२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

नयाँ मोडमा जनसम्बन्ध

दिल्लीमा यस्ता विचारनिर्माता छन् जो बाघा बोर्डर तथा रक्सौल–जोगबनीको भिन्नता बुझ्दैनन् । नेपालमा पनि अहिले सीमाञ्चलको जनसम्बन्ध र जनसंस्कृतिसँग अपरिचितहरू नै प्रभावकारी भएका छन् ।
चन्द्रकिशोर

बिहारको सीतामढी जिल्लाका मेरा मावली भाइले हालै मेसेज गरे, ‘नेपाल–भारत सम्बन्ध बिग्रिएकोले गर्दा अहिलेको बर्खामा नेपालले धेरै पानी छाडिदेला भन्ने चिन्ता छ ।’

नयाँ मोडमा जनसम्बन्ध

सम्भावित डुबानको डरले सीमापारिका बासिन्दालाई सताएको उनको भनाइ थियो । केही दशकअघि काठमाडौंमा जोडले पानी पर्दा वाग्मती किनारको मेरो गाउँमा डुबानको चिन्ता हुन्थ्यो । मेरी आमा वाग्मतीको बाढीबाट आफ्नो थातथलो सुरक्षित रहोस् भनेर त भाकल गर्थिन् नै, माइती गाउँको कुशलताको पनि कामना गर्थिन् । यस पटक भने परिस्थिति अलि भिन्न छ ।

भारतीय सहयोगमा एक दशकअघि वाग्मतीको नेपालतर्फका दुइटै किनारमा तटबन्ध गरियो । सन् ’७० को दशकमा पनि वाग्मतीको बाढीलाई लक्षित गरी सर्लाही–रौतहट सीमावर्ती भारतीय क्षेत्रमा कतैकतै तटबन्ध बनाइयो । मेरो गाउँ बलरा (सर्लाही) मा उक्त तटबन्धको केही हिस्सा सत्ताइस वर्षपहिलेको बाढीले भत्काइदियो । बाढी आउँदा त्यो खाली हिस्साले नै ‘सेफ्टी भल्भ’ को काम गर्थ्यो । अहिले भारतले आफूतिरको पुरानो तटबन्धको मर्मत गर्दै छ, जसले गर्दा कटानले बनाएका ठूलठूला खाल्डा पुरिए । यस पटक कथंकदाचित् नेपालतर्फको तटबन्ध भत्कियो भने हाम्रो गाउँ नराम्ररी डुबानमा पर्न सक्छ । मनसुनको प्रवेशसँगै मेरी आमा चिन्तित हुन थालेकी छन् ।

साँध, बाँध र स्थानीय कारणहरूले यदाकदा जनस्तरमा विवाद देखिन्थ्यो, तर यसको प्रभाव तत्कालीन र एकदमै साँघुरो वृत्तमा हुन्थ्यो । दुवैतर्फको दिनचर्या चाँडै सामान्य भइहाल्थ्यो । तर अहिले आशंकाको तुवाँलो फराकिलो छ । आखिर किन भुइँतहमा नेपाली–भारतीय जनबीच दूरी महसुस हुँदै छ ?

सरकारले हालै कालापानी, लिपुलेक र लिम्पियाधुरासहितलाई समेटेर देशको मानचित्र परिष्कृत गर्‍यो । नेपालको अडानप्रति विमति राख्दै भारतले आफ्नै दाबी दोहोर्‍यायो । भारतसँग जुन स्तरमा सीमा विवाद सुल्झाउने कोसिस गरिनुपर्थ्यो, त्यो नेपालका शासकहरूबाट कहिल्यै हुन सकेन, लघुताभासका कारण । अहिले अतिक्रमित भूभागसहितको नयाँ नक्सालाई संवैधानिक हैसियत दिने प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको संकल्पले अन्तर्राष्ट्रिय जगत्मा नेपालको आत्मविश्वास मुखरित भएको छ ।

सीमा विवादमा कतिपय भारतीय मिडियाको प्रस्तुति तथ्य र तर्कविहीन थियो, दम्भले भरिएको थियो । ठूलो बजार तथा शक्तिशाली हुनुको अहम् छचल्किएको थियो तिनमा । आफ्नो धारणा राख्नुभन्दा पनि नेपाललाई हेप्ने मनोवृत्ति देखियो । उनीहरूलाई हेक्का भएन— मिडिया सूचना आदानप्रदान वा जनमत निर्माणको माध्यम मात्र होइन, यसले देशको छवि पनि निर्माण गर्छ । मिडियाको शैलीले कुनै पनि मुलुकलाई असल वा खराब बनाइदिन सक्छ । छवि निर्माणको यो काम यी माध्यममाथि नियन्त्रण हुनेहरूको इच्छा र स्वार्थअनुरूप गरिन्छ । यदाकदा सरकार र उसको विदेशनीतिले मिडियाको भूमिकालाई निर्धारण गरिरहेको हुन्छ । यस पटक भारतीय मिडियाको प्रस्तुति र सोहीअनुसार सामाजिक सञ्जालमा प्रवाहित संकथनका कारण भारतीय आमजनमा नेपालप्रति पहिलो पटक आशंका टुसायो ।

नेपाल–भारत सम्बन्ध कुनै सरकारले बनाएको होइन । इतिहास, परम्परा, संस्कृति, धर्म, भाषा, आर्थिक–सामाजिक पाटाहरूले दुई देशको अन्तरसम्बन्धलाई पुष्टि अनि परिभाषित गरेका हुन् । र, यो सम्बन्ध विशेष छ । नयाँ नक्सा निर्माणपछि पनि दुवै मुलुकका उच्च नेतृत्वले ‘रोटी–बेटी’ को थेगो बिर्सेका छैनन् ।

आधुनिक समयमा दुई मुलुकको सम्बन्ध केन्द्रीय सरकारबीचको सम्बन्धलाई मानिए पनि नेपाल–भारतको सवालमा अहिलेसम्म भनिन्छ— काठमाडौं–दिल्ली सम्बन्ध चिसो–तातो जे भए पनि जनस्तरको सम्बन्ध सदा न्यानो छ । नेपालमा भारतविरोधी मानसिकताको लामो परम्परा र पृष्ठभूमि छ । भारतको सरकारी रवैयाबारे धारणा बनाउन नेपालीहरूका आ–आफ्नै सामाजिक–राजनीतिक चस्मा भए पनि भारतीय जनमानसमा नेपालविरोधी स्वर सुनिएको थिएन । गहिरो, व्यापक र ऐतिहासिक जनसम्बन्धमा अहिले भने आशंकाको ग्रहण लाग्न थालेको छ । अहिले समाजमाथि राज्य प्रभावी हुन खोज्दा सामाजिक सम्बन्ध पुनःपरिभाषित गर्नुपर्ने चरणमा पुगेको छ । यसमा पुराना विम्बको ठाउँमा गतिशील प्रतीकहरूको खोजी जरुरी छ, तर त्यो के हुने ? जनसम्बन्धमा केवल मधेसीहरू सीमित छैनन्, यसभित्र नेपालका विभिन्न भूगोल र समुदाय पनि जोडिएका छन् । ती सबैमाझ सम्बन्धको आफ्नै विशिष्टता छ, जसलाई बेवास्ता गर्न सकिँदैन ।

नेपाल–भारत जनसम्बन्धको दूरी बढाउन नेपाल सरकारको भूमिका छ भन्नेहरू कम छैनन् । भारतसँगको सीमा विवादलाई लिएर प्रधानमन्त्री ओलीले संसद्मा दिएको अभिव्यक्ति केही सन्दर्भमा गलत छ भनिन्छ । प्रबुद्ध व्यक्तिहरूको समूह वा सीमा प्रमाण संकलन समूह समावेशी छैनन् । नेपाल–भारत सम्बन्धका दुई प्रमुख आधार खुला सीमा र वैवाहिक सम्बन्धप्रति सरकारी रवैया अनुदार देखिँदै छ । समाजमाथि राज्य हावी हुँदै जाँदा तिब्बतसँगको पारम्परिक नेपाली जनसम्बन्ध विच्छेदकै स्थितिमा छ । ल्हासाका नेपालीभाषीहरूको सांस्कृतिक सरोकार राष्ट्रिय पटलबाटै हरायो । ठीक त्यसै गरी अहिले नेपाल–भारत जनमानसमा ‘दूरी’ को बीजारोपण गरिँदै छ ।

राष्ट्रियता र मैत्री सम्बन्धका सही संरक्षक एवं प्रवर्द्धक जनता हुन् भन्ने कथ्यको ठाउँमा शासक हुन् भन्ने भाष्य रचिँदै छ । नक्सा प्रस्तुतिमा अडानको प्रशंसा हुँदाहुँदै पनि प्रधानमन्त्री ओलीको कार्यकालमा ऐतिहासिक जनसम्बन्धमा विष घोलिएको छ । यही सवाल भारततिर पनि फर्किन्छ । नरेन्द्र मोदीको सरकारले सांस्कृतिक–धार्मिक सम्बन्धको जतिसुकै बखान गरे पनि नेपालसँगको विवादलाई कहिल्यै सुल्झाउन सकेन र निकट भविष्यमा समाधान भइहाल्ने स्थिति पनि छैन । प्रधानमन्त्री अटलबिहारी वाजपेयीका पालामा सीमा निगरानीका लागि सेनालाई खटाइयो, जुन नेपाल–भारत राजनीतिक तथा कूटनीतिक सम्बन्धको लामो इतिहासको अन्तरालमा नयाँ प्रयोग थियो । यसले ऐतिहासिक मोडको संकेत दियो । मोदीले पनि त्यही गोरेटो समाए । कोरोनाकालमा सीमामा आवागमन रोक र निगरानीले अर्को आयाम थप्यो । अहिले आवतजावत सहज छैन ।

प्रबुद्ध व्यक्तिहरूको समूहले तयार पारेको प्रतिवेदन सार्वजनिक विमर्शमा ल्याइनुपर्छ । प्रतिवेदन सार्वजनिक हुँदैमा कार्यान्वयन गर्नुपर्ने बाध्यता छैन । तर यो जनविमर्शमा ल्याइँदा दुइटै ‘केन्द्र’ ले निर्देशित गर्न खोजेको जनसम्बन्धबारे भुइँतहले नै प्रतिक्रिया दिन्छ, जुन आवश्यक पनि छ । कागजमा कोरिएको सीमारेखाले छेक्न नसकेको अहिलेसम्मको जनसम्बन्धमा नियोजित रूपमा द्वन्द्व रोपिँदै छ । सीमाका बासिन्दामा तिमीहरू एकअर्काका शत्रु हौ भन्ने धारणा उब्जाउनु दुःखद हो । दिल्लीमा यस्ता विचारनिर्माताहरू छन् जो बाघा बोर्डर तथा रक्सौल– जोगबनीको भिन्नता बुझ्दैनन् । नेपालमा पनि जो सीमाञ्चलको जनसम्बन्ध र जनसंस्कृतिबाट अपरिचित छन्, तिनीहरू नै अहिले विचारनिर्माणमा प्रभावकारी छन् । ‘राष्ट्रवाद’ को मनसुन दुवैतिर सुरु भएको छ । सरकार आउँछ–जान्छ, तर जनसम्बन्धमा खेलबाड गर्ने छुट दुवैतर्फका शासकलाई छैन । जनस्तरको सम्बन्धमा देखिएका चुनौतीहरूको पहिचान गर्न नागरिकको सक्रियता चाहिन्छ ।

सरकारहरूका आआफ्नै प्राथमिकता हुन्छन् । जनआकांक्षा र जनविश्वास सार्वकालिक उभारमा हुन्छ । ‘नेपाली क्रान्ति कथा’ मा भारतीय लेखक फणीश्वरनाथ रेणुले लेखेका छन्, ‘नेपाल मेरी सानो आमा, माने छोटी माँ ! जब कभी नेपाल की धरती पर पाँव रखता हूं, पहले झूककर एक चुटकी धूल शिर पर डाल लेता हूँ ।’ यो भारतीय जनताको प्रतिनिधि भाव हो । के यसलाई पनि ठट्टामा उडाउने ? मेरो मावली भाइको मनमा आशंका एक रातमा जन्मिएको होइन । यसले बदलिँदो जनसम्बन्धमा आएको रिक्तता देखाउँछ । यो रगतको साइनोमा आइपरेको भाइरस हो । कोरोना संकट गहिरिँदै जाँदा द्विदेशीय सम्बन्धमा थपिएको अनिश्चय लम्बिनु हितकर हुँदैन ।

प्रकाशित : असार ४, २०७७ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?