२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

डरको मानवशास्त्र

संसारका सबैखाले भौतिक तथा सामाजिक ज्ञान उत्पादनका अनुसन्धानकर्महरु प्रश्नबाटै सुरु हुन्छन् । त्यसैले आम नागरिक समाज र सरकारसमेत प्रश्नसँग डराउनु भनेको समाजलाई यथास्थितिमा राख्नु हो ।
डम्बर चेम्जोङ

डरको शास्त्रीय पक्ष : आम मानिसलाई लाग्छ— डर वा त्रास भनेको व्यक्तिको मनोगत चरित्र वा व्यक्ति–मानसिकतासँग सम्बन्धित हुन्छ । कुनै व्यक्तिलाई लाग्ने डर–त्रासको विश्लेषण गर्ने विज्ञान भनेको मनोविज्ञान मात्र हो भन्ने लाग्न सक्छ तर मानवशास्त्रीय नजरले हेर्ने–बुझ्ने हो भने डरको स्रोत व्यक्ति मानसिकता होइन, बृहत्तम सांस्कृतिक र सामाजिक संरचना हो । मानवशास्त्री एन्ड्रिया वोस्कोवोइनिक लेख्छन्— डरको अध्ययन भौतिक, सामाजिक र सांस्कृतिक तीनैखाले विज्ञानबाट गर्न सकिन्छ ।

डरको मानवशास्त्र

मानवशास्त्रीय मान्यतामा व्यक्तिको मानसकितामा डरको निर्माण सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक, धार्मिक अनेकौँ कारणले हुन्छ । सामाजिक संरचनाका अनेक पाटामा विद्यमान समस्याहरू लक्षणको रूपमा व्यक्तिमार्फत डर उजागर हुन्छ । रोगी वास्तवमा सामाजिक संरचना हो, लक्षण देखापर्छ व्यक्तिमा । डरको मुहान समाज हो भने त्यो प्रवाह हुने नदी व्यक्तिहरू हुन् । डरका माध्यमबाट छलफल गर्दा हामी व्यक्ति र समाजबीचका बहुआयामिक सम्बन्ध बुझ्न सक्छौँ । यस क्रममा वैयक्तिक र सामूहिक दुवै तहमा डरको चरित्र बुझ्न सकिन्छ ।

डरका अनेक तह र प्रकार हुन्छन् । जोरीपारीका अघिल्तिर सामान्य गल्तीका कारण आफ्नो अनुहार लाजले रातो हुनु पनि सामान्य अवस्थाको डर हो । सामाजिक मान्यताविपरीत अलि ठूलै गल्ती गरियो भने समाजबाटै बहिष्कृत हुने स्थिति बन्नु अझ ठूलो डर हो । आफ्नै दुई दिनको चोला उठिजाला कि भनेर अत्यन्त असुरक्षित महसुस हुनुजति ठूलो डर त के होला र ? मनोवैज्ञानिक कोणबाट हेर्दा लाग्न सक्छ, मान्छे मोजको जिन्दगी जिउन चाहन्छ किनभने यो जीवन चाँडै भस्मीभूत भएर सकिने डर छ । यहाँ चार्वाक दर्शन श्लोक सान्दर्भिक हुन्छ :

यावज्जीवेत् सुखं जीवेत् ऋणं कृत्वा घृतं पिबेत् ।

भस्मीभूतस्य देहस्य पुनरागमनं कुत: ।।

अर्थात्, अहो ! यो खरानी भएर सकिने नस्वर शरीरको के भर ? डरसरीको जीवनमा दु:ख किन गर्ने ? सो जति बाँचिन्छ मोजले बाँचौँ । मानवशास्त्र भन्छ— मानिस सांस्कृतिक प्राणी हो । समाजशास्त्रले सामाजिक, राजनीतिशास्त्रले राजनीतिक र अर्थशास्त्रले आर्थिक प्राणी भन्छ मान्छेलाई । डरको बारेमा लेखिरहँदा मलाई लागिरहेको छ— मानिस मूलत: डरछेरुवा प्राणी हो ।

डर र सामाजिकीकरण

सम्झन सक्ने बाल्यवयमै मेरा अभिभावकले सुनाएका भूत–प्रेतका कथा या घटनाहरू मेरो मथिंगलमा यसरी जमेर बसे कि लाग्थ्यो— रात भनेको भूत–प्रेत जागेर घुम्ने—डुल्ने समय हो । त्यसैले म राति एक्लै जंगलको बाटो हिँड्नै नसक्ने भएँ । स्कुल पढ्न थालेदेखि आफ्नै बुबासँग र पढाउने शिक्षकहरूसँग डर लाग्न थाल्यो । पढ्ने, गृह–कार्य गर्ने कार्यमा तलमाथि परे शिक्षकबाट फैसला हुने सजायको डरले हो वा करले पो पढियो जसोतसो । रहरलाग्दो पढाइ कहाँ थियो र हाम्रा पालामा ! घरमा बासँग डर लाग्ने, स्कुलमा सरसँग, हेडसरसँग झन् डर लाग्ने ! कक्षामा नबुझेको कुरो गुरुसमक्ष प्रश्न गरेर बुझाइमाग्न उस्तै डर लाग्ने बानी क्रमश: विकसित हुँदै जाँदा समाजमा, राजनीतिमा हुने अनेक खाले बेइमानीमाथि प्रश्न गर्नै डर लाग्ने बानीको विकास हुँदै जाने रहेछ । यसरी बाल्यकालमै म दिउसो घरकोसँगै डराउन थालेँ, राति जंगलकोसँग । उमेरसँगै मैले डराउनुपर्ने सन्दर्भहरू थपिँदै गए । नबुझेर प्रश्न गर्दा सरले ‘तँ गोरु, त्यति पनि बुझ्दैनस् ?’ भनेर गाली गर्लान् भन्ने डरले प्रश्न गर्न डर लाग्न थाल्यो । डराउँदाडराउँदा प्रश्नै गर्न नजान्ने भइयो । शिक्षकले जे–जस्तो पढाए पनि– ‘कुरा बुझ्यौ ?’, ‘बुझ्यौँ सर’ ! प्राय: नबुझेका विद्यार्थीले बुझून् भनेरै शिक्षकले सोध्ने हो, ‘बुझ्यौ ?’ भनेर !हुन सक्छ, मास्टरजीको थेगो मात्रै पो हो कि त्यो ?

डरमाथि लेखिरहँदा म बाल्यकालमा मेरा बुबासँग डराएका झझल्कोहरू आए र लेख्न छोडेर मेरो छोरासँग सोध्न गएँ, ‘तिमीलाई म (बाउ) सँग डर लाग्छ कि लाग्दैन ?’ ठाडै उत्तर दियो, ‘किन डराउनु ?’ म अवाक भएँ र फेरि सोधेँ, ‘कोसँग डर लाग्छ त ?’ सोझो उत्तर दियो, ‘मलाई मान्छेसँग डर लाग्दैन । ठूलाठूला साङ्ला, ठूला माकुरासँग डर लाग्छ, डर पनि होइन घीन लाग्छ ।’ फेरि अर्को छोराको कोठामा पसेर उसलाई सोधेँ, ‘बाबु, तिमीलाई तिम्रो बाउसँग डर लाग्छ कि लाग्दैन ?’ झर्को मानेर उत्तर दियो, ‘किन ऽऽऽ ?’ र, प्रतिप्रश्न पो तेस्र्यायो, ‘आर यु ड्रंक, पापा ?’ कुनै व्यक्तिमा डर–भावको उपज र त्यो भाव निर्माण हुने अवस्था विशिष्ट ऐतिहासिक, राजनीतिक, सामाजिक परिस्थितिले निर्धारण गर्छ । हामी डरछेरुवा पुस्ताका हाैँ, डरैडरमा स्कुल सकियो । डरले मेरो पुस्ताका धेरै प्रतिभाले आफू के बन्ने भन्ने सपना देख्नै पाएनन् । आजका नानीहरू, जो सहरमा केही सुविधाका साथ हुर्किरहेका छन्, उनीहरू ड्रिमर (स्वप्नद्रष्टा) हुन् । उनीहरू समाजमा, परिवारमा, विद्यालयमा डराउनुपर्ने कारण देख्दैनन् । पढाइमा आफ्नो चाहना र क्षमताको आकलन गर्न सक्छन् । हामी अभिभावक भनाउँदा नै नानीहरूलाई हाम्रो जमानाका झैँ सोच्छौँ र उनीहरूलाई थर्काउँछौँ, ‘धेरै नबोल्, यो नगर्, त्यो नगर् नत्र स्कुलमा सर/मिसलाई भनिदिन्छु ।’ यसरी हाम्रा बालबालिका स्कुलमा अनुशासित बनुन् भन्ने बुझाइमा विद्यालय र शिक्षक शिक्षिकालाई डरको विम्बको रूपमा बुझिरहेका छौँ, बुझाइरहेका छौँ । डर र शिक्षाबीचको सम्बन्ध नेपाली समाजमा अजिबको छ ।

डरको प्रेमिल सामाजिक पक्ष

व्यक्ति–व्यक्तिमा हुने प्रेम र सामाजिक डरबीच अन्योन्याश्रित सम्बन्ध छ । यस मानेमा स्लोभेनियन दार्शनिक स्लावोज जिजेक अंग्रेजी भाषामा ‘प्रेम’ शब्दसँगै आउने ‘फल’ शब्दको तुलना गर्छन् र उदाहरण दिन्छन्, ‘ही/सी फेल इन लभ विथ समवन ।’ यसको अभिधात्मक अनुवाद हुन्छ— कोही कसैसँग प्रेममा खस्यो । यस अर्थमा प्रेम त खाडल हो, यसमा खसेपछि, फसेपछि उम्कन मुस्किल पर्छ । सो जीवनको नियमित क्रम चलिरहँदा कहीँ आकस्मिक रूपमा प्रेमको खाडलमा नखस्ने कामनाका साथ डराई–डराई कदम चाल्नुपर्छ भन्ने ध्वन्यार्थ दिन्छ अंग्रेजीमा ‘लभ’ सँगै आउने ‘फल’ शब्दले । हुन सक्छ, प्रेममा फस्नु/खस्नु सामाजिक अभीष्ट होइन, त्यसैले मागेर विवाह गर्ने चलन धेरै समाजमा भएको हो कि ! स्लावोज जिजेक भन्छन्— युरोपेली समाजमा पनि उहिल्यै अभिभावकहरूले मागेर आफ्ना छोराछोरीको विवाह गराइदिने चलन थियो रे ! प्रस्तुत गाउँले गीतमा हरौं त–

एक दामको जिरा दुई दामको मेथी तीन दामको लसुन ।

उकाली ज्यानको चप्लेटी ढुंगा बात मारी बसूँ न ।

घिन्ताङमा घिन्ताङ मादलु बज्यो जोर जोरै ताल पर्छ ।

बात मारी वस्थेँ कम्मरै कस्थेँ गाउँघरको गाल पर्छ ।

मायाजालमा फस्नुसँग मान्छे डराउँदैनन् र प्रेम प्रस्ताव राख्छन्, ‘बात मार्न बस्ने’ उपाय खोज्छन् । प्रस्तावित व्यक्तिलाई पनि मनका बात कहेर बस्न मन नलाग्ने कहाँ हो र ? तर, गाउँघर– जोरीपारीले थाहा पाए भने अवगाल पर्ला कि भन्ने डर लाग्छ । यो अवगाल–डरको स्रोत त समाज हो ! प्रेम–प्रीतिको गहिरो गर्तमा खसिसकेपछि पनि डरले कहाँ छोड्छ र ! नवीन के. भट्टराईको गीतजस्तै :

डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि ।

डर लाग्छ तिम्रो मेरो प्रीत टुट्ने हो कि ।

किन त्यसै त्यसै आतिन्छ मेरो मन ।

प्रिय तिमीबिना के होला यो जीवन ।।

प्रेममा नफसेसम्म फसिन्छ कि भन्ने डर, फसेपछि भने प्रेम टुट्छ कि छुट्छ कि भन्ने डर ! अहो, सुख कहाँ पाइन्छ र !

डरको जातीय पक्ष

एकमुठ्ठी सास रहेसम्म जीवनको आस रहिरहन्छ भनेजस्तै जीवनको सास चलेसम्म यो मन–मस्तिष्कमा डरको बास हुन्छ । नेपालको रूढिग्रस्त जातीय समाजमा मायाजालमा आफैँ फसेका कति प्रेमी–प्रेमिकाले जातीय कट्टरताको अग्लो पर्खाल नाघ्न खोज्दा खसेर ज्यान गुमाउनुपरेको छ । भर्खरै रुकुममा दलित प्रेमीको जघन्य हत्या गरिएको घटनाले कसको आङ सिरिङ्ग नहोला ? कहिले यस्तो हत्या त कहिले दलित प्रेमीहरूले समाज र परिवारबाट अस्वीकृत हुने डरले आत्महत्या गर्नुपरेको छ । धेरैलाई लाग्न सक्छ, आत्महत्याको कारण व्यक्ति मनोविज्ञान हो । मानवशास्त्रले भन्छ, आत्महत्या कारणको स्रोत समाज हो, सामाजिक संरचना हो । दलित जातकै हुनुले दिल–चित्त मिलेकोसँग प्रेम गर्न डराउनुपर्ने, जिन्दगी नै गुमाउनुपर्ने कारणको स्रोत यही सामाजिक संरचना हो । रुकुम हत्याकाण्ड जातीय द्वेष र अहंकारजन्य जघन्य अपराध हो । सञ्जालहरूमा रुकुम हत्याकाण्डमा जातीयताको रङ थप्न नहुने जिकिर पनि गरिए । ‘जातीयताको रङ थप्नु हुन्न’ भन्ने जिकिर गर्ने मित्रहरू ती हुन् जसको अवचेतनमा जातीय द्वेष र अहंकारको मैलो काती जमेको हुन्छ, गुन्द्रीमुनि फोहोर छोपिएझैँ । उनीहरूका त्यही अवचेतनमा सुषुप्त अहंकारले नरम शैलीमा निकास पाएको हो । डरको जातीय पक्ष भनेको यही हो ।

राजकुमार दिकपालले एउटा रियलिष्ट कथा लेखे— पूर्वी नेपालमा आफ्नै घरको भाषा सिकेर हुर्केको एउटा लिम्बू बालक स्कुल जाने उमेर पुगेपछि अभिभावकले गाउँकै स्कुलमा भर्ना गरिदिए । पहिलो दिनको कक्षामै भित्तामा टाँगिएको विभिन्न चित्रसहितको पोस्टरमा भएको भ्यागुताको नक्सामा लठ्ठीले इंगित गर्दै लिम्बू बालकलाई मास्टरले सोधे, ‘यो के हो ?’ बालकले भन्यो, ‘पेदक’ । मास्टरलगायत सबै गललल हाँसे । मास्टरले हाँस्दै अरू जान्ने विद्यार्थीलाई सम्झाउन लगाए, त्यो चित्र भ्यागुतो हो भनेर । बालक रनभुल्लमा पर्‍यो । उसले करेसाबारी–खेतमा देखेको त्यो फुत्तफुत्त ऊफ्रने जीउभन्दा सय गुना ठूलो कर्कशलाग्दो टरटराउने प्राणीको नाम पेदक नै थियो, घरमा जानेको– भ्यागुतो होइन, पेदक नै हो । बालकले पहिलो दिनलाई ठूलो मानेन । तर, मास्टरले ठूलो रूपमा लिए किनकि उनको जिम्मेवारी हो— बालबालिकालाई ‘सही शिक्षा दिनु र सिकाउनु’ । दोस्रो दिन फेरि त्यही बालकलाई त्यही चित्रबारे सोधे मास्टरले । बालकले फेरि ‘पेदक’ नै भन्यो, फेरि कक्षामा हाँसोको फोहोरा छुट्यो । मास्टरबाट अब भेट्यो केटोले एक सिर्कना स्वाँठ र उनी कराए, ‘यो भ्यागुतो हो, पेदक होइन बुझिस् केटा ! र, अबदेखि सबैले यसलाई पेदके नामले बोलाओ ।’ स्कुलको दोस्रो दिनमै केटोले पेदके नाम पायो । नामको साथमा डर, हिंसा, अपमान, लाज सबै बोध गर्‍यो केटोले । त्यस केटोमा स्कुलप्रति कुनै अनुराग बसेन बरु घृणा जागेर आयो— मास्टर र पेदके भन्नेप्रति । घरको करले स्कुल जानैपर्ने ! ऊ स्कुल जाने नाममा स्कुलदेखि भाग्न थाल्यो, बाटो ढुकेर ‘पेदके’ नाम काढ्नेहरूलाई गोद्न थाल्यो । कथा छोट्याएर यहीँ टुंग्याऊँ । तर, केटो भाषिक (राष्ट्रिय) भिन्नताले निर्माण गरेको डर र हिंसामा फस्यो । यो खाले डर र हिंसाको स्रोत भनेको एकल भाषिक राष्ट्रिय राज्य संरचना हो ।

डरदेखि सरकार पनि डराउँछ

नेपालमा कोभिड–१९ को महामारीभन्दा पहिल्यै यसले सृजना गरेको त्रास र व्याकुलता आयो । र, काठमाडाैं उपत्यकाको समाज–सरकारलाई सन्त्रस्त बनायो । बुहानमा कोभिड–१९ संक्रमण फैलेपछि त्यहाँ रहेका करिब २०० नेपालीलाई उद्धार गरी नेपाल ल्याएर राख्नका निमित्त भक्तपुरको खरिपाटीछेउमा क्वारेन्टिन सुविधाको तयारी हुँदै गर्दा स्थानीयवासीबाट विरोध भयो । त्यस विरोधमा सकारात्मक नजर लगाउने हो भने आफ्नो गाउँ–बस्तीमा महामारी फैलिन्छ कि भन्ने डर नै हो । त्यो विरोधको साथमा मुखरित भएको आवाज के पनि थियो भने कदाचित महामारी फैलिहाल्यो भने ‘यो सरकारको भर छैन’ । सूचना–सञ्चारका सहज उपलब्धता र सामाजिक सञ्जालहरू आफ्नो हात जगन्नाथ हुनुले पनि विदेशमा कोरोना संक्रमितको संख्यामा घातांकीय वृद्धि देखेर, सुनेर नै काठमाडौंको जनमानसमा डरको आयतन दिन दुई–गुना रात चौ–गुना ठूलो भयो ।

कोरोनाको डरले नेपालमा सर्वोच्च राज्याधिकारीदेखि रंकसम्म सुरुका दिनमै सबै प्रभावित भए । फ्रेन्च दार्शनिक मिसेल फुकोले प्रचलित गराएको बायो–पोलिटिक्सको अभ्यास र अवधारणा नसुनी नबुझी नै सही, यहाँको सरकारले पनि चुरीफुरीका साथ बन्दाबन्दीको घोषणा गरेर ‘साबुन–पानीले हात धुँदै घरमै सुरक्षित बस्नू’ भन्ने आदेश जारी गर्‍यो । सडकमा टहलिन वा कामविशेषले निस्कनेहरूलाई सुरक्षाकर्मीले आजसम्म नदेखिएको बडेमानको सनासोले च्यापेर ठेलेका र कुटपिट गरेको दृश्यले झनै डरमाथि कहर थपियो ।

महामारी वा कुनै पनि संकटहरूमा सरकार अझ भरपर्दो हुनुपर्ने अनि समाज अझ ऐक्यबद्ध र सौहार्द हुनुपर्ने हो । तर, नेपालमा उल्टो भयो, काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तो । सरकार भित्रैकाहरू डरलाग्दो झगडामा उत्रिए । सरकार र सत्तासीन दलभित्रैको अन्तरध्वंसीय लफडाको रमिता हेरियो एकातिर भने अर्कातिर कोरोनाभन्दा भोकको डर ठूलो मान्न बाध्य मजदुर घर फर्केका पैदल यात्राहरू कहालीलाग्दो देखियो । सरकार पनि डरायो कोरोना भूतसँग र भूत भगाउन बत्ती झलमल्ल बाल्ने निर्देशन आयो । भूतैलाई लठ्ठ पार्न राष्ट्रिय गान (भजन) गाइयो, त्यसलाई तर्साउन बेजोड थपडी ठोकियो । उक्त सारा नौटंकीको अन्तर्य राज्यसत्ताले आफ्नै कमजोरी ढाकछोप गर्न कोभिड–१९ ले ल्याएको डरको सहारा लिइरहेको जस्तो पनि देखियो ।

डरको राजनीतिक पक्ष

मिसेल फुकोको विचारमा उदारवादको रचना र कार्यान्वयन स्वतन्त्रता, सुुरक्षा र डर–त्रास तीन पक्षको अन्तरसम्बन्धबाट हुन्छ । फुको भन्छन्, ‘स्वतन्त्रता भनेको शासक र शासितबीचको सम्बन्धको परिभाषाभन्दा बढी केही होइन ।’ नेपालमा हाल शासक र शासितबीच एक–अर्कासँग डराउने वातावरण बनिरहेको प्रस्टै देख्न सकिन्छ । संविधानत: सबै नेपाली नागरिकलाई आफ्नो विचार व्यक्त गर्ने (वाक) स्वतन्त्रता, घुमफिर गर्ने स्वतन्त्रता र सम्पत्ति आर्जन गर्ने स्वतन्त्रता छ । तर, त्यही संविधानअन्तर्गत यो वा त्यो रूपमा ऐन, नियम र कार्यविधिहरू बनेका छन् । यस्तो बोलेको, लेखेको, गरेको भन्ने शंका लागेमा वा उजुरी परेमा अनुसन्धानका लागि नै आरोपितलाई हप्तौँ थुनामा राख्न सक्छ सरकारले । भनिन्छ, स्वतन्त्रता तर स्वतन्त्रताको घेरोलाई साँघुरो बनाउँछ राज्यले र त्यसो गर्ने क्रममा राज्य नागरिकका नाममा निरन्तर डर–त्रासयुक्त सन्देश प्रवाह गरिरहन्छ । फुकोको भनाइ यही थियो । नेपालमा झनै ठूलो डर के विषयमा छ भने वर्षौं जेल–बास भुक्तान गरिसकेर अन्त्यमा निर्दोष साबित भए पनि पीडितले कुनै क्षतिपूर्ति पाउने व्यवस्था छैन । अहिले हामी देखिरहेका छौँ, नेपालमा आफैँले निर्माण गरेको, रोजेको, खोजेको सरकार आम नागरिकबाट पराईकृत हुँदै गएको छ । माक्र्सले युरोपको औद्योगिक मजदुरको जीवनको हालत अध्ययन गरेर सैद्धान्तीकृत गरेको स्टेटमेन्टले भन्छ, ‘मजदुरहरू आफ्नै श्रमद्वारा निर्मित वस्तुबाट भावनात्मक र वस्तुगत रूपमा समेत पराईकृत हुन्छन् ।’ यसो हुनु भनेको आफ्नै श्रमबाट पराईकृत हुनु हो । यही त भइरहेछ अहिले । आफैँले बनाएको सरकारले आफैंलाई आँखा तर्छ । यसैको डर छ ।

आठ–दस वर्षअघिको कुरा गरौँ । प्रथम संविधानसभाले संविधान लेख्न प्रयास गरिरहँदा संघीयताको खाका सुनिश्चित गर्ने, राज्यको पुन:संरचना गर्नेबारे बहस सार्वजनिक वृत्तमै चलिरहेको थियो । त्यसै क्रममा राज्यद्वारा ऐतिहासिक रूपमा सीमान्तकृत गरिएका समुदायको प्रतिनिधित्व गर्ने आदिवासी–जनजातिहरूको सभासद सभा ‘ककस’ हरूको एकतामा पूर्ण बहुमत बन्यो । सामूहिक राष्ट्रिय (जातीय) पहिचानमा आधारित संघीय प्रदेशहरूको नामकरण हुन सक्ने सम्भावना बढ्दै जाँदा देशभरबाट काठमाडाैंमा जम्मा भएका धेरै राजनीतिजीवीहरू, सञ्चारकर्मीहरू, बौद्धिकहरू चिन्तित बने, डराए र डर व्यक्त गरे– अब नेपाल फुट्ने भो, नेपाली–नेपाली नै लडेर सकिने भए । त्यसैले नेपाललाई ‘फुट्न’ बाट जोगाउन, र नेपाली–नेपाली ‘लड्न’ बाट बचाउन अखण्ड नेपाल, अखण्ड सुदूरपश्चिम, अखण्ड चितवन आदि घोषणाका साथ ‘अखण्डवाद’ आयो । तत्कालीन ‘अखण्डवाद’ का प्रणेता र पृष्ठपोषक राजनीतिजीवी र बौद्धिकहरू अहिले सरकारसँग किन पौंठीजोरी खेलिरहेका छन् ? सोध्न जरुरी छैन । यही हो डरको राजनीतिक पक्ष ।

डर र व्यक्ति–इतिहास

मनोविज्ञानलाई समाज–विज्ञानको प्रमुख हाँगोको रूपमा विकास गर्ने सिगमन्ड फ्रोइडले लेखेका छन्, ‘मौकामा इतिहास फर्कन्छ । जब इतिहास फर्कन्छ, यो पहिलेभन्दा झनै डरलाग्दो र ध्वंसात्मक हुन्छ ।’ यहाँ फ्रोइडले भनेको इतिहास सामाजिक र सामूहिक इतिहास होइन । यो बाल्यकालदेखि व्यक्तिको अतृप्त चाहना र कुण्ठाहरू उसको अवचेतनमा सुषुप्त रहेको उकुसमुकुसको इतिहास हो । जब मौका पाउँछ, ती उकुसमुकुसहरूले निकास खोज्छन् र विस्फोट हुन्छन् । बाल्यकालमा डर लागेका विषयहरू, स्कुल जाँदा–आउँदा बाटो ढुकेर कुटाइ खाएर आफूले कुट्न नसकेका, डन्डीबियोमा झेली गरिएका, सँगैका संगीहरूले जस्तो राम्रो–सुकिलो लाउन, भरपेट खान नपाइएका, विद्यालयमा हेपिइएका नकारात्मक स्मरणहरूले व्यक्तिको अवचेतनमा अतृप्त चाहनाको रूपमा स्थायी बास गरेका हुन्छन् । व्यक्ति वयस्क हुँदा होस् वा पाको उमेरमै होस्, मौका पाउनासाथ अवचेतनमा बास गरेका ती सुषुप्त चाहना फर्किन्छन् आफैँलाई तृप्त पार्छन् । यो गरिब देशको दुखिया समाजको दीनदु:खी अतृप्त आत्माहरू कदाचित देशको सत्ताको जिम्दार भए भने त्यसबेला आत्मकेन्द्रित अनि बाल्यकालमा भएको झगडाको बदला लिनेखाले र नागरिकको स्वतन्त्रतामाथि धावा बोल्ने नीति–नियम बनाए भने अचम्म मान्न आवश्यक छैन । तर, डरलाग्दो अवश्य हुन्छ ।

यो खाले डर र हिंसा–भावको स्रोत सतहमा व्यक्ति मनोविज्ञानजस्तो लाग्न सक्छ तर गहिराइमा सामाजिक र आर्थिक असमानता यसको मुख्य स्रोत हो । यसर्थ डरको वर्गीय पक्ष यही हो ।

टुंग्याउनीमा

केहीअघि एउटा कार्यशाला गोष्ठीको उद्घाटनमा राजनीतिक विश्लेषक हरि शर्माले भने, ‘सत्य–तथ्यमा कसैको एकाधिकार हुँदैन, प्रश्नबिनाको समाज हुँदैन तर आज नेपाली समाजमा नागरिकको प्रश्न गर्ने अधिकार क्रमश: कुण्ठित हुँदै गएको छ ।’ नेपाली समाज यसरी प्रश्नविहीन हुँदै गएको पृष्ठभूमिलाई पत्रकार राजेन्द्र दाहालले दुई शब्दमा भने, ‘डर छ ।’

प्रश्न गर्नै डर लाग्छ । तर, कसको डर ? हामीले भोगिरहेको समाजमा सबैभन्दा बढी डराउने को होला ? डरको उपचार के होला ? उल्लिखित प्रश्नमा छलफलकै क्रममा एक जना सहभागीले भने, ‘नागरिक र समाजसँग सबैभन्दा डराउने त राज्य हो ।’ समाज राज्यसत्तासँग असुुरक्षित महसुस गरिरहेको छ, राज्य आफ्नै नागरिकसँग डराइरहेको छ । हरि शर्मा भन्छन्, ‘प्रश्न गर्न छोड्न हुँदैन । प्रश्नले मात्र मानिसलाई डरसँग जुध्न मदत गर्छ एकातिर भने अर्कातिर प्रश्नले नै मानव समाजलाई गतिवान बनाउँछ ।’ संसारका सबैखाले भौतिक तथा सामाजिक ज्ञान उत्पादनका अनुसन्धानकर्महरू प्रश्नबाटै सुरु हुन्छन् । त्यसैले आम नागरिक समाज र सरकारसमेत प्रश्नसँग डराउनु भनेको समाजलाई यथास्थितिमा राख्नु हो । अचम्म लाग्छ, नेपालमा द्वन्द्व र द्वन्द्वात्मक सम्बन्ध नै समाज परिवर्तन र रूपान्तरणका संवाहक हुन् भन्ने विश्वासमा हुर्किएको माक्र्सवादी सत्ता प्रश्नहरूसँग डराइरहेको छ ।

व्यक्तिहरूमा डरको निर्माण बाल्यकालदेखि नै हुन्छ । व्यक्ति सामाजिकीकरणको प्रथम र सबैभन्दा महत्त्वपूर्ण संस्था परिवार हो । परिवारबाटै पैदा हुन्छ डर व्यक्ति मानसिकतामा । त्यसपछि विद्यालय डर र हिंसाको मुख्य निर्माणस्थल हो । निश्चित रूपमा विद्यालय ज्ञानआर्जन र शिक्षा हासिल गर्ने केन्द्र हो । तर, नेपालका पेदकेहरूजस्ता नेपाली–इतर भाषीका रूपमा हुर्केका नानीहरू, दलित बालबालिकाहरू, आर्थिक रूपमा विपन्न परिवारका बच्चाहरूका लागि डर, हिंसा र अपमानबोध गराउने प्रमुख संस्था विद्यालय पनि देखियो । सामाजिकीकरणकै सन्दर्भमा बालबालिकाले डर सिक्ने उपाय आफ्नो समवयी संगतबाट पनि हो । व्यक्ति क्रमश: वालिग हुँदै जाँदा डरका थप स्रोतहरू समाज र सरकारका अनेक अंगहरूसँग डराउँदै जीवन जिउन बाध्य हुन्छ । ऊ डरका बीच किन जिउँछ भने मर्नदेखि पनि डराउँछ । यसर्थ मानिस एक डरछेरुवा प्राणी हो ।

प्रकाशित : असार ६, २०७७ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?