कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

मलर सदाको भाग्य

जनताको भाग्य र भविष्य बदल्न राज्यको छानो फेरेर मात्र हुँदैन, संरचना वा जग बदल्नुपर्छ ।
केशव दाहाल

भाग्यसम्बन्धी केही प्रश्नबाट कुरा सुरु गरौं । यहाँ ‘भाग्य’ शब्दको खास अर्थ छ । जस्तो— मान्छेको भाग्य कसले लेख्छ ? भाग्य लेख्ने मसी कस्तो हुन्छ ?

मलर सदाको भाग्य

केही विद्वान् भन्छन्— मान्छेको भाग्य स्वयं उसको मिहिनेतले लेखिन्छ । तर प्रत्येक हिउँद र बर्खा रगतपसिना एक गरेर अन्न फलाउनेहरू भोकै हुने हाम्रो समाजमा मिहिनेत र भाग्यको के साइनो छ ? कुनै बेला कमरेडहरू भन्थे— मान्छेको भाग्य क्रान्तिले निर्माण गर्छ । तर अनेक आन्दोलन र क्रान्तिपछि पनि मलर सदा र सूर्यबहादुर तामाङहरू भोकै हुने समाजमा क्रान्तिको भाष्य के हो ? कमरेड प्रधानमन्त्रीको एउटा कविता छ, ‘यो देशमा कसैले आँसु झार्नुपर्दैन ।

कोही भोको बस्नुपर्दैन । कोही उपचार नपाई मर्दैन ।’ यहाँ ‘कोही’ भनेको को हो ? ठेलागाडामा आफ्नी श्रीमती हालेर डायलसिस गर्न अस्पताल धाउने निर्धो पुरुष ? देश खोज्दै हजार किलोमिटर नाघेर सिमानामा आई थन्किएको श्रमिक ? ओडार, कान्ला र अनकन्टार भूगोलमा भोक, रोग र विभेदले थिलथिलो पारिएका चेपाङ, सदा र खत्वे ? अपमानको थप्पड खाँदै, दिनदिनै मर्दै बाँचेका ‘कोही’ जलेश्वरी र राधादेवीहरूका लागि समाजवाद र भाग्यको के साइनो छ ?

माथिका प्रश्नहरू काठमाडौंमा हुने ‘सेता बहस’ मा अटाउन छोडेको निकै भयो । तर आज पनि भुइँका लाखौं मान्छे यिनै प्रश्नको फन्दामा छन् । मात्र प्रश्न छन्, उत्तर छैनन् । यी प्रश्न यसकारण पनि महत्त्वपूर्ण छन्, हामीसँग समाजवाद छ । हामीसँग ७० वर्ष लडेर ल्याएको लोकतन्त्र छ । कम्युनिस्टहरूको (?) सरकार छ । र, कमरेड ओली देशको प्रधानमन्त्री छन् । यी तमाम उपलब्धिको जगमा के छ ? कैयौं योद्धाको रगत, पसिना र सहादतको कथा छ । तर पनि मलर सदा र सूर्यबहादुर तामाङहरू सडकमा भोकै मर्छन्, किन ? यो दुर्भाग्य एक जना वा सय जनाको होइन । यो लाखौं मान्छेको दुर्भाग्य हो, जसलाई बदल्न हाम्रो पुस्ताले लगातार तीनवटा संघर्षमा भाग लिएको थियो ।

२०४६, २०५१ र २०६२ का ती संघर्ष याद गरौं । बलिदान बेकार नजाओस् । यसर्थ सिंहदरबारलाई प्रश्न गरौं, अछाममा आत्मदाह गर्ने गरिब सिद्धार्थ आउजी र अरू लाखौं आउजीका लागि समाजवाद आउँछ कहिले ? किनभने हामीले पञ्चायत फालेकै तीस वर्ष भयो । कांग्रेस र कम्युनिस्टहरूले राज गरेकै ३० वर्ष भयो । लोकतन्त्र स्वयंको उमेर पन्ध्र वर्ष पुग्यो । तर अझै पञ्चायतमा भन्दा तुच्छ मृत्युवरण गर्न किन बाध्य छन् सदा, तामाङ र आउजीहरू ?

महाभारतको एउटा प्रसंगमा विदुर भन्छन्, ‘सत्य आँखाले देखेभन्दा गहिरो हुन्छ ।’ दासीपुत्र विदुरको त्यो भनाइले हामीलाई सत्यको गहिराइ खोज्न प्रेरित गर्छ । त्यही प्रेरणाको प्रकाशमा गमौं, नेपाली समाजका पछिल्ला सत्यहरू के हुन् ? आज पनि मान्छेहरू भोकै छन् । सत्य यही हो । आज पनि महिलाहरू दोस्रो दर्जाका आइमाईभन्दा माथि छैनन् । आज पनि नवराज विकहरू सेतीमा बगाइन्छन् । पोहोर मात्र हो एक जना बाबुले आफ्नो मृत बच्चालाई गाड्न जमिन नपाएर कोशीमा हेलेको । सहरका छिँडी, गाउँका अनकन्टार कुनाहरूमा आज पनि मान्छेहरू अलपत्र छन् । चिसोमा कठ्यांग्रिएर मर्ने र गर्मीमा बाफिनेहरू आज पनि कति छन् कति ! आज पनि स्कुल जाने बच्चाहरू भैंसी र सुँगुर धपाउन बाध्य छन् । बैंकको ब्याज, साहूको फन्दा र मालिकको दुर्व्यवहारको के हिसाब ! आज पनि हामी दाल, भात र तरकारी विदेशबाट किन्छौं अनि आफ्ना किसानहरूलाई उपहारमा आँसु दिन्छौं । सत्य यही हो । प्रत्येक समय र सन्दर्भमा आँखैअगाडि प्रकट हुने यी सत्यलाई छलेर कहाँ पुगिन्छ ? सत्यलाई नछोपौं । सत्यलाई सुनौं ।

विचार गरौं, किन असफल हुँदै छ हाम्रो लोकतन्त्र ? किन पश्चगमनको यात्रामा छ सिंहदरबार ? नेताहरूको आस्था र मूल्य–मान्यताको यति चर्को क्षयीकरण किन ? यी कुनै रहस्यमय प्रश्न होइनन् । खासमा हाम्रो लोकतन्त्रले सत्ता र शक्तिका परम्परागत चक्रव्यूहहरू भत्काउनै सकेन । लोकतन्त्रले पुराना शक्ति र स्वार्थका संरचनाहरू तोड्नुपर्थ्यो । तर उल्टो पुरानो संरचनाले लोकतान्त्रिक नेतृत्वकै आस्थाको पहाड तोडिदियो । परिणामतः संरचना फेरिएन बरु राजनीति नै पो फेरियो । निश्चय नै सतहमा हेर्दा सबै कुरा नयाँ देखिन्छ ।

जस्तो— प्रदेशहरू छन् । चुनाव हुन्छ । संसद् छ । सरकार छ । बालुवाटार छ । लोकतन्त्र छ । समाजवाद छ । तर भित्र ? भित्र नियाल्दा सबै कुरा पुरानै । संरचना पुरानै छ । शासकीय संस्कृति पुरानै छ । विभेद पुरानै छ । उत्पादन सम्बन्ध पुरानै छ । वर्चस्व पुरानै छ । बिचौलियाहरूको रजगज पुरानै छ । व्यवस्था फेरिएर के भयो ? स्वार्थकेन्द्र पुरानै छ । उही शासकीय अहंकार । उही भ्रष्टाचार । उही सर्वसत्तावाद । जानुपर्ने स्वर्गतिर, यात्रा छ नर्कको । यसको अर्थ के हो ? जनताको भाग्य र भविष्य बदल्न राज्यको छानो फेरेर मात्र हुँदैन । संरचना वा जग बदल्नुपर्छ ।

विचार गरौं, यो देश कसले चलाउँछ ? जगमा को छ ? जस्तो— मन्त्रीहरू स्वयं भन्छन्, ‘सोचेजस्तो गर्न सकिएन ।’ सचिवहरू भन्छन्, ‘यो देशमा केही हुँदैन ।’ संविधान छ । सरकार छ । कानुनहरू छन् । तर पनि सोचेजस्तो हुँदैन, किन ? सरकारका निर्णयहरू कसको इसारामा हुन्छन् ? जो पटकपटक विवादमा परिरहन्छन् । कानुनहरू कसरी बन्छन् ? जो मुख्यतः गरिबको पक्षमा हुँदैनन् । बजेटलाई कसले प्रभावित गर्छ ? जहाँ पुस्तकमा कर लाग्छ र चकलेटहरू खुला छाडिन्छन् । प्रहरी, प्रशासन कसले चलाउँछ ? अड्डा अदालतमा को बस्छन् ? अख्तियारमा को आउँछ ? भ्रष्टहरूलाई किन कारबाही हुँदैन ? पछिल्ला वर्षहरूमा सबैभन्दा धनी को भयो ? गरिबका मुद्दाहरू किन पाखा लागे ? वर्ण व्यवस्था किन जब्बर छ ? संरचना र बनावट किन पुरानै ? ध्यानपूर्वक हेर्ने हो भने स्पष्ट हुन्छ, यो सम्पूर्ण खेलकुदको सिंहासनमा छ एउटा समूह । जो हिजो प्रजातन्त्र चलाउँथ्यो, आज लोकतन्त्र चलाउँछ । सिंहदरबार, बालुवाटार र राजधानीका थप केही दरबारहरूमा निर्बाध आउजाउ गर्ने त्यो समूहमा सय वा पाँच सय मान्छे छन् । ती मान्छेहरूका वरिपरि हजार मान्छे होलान् । ती हजार मान्छेसँग छन् एक लाख आसेपासे । यो देश तिनै एक लाख मान्छेको स्वर्ग हो । उनैले चलाउँछन् यो देश । तीन करोड मान्छेको भाग्य र भविष्य तिनै सय जना मान्छेले निर्धारण गरिरहेका छन् । हाम्रो लोकतन्त्र र समाजवादको पछिल्लो नियति यही हो ।

ती सय जना को हुन् ? ती कम्युनिस्ट पनि हुन सक्छन्, कांग्रेस पनि । ती मन्त्री नहुन सक्छन् तर मन्त्रीभन्दा बलिया छन् । ती तिनै मान्छे हुन् जोसँग ओली पनि खुसी छन्, देउवा पनि । ती तिनै मान्छे हुन् जो जग्गाजमिन, व्यापार–व्यवसाय, ठेक्कापट्टा, हाइड्रो सर्वत्र छन् । २०५१ सालको विद्रोहले ती मान्छेको सत्तामा थोरै हलचल त ल्यायो, तर २०६३ ले फेरि पुनःस्थापित गरिदियो । फेरि सुरु भयो तिनैको रजगज । तिनैको चञ्चलाश्री । ती तिनै मान्छे हुन् जो ठूलठूला अन्तर्राष्ट्रिय परियोजनाहरूको मध्यस्थता गर्छन् । जो आयात–निर्यातको नियम बनाउँछन् । ठेक्का पार्छन् । ठेक्का बाँड्छन् । ती तिनै मान्छे हुन् जो राज्यबाट उपचार खर्च लिन्छन् । ती तिनै मान्छे हुन् जो कालोधन र सेतोधनको व्यापार गर्छन् । उनीहरूले अडिट गर्नुपर्दैन । बेरुजु फर्स्योट गर्नुपर्दैन । राज्यलाई दायित्व तिर्नुपर्दैन । ती तिनै मान्छे हुन् जो वाइडबडीमा पनि छन्, बालुवाटारमा पनि । उनीहरूलाई व्यापार गर्न न त कोरोनाले रोक्छ, न त भुइँचालोले । ती तिनै मान्छे हुन् जो सरकारी सुविधा लिन्छन्, जो सरकारी सुरक्षामा हिँड्छन् । सय वा पाँच सय ती तिनै मान्छे हुन् जो राज्यदोहनको षड्यन्त्र बुन्छन् र त्यसमाथि समाजवादको लेप लगाउँछन् । त्यो भूमिगत सत्ता हो जो देखिने पार्टी र राज्यसंरचनाभन्दा माथि छ, जसको न त किसानहरूसँग कुनै साइनो छ न विपन्नहरूसँग । त्यो सत्ताले मलर सदा र सूर्यबहादुरहरूलाई चिन्दैन । त्यही अबोध सत्तासँग हाम्रो लोकतान्त्रिक सरकारले साँठगाँठ गरेको छ । यही आजको सत्य हो । लोकतान्त्रिक सत्ताले आफ्नो सम्पूर्ण गरिमा तिनै मुठीभर मान्छेका पाउमा समर्पित गरेको छ । यो दुर्भाग्यलाई नतोडेसम्म जनताको भाग्य किमार्थ फेरिँदैन ।

व्यक्तिको ‘भाग्य’ कुनै एकांगी अवधारणा होइन । यो राज्य र राजनीतिको महत्त्वपूर्ण आयाम हो । व्यक्तिको भाग्य र दुर्भाग्य राजनीतिभन्दा पृथक् र निरपेक्ष हुँदैन । कुनै पनि देशमा मलर, सूर्यबहादुर, सिद्धार्थ र जोद्धीप्रसादहरू भोकै मर्छन् भने बुझ्नुपर्छ, त्यहाँको राजनीतिमा गडबडी छ । कुनै पनि देशमा नवराज विकहरूको बर्बर हत्या हुन्छ भने बुझ्नुपर्छ, त्यहाँ लोकतन्त्र र समाजवादले काम गर्दैन । जहाँ राज्यसंरचना र प्रणालीहरू केही मुठीभर मान्छेको स्वार्थमा बन्धक हुन्छन्, बुझ्नुपर्छ, त्यहाँ राजनीति छैन, दलाली छ । दलालहरूको राज्यमा जनताको भाग्य र भविष्यले आत्मदाह गर्नु के अनौठो भयो र ? त्यसैले प्रधानमन्त्रीका नाममा मेरो सम्बोधन छ । कमरेड, कृपया कविता लेख्न बन्द गरौं, बरु राज्यको नयाँ चित्र कोरौं ।

यस्तो चित्र जहाँ मलर सदाहरूको सपनाको रङ देखियोस् । जहाँ पुरानो शक्तिसम्बन्धको मैलो नभेटियोस् । यहाँ ‘चित्र’ एक ‘विम्ब’ मात्र हो । पीएम महोदय, तपाईंलाई थाहै छ, भोक निकै शक्तिशाली हुन्छ । त्यो भड्कियो भने के होला ? कृपया, भोका मान्छेहरूसँग खेलबाड नगरौं । आफूलाई बदलौं । अन्त्यमा, मलर, सूर्यबहादुर, सिद्धार्थ र जोद्धीप्रसादहरूलाई हार्दिक श्रद्धाञ्जली । उनीहरूको नाम याद राखिनेछ ।

[email protected]

प्रकाशित : असार ४, २०७७ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?