३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मनोविमर्शद्वारा घटाउन सकिन्छ आत्महत्या

कोरोनाकालमा दूर–उपचार विधिबाट मात्रै पनि मनोपरामर्शका कार्यक्रमहरू सञ्चालन गर्न सके ‘आत्महत्या’ को डरलाग्दो तथ्यांकले भविष्यमा हामीलाई पिरोल्ने छैन ।
अजय रिसाल

एक हप्तायता ‘आत्महत्या’ का समाचार तारन्तार आइरहेका छन् । नेपाल प्रहरीको रिपोर्टमुताबिक दैनिक १९ व्यक्तिले आत्महत्या गरी ज्यान गुमाइरहेछन्, नेपालभित्रै ।

मनोविमर्शद्वारा घटाउन सकिन्छ आत्महत्या

‘आत्महत्या’ लाई लोकलज्जा या सामाजिक कलंकका रूपमा लुकाउन खोजिने हाम्रोजस्तो मुलुकमा प्रहरीमा संकलित हुन पुगेका तथ्यांकले मात्र यथार्थ झल्काउन कति सक्लान् ? तर दुई महिनायता बन्दाबन्दीमा थलिएको अनि कोरोनामय भएर निसासिएको हाम्रो देशमा ‘आत्महत्या’ को दर वृद्धि भएको भने तीतो सत्य नै हो । मनोसामाजिक समस्याको अझै भयावह तस्बिर भविष्यमा नराम्ररी नै प्रस्फुटित हुने पक्का छ ।

कुनै पनि मानसिक समस्यालाई कार्य–कारण सम्बन्धको एक्लो मानकले कदापि इंगित गर्न सकिँदैन । आत्महत्या त अझ मनोसामाजिक समस्याको वियोगान्त रूप अनि ती समस्याहरू अझै जटिल बन्दै गएको अवस्था हो । तर अन्य शारीरिक रोगको जटिलताजस्तो ‘आत्महत्या’ घटिसकेपछि फर्केर आउँदैनन् ‘आत्महत्या गरी मृत्युवरण गर्ने’ व्यक्ति । तर ‘आत्महत्याको प्रयास गर्नेहरू’ लार्ई मनोसामाजिक उपचारद्वारा तिनमा निहित मनोरोगको निदान गरी भविष्यमा त्यस्तो प्रयास पुनः नगर्ने बनाउन भने सकिन्छ । यद्यपि एकपटक आत्महत्याको प्रयास गर्ने व्यक्तिले त्यस्तो प्रयास दोहोर्‍याउने सम्भावना भने ५० प्रतिशतभन्दा बढी हुन्छ नै । केहीअघि नेपाल एवं भारतका मिडिया अनि सामाजिक सञ्जाल एक भारतीय कलाकारले ‘आत्महत्या’ गरेको विषयले तरंगित भए । तिनले गरेको ‘आत्महत्या’ यसरी मुखरित भइरहेको अवस्थामा तिनी करिब ६–७ महिनायता डिप्रेसनबाट पीडित थिए भन्ने यथार्थतर्फ भने मिडियाले आँखा चिम्लिए ।

प्रायशः ‘आत्महत्या’ गर्ने व्यक्तिहरू कुनै न कुनै मानसिक रोगद्वारा पीडित हुन्छन् । यत्ति कुरालाई मात्र आत्मसात् गरे पनि ‘आत्महत्या’ को दरलाई सजिलै नियन्त्रण गर्न सकिन्छ । डिप्रेसन, बाइपोलार डिस्अर्डर, मद्यपान/लागूपदार्थजन्य मानसिक समस्या, साइकोसिसजस्ता मनोरोगहरूको शीघ्र पहिचान एवं उपचार गर्न सक्ने हो भने पनि आत्महत्याको ८०–९० प्रतिशत नियन्त्रण गर्न सकिन्छ । बलिउड कलाकारको आत्महत्याको समाचार आएपछि ‘किन त्यस्तो भएको होला ?’ भनी प्रश्न गर्ने विद्यार्थीलाई मैले उत्तर दिएको थिएँ, ‘डिप्रेसनको पूर्ण उपचार नभएरै होला तिनले आत्महत्या गरेको ।’ सिनेमाको अवास्तविक दुनियाँमा रमाइरहेका तिनले आफ्नो वास्तविक संसारमा नियाल्ने अलिकति मात्र समय निकालेका भए वा अन्य शारीरिक रोगलाई झैं लोकलज्जाको विषय नबनाई डिप्रेसनको उपचार गर्ने वातावरण हाम्रो समाजमा बनेको भए एउटा उदाउँदो कलाकारले कलिलै उमेरमा ज्यान खेर फाल्नुपर्ने थिएन सायद ।

विडम्बना, त्यत्ति साह्रो बजेट पनि नचाहिने यी मानसिक रोगहरूको उपचार योजना अझै पनि हाम्रो मुलुकको मूल स्वास्थ्य नीतिमा समेटिन सकेको छैन । बढ्दो आत्महत्या दरलाई खालि सामाजिक, आर्थिक अनि सांस्कृतिक चस्माले हेरेर पुग्दैन । सामुदायिक स्वास्थ्यको मूल नीतिमा मानसिक स्वास्थ्य अट्नुपर्छ अनि मात्र आत्महत्या न्यूनीकरण कार्यक्रम प्रभावकारी बन्न सक्छन् ।

बन्दाबन्दीको समयमा विश्वभरि नै आत्महत्याको तथ्यांक उकालिइरहनुमा कोरोना संक्रमण रोकथामका लागि प्रभावकारी मानिएको भौतिक दूरीको मान्यतालाई पनि कारक मानेका छन्, अध्ययनहरूले । संक्रमण नियन्त्रणका लागि भौतिक या सामाजिक दूरीको परिपालना अत्यावश्यक छ नै, तर बन्दाबन्दी, आइसोलेसन, क्वारेन्टिनका माध्यमले सामाजिक विधि–व्यवहारबाट व्यक्तिहरूलाई अलग्याउने परिपाटी कायमै रहिरह्यो अनि मनोसामाजिक अवयवहरूलाई हामीले यसरी नै बेवास्ता गरिरह्यौं भने ‘आत्महत्या’ अझै विकराल रूपमा देखा पर्न सक्छ । अतः कोरोना नियन्त्रण कार्यक्रमहरूले मनोसामाजिक आयामहरूलाई पनि समाहित गर्नुपर्छ । सन् १९१८–१९१९ को इन्फ्लुयन्जा महाव्याधिले अमेरिकामा अनि सन् २००३ को सार्स प्रकोपले हङकङमा ‘आत्महत्या’ को दर बढेको थियो । अतः महाव्याधिका समयमा ‘आत्महत्या’ बढ्ने तथ्य ऐतिहासिक रूपमै स्थापित भइसकेको छ । हुन सक्छ, महाव्याधिकै कारण हुने बिरामीको चाप, तिनका हेरचाहकर्ताहरूमा रहने तनाव, आर्थिक मन्दी, बेरोजगारी, एकाकीपन, भविष्यप्रतिको चिन्ता, उद्वेलन, मद्यपान–लागूपदार्थ सेवनजस्ता अस्वास्थ्यकर तनाव नियन्त्रणका प्रयास, मनोरोगीहरूमा औषधोपचार प्रक्रिया टुट्न पुग्नु जस्ता कारकतत्त्वहरूले मानसिक रोगकै संख्यामा बढोत्तरी हुन पुग्दा आत्महत्याको संख्या पनि उकालो लागेको होला । त्यस्तै गार्हस्थ्य हिंसा, रोग फैलने डर, लोकलज्जा, गैरजिम्मेवारीपूर्ण समाचार संवाहन–प्रसारण पनि यसका कारकतत्त्व हुन सक्छन् ।

बन्दाबन्दीको प्रभावले गर्दा अनि कोरोना संक्रमणमा अत्यधिक वृद्धि भएको वर्तमान अवस्थामा मानसिक रोग उपचार प्रक्रिया नराम्ररी प्रभावित भइरहेको छ । उसै त मानसिक रोग उपचार सेवा नै संकुचित रहेको हाम्रोजस्तो देशमा अहिले आइसोलेसन, क्वारेन्टिन बनाउन मानसिक वार्डहरू बन्द गर्नुपरेको छ । संक्रमण घटाउन अस्पतालका ओपीडीहरू बन्द गर्नुपर्नाले मनोरोगीहरूले प्रत्यक्ष मनोविमर्श गर्न पाएका छैनन् । दूर उपचार पद्धतिलाई नै प्रभावकारी बनाउन सकिए पनि ‘आत्महत्या’ नियन्त्रण गर्न सकिन्छ । ‘आत्महत्याको विचार’ तीव्र रूपमा प्रवाहित भएको मनले हटलाइनद्वारा मात्र पनि परामर्श गर्ने, छलफल गर्ने, मनका भावना साटासाट गर्ने अवसर पाएमा त्यस्ता ‘आफैंलाई घात गर्ने’ विचारहरूलाई सकारात्मक दिशातर्फ मोडिदिन सकिन्छ । मात्र धैर्यपूर्वक तिनका कुरा सुनिदिने अनुभवी उपचारकर्मीको आवश्यकता रहन्छ ।

‘आत्महत्या’ सम्बद्ध यावत् तथ्यहरूलाई हृदयंगम गरी मुलुकले स्वास्थ्यनीति तयार पार्दा मानसिक स्वास्थ्यलाई कदापि बेवास्ता नगरोस् । यही कोरोनाकालमै देशको सामुदायिक स्वास्थ्यका दिग्गजहरूले यस यथार्थतर्फ छलफल–चिन्तन केन्द्रित गरून् । कोरोना नियन्त्रण कार्यक्रमहरूले मनोसामाजिक अवयवहरू नछुटाऊन् । मानसिक रोगका लागि प्रभावकारी मानिएका औषधिहरूको परिपूर्तिका लागि १ प्रतिशतभन्दा कमै मात्र पनि स्वास्थ्य बजेट प्रत्याभूत गरिने हो भने पनि, अनि दूर–उपचारविधिबाट मात्रै पनि मनोपरामर्शका कार्यक्रमहरू सञ्चालन गरिने हो भने पनि ‘आत्महत्या’ को डरलाग्दो तथ्यांकले भविष्यमा हामीलाई पिरोल्नेछैन ।

(रिसाल मानसिक रोग विशेषज्ञ हुन् ।)

ट्विटर : @drajayrisal

प्रकाशित : असार १६, २०७७ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?