१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मर्यादित महिनावारीका तगारा

शरीरमा हुने जैविक परिवर्तनकै आधारमा महिलाले मर्यादित जीवन बाँच्न पाउने अधिकार हननको अवस्था त्यतिन्जेल अन्त हुनेछैन, जतिन्जेल महिनावारी स्वाभाविक प्रक्रिया हो भनेर बुझ्ने–बुझाउने काम हुँदैन ।
सावित्री गौतम

पोहोरको महिनावारी स्वच्छता दिवस (२८ मे) मा मैले एक ठाउँमा ‘भाषण’ दिएकी थिएँ, ‘नेपालको कानुनले छाउपडीलाई अपराधमा सूचीकृत गरेको छ । तर तपाईं–हामी आफ्ना घरमा वृद्ध बाउआमा छन्, उनीहरूले विश्वास गर्छन्, के गर्ने भन्ने बहानामा छोरी–बुहारीलाई महिनावारी बार्न लगाउँछौं । अर्थात्, सहरिया छाउपडी पालन गर्छौं । कुनै वृद्धले बलात्कार गरे भने बूढा मान्छे भनेर छोड्दिने कि नछोड्दिने ?

मर्यादित महिनावारीका तगारा

कुनै वृद्धाले हत्या गरिन् भने बूढी मान्छे हुन् भनेर छोड्दिने कि नछोड्दिने ? तर अपराधकै श्रेणीमा राखिएको महिनावारी बार्न लगाउने कामलाई बूढाबूढीले गरेको काम भनेर कहिलेसम्म छुट दिइरहन मिल्छ ?’

यो वर्षको महिनावारी स्वच्छता दिवसको तीन हप्ताअघिदेखि म चितवनमा छु । ससुराको मृत्युको शोक र कर्मकाण्डपछि तंग्रिने कोसिसमा छौं । किरिया बसेको दोस्रो दिनदेखि नै केही महिलाले मलाई प्रश्न गर्न थालेका थिए, ‘पन्छिने (महिनावारी हुने) पालो कहिले हो ?’ बहस गर्न नचाहेर मैले ‘खोइ, याद छैन’ भनेपछि उनीहरू भन्थे— ‘(रोक्ने) औषधि खानुपर्छ, बीचमा भइहाले झ्याउ हुन्छ, सबै काम नरोकिईकन सक्नुपर्छ’,‘तपाईं बस्ने ठाउँमा बार्नुहुन्न भन्ने थाहा छ, तर यस्तो काममा चाहिँ मिन्स भए वा भइसकेको भए भन्नुस्’ आदि । एक त, मृत्युको शोक मनाइरहिएको ठाउँमा वादविवाद नगरूँ भन्ने लाग्यो; अर्को, महिनावारी बार्नु, बार्न लगाइनु मर्यादामाथिको प्रहार र दण्डनीय अपराध नै हो भन्ने कतिपय महिलालाई थाहै छैन । बरु उनीहरू अत्यन्त वफादार भएर आफूमाथिको यो अमर्यादित व्यवहार पालना गरिरहेका छन् । त्यसैले महिनावारीको सवालमा महिलालाई नै दोष दिएर वादविवाद गर्नुको पनि तुक छैन ।

‘तिम्रो महिनावारीको मिति कहिले हो’ भनी सोध्नु भनेको महिलाको गोपनीयताको अधिकारको हनन पनि हो । कुनै पनि महिला महिनावारी कति गते हुन्छ, भइरहेकी छु कि छैन भनेर बताउन बाध्य हुँदिन । अझ कसैलाई जबरजस्ती महिनावारी बार्न लगाउनु त गैरकानुनी र उसमाथिको हिंसा नै हो । अझै हामीजस्ता मर्यादित महिनावारीको पैरवी गरिरहेकाहरूले त यस्ता टिप्पणीको निरीह भएर सामना गर्नुपर्छ भने, सर्वसाधारण महिलाले घरघरमा यो लडाइँ कसरी लड्न सक्लान् ? हाम्रै देशमा महिनावारीलाई अत्यन्त स्वाभाविक शारीरिक प्रक्रियाका रूपमा लिने कैयौं जाति–समुदाय छन् । तर अहिलेसम्म बाहुन–क्षत्री परिवारका हामी महिनावारीलाई अपवित्र ठान्नु, बार्नु वा बार्न लगाउनु गलत हो भनेर लेख्नुपर्ने, बोल्नुपर्ने अवस्थामा मात्र होइन, जबर्जस्ती बार्न लगाइने अवस्थाको समेत सामना गर्न विवश छौं भन्ने सम्झँदा अत्यास लाग्छ ।

महिलालाई महिनामा चार दिन अमर्यादित व्यवहार गर्नु र आफैंले अमर्यादित व्यवहार सहनुलाई यो समुदायका महिला–पुरुषले ‘चोखो/निष्ठा’ भन्दै गरेको व्याख्या अत्यन्त हास्यास्पद लाग्छ । महिनावारीसम्बन्धी विभेद कायमै राख्नका लागि हामीकहाँ केही कुतर्क निकै प्रचलित छन् ।

घरभित्रको सीमानिषेधित ‘आराम’

त्यस्ता कुतर्कहरूमध्ये एउटा हो— महिनावारीमा महिलाले आराम पाउँछन् । अधिकांश नेपाली महिलाले महिनावारीको समयमा आराम त के, पोषण र सरसफाइसम्म पाउँदैनन् । घरभित्रका काम नगरे पनि उनीहरूलाई दाउरा–घाँस गर्न र जुठा भाँडा माझ्न लगाउने चलन छ । गाईको दूध खान दिनु हुँदैन भनिन्छ । छाउगोठमा नपठाइने ठाउँमा पनि गोठको माथि धन्सारमा वा कौसीका छेउमा सुत्न लगाइन्छ । उनीहरूले महिनावारीको समयमा लगाउने लुगा अत्यन्त थोत्रा र मक्किसकेका हुन्छन् । ती लुगा र प्रयोग गर्ने टालासमेत गोठको धुरीमा वा घरबाहिर कतै सिउरिनुपर्ने हुन्छ । यी सबै काम गर्न नपर्ने सहरिया मान्छेले महिनावारीमा आराम दिलाउन महिलालाई भान्सा छुन नदिएको भनेर गरिने कुतर्क पनि उत्तिकै कमजोर छन् । किनभने शतप्रतिशत महिलालाई महिनावारीमा विशेष आराम चाहिने गरी अप्ठ्यारो हुँदैन । केही महिलाले सामान्य अवस्थामा जस्तै साधारण घरायसी काम गर्न सक्छन् । आरामकै तर्क गर्ने हो भने पनि जसरी सामान्य अस्वस्थताका बेला घरका पुरुष सदस्यले मन लागेको कुरा झिकेर खान पाउँछन्, महिनावारीमा आराम गरिरहेकी महिलालाई घरमा कोही नभएको वा भएकै बेला पनि भान्सामा छिरेर खानेकुरा झिकेर, पकाएर वा पानी सारेर खाने स्वतन्त्रता प्राप्त हुनुपर्छ ।

छाउपडी बार्दैनौं भनेर धाक लगाउने सहरिया परिवारमा पनि महिनावारीका बेला छोरी–बुहारीलाई पातलो ओढ्ने–ओछ्याउनेसहित भुइँमा सुत्न, अलग्गै बसेर खान र छुट्टै भाँडा माझ्न लगाइन्छ । नयाँ पुस्ताका आमाहरू छोरीहरूलाई सुत्ने कोठा र बिछ्यौना उही प्रयोग गर्न दिन्छौं, भान्सा र पूजाकोठामा भने बार लगाउँछौं भनेर ‘उदारता’ को बखान गर्छन् । उही सुत्ने कोठा र बिछ्यौना प्रयोग गर्न ‘दिए’ पनि महिनाका चार दिन छोरीले भान्सामा छिर्न नपाउनु, आफ्ना दाजुभाइ र बाबुसँग छोइन नपाउनु भनेको पनि असमान व्यवहार र मर्यादा हनन नै हो । महिनावारीमा गरिने सबै खाले दुव्र्यवहारले बालिका, महिला वा किशोरीको हिँडडुलको स्वतन्त्रता खोस्छ; उनीहरूलाई आवश्यक पोषण र सरसफाइबाट वञ्चित गराउँछ; बाबु र दाजुभाइसँग निर्धक्क छोइएर गफ गर्न रोकिनुपर्दा, दकस मान्न लगाइँदा उनीहरूको आत्मविश्वास गुम्छ । यसकै कारण सम्भवत: घरका छोराहरू आफूलाई दिदीबहिनीभन्दा माथिल्लो स्तरको लिंग भएको व्यक्तिका रूपमा सोचेर भित्रभित्र अहम्को विकास गर्दै र छोरीहरू आफूलाई दाजुभाइभन्दा तल्लो स्तरका व्यक्ति सोचेर हीनताबोधसाथ हुर्किन्छन् ।

एउटै घरमा हुर्केका दाजुभाइ सधैं निर्धक्क हिँडडुल गर्न पाउने तर दिदीबहिनी महिनामा चार दिन कोठाको सिमाना नाघेर भान्सामा आउन नपाउने घरका बाउआमाले छोराछोरीलाई समान शिक्षा र व्यवहार दिएका छौं भन्नु बेकार छ । अझ ‘सुधारिएको छाउगोठ’ को चर्को समर्थन गर्ने कतिपय त आफूलाई महिला हिंसाविरोधी भनेर चिनाउनेहरूसमेत छन् । आँगनको छाउगोठ जतिसुकै ‘सुधारिएर’ पाँचतारे होटेलकै स्तरको भए पनि त्यो महिलाको अमर्यादित स्थितिकै प्रतीक हो । महिनाका चार दिन छोरा घरभित्रै रहने र छोरी छाउगोठमा जानु भनेको छोरा र छोरी, महिला र पुरुषबीचको असमानता नै हो । आफूलाई महिला र पुरुषको समानताको पक्षधर पनि भन्ने र ‘सुधारिएको छाउगोठ’ को वकालत पनि गर्ने व्यक्ति या त अज्ञानीे या द्वैधचरित्रको हो भन्ने ठम्याउन कुनै आइतबार कुर्नुपर्दैन ।

महिला नै महिलाका शत्रु !

महिनावारीसम्बन्धी अन्धविश्वासको कुरा हुँदा सुनिने अर्को कुतर्क हो— ‘महिनावारी बार्न लगाउने महिला नै हुन्, घरमा आमाले छोरीलाई र सासूले बुहारीलाई बार्न लगाउने हुन्, कहिल्यै बाउ वा ससुरा वा दाजुभाइले बार्न लगाएको देखेका छौ ?’ सतहमा हेर्दा यस्तै देखिन्छ पनि । महिनावारी बार्ने वा बार्न लगाउने, छाउगोठ भत्काइँदा सुरक्षाकर्मीमाथि आक्रमण गर्न आउनेमा महिला नै अग्रपंक्तिमा देखिन्छन् । तर त्यसो गर्ने महिलाको संवादको अलिकति पत्र खोतल्ने हो भने उनीहरूले आफूले बार्नु र छोरी–बुहारीलाई बार्न लगाउनुको कारण बताउँछन्, ‘बुबा (बुहारीका ससुरा वा छोरीका बाउ) ले मार्नुहुन्छ ।’ आफू सामान्य बिरामी हुँदा, गाईभैंसीले दूध नदिँदा ‘तेरै छोरी–बुहारीले गडबडी गरे होलान्’ भन्दै आमा र सासूलाई गाली गर्दै ‘देवीदेउता’ सँग माफी माग्ने, पूजासामग्री बनाएर घरको धुरीमा सिउरिने बाउ र ससुरा हामीले देखेकै छौं । महिनावारी अपवित्र हो भन्ने अन्धविश्वास पालन गर्नेमा महिला मात्र होइन पुरुषको संख्या पनि कम छैन, बरु बढी होला ।

‘शास्त्र’ नामले चिनिने विभिन्न कथामा लेखिएको भन्दै, इन्द्र नामक ‘देउता’ ले गरेको कुनै ‘बाहुन’ को हत्याको पाप आफूले बोकिदिएबापत महिलाले महिनावारी हुनुपरेको, महिनावारी भएको समयमा ‘बाहुनको हत्या गरेको’ जत्तिकै पाप लाग्ने भएकाले अलग्गै बस्नुपर्ने, देवकार्यमा पाँच दिन र पितृकार्यमा सात दिनपछि मात्र महिला सहभागी हुन पाउने भन्ने वर्णनलाई विश्वास गर्दिनँ भन्ने पुरुष कति होलान् ? बरु यस्ता प्रसंग भएका गरुड पुराण र ऋषिपञ्चमीका कथा विशेष आसनमा बसेर चर्को स्वरमा पढ्ने पुरुष नै हुन् । महिलाले त पर बसेर यी कथा सुन्दै त्रसित हुँदै गर्ने मात्र हुन् । महिनावारी बार्न लगाउने धर्मभीरु सासू/पत्नी/नन्द–आमाजूका पछाडि धर्मभीरु ससुरा/पति/बाउ नै हुन्छन्, जसले भ्रम दिलाएका हुन्छन्— उनीहरूको ‘सुखमय’ जिन्दगी आफूहरूले धानिदिएको ‘धर्म’ का कारण सम्भव भएको हो । भान्सा आमा र सासूले धानेका हुन्छन् र उनीहरूलाई त्यहाँ ‘चोखो/निष्ठा’ कायम राखिराख्ने आदेश बाउ र ससुराले दिएका हुन्छन् भन्ने अन्दाज गर्न गाह्रो छैन । त्यसकै आधारमा भान्साका सहायक कारिन्दा अर्थात् छोरी–बुहारीलाई महिनावारी बार्न लगाएर आमा–सासूले अरूले खटाएको जिम्मेवारी मात्रै पूरा गरिरहेका हुन् । ससुरा, लोग्ने वा बाउ घरभित्रको वृत्तमा अनुपस्थित रहन्छन्; सासू–बुहारी र आमा–छोरी धेरैजसो सँगै रहने भएकाले महिनावारी बार्न वा अरू रूढि पालन गर्न सासू वा आमाहरूले प्रत्यक्ष आदेश दिएको देखिने मात्र हो ।

धर्म र संस्कृतिद्वारा स्थापित डरका कारण हामीले यसमा धेरथोर विश्वास गरेकै हुन्छौं । महिनावारी बार्न लगाउने महिलाले भन्दा बढी धर्मभीरुताले हो । घरका ‘पाञ्चायन देउता’, ‘कुलदेउता’ आदिलाई खुसी राखेर परिवारलाई ‘उँभो लगाउने’ ठेक्का लिएका धर्मभीरुताका प्रमुख कारिन्दा पुरुष र सहायक कारिन्दा महिला त त्यसका हतियार मात्र हुन् । यही धर्मभीरुताकै कारण महिनावारी बार्दैनन् भन्ने शंका लागेका छोरी–बुहारीमाथि परिवारका सदस्य बिरामी वा मृत्यु भए ‘महिनावारीमा चोखो नगरेको कारण यस्तो भएको’ भन्दै मानसिक दबाब दिइन्छ । यिनका पछाडि हामीले धर्मशास्त्र भनेर मान्दै आएका ‘कथा’ हरूमा वर्णित महिनावारीसम्बन्धी प्रसंगहरूको योगदान अवश्य छ, जुन सदियौंदेखि हाम्रो मनमा यति गडेका छन्, महिनावारीमा केही ‘तल–बितल’ पर्ला कि भनेर रूढिवादी बाबुआमाका जस्तासुकै ‘आधुनिक’ छोरा पनि डराउँछन्, छोरी–बुहारी मात्र होइन ।

‘क्रान्तिकारी’ महिलाका चुनौती

महिनावारीसम्बन्धी अन्धविश्वासबाट आफूलाई पर्ने अप्ठ्यारोबारे बहस गर्ने महिलालाई दिइने मुख्य चुनौती हो— ‘महिनावारी भएको कुरा भन्नै किन पर्छ ? लुकाउन सक्दैनौ ?’ सासू–ससुराभन्दा पर सहरमा बस्ने महिलाले महिनावारी नबार्लान्, छोरीहरूलाई बार्न नलगाउलान्, कहिलेकाहीँ गाउँ आउँदा नभनीकन लुकाउलान् पनि । यी कुरा पनि आफैंमा त्यति सजिला छैनन् । महिनावारी भएका बेला अत्यधिक रक्तस्राव हुनेहरूले छिनछिनमा धोएका टाला कता सुकाउने ? वा, फोहोर बोक्ने गाडी के हो भन्ने थाहै नभएका गाउँमा रेडिमेड स्यानिटरी प्याड कसरी नष्ट गर्ने ? जसोतसो व्यवस्थापन गरेर उनीहरूले महिनावारीको समय कटाउलान्, तर सधैं सासू–ससुरासँग बस्ने महिलाले कसरी लुकाउने ? बुहारी महिना काटुन्जेल अलग बसेको नदेखेपछि ‘पाउने भइस् कि क्या हो ?’ भन्ने प्रश्नको जवाफमा ‘होइन, महिनावारी भएर पनि नभनेकी हुँ’ भन्ने हिम्मत कसरी जुटाउने ? जुटाए पनि त्यसपछिको स्थितिको सामना एक्लैले कसरी गर्ने ? कुनै सत्र वर्षकी छोरीले महिनावारी भएको कुरा लुकाई भने ‘कसको पाप बोकिस् ?’ भनेर दिइने यातनामा उसलाई साथ कसले दिने ? महिनावारीमा अत्यधिक रगत बग्ने, पेट दुख्ने वा अन्य स्वास्थ्य समस्या हुने र परिवारका सदस्यको अनिवार्य सहयोग चाहिने छोरी–बुहारीले यथार्थ लुकाई घरधन्दा सामान्य तरिकाले गर्न कसरी सक्ने ? त्यसैले महिनावारी लुकाउनु समाधान हुँदै होइन । महिलाले नलुकाईकनै पनि नबारीकन बस्न पाउनुपर्ने स्थितिको बलियो पैरवी मात्रै उपाय हो ।

आफू बस्ने डेरा वा सहरका घरमा सानोतिनो ‘क्रान्ति’ गरिटोपलेर महिनावारीको अन्धविश्वासलाई खारेज गरेका एकादुई महिलासँग यति पुरानो, जटिल र बलियो अन्धविश्वासको साङ्लो तोड्ने तागत हुँदैन । विचारमा आधुनिक, ‘अधिकारकर्मी’ वा वादी हुनु, भेदभाव र अमर्यादाको विरोधी हुनु अनि अन्धविश्वासी ‘विपक्षी’ हरूले घेरिएको युद्धभूमिमा नितान्त एक्लो हुनु फरक कुरा हुन् । यही कारण नयाँ पुस्ताका महिला महिनावारीबारे दोधारे व्यवहार गर्न र भोग्नबाध्य छन् । सहरमा बसिरहेका छोरीहरूले घर आउँदा आफूले त लुकाउलान्, नबार्ने आफन्तको घरतिर गएर दुई–तीन दिन गुजार्लान्, तर आफ्नै आमाबाउले आफ्ना भाउजू–बुहारीलाई महिनावारी बार्न लगाएको चाहिँ प्रतिकार गर्न सक्ने अवस्थामा छैनन् । महिनावारी बार्न लगाएकामा लोग्ने र उसको घर छोडेर छोरीहरूसाथ निस्कूँ, आफ्नो विवाह नै समाप्त गरूँ वा तीन दिन आँखा चिम्लेर सबै अमर्यादा सहूँ ? यस्तो अन्तद्र्वन्द्वमै नेपाली खस परिवारका अधिकांश ‘क्रान्तिकारी’ विवाहित महिलाको जीवन गुज्रिरहेको छ । त्यसैले भन्न सकिन्छ, महिनावारीसम्बन्धी हामीले गरेको ‘क्रान्ति’ को मेलो एक इन्च पनि सरेको छैन ।

‘मनको छाउ’ भत्किने कहिले ?

नेपाली समाजमा महिनावारीको बहस हुने बित्तिकै तेर्सिने अर्को तर्क हो— ‘पहिला मनको छाउ भत्काउन जरुरी छ ।’ तर धर्मभीरुताको जरो गहिरोसँग गाडिएको समाजमा ‘मनको छाउ’ यति सजिलै भत्किनेवाला छैन । जनचेतना मात्रै पर्खेर बसे यो वर्षौंसम्म पनि बन्द हुँदैन । धार्मिक विश्वासका आधारमा कायम महिनावारीसम्बन्धी ‘नरम’ खालका हिंसालाई हिंसा हो भनेर परिवारका सदस्य र स्वयं महिलाले स्वीकार गर्न कति वर्ष लाग्ने हो, टुंगो छैन ।

घरभित्र चार दिन गरिने छुवाछूत जनचेतनाकै कारण निमिट्यान्न होला भनी ढुक्क हुन सकिने आधारहरू छैनन् । शरीरमा हुने स्वाभाविक जैविक परिवर्तनकै आधारमा महिलाले मर्यादित जीवन बाँच्न पाउने अधिकार हननको अवस्था त्यतिन्जेल अन्त हुनेछैन, जतिन्जेल महिनावारी सहज प्रक्रिया हो र घरभित्र होस् वा बाहिर, छुवाछूत अपराध हो भनेर बुझ्ने–बुझाउने काम हुँदैन ।

महिनावारीलाई महिलाको मात्रै, महिलाले महिलालाई हेपेको र उनीहरू आफैं मिलेर सल्टाउनुपर्ने मुद्दा भनेर छोड्न मिल्दैन । आफ्ना घरका महिलामाथि हुने अमर्यादित व्यवहार र छुवाछूत कुनै पनि समानतावादी र सभ्य पुरुषका लागि पनि लज्जाको विषय हो । त्यसैले महिनावारीमा हुने विभेदविरुद्ध घरका लोग्नेमान्छेको हस्तक्षेप अनिवार्य छ । घरबाहिर पनि महिनावारीको विषयलाई व्यापक बहस र छलफलसाथ कार्यान्वयनमुखी नीति अपनाएर ‘राजनीतीकरण’नगरीकन धर छैन । महिनावारी नबारेर पनि ‘भगवान्’ ले नसताएका बागी महिलाका कथा, गरुड पुराण र ऋषिपञ्चमीबाहेकका प्रगतिशील कथा वाचन गर्ने पण्डित–पुरोहित, घरका महिलालाई महिनावारीको अमर्यादा नबेहोर्न सघाएका पुरुष र मर्यादित महिनावारीका पक्षमा अलिअलि बोल्न लागेको राज्यको संयुक्त उपस्थितिसहितको अभियानले केही सघाउ अवश्य पुर्‍याउला । तर घरभित्र फर्केपछि यी सबै कुरा पालन गर्ने–नगर्ने त घरका हर्ताकर्ताको नियतमा भर पर्छ ।

अन्तरजातीय प्रेम गरेकै आधारमा युवाहरूको ज्यान लिन तम्सिने नेपाली समाजका घरभित्र महिलाले ‘हामीमाथि छुवाछूत नगर, मर्यादित जीवन बाँच्न देओ’ भनेर गरेको याचना यति सजिलै सुनिनेवाला छैन । निजी र पारिवारिक वृत्तमा राज्यको हस्तक्षेप कति जायज र कति सम्भव भन्ने बहस आफैंमा गलत होइन, तर जो महिला घरमा अन्धविश्वासी ‘आफ्ना’ हरूको घेराबन्दीमा छन्, उनीहरूका लागि वैचारिक हस्तक्षेपले मात्र सहायता पुग्दैन, केही वर्षका लागि भए पनि राज्यले गरिदिने सशक्त भौतिक हस्तक्षेप नै अपरिहार्य हुन्छ । त्यसका लागि मुलुकी अपराधसंहिता ऐनको दफा १६८(३) ले ‘रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव...’ भनेर महिनावारीमा हुने भेदभावलाई अपराधको दायरामा राखी सजायको प्रावधान पनि गरेको कुरा चर्को स्वरमा सुनाउनु जरुरी छ । औसतमा दसदेखि पचास वर्षको उमेरसम्म प्रत्येक महिनाका चार दिन महिलाले अमर्यादित जीवन बाँच्नुपर्ने अवस्थाको अन्त्य त्यतिन्जेल हुन नसक्ला, जतिन्जेल छाउगोठ मात्र होइन, सहरबजारमा गरिने महिनावारीसम्बन्धी सम्पूर्ण भेदभाव पनि उत्तिकै दण्डनीय हुन् भनेर घर, समाज र राज्यबाटै चर्को स्वरमा आवाज नउठ्ला ।

प्रकाशित : असार १, २०७७ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?