कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

चीन–भारत सीमाद्वन्द्व र नेपाल

भारतसँग वार्ता र अन्य आवश्यक पहल जारी राख्दै कालापानी–लिम्पियाधुरा क्षेत्रमा चीनसँग सीमा सम्बन्धलाई नेपालले स्वतन्त्र रूपमा कसरी अघि बढाउने हो, गम्भीर पहल आवश्यक छ ।
कृष्ण खनाल

गत साता नेपाल सरकारी लोगो (निसान छाप) मा अंकित नक्साकृति सच्याउन संविधान संशोधनमा पाएको अपार समर्थनको राष्ट्रवादमा रंगिरहँदा पूर्वी लद्दाखको गलबानमा चिनियाँ फौजसँगको झडपमा २० जना भारतीय सैनिक मारिए, अरू केही हराए ।

चीन–भारत सीमाद्वन्द्व र नेपाल

विश्वका चार ठूला सैन्य शक्तिमा गनिने छिमेकी भारत र चीनका बीच भएको यो घटना हाम्रा लागि पनि स्तब्धकारी थियो । यसले तत्कालै विश्वसमुदायमा एउटा तरंग पैदा गर्‍यो, सबैको ध्यान खिच्यो । संयुक्त राष्ट्रसंघका महासचिवले दुवै पक्षलाई संयम लिन र वार्ताबाट समाधान निकाल्न अपिल गरे । अमेरिकाले चासो देखायो, विदेशमन्त्रीले मारिएका सैनिकप्रति समवेदना व्यक्त गरे । सीमा क्षेत्रको हिंसात्मक तनावका बीच भारतीय विदेशमन्त्री एस. जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीका बीच टेलिफोन वार्ता भयो । कोही भारतीय सिपाही नहराएको वा कब्जामा नलिएको भनेर दुवैतर्फबाट भनिएको छ । यत्तिमै यथार्थ स्थिति थाहा हुने होइन । यस्तो अवस्थामा सूचनामा स्वतन्त्र पहुँच सम्भव पनि हुँदैन, सूचना नियन्त्रित र निर्देशित हुनु अस्वाभाविक होइन । जे होस्, त्यहाँ अहिले उग्रताको स्थिति केही शिथिल भएको देखिन्छ ।

गलबान घटना सन् १९६२ को युद्धपछि भारत–चीन सीमामा भएको सबैभन्दा ठूलो हो । यो पटकको भिडन्तमा नयाँ हतियार प्रयोग भएको सम्भावना देखिएको छ । विवादित सीमाको एउटा निश्चित क्षेत्रभित्र भारत र चीनले गोला, बारुद, बन्दुक लगायतका हतियार प्रयोग नगर्ने सहमति गरेका छन् । तर भारतले चिनियाँ पक्षले प्रयोग गरेको भनी जानकारी गराएको हतियारको तस्बिर गोला, बारुदरहित गैरसैनिक प्रकृतिको जस्तो देखिन्छ । सैन्य शस्त्रागारमा त्यस्तो हतियार प्रायः देखिएको छैन । परम्परागत चिनियाँ शस्त्र पनि हुन सक्छ । २० जनाको ज्यान लिने त्यो हतियारको प्रयोग कसरी भयो, त्यसको प्रहार कस्तो हुन्छ, कति घातक क्षमताको छ भन्ने कुरा शस्त्रविज्ञका लागि नयाँ चुनौती र खोजको विषय भएको छ ।

कश्मीरदेखि अरुणाचल प्रदेशसम्मको हिमाली क्षेत्रमा भारत र चीनको सिमाना फैलिएको छ । ब्रिटिस इन्डियाका पालामा तय भएको तत्कालीन भारत र तिब्बतबीच ‘म्याकमोहन’ सीमारेखालाई चीनले मानेको छैन, सीमा विवादको मुख्य कारण यही हो । यो सिमानाको सबैभन्दा पश्चिमको विन्दुमा पाकिस्तान–नियन्त्रित कश्मीर छ । त्यहाँ चीनले दाबी गरेको भागलाई पाकिस्तानले छाडेको छ । बीचमा नेपाल र भुटान छन् । नेपाल र चीनबीच सीमा विवाद छैन । दुवैले सीमा सन्धि गरेका छन् । भुटानसँग विवाद छ, तीन वर्षपहिले भारत–चीनका सैनिक आमने–सामने भएको दोक्लम चीन–भुटानको विवादित सीमाक्षेत्र हो । सर्वाधिक विवाद लद्दाख र अरुणाचल प्रदेशको ठूलो भूभागमा दुवैको दाबी–प्रतिदाबी छ । त्यसमा पर्ने सामरिक महत्त्वका घाटीहरू ‘हटस्पट’ का रूपमा छन् । गलबान त्यस्तै एउटा प्रमुख ‘हटस्पट’ हो । सन् १९६२ को सीमा युद्धका बेला दुवै देशका फौजले नियन्त्रण कायम गरेको रेखा (लाइन अफ एक्चुअल कन्ट्रोल) का आधारमा दुवै देशले कामचलाउ अर्थात् ‘डि–फ्याक्टो’ सीमा व्यवस्थापन गर्दै आएका छन् । यो क्षेत्रमा चीनले अरू छिमेकीसँग सीमा सम्बन्ध टुंग्याएर भारतलाई एक्ल्याउन सफल भएको छ । यद्यपि रुस, भियतनाम लगायत दक्षिण चीन सागर (साउथ चाइना सी) सीमावर्ती कैयौं छिमेकीसँग चीनको सीमा विवाद कायमै छ ।

केही वर्षदेखि चीन र भारत सीमावर्ती क्षेत्रमा आफ्नो सैनिक उपस्थिति बढाउनुका साथै सामरिक पूर्वाधारको व्यापक विस्तार र निर्माणमा लागेका छन् । कुनै पनि बेला सन् १९६२ को जस्तै वा त्योभन्दा पनि व्यापक सीमा युद्धको खतरा विद्यमान छ । कुनै एउटा पक्षको पूरै हार वा जितको अवस्थामा अमेरिका, रुसजस्ता शक्तिराष्ट्र पनि निरपेक्ष रहन सक्लान् र भन्ने प्रश्न उठ्छ । यसले पूरै विश्व प्रभावित नहोला भन्न सकिन्न । यद्यपि यो आशंका मात्र हो, अहिले अन्तर्राष्ट्रिय सम्बन्धको स्वरूपमा अनुमान गरिने कुरा होइन । परिणामको मात्रामा केही तलमाथि भए पनि त्यस्तो युद्ध दुवैका लागि घातक सिद्ध हुन्छ । यथार्थ के हो भने, सीमावर्ती क्षेत्रमा चीन र भारतको सामरिक खेल र द्वन्द्वचाहिँ स्थायी प्रकृतिको बन्दै छ ।

तीन वर्षअघि भुटानसहित त्रिदेशीय सीमामा पर्ने दोक्लममा चीन र भारत करिब तीन महिनासम्म आमने–सामने थिए । कुनै पनि बेला भिडन्तको सम्भावना थियो । त्यो टर्‍यो, दुवै देश त्यहाँबाट आफ्नो फौजी उपस्थिति पुरानै अवस्थामा फिर्ता गर्न राजी भए । त्यसलगत्तै आयोजित ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको विकाससम्बन्धी साझा मञ्च (ब्रिक्स) को शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोक्लमको जस्तो स्थिति फेरि दोहोरिन नदिन प्रयत्नशील रहने वाचा पनि गरेका थिए । तर त्यो वाचा गरेको तीन वर्ष नबित्दै गलबानको घटना भयो । विगत तीन दशकदेखि भारत र चीनको सम्बन्ध निकै फराकिलो भएको छ । आपसी लेनदेन र सहयोगको व्यापक विस्तार भएको छ । सीमाकै बारेमा पनि गोला, बारुदसहितका हतियार प्रयोग नगर्नेसहित दर्जनौं सहमति भएका छन् । तर दुवैतर्फका केही प्रवृत्तिलाई हेर्दा फेरि अर्को यस्तै वा योभन्दा पनि गम्भीर घटना नदोहोरिएला भनेर ढुक्क हुन सकिन्न ।

अहिले विश्वमै दक्षिणपन्थी राष्ट्रवादको पारो धेरै तातेको अवस्था छ । भारतमा मोदीको राजनीतिक अस्त्र नै यही हो । उनले आफूभन्दा चर्को दक्षिणपन्थी राष्ट्रवादको औजार बनाएका छन् सञ्चारमाध्यमलाई । खास गरी टेलिभिजन च्यानलहरूमा युद्धको मानसिकता निरन्तर छरपस्ट भएको पाइन्छ । त्यहाँ मोदीसँग असहमत अभिव्यक्तिलाई ‘टक सो’ का एङ्करहरूले समेत लखेट्छन्, खण्डन–मण्डन गर्छन् । अझ सीमाक्षेत्र, खास गरी चीन र पाकिस्तानसँगको सम्बन्धमा त भारतीय टीभीले युद्धका बेला समाचार प्रेषित गरे जस्तो गर्छन् । कालापानी–लिम्पियाधुरालाई समावेश गरेर नेपालले आफ्नो नक्सा सच्याएपछि भारतीय टीभी च्यानलको त्यो प्रकोपमा नेपाल पनि पर्न थालेको छ । हो, गलबान घटनापछि स्थिति बढी आक्रोशपूर्ण हुनु, सडकमा जनताको विरोध प्रदर्शन हुनु अस्वाभाविक होइन । भारतभर विरोध प्रदर्शनहरू भए । राष्ट्रपति सीको पुत्ला जल्यो, चीनको राष्ट्रिय झन्डा जलाइयो, चिनियाँ सामान बहिष्कार गर्ने नाराहरू लागे । यी तत्कालका आक्रोश र प्रतिक्रिया हुन् ।

यता चीनले यो विषयलाई आन्तरिक सञ्चारमाध्यममा चिनियाँ र स्थानीय भाषामा कसरी प्रस्तुत गरेको छ, त्यसको जानकारी मेरा लागि सहज छैन । तर चीनको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन), ग्लोबल टाइम्सले यसलाई भारतको जस्तो गरेर प्रचार–प्रसार गरेको पाइँदैन । मैले यी दुवै माध्यम प्रायः हेर्दै आएको छु । भारतमा प्रतिरक्षा विषयको प्रचारप्रसार आन्तरिक खपतका लागि बढी महत्त्वको देखिन्छ । जबकि चीनले स्थलमै आफ्नो काम तामेल गरेर देखाएको छ । सायद चीनको सैन्य शक्ति, प्रहार क्षमता र आत्मविश्वासका कारण पनि यो भिन्नता देखिएको होला । साथै समाज र राजनीतिक भिन्नताले गर्दा पनि होला । खुला समाज र लोकतन्त्रका कारण भारतमा सूचनामाथि पूरै बन्देज र नियन्त्रण सम्भव छैन । चीनमा एकदलीय प्रणाली छ, राजनीतिक असहमतिलाई ठाउँ छैन । सूचनामा सरकारको एकछत्र नियन्त्रण छ । तथापि सीजीटीएनको प्रस्तुति सम्यक् लाग्छ । त्यसले बाह्य जगत्मा चीनको छवि र प्रतिष्ठा बढाउन योगदान पुर्‍याएको छ । कूटनीतिक व्यवहारमा पनि चीन बढी सुसंस्कृत छ ।

भारतको कूटनीतिक प्रस्तुति भद्दा लाग्छ । नेपाली सञ्चारमाध्यमका प्रस्तुतिहरू पनि मलाई धेरै उन्नत लाग्छन् । तिनले फरक मत–अभिमत सर्वाधिक रूपमा प्रतिनिधित्व गर्छन् । त्यसैमा मैले लोकतन्त्रको जीवन्तता देखेको छु । उग्र राष्ट्रवादका केही प्रवृत्तिबाट भने हामी पनि मुक्त छैनौं । हामी सचेत हुनुपर्ने ठाउँ भनेको राष्ट्रवादको अभिव्यक्ति र प्रस्तुतिलाई कसैले आन्तरिक राजनीतिक खपतको औजार बनाउला भनेर हो । उग्र राष्ट्रवाद आगोको लप्काजस्तो हुन्छ, त्यसले स्वतन्त्र चिन्तन र विचार–विमर्शका लागि ठाउँ दिँदैन ।

निसान छाप संशोधन एउटा दृष्टान्त हो । यो विषयलाई सरकार, राजनीतिक दल, सञ्चारमाध्यम, अभिमत स्तम्भ सबैमा यसरी प्रस्तुत गरियो, मानौं यही नेपाल हुनु र नहुनुको परिचय हो । हामीले यति पनि भन्ने आँट गरेनौं— निसान छाप सरकारको ‘लेटरहेड’ र आधिकारिक छाप मात्र हो, राष्ट्रियताको मापन होइन । राणाकालमा यो एक प्रकारको थियो त पञ्चायतकालमा अर्कै । अहिलेको यो छाप २०६३ सालमा बदलिएको हो । भोलि अर्कै कुनै चिह्न राख्न सकिन्छ । मुलुकका नक्सा र निसान छाप एकै कुरा होइनन्, फरक हुन् । नक्सा अंकित भएका कारण यो अत्यधिक संवेदनशील हुन पुग्यो ।

यहाँ मैले भारत र चीनको सामरिक अवस्था एवं युद्धको आकलन गर्न खोजेको होइन । अहिले अन्तर्राष्ट्रिय राजनीति र सम्बन्ध सामरिक सुरक्षाको हिसाबकिताबमा केन्द्रित छैन । यसको आयाम धेरै फराकिलो भइसकेको छ । व्यापक भिडन्तको अवस्थामा बाहेक सीमावर्ती द्वन्द्व र झडप धेरैका लागि चासोको विषय हुँदैन । तथापि कुनै पनि राज्य सीमावर्ती क्षेत्रमा हुने गतिविधिबाट अलग रहन सक्तैन । त्यसमाथि भारत र चीनजस्ता छिमेकीका बीच हुने सीमा विवाद, द्वन्द्व र झडपबाट नेपाल मुक्त हुन सक्तैन । यसले हामीलाई समेत प्रत्यक्ष प्रभावित गर्ने सम्भावनालाई नकार्न सकिन्न । यस्ता विवादमा हामीले बोल्ने ठाउँ हुँदैन, बोल्नु पनि हुँदैन । नागरिकका स्वतन्त्र विचार, विश्लेषण र अभिमत फरक कुरा हुन्, त्यसमा मौनता साध्नु जरुरी छैन । साथै यस्ता विषयमा प्राज्ञिक तहमा अध्ययन–अनुसन्धान पनि आवश्यक हुन्छ ।

चीन र भारतको सीमा द्वन्द्वको प्रकृति हेर्दा कालापानी–लिम्पियाधुरा निकै संवेदनशील देखिन्छ । प्रकृति उस्तै छ, यहाँ पनि भारतले सडक विस्तार गरिरहेको छ । चीनपट्टि पूर्वाधार निकै विस्तारित र सुदृढ छ । यो क्षेत्रमा भारत र चीनको सीमा विवाद पनि छैन । त्यसैले पाँच वर्षअघि भारत र चीनले यो नाका भएर व्यापार बढाउने द्विपक्षीय सहमति पनि गरेका थिए । यो विषय सार्वजनिक भएपछि नेपालले त्यसको विरोध गर्दै दुवै छिमेकीको ध्यानाकर्षण पनि गराएको थियो । भारतसँग विवादै छ, जसको समाधानका उपाय र विकल्पको खोजी त गर्नुपर्छ नै । भारत सरकारको वर्तमान मानसिकता हेर्दा ऊ सजिलै त्यहाँबाट हट्ने सम्भावना देखिँदैन । भारतसँग वार्ता र अन्य आवश्यक पहल जारी राख्दै त्यो क्षेत्रमा चीनसँग सीमा सम्बन्धलाई नेपालले स्वतन्त्र रूपमा कसरी अघि बढाउने हो, गम्भीर पहल आवश्यक छ । एउटा काम भने नेपालले तत्कालै गर्न आवश्यक छ । कम्तीमा त्यो क्षेत्र भएर भारत र चीनले गर्ने कारोबार कि त बन्द गर्न चीनलाई मनाउन सक्नुपर्‍यो, कि नेपालसमेत सम्मिलित त्रिदेशीय समझदारी, सम्झौता हुनुपर्‍यो । नक्सा देखाएर, निसान छाप संशोधन गरेर मात्र त्यो काम पूरा हुँदैन ।

प्रकाशित : असार ७, २०७७ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?