कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

महामारीले पनि नसिकाएको पाठ !

कोरोनाले व्यक्तिमा आधारभूत सरसफाइ कति महत्त्वपूर्ण छ भन्ने सिकाएको छ । तर, हाम्रा अस्पतालहरूले आफ्नै संक्रमित फोहोरको सुरक्षित व्यवस्थापनका लागि अझै आवश्यक पूर्वाधार र प्रविधि सञ्चालन गर्न सकेका छैनन् ।
ढुण्डीराज पाठक

कोरोना महामारीले के गरिब के धनी सबै देशको स्वास्थ्य प्रणाली कसरी चलिरहेको रहेछ भन्ने छर्लंग पारिदिएको छ । नेपालको स्वास्थ्य प्रणाली कति कमजोर र अव्यवस्थित छ भन्ने त सर्वविदितै छ ।

महामारीले पनि नसिकाएको पाठ !

सेवाको गुणस्तर तथा उपचार प्रविधिको जतिसुकै ठूला गफ गरिआए पनि हाम्रा अधिकांश अस्पतालमा सामान्य अवस्थामा पनि सेवाग्राहीले आवश्यक आधारभूत सेवासम्म पाउन सकेका छैनन् । अस्पतालमा कम्तीमा सुरक्षित पिउने पानी, सफा शौचालय, हात धुने ठाउँ र पानीको व्यवस्था, स्वास्थ्यजन्य संक्रमित तथा अन्य फोहोरको सुरक्षित व्यवस्थापन हुनुपर्छ । तर नेपालमा अस्पतालकै फार्मेसीबाट पानी किनेर पिउनुपर्ने बाध्यता छ, शौचालयबाहिरै नाक थुन्नुपर्ने अवस्था छ । योभन्दा पनि विकराल अवस्थाचाहिँ हाम्रा स्वास्थ्य संस्थाहरू आफ्नै फोहोरका कारण संक्रमण फैलाउने थलो बन्दै गएका छन् ।

झन्डै एक वर्षअघि ‘गार्जियन’ मा प्रकाशित एउटा रिपोर्टअनुसार, विश्वभरि वार्षिक झन्डै १० लाख व्यक्तिको मृत्यु अव्यवस्थित फोहोर व्यवस्थापनका कारण उत्पन्न संक्रमण तथा रोग फैलिएर हुने गरेको छ । विश्व स्वास्थ्य संगठनको ताजा तथ्यांकअनुसार, विश्वभरिका कम्तीमा १५ प्रतिशत बिरामी अस्पताल बसाइका क्रममा एक वा त्योभन्दा बढी संक्रमणबाट ग्रस्त हुन्छन् । अझै हाम्रोजस्तो देशमा यसको अवस्था झन् भयावह छ, तर यसबारे अध्ययन भएको पाइँदैन । यस सन्दर्भमा पंक्तिकारले स्वास्थ्यकर्मीसमेत रहेका एक अस्पताल व्यवस्थापकसँग जिज्ञासा राख्दा जवाफ पाएको थियो, ‘बिरामीको चापलाई थाम्नलाई अस्पतालको क्षमता बढाउन त सकिएको छैन, कहाँ फोहोरको पछाडि लाग्न सकिन्छ ?’ मासिक शुल्क तिरेर निजी क्षेत्रलाई अस्पतालबाट उत्सर्जित फोहोर उठाउन लगाएको र त्यसको व्यवस्थापन कसरी भइरहेको छ, आफ्नो सरोकार नभएको पनि उनको भनाइ थियो । अस्पतालहरूले नै यसका लागि आवश्यक मापदण्ड पूरा गरेका छैनन् भन्ने प्रस्ट छ । फोहोर व्यवस्थापन ऐन–२०११ तथा नेपालको स्वास्थ्यजन्य फोहोर व्यवस्थापन निर्देशिका–२०१४ मा प्रत्येक अस्पताल तथा स्वास्थ्य संस्थाबाट उत्सर्जन हुने संक्रमित फोहोर स्वयं संस्थाले उपयुक्त प्रविधिको प्रयोग गरी संक्रमणरहित बनाएर नगरजन्य फोहोर व्यवस्थापकमार्फत अन्तिम विसर्जन गर्नुपर्ने उल्लेख छ । तर, यो कानुनी प्रावधान धेरैजसो अस्पतालले कार्यान्वयन नै गरेका छैनन् ।

अस्पताल तथा स्वास्थ्य संस्थाहरू यति संवेदनशील विषयमा नबुझेरै उदासीन भएका हुन् ? नाम चलेको अस्पतालका एक नामी चिकित्सकले कर्णालीबाट काठमाडौंसम्म दमको उपचारका लागि आएकी ७० वर्षीया आमैलाई अझै पनि गाउँमा फर्केर दाउरामा खान पकाउने हो भने अब तीन महिना पनि बचाउन नसकिने भन्दै गाली गरिरहँदा जाँचकक्षबाहिर अस्पतालबाट निस्किने प्लास्टिक लगायतका फोहोर बालेर निस्किएको धूवाँको मुस्लो नदेखे जस्तो गरेको प्रस्टै भान हुन्थ्यो । गाउँमा दाउराबाट उत्सर्जन हुने धूवाँका कारण ती आमैको स्वास्थ्य बिग्रेको ठोकुवा गर्ने डाक्टरलाई आफ्नै अस्पतालभित्र बालिने प्लास्टिक लगायतका फोहोरबाट निस्किने फुरान, डायक्सिनजस्ता ग्यास अति हानिकारक हुन्छन्, जसले क्यान्सर जस्ता खतरनाक रोग निम्त्याउँछन् भन्ने थाहा नभएको होइन । र, यस्ता हानिकारक ग्यासका कारण ती आमैलाई मात्र होइन, उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पनि उत्तिकै जोखिम छ भन्ने पनि डाक्टरलाई जानकारी नभएको होइन ?

अस्पताल तथा स्वास्थ्य संस्थाहरूले दिनहुँ यति सय/हजार बिरामीलाई सेवा दिइरहेका छौं भनिरहँदा प्रतिदिन कति संक्रमित भएर निस्किरहेका छन् भन्ने कुरा स्वयं विषयविज्ञ तथा अस्पताल व्यवस्थापकले वास्ता नगर्नु गैरजिम्मेवारी हो । नेपालका २९३ नगरपालिकामा सालाखाला दैनिक ६,००० टन नगरजन्य फोहोर उत्सर्जन हुन्छ भने, अस्पताल (झन्डै ४०,००० जति बेड संख्या) र अन्य हजारौं बेडरहित स्वास्थ्य संस्थाबाट सालाखाला दैनिक ७५ टनजति फोहोर निस्किने देखिन्छ । स्वास्थ्यजन्य फोहोर जम्मा फोहोरको २ प्रतिशत मात्र हो । विश्व स्वास्थ्य संगठनको तथ्यांक तथा नेपालका स्वास्थ्य संस्थाहरूमा हालै गरिएको अध्ययनअनुसार, स्वास्थ्यजन्य फोहोरमा संक्रमित तथा हानिकारक फोहोर १५ देखि ३० प्रतिशतसम्म हुन्छ । तर, हालको अवस्थामा स्रोतमै संक्रमित तथा हानिकारक फोहोर छुट्टै संकलन नगरेकाले धेरैजसो अस्पताल र स्वास्थ्य संस्थामा ७५ प्रतिशतभन्दा बढी फोहोर संक्रमित हुने गर्छ । स्रोतमा सही तरिकाले वर्गीकरण नगर्दा अस्पतालको संक्रमित फोहोरको परिमाण बढ्ने मात्र होइन, सम्पूर्ण नगरजन्य फोहोर पनि संक्रमित भइरहेको छ । यसले गर्दा अस्पतालसँगै फोहोर संकलन, ढुवानी र अन्तिम विसर्जनस्थलबाट संक्रमण फैलिरहेको छ ।

अझै हालको जस्तै महामारीका बेला यस्तो फोहोरको मात्रा सामान्य अवस्थाको भन्दा धेरै गुणा बढी हुन्छ । तर सामान्य अवस्थामा पनि हाम्रा स्वास्थ्य संस्थाहरूमा न्यूनतम मापदण्डअनुसार अस्पतालको फोहोर व्यवस्थापनका लागि आवश्यक पूर्वाधारमा ध्यान दिइएको छैन भने महामारी र त्यसपछि अवस्था झन् नाजुक हुँदै जाने देखिन्छ । यसमा राज्य, अस्पताल सञ्चालक तथा सेवा दिनेलिने सबै गम्भीर हुनु जरुरी छ । फोहोरलाई विभिन्न प्रविधिको प्रयोग गरी संक्रमणरहित बनाउनु हरेक स्वास्थ्य संस्थाको पहिलो दायित्व हो ।

संक्रमित फोहोरलाई अटोक्लेभ, माइक्रोवेभ जस्ता प्रविधि प्रयोग गरी संक्रमणरहित बनाउन सकिन्छ । अटोक्लेभ स्थापना तथा सञ्चालनको हिसाबले सहज भएकाले नेपालका सन्दर्भमा यही प्रविधि उपयुक्त हुन सक्छ । नेपालका विभिन्न अस्पतालमा हालै भएका अध्ययनका आधारमा दैनिक प्रतिबेड बढीमा २ केजी फोहोर उत्पादन हुन्छ भन्ने मान्दा १५० बेड क्षमताको अस्पतालले स्रोतमा संक्रमित फोहोरलाई छुट्टयाएको खण्डमा दैनिक ९० केजी वा लगभग ९०० लिटर फोहोर संक्रमणरहित बनाउनुपर्ने देखिन्छ । यसका लागि २५० लिटर क्षमताको अटोक्लेभ मेसिन दैनिक चार पटक चलाउनुपर्ने हुन्छ । फोहोरको परिमाण बढे छदेखि आठ पटकसम्म मेसिन सञ्चालन गर्नुपर्छ ।

१०० बेडदेखि २५० बेड संख्या भएका अस्पतालमा अटोक्लेभ मेसिन, प्रशोधन घर, संकलन तथा ढुवानी सामग्रीसहित ६० लाखदेखि बढीमा १ करोड रुपैयाँसम्म पर्ने देखिन्छ । केही बेड थप्न खर्च हुने रकम हो यो । त्यसकारण २०० बेडको अस्पतालले केही वर्ष एक–दुई बेड थप्न पूर्वाधार बनाउनुको सट्टा संक्रमित फोहोर व्यवस्थापनमा खर्च गर्न सक्छ । अटोक्लेभ प्रविधि एक पटक स्थापना गरिसकेपछि सामान्य मर्मत–सम्भार गरेर वर्षौं चलाइरहन सकिन्छ । यसको सञ्चालन खर्च प्रतिकेजी १५ देखि २५ रुपैयाँसम्म लाग्ने देखिन्छ । १०० देखि २५० बेड क्षमताको अस्पतालका लागि फोहोरलाई संक्रमणरहित बनाउन वार्षिक ५ लाखदेखि बढीमा १० लाख रुपैयाँसम्म खर्च हुन्छ ।

अन्त्यमा, सेवाका नाममा बेड संख्या बढाउने मात्र नभई सरसफाइ र स्वास्थ्यजन्य फोहोरका लागि न्यूनतम आवश्यक पूर्वाधारको स्थापना गरी संक्रमणरहित हुनु हरेक अस्पतालको दायित्व हो । कोरोना महामारीले नियमित हात धुने, मास्क प्रयोग गर्ने र प्रयोग गरिएका सामान ढकनी भएको डस्टबिनमा राख्नेजस्ता आधारभूत सरसफाइका नियम त सिकाएको छ, तर डस्टबिनको संक्रमित फोहोरको व्यवस्थापन कसरी गर्ने र त्यसको असर के हुन्छ भन्नेपट्टि धेरैको ध्यान पुग्न सकेको छैन । सामान्य अवस्थामा जस्तै अहिले पनि असुरक्षित तरिकाबाट सबै किसिमका फोहोर डम्प साइटसम्म पुगेको देखिन्छ र त्यहाँको व्यवस्थापन झनै कहालीलाग्दो छ । कोरोनाले व्यक्तिमा आधारभूत सरसफाइ कति महत्त्वपूर्ण छ भन्ने सिकाएको छ । तर, हाम्रा अस्पताल तथा स्वास्थ्य संस्थाहरूले संक्रमित फोहोरको सुरक्षित व्यवस्थापनका लागि आवश्यक पूर्वाधार र प्रविधि सञ्चालन गर्न भने अझै पनि पाठ नसिक्नु विडम्बनापूर्ण छ ।

(पाठक भू–वातावरण इन्जिनियरिङ तथा फोहोर व्यवस्थापन क्षेत्रमा अनुसन्धान तथा परामर्श सेवामा संलग्न छन् ।)

[email protected]

प्रकाशित : असार ७, २०७७ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?