१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

हिमालको हाँसो, चराको चिरबिर

खाना पकाउन ग्यासको सट्टा बिजुलीको व्यापक उपयोग गर्दै गए व्यापार घाटा कम हुनुका साथै वातावरणमा सकारात्मक योगदान पुग्ने थियो ।
पुरुषोत्तम ओझा

कोरोना भाइरसले आम मानिसलाई कठिन अवस्थामा पुर्‍याएको भए पनि प्रकृतिलाई भने अत्यन्त अनुकूलता प्रदान गरिरहेको छ ।

हिमालको हाँसो, चराको चिरबिर

अहिले हिमालहरू हाँसेका छन्, हावामा धूलोधूवाँ छैन, सडकमा गाडीको कर्कश आवाज छैन, रूख र बोटबिरुवा पनि हरिया र चिल्ला छन् । स्वच्छ हावामा चराचुरुंगी कावा खाइरहेका देखिन्छन्, बिहानबेलुकी तिनको मधुर चिरबिर बढ्दै गएको छ । काठमाडौं बसाइको चार दशकको अवधिमा मैले यस्तो वातावरण देख्न पाएको थिइनँ ।

जलवायु परिवर्तनको समस्याबाट आक्रान्त विश्वलाई यो अवस्थाले केही मात्रामा भए पनि त्राण दिएको छ । तर, यतिले मात्र वातावरणमा दीर्घकालीन सुधार आउने सम्भावना छैन । मौसम परिवर्तनका कारण एकातिर अतिवृष्टि, अनावृष्टि, सुक्खा/खडेरी, मौसमी रोग तथा कीराको प्रकोपबाट कृषि प्रणाली र बालीचक्र प्रभावित भैरहेको छ भने, अर्कातिर नयाँनयाँ रोगहरू उत्पन्न भैरहेका छन् । मानव स्वास्थ्यलाई सन्तुलित राख्नुपर्ने चुनौती बढ्दै गएको छ । वनजंगलको विनाश, प्राकृतिक तेल र ग्यासको जलनबाट उत्सर्जन हुने कार्बन मोनोअक्साइड एवम् नाइट्रोजन डाइअक्साइडजस्ता विषालु ग्यासका कारण पृथ्वीको तापक्रम बढ्दै गएको छ । यसैका कारण हिमशिखरबाट हिउँ पग्लने, समुद्रको सतह बढ्ने र कतिपय तटीय मुलुकको ठूलो भूभाग डुब्ने खतरा छ । बढ्दो जनघनत्व, सहरीकरण तथा निर्माणमा कंक्रिटको बढ्दो प्रयोगले पनि पृथ्वीको तापक्रम वृद्धिमा सघाउ पुर्‍याएको छ ।

काठमाडौं उपत्यकासहित नेपालका प्रमुख सहरी क्षेत्रमा केही समययता आएको वातावरणीय सुधारलाई भविष्यका लागि प्रस्थानविन्दुका रूपमा लिन सकिन्छ । वातावरण स्वच्छै रहिरहोस् भन्न प्रथमतः, कार्बन उत्सर्जन कम गर्नुपर्छ । त्यसका लागि उद्योग, कलकारखानालगायत घरेलु इन्धनको रूपमा विद्युत् शक्तिको प्रयोग बढाउँदै आयातित इन्धनको खपत कम गर्दै लैजानुपर्छ । यसमा मूलतः खाना पकाउने ग्यासको सट्टा विद्युत् शक्तिको व्यापक उपयोग गरेर आयातित इन्धनमाथिको निर्भरता घटाउन सकिन्छ । आर्थिक वर्ष २०७५–७६ मा मात्र नेपाल आयल निगमले करिब ३६ अर्बको एलपी ग्यास आयात गरेको थियो । विद्युत् शक्तिको उपयोगबाट यो परिमाणको आधा मात्र घटाउन सके पनि वातावरणमा सकारात्मक योगदान पुग्नुका साथै व्यापार घाटा पनि १८ अर्बले कम हुने थियो ।

दोस्रो, अहिले बाटाघाटा, कुलो र ससाना निर्माणका काममा पनि व्यापक रूपमा एस्काभेटर र बुलडोजरजस्ता गह्रौं उपकरणको प्रयोग भैरहेको छ । यसबाट भूक्षय हुने, पहिरो जाने, पानीका मुहान सुक्ने भएकाले यान्त्रिक उपकरणको सट्टा मानव श्रम उपयोग गर्नुपर्छ । ग्रामीण स्तरका ससाना निर्माणमा यस्तो पहल गर्न सकिए वातावरण संरक्षणका साथै स्थानीय तहमा रोजगारी सिर्जनामा पनि मद्दत पुग्छ ।

तेस्रो, कृषि कर्ममा जैविक खेतीको प्रवर्द्धन गर्नुपर्छ । कृषकका लागि सहुलियत रूपमा मल बीउ, सिँचाइ सुविधा र कृषि ऋण उपलब्ध गराउनुपर्छ । बगर खेतीका साथै बाँझो जमिनलाई उपयोगमा ल्याउने गरी विपन्न वर्ग र भूमिहीन समुदायलाई कृषि कर्ममा लगाउन सकिन्छ । खेतीबाली र पशुपालन व्यवसायलाई परिपूरक रूपमा विकास गरी मूल्य शृंखला बढाउने र कृषिमा आधारित साना तथा मझौला उद्योगमा समेत विदेशबाट फर्केका आप्रवासी कामदारलाई संलग्न गराउने गरी स्वरोजगारको प्रबन्ध मिलाउन सकिन्छ ।

चौथो, पेट्रोल र डिजल प्रयोग हुने सवारीसाधनलाई निरुत्साहित गरी साइकल र पैदलयात्रालाई सुगम तुल्याउने गरी बाटाघाटाको प्रबन्ध मिलाउनुपर्छ । सम्भव भएका स्थानमा वृक्षरोपण गरी हरियाली प्रवर्द्धन गर्नुपर्छ र कौसी खेतीलाई प्रोत्साहन दिनुपर्छ ।

पाँचौं, विद्युत् शक्तिमा आधारित ठूलो आकारका सार्वजनिक सवारीसाधनको प्रयोगबाट ससाना सवारीसाधनलाई विस्थापित गर्दै जाने दृष्टिकोण राखिनुपर्छ । यसै गरी ठूला मालवाहक सवारीसाधनलाई रिङरोडबाहिरका स्थानहरूमा पार्किङ गर्ने सुविधा मिलाउनु उचित हुनेछ । यसका लागि हाल चोभारमा झैं भक्तपुर र ललितपुरमा पनि सुक्खा बन्दरगाह र पार्किङस्थल बनाउनुपर्छ ।

कोरोना महामारीबाट नेपाल अछुतो रहन सक्ने अवस्था थिएन र छैन पनि, तैपनि यसले मुलुकको स्वास्थ्य प्रणालीमा विद्यमान कमजोरी र चुनौतीलाई उजागर गरिदिएको छ । सरकारले प्राकृतिक विपत्ति र महाव्याधिको अवस्थालाई थेग्न सक्ने गरी स्वास्थ्य प्रणालीमा सुधार गर्न अनि दिगो, स्वाधीन र वातावरणमैत्री अर्थतन्त्रको निर्माण गर्ने दिशामा पाइला चाल्न अब ढिला गर्नु हुँदैन ।

(ओझा नेपाल सरकारका पूर्वसचिव हुन् ।)

प्रकाशित : असार १२, २०७७ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?