण प्रदान गर्ने गर्छन् । अल्पतन्त्र हावी रहेको गणतन्त्र भनेको धूर्तहरूले वैधानिक वा अवैधानिक तरिकाले सत्ता कब्जा गर्ने शासन व्यवस्था हो । धनतन्त्रमा धनाढ्यहरूले आफ्ना राजनीतिक अनुचर परिचालन गरेर राज्य व्यवस्थालाई आफ्नो हितको रक्षा एवं प्रवर्द्धनका लागि उपयोग गर्ने गर्छन् । तर, गणतन्त्रको सार एवं रूप जस्तोसुकै भए पनि सार्वजनिक अभिमत (पब्लिक अपिन्यन) भने महत्त्वपूर्ण रहिरहन्छ । लोकतन्त्रलाई अभिजात समूहको स्वीकार्यता नै नभए पनि कम्तीमा सहिष्णुता चाहिन्छ ।

प्रजातन्त्रमा सत्ताका लागि ज्ञानको वैधानिकता उत्पादन गर्ने सार्वजनिक वृत्त कहिलेकाहीँ निर्णायक भइदिन्छ । सन् २००८ पछि मधेसवादी एवं माओवादीलाई सुस्तरी अग्राह्य बनाउँदै लगेर लोकतन्त्रको अनवरत यात्रालाई प्रजातन्त्रमा सीमित गर्न ‘सेतो कमिज’ समूहका सार्वजनिक मतनिर्माताहरूको ठूलो भूमिका थियो । अन्तर्राष्ट्रिय मान्यताका लागि बौद्धिक वैधानिकता पाउन धनतन्त्रको सत्ता झनै बढी आतुर हुने रहेछ ।

सार्वजनिक वृत्तका अध्येताहरूका अनुसार सम्भ्रान्तलाई प्रभावित गर्ने मत निर्माण प्रक्रियाका लागि कम्तीमा चार सर्त पूरा गरिनुपर्छ । पहिलो कुरा, सम्बन्धित मुद्दाले स्थापित सम्भ्रान्तलाई पर्याप्त मात्रामा उद्वेलित गर्न सक्नुपर्छ । त्यसपछि विचारनिर्माताहरूको यथेष्ट समूह स्वचालित हुन्छ । प्रभावशाली विचारनिर्माताहरूबीच आम सहमति कायम भएपछि सत्ताधारीले आफ्नो कार्यसूचीका लागि बौद्धिक वैधानिकता पाउँछन् । अन्ततः सत्तालाई स्वीकार्यता प्रदान गरेको भूमिकाले विचारनिर्मातालाई सन्तुष्ट बनाउँछ भने, आफ्नो कार्यसूचीका लागि सार्वजनिक वृत्तको सहयोग जुटाउन पाएकामा सत्ताधारी रमाउँछन् । यस प्रक्रियामा सामान्यजनको भूमिका दिग्भ्रमित दर्शकभन्दा बढी हुँदैन । सन् २०१५ मा यथास्थितिको सुरक्षाका लागि सोह्रबुँदे षड्यन्त्रको पक्षमा स्वचालित तुल्याउन सरकारबाहिर बसेर सत्ता सञ्चालन गरिरहेका तत्कालीन एमाले अध्यक्ष शर्मा ओलीले सम्भ्रान्तहरूको पूर्वाग्रह पुष्टि गर्न यस्तै नीति अख्तियार गरेका थिए । विसम्मतिविहीन सार्वजनिक वृत्तको सक्रियताले गर्दा नेपाल–भारत सम्बन्ध ओरालो लाग्यो, नेपाली कांग्रेसले आफ्नो परम्परागत आधारभूमि गुमायो, माओवादीहरूको अग्रगामी छवि समाप्त भयो एवं खस–आर्य जमातको नृजातीय प्रमुखता पुनःस्थापित भयो । अभिमत सञ्चालन प्रक्रियाको एक मात्र लाभार्थी भएर अध्यक्ष शर्मा ओली स्थापित भए । त्यसपछि भारत, अमेरिका एवं चीनलगायत नेपालभित्र आफ्नो हित संवर्द्धनको कूटनीतिक अभ्यासमा लागेका सबै अन्तर्राष्ट्रिय शक्तिका लागि अध्यक्ष शर्मा ओली अजेय नायक भएर स्थापित भए ।

राजा पृथ्वीनारायणका बारेमा प्रचलित एउटा अनुश्रुति छ । भनिन्छ, उनी विराज बखेती मगरलाई गोर्खाली फौजको नायक एवं गोरखा दरबारको काजी पदमान प्रदान गर्न इच्छुक थिए । तर, कालु पाँडेको लोकप्रियताले गोरखाका सर्वशक्तिमान् राजालाई आफ्नो छनोट संशोधन गर्न बाध्य बनायो । किंवदन्ती नै भए पनि कालु पाँडेको बहुप्रियताका अगाडि विराज बखेतीको सामर्थ्य टिक्न नसकेको प्रसंगलाई गोरखाली राजाको जनउत्तरदायी चरित्रका रूपमा अर्थ्याउने गरिन्छ । सम्भावना के पनि हो भने, कालु पाँडेको

लोकप्रियताको मापन उनीजस्तै गोरखाली सम्भ्रान्तहरूको अभिमत निर्माण प्रक्रियाद्वारा गरिएको थियो । सार्वजनिक वृत्तले सत्तासीनको पक्षमा जनमतरूपी बीउ उत्पादन गरेर त्यसलाई सामान्यजनको मनमस्तिष्कमा छर्छ । निरन्तर छलफलद्वारा उम्रिएको बिरुवालाई मलजल गर्छ । अनि त्यसपछि तयार भएको बालीलाई बेवास्ता गर्न नसकिने तर्क तेर्स्याएर सत्तासीनको कार्यसूचीलाई अपरिहार्य आवश्यकताको वैधानिकता प्रदान गर्छ । सार्वजनिक राय व्यवस्थापनको अभिमत निर्माण विधि पुरानो भए पनि त्यसको समसामयिक व्याख्या भने शीतयुद्धको परिप्रेक्ष्यमा अमेरिकी पत्रकार वाल्टर लिपम्यानले आफ्नो प्रसिद्ध पुस्तकमार्फत गरेका छन् ।

पटक–पटकको शासकीय असफलताले गर्दा राजनीतिक स्वीकार्यता ह्रासोन्मुख हुँदै गएपछि आफ्नो पदको निरन्तरताका लागि सर्वेसर्वा शर्मा ओलीले भारतको घाँटीमा खुकुरीको धार तेर्स्याएको जस्तो देखिने नक्सालाई संविधान संशोधनद्वारा मान्यता प्रदान गर्ने रचनात्मकता देखाएका थिए । तर, त्यस अग्रसरताको प्रभाव उनले सोचे जस्तो भएन । निरर्थकजस्तो लाग्ने अभ्यासको पक्षमा उभिन बाध्य भए पनि चुच्चे नक्साले सार्वजनिक वृत्तलाई उद्वेलित गर्न सकेको देखिँदैन । दक्षिणको छिमेकीलाई जिस्क्याएर उत्तरतिरको महाशक्ति खुसी हुनेछ भन्ने एक थरी कूटनीतिक बिमाका प्रतिनिधिहरूको आकलन पनि मिथ्या ठहरिएको छ । भारतसँग जतिसुकै विवाद भए पनि बेइजिङ नेपालको सत्ताधारी दलभित्रको आन्तरिक खिचातानीमा एक हदभन्दा बाहिर जाने जोखिम उठाउन अनिच्छुक रहेको हुन सक्छ । बिमकले प्रत्याभूति नगरेको कूटनीतिक बिमाका लागि आवधिक शुल्क तिरिराख्नु बुद्धिमानी होइन भन्ने कुरा सर्वेसर्वा शर्मा ओलीले आफ्ना अन्य समकक्षी राजनीतिकर्मीहरूले भन्दा राम्रोसँग बुझेका छन् । तर, एमसीसी अनुमोदन गर्दै ‘सेतो कमिज’ जमातलाई पुलपुल्याएर सार्वजनिक वृत्तको समर्थन प्राप्त गर्ने कदम पनि त्यति सहज छैन । सायद त्यसैले सर्वेसर्वा शर्मा ओली तर्क उत्पादन गर्ने सार्वजनिक वृत्तको साटो भावावेशमा समर्थन वा विरोध गर्ने जनवृत्तको शरणमा पर्ने निर्णयमा पुगेका हुन् ।

जनमत परिचालन

राजनीतिक दर्शनका सिद्धान्तकारहरूले जनसमूहले उत्पादन गर्ने ‘भीडको विवेक’ एवं सत्यताभन्दा पनि प्रतिशोधको पक्षमा उभिने ‘प्रेक्षकहरूको न्याय’ (स्पेक्टेटर्स जस्टिस) जस्ता अवधारणाहरूलाई शताब्दियौंदेखि विवेचना गर्दै आएका छन् । रावणको लंकाबाट मुक्त भएर अयोध्या फिरेकी जानकीलाई अवधकी महारानी हुनुअगाडि अग्निपरीक्षा दिनुपर्ने हुन्छ । भीड रमिते बन्छ । त्यो किनभने भीडको विवेक सदैव स्थापित मूल्य एवं मान्यताको पक्षमा हुन्छ । शोषित, पीडित एवं दरिद्र जनसमूहसमेत सनातन परम्पराविरुद्ध उभिन हच्किन्छ । यथास्थितिवादीहरूले सामान्यजनको यही मनोदशालाई उपयोग गरेर आफ्नो वर्चस्वलाई निरन्तरता दिन्छन् । मर्यादापुरुषोत्तमका लागि आफ्नी सहधर्मिणीको पवित्रताभन्दा सामान्यजनको पूर्वाग्रह बढी महत्त्वपूर्ण थियो । पूर्वाग्रह पुष्टिको आफ्नो अभिरुचि राजा राम पुनः प्रदर्शित गर्छन् । कुनै सामान्यजनको घर झगडामा जगज्जननीको चरित्रमा आक्षेप लगाइन्छ । आखिर मर्यादापुरुष न हुन्, अयोध्याका राजा पुनः सत्यको साटो जनप्रियताको पक्षमा उभिन्छन् एवं गर्भिणी महारानीले असहाय जंगलको बाटो तताउनुपर्ने हुन्छ ।

जनमत निर्माण एवं परिचालन गर्न जान्नेले सामान्यजनलाई कसरी तिनका आफ्नै हितविरुद्ध प्रयोग गर्न सक्ने रहेछन् भन्ने कुरा काठमाडौं उपत्यकाका उल्लेख्य रैथाने एवं केही अन्य जनजातिको मधेस द्वेष, भारत विरोध एवं ‘एउटै भाषा, एउटै भेष र उस्तै सभ्यता, उही देश’ मान्यतामा आधारित राष्ट्रवादमा देख्न सकिन्छ । तिनलाई आफ्नै थातथलोमा मधेसीले अल्पसंख्यक बनाएको होइन । व्यापार होस् वा रोजगारी, नेपालका सबैजसो अधीनस्थ जनताको हित अन्य कुनै पनि राष्ट्रभन्दा बढी भारतसँग जोडिएको छ । र, एकलजातीय वर्चस्वले सीमित अनुवर्ती व्यक्तिलाई अवसर उपलब्ध गराए पनि समग्र समुदायको उत्थानका लागि संघीयता, समावेशिता एवं समानुपातिक प्रतिनिधित्व अनिवार्य अवयव हुन् भन्ने स्वतः स्पष्ट कुराको बढी व्याख्या गरिराख्नुपर्दैन । जनमत भने साक्ष, प्रमाण वा तर्कभन्दा पनि भावावेशबाट परिचालित हुन्छ भन्ने कुरा राष्ट्रवादको चिरस्थायी आकर्षणमा देख्न सकिन्छ ।

राजा पृथ्वीनारायण वा उनका विरुदावली सर्जकहरूले नेपाललाई ‘दुई ढुंगाबीचको तरुल’ बनाएर निरन्तर च्यापिने मनोदशामा रहन सिकाएका छन् । शीतयुद्धताका पश्चिमाहरूको वैचारिक व्याख्यातामध्येका एक एवं कतिपय नेपाली बुद्धिजीवीहरूका मार्गदर्शक रहेका अमेरिकी प्राध्यापक लियो ई. रोजले आफ्नो प्रतिष्ठित पुस्तक ‘नेपाल ः स्ट्राटिजी फर सर्भाइभल’ मार्फत अनुजीवन (सर्भाइभल) नेपाल राज्य व्यवस्थाको प्रमुख प्रयोजन रहेको औंल्याएका छन् । त्यो भनेको भयको मनोदशाको परिचायक हो । नागरिकता विधेयकमार्फत सर्वेसर्वा ओलीले मधेसी परम्पराप्रतिको गहिरो द्वेषभावलाई ब्युँताएका छन् । भारतीय षड्यन्त्रको आक्षेपमा अन्तरंग वैरी मनोरोगको लक्षण स्पष्ट देख्न सकिन्छ । नृजातीय मुख्तियार शर्मा ओली पूर्वाग्रह बेच्ने विधाका वाक्पटु विक्रेता हुन् । उखानटुक्का सुनाएर उनी बेसारलाई कोरोना–प्रतिरोधक ओखती भनेर बेच्न सक्षम छन् । उनको आजीवन शासन गर्ने क्षमताको मापन भने महँगोमा सार्वजनिक भय बेच्ने व्यापारको सफलतामा निर्भर रहनेछ ।

प्रकाशित : असार १७, २०७७ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?