कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भेरीको तरङ्गले उठाएको दलित बहस

त्यस आन्दोलनको विपक्षमा अमेरिकामा दक्षिणपन्थी लोकप्रियतावादी शक्तिमा आसीन ‘डेमागग्’ हरु छन् भने नेपालमा दलित आन्दोलनलाई उजागर गर्न पहिलो महत्त्वपूर्ण भूमिका खेलेका दल जो सरकारमा छन्, तिनीहरु नै सामान्यीकरण गर्न आएका समाचारले हामी इतिहासको कस्तो गति समातेर जाँदै छौं भन्ने कुरा बुझिन्छ ।
अभि सुवेदी

नवराज विश्वकर्मा उनका साथीहरूसहित रुकुमको सेती गाउँमा आफ्नी प्रेमिका लिन १० जेठ, २०७७ मा गए । उनका साथमा दलित र केही गैरदलित मित्रहरू पनि थिए । उनीहरूमाथि ७० जनाजति मानिसले आक्रमण गरे । नवराजसहित ६ जनाको निर्मम हत्या गरेर तिनलाई भेरी नदीमा फालेको समाचार व्यापक भयो । यसले देशैभरि तरङ्ग जन्मियो । अहिले त्यो लहर कायमै छ ।

भेरीको तरङ्गले उठाएको दलित बहस

यो घटना भइरहेको बेला अमेरिकामा जर्ज फ्लोइडको एक श्वेत पुलिस अफिसरले ९ मिनेटसम्म घाँटी थिचेर अरू प्रहरीकै अगाडि हत्या गरेको खबरले अहिले अमेरिकामा मार्टिन लुथर किङ्गको १९६७ को रिभरसाइड् भाषण र १९८८ मा उनको हत्या भएपछिको सबभन्दा ठूलो तरङ्ग जन्मेको छ । तर नेपालमा नवराजहरूको हत्यालाई सामान्य हो भन्नका निम्ति सरकार र दलका नेताले प्रयोग गरेका खबरले अहिले हाम्रो चेतना र राजनीतिको तह कहाँ छ भन्ने देखाएको छ । अमेरिकी टावरमाथिको ११ सेप्टेम्बर २००१ को आतङ्ककारी हमलाको केही पछि हाम्रो निमन्त्रणामा अमेरिकी दार्शनिक रिचार्ड रोर्टी यहाँ सेमिनारहरू दिन आएका थिए । त्यो बेला उनले भनेका कुरा अहिले म राम्ररी बुझ्दै छु । उनले भनेका थिए, यहाँका दलितलाई तपाईंहरूको समाजमा जसरी हेरिन्छ, अमेरिकामा अश्वेत जातिका मानिसलाई त्यसरी नै हेरिन्छ । तर केही फरक देख्छु ।

अमेरिकामा अहिलेको अश्वेत जातिको आन्दोलन व्यापक भएको छ जसमा श्वेत र अरू नरनारीहरूको विशाल उछालले समर्थन गरेको छ । त्यो अब एक अमेरिकी मात्र नभएर वैश्विक आन्दोलन भएको छ । अमेरिकामा त्यस आन्दोलनको विपक्षमा दक्षिणपन्थी लोकप्रियतावादी शक्तिमा आसीन ‘डेमागग्’ हरू छन् भने नेपालमा दलित आन्दोलनलाई उजागर गर्न पहिलो महत्त्वपूर्ण भूमिका खेलेका दल जो सरकारमा छन्, तिनीहरू नै सामान्यीकरण गर्न आएका समाचारले हामी इतिहासको कस्तो गति समातेर जाँदै छौं भन्ने कुरा बुझिन्छ । यसले यो समाज अग्रगामी हुनबाट कस्ताकस्ता कारणहरूले रोकिरहेका छन् भन्ने पनि देखाउन खोजेको छ ।

यो घटनाले नेपालमा अहिले धेरै बहस र छलफल जन्माएको छ । ती सबै महत्त्वपूर्ण रूपले गम्भीर र आवश्यक छलफल हुन् । ठाउँको अभावले यी छलफलमा उठेका तीनवटा विषय र धारलाई म यो लेखमा राख्न चाहन्छु । गएका केही दिनदेखि यही समाचारपत्रमा प्रकाशित तीनवटा लेखहरूलाई लिन चाहन्छु । यी लेखहरूले नेपालको दलित समस्यालाई हेर्ने तीनवटा धारहरूको प्रतिनिधित्व गरेका छन् । सबैको उद्देश्य एउटै हो तर समाधानका तीन फरक धारहरूको तिनले प्रतिनिधित्व गरेका छन् ।

प्राध्यापक कृष्ण खनालले २५ जेठमा ‘सुधारले पुग्दैन, संरचनामै हान्नुपर्छ’ शीर्षकमा दलित पहिचानको विषयमा लेखेका छन् । उनले दलित पहिचान जोगाउने हो कि समाप्त पार्नुपर्ने हो ? भन्ने प्रश्न मूल रूपमा उठाएका छन् । उनको विचारमा जातीय विभेदको समस्याको समाप्तिका निम्ति दलितको अलग पहिचान राख्नु ठीक हो कि अरू जातिसँग अन्तर्घुलन गर्नु आवश्यक हो भन्ने कुरामा अहिले गम्भीर भएर सोच्ने मात्र होइन त्यसलाई कार्यान्वयन पनि गर्ने बेला आएको छ । खनाललाई दलितको सही प्रतिनिधित्व गर्दा समाधान हुन्छ भन्ने लागेको थियो अहिलेसम्म, तर उनले देखे अब त्यसले भएन । उनको प्रश्न छ––कति पर्खिने ? । सरिता तिवारीले ‘को रच्दै छ मनोहर कहानियाँ’ ? शीर्षकमा यो घटना र अमेरिकाका जर्ज फ्लोइडको श्वेत प्रहरीले ९ मिनेट घाँटी थिचेर हत्या गरेपछिको तरङ्गसँग जोडेर २७ जेठको कान्तिपुरमा विश्लेषण गरेकी छन् । उनले अबको पुस्ता सबै विभेदको अन्त्य गर्न चाहन्छ र शासक र शासितको चक्रव्यूह तोडेर मानिस मात्र हुन चाहन्छ भन्ने निष्कर्ष निकालेकी छन् ।

शासन संयन्त्रहरूलाई उनले पीडकको बन्धकमा परेका देखिए भन्दै कम्युनिस्ट शासनलाई मनुवादी विचारमै अल्झेको संयन्त्र भनेकी छन् । उनको चेतावनी छ बुझेर काम गरेनन् भने यसले उनीहरूको छवि झन् नराम्रो हुँदै जानेछ । विष्णुमाया परियारले जातीय ‘छुवाछूत : आतंकवादी व्यवहारको प्रतिच्छाया’ शीर्षकमा जेठ २६ को कान्तिपुरमा एउटा गम्भीर लेख लेखेकी छन् । यो लेखमा परियारले आफू दलित भएर थापा मगरसँग विवाह गरेको र भर्खरै दिवंगत भएकी सासूले स्वीकार मात्र होइन सधैं उनको जीवन सहज बनाइदिएको कुराको सम्झना गरेकी छन् । उनका पति प्रदीप परियार थापा भएको अर्को कुरा उल्लेख्य छ । परियारको निष्कर्ष छ– उनकी सासूको जस्तो व्यवहार देखाउन सकेको भए ६ जना होनहार नेपाली मर्नु पर्दैनथ्यो । परियारको जीवन नै एउटा उदाहरण हो । अमेरिकाको न्युजर्सीका मेयरको सल्लाहकार भइरहँदा, भिजिटिङ् प्रोफेसर हुँदा उनले बोध गरेको विषय हो ‘शैक्षिक, मनोवैज्ञानिक, आर्थिक, लैंगिक र राजनैतिक चेतना र सशक्तीकरण प्रभावकारी हुन्छ ।’ परियारले राज्यको कर्तव्य र नागरिकको सहयोगलाई आवश्यक ठानेकी छन् ।

दलित समस्यालाई हेर्ने यी तीनवटा दृष्टिकोणमा केही साम्य छन्, केही अन्तर छन् । तर मेरो विचारमा यी तीनै किसिमका दृष्टिकोणमाथि छलफल हुनुपर्छ । स्वतन्त्र विचारका निम्ति नाम कहलिएका र धेरै लेखिसकेका प्राध्यापक खनालले उठाएको दलित पहिचानलाई टड्कारो गरेर होइन अन्तर्घुलन गरेर समाधान निकाल्नुपर्छ भन्ने विचार दलित नेता डा अम्बेदकरले सन् १९२७ तिर उठाएका थिए । वर्ण व्यवस्थाले पीडित वर्गको मुक्तिका निम्ति पहिचान बदल्नु एउटा महत्त्वपूर्ण कुरा थियो र त्यो सन् १९३० तिर दलित पहिचानको विषय भएर उठेको थियो । भारतमा अझ उत्पीडित वर्गको उन्मुक्तिका निम्ति एउटा बृहत्तर पहिचानको प्रयोग पनि भएको थियो ।

भारतीय मूलका अमेरिकी विद्वान् ज्ञानेन्द्र पाण्डेले ‘हिस्ट्री अफ् प्रेजुडिस्’ (सन् २०१३) मा बहसमा ल्याएको विषयमा भारतीय दलित र अमेरिकी अफ्रिकी अमेरिकीहरूको आन्दोलनमा रहेका समानताको छलफल छ । यस छलफलको क्रममा हामीले विश्वविद्यालयमा ‘कल्चरल स्टडिज’ कोर्समा प्रयोग गरेको आहुतिको ‘वर्ण व्यवस्था र वर्ग संघर्ष’ (२०६७) शीर्षक किताब पनि महत्त्वपूर्ण छ । दलितहरूको बुद्ध धर्म ग्रहण आधुनिकतातिरको त्यही पहल थियो । खनालको निष्कर्ष छ, दलितहरू शासक र हैकमवादी शासकका मर्जीले दलित भनिएका हुनाले यो विभेद कृत्रिम छ र यसलाई अन्तर्घुलन, वैवाहिक सम्बन्धहरू र आफ्ना थर लेखेर तोड्दै लानुपर्छ । यो विषयमा बहसहरू भएका छन् ।

संघीय समाजवादी पार्टीको विचारमा दलित शब्द आफैमा विभेदकारी भएकाले दलितलाई शिल्पी भनेर सम्बोधन गरिनुपर्छ । तर, यो विचारसँग पनि विमति राख्ने बहसहरू दलितबाट भएका छन् । यो निकै ठूलो विषय भएकाले यहाँ छलफल गर्न सकिँदैन । अर्को धारणा भनेको सरिता तिवारीले भनेजस्तो अहिलेका शक्तिआसीनहरूका काममाथि गरिने सोझो र ठाडो आलोचना हो । यो धारणाले दलित मुक्तिको विचार लिएर आन्दोलनमा तिनलाई समावेश गरेका दलहरूका व्यवहार र आचरणलाई बुझाउँछ । दलितलाई बृहत् कम्युनिस्ट विचारभित्र समावेश गरेर आएका ‘मार्क्सवादी’ हरूको अहिलेको ‘फेक न्युज’ रचना गर्ने गतिविधिले एकाध विरोधाभास देखाउँछ ।

आन्टोनियो ग्राम्ची सबाल्टर्नको धारणा ल्याउँदा कम्युनिस्ट वा मार्क्सवादी विचारसँग जुधेका थिए । त्यो विरोधाभासको एउटा आधार थियो । नेपालका माओवादीहरूले नेपालका दलितका समस्याको एक आयामिक पहिचान गरे । उनीहरूले सिद्धान्त र नाराको ठूलो छाताको प्रयोग गरे । भारतका मार्क्सवादी इतिहासकारहरू इर्फान हबिब, रजनी पाम दत्तजस्ता विद्वान्का विश्लेषणमा यी खण्डित, मौन र दमितका पनि महत्त्वपूर्ण आन्दोलन भएका देखाइएका छन् । हबिबले साधारण किसान र तल्लो वर्गको दृष्टिबाट मार्क्सले अर्थ्याएको कुरा लेखेका छन् । तर सानै रूपमा भए पनि सबाल्टर्नका कथाको राम्ररी अध्ययन हुनुपर्छ भन्ने विचारका मार्क्सवादीहरूसँग केही भिन्नता रहे । मैले बुझेअनुसार सरिता तिवारीले तथाकथित बृहत्तर सैद्धान्तिक ढोकछोपको पर्दा ओढाउने अहिले शासन गर्ने मार्क्सवादी दल र शासनका केही मानिसहरूले दलित आन्दोलनको खास मर्मलाई दुष्प्रचार र दुरुपयोग गरेका देखिँदै छन् भनेकी छन् । त्यो आलोचना हो ।

आफ्नै जीवन र अनुभवको उदाहरण दिएर लेख्ने विष्णुमाया परियारको विचार महत्त्वपूर्ण छ । उनले शैक्षिक चेतना र समाजको विचार बद्लिनुपर्ने कुरामा जोड दिएकी छन् जुन एउटा महत्त्वपूर्ण समाधानको बाटो हो । नभएदेखि ‘भेरी नदीको प्रवाह नसुकुन्जेल आँसु बनेर बगिरहन्छ’ भन्ने उनको काव्यिक निष्कर्ष छ । दलित समस्याको समाधानमा यी तीन विचारकहरूले उठाएका विषयहरूमाथि सबैले लेखिआएका छन् । खनालको अब अति भो, भित्रै प्रहार गर्नुपर्छ भन्ने सुझाव, सरिता तिवारीको समस्याको जटिलता शक्तिमा आसीन दल र तिनको सरकारका नीति र बाटो बिराएका योजनामा रहेको छ भन्ने विचार र विष्णुमाया परियारको शिक्षा र विचार परिवर्तन गर्नुपर्छ भन्ने धारणा सबै अहिलेको दलित समस्यालाई सम्बोधन गर्न आवश्यक विषय हुन् ।

यी तीनवटा धारणाले उठाएका कुरामा इमानदार, प्रस्ट र आलोचक भएर छलफल गर्नु अहिलेको बहसको महत्त्वपूर्ण पक्ष हो । तर खनाल र सरिताका लेखले जटिल प्रश्न उठाएका छन् । ती हुन्, संविधान र व्यवस्थाले दिएको छ तर त्यो सम्पन्न गर्न किन गाह्रो भएको छ ? जसलाई लिएर हिजो सामाजिक क्रान्तिका नारा उठे अहिले तिनकै उपेक्षा गर्नुको पछाडि के रहस्य छ ? यी प्रश्नहरू अझै उत्तर बोल्छन् ।

प्रकाशित : जेष्ठ ३१, २०७७ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?