महामारीमाझ महामाई !

अन्धविश्वाससम्बन्धी सामाजिक–आर्थिक सवालहरू कालापानीसँग गाँसिएको सार्वभौमिकता वा नवराज विकको हत्याले उत्पन्न दलित मुक्तिका प्रश्नहरूभन्दा कम छैनन् ।
चन्द्रकिशोर

कोरोना भाइरसबारे देहाततिर फागुताका गाइँगुइँ  चलेको थियो । त्यतिखेर भाइरसलाई कोरोना भैया, करोनावाली भौजी नाम दिएर ख्यालठट्टा गरियो । अहिले संक्रमण फैलिएसँगै यो ‘महामाई’ का रूपमा पुजिन थालेको छ, जुन अवधारणा उत्तर भारतबाट मधेसतिर भित्रिएको हो ।

महामारीमाझ महामाई !

सुरुआती दिनमा कोरोनाबाट जोगिन अनेक धार्मिक कर्मकाण्ड प्रचारमा आए । कति ठाउँमा ती अपनाइए पनि । नयाँ–नयाँ अफवाह फैलिए, कैयौं बाबाको वाणी सुनियो तर संक्रमण रोकिएन । गाउँगाउँमा कोरोना देखिन थालेपछि यसलाई ‘देवी’ मानी पूजापाठ गरियो । भाइरसकै रफ्तारमा फैलिरहेको यस्तो प्रवृत्तिलाई उपेक्षा गर्न सकिन्न । ‘कोरोना माई’ का नाममा भक्तिगीत रचिँदै छ, माई अवतरणको कथा बुनिँदै छ, महिमागानमा चालिसा घोकिँदै छ । यी सबैलाई मिडियाले झन् फैलाउँदै छ ।

कोरोना संक्रमणसँगै जनजिब्रोमा क्वारेन्टिन, आइसोलेसन, लकडाउनजस्ता नयाँ शब्द झुन्डिए । बढी मान्छे भेला हुने धार्मिक–सांस्कृतिक अनुष्ठानहरूमा रोक लगाइयो । संक्रमणको डरले प्रार्थनागृहहरू पनि बन्द गराइए । दैनिकीमा वैज्ञानिक सोचलाई ठाउँ दिनुपर्छ भन्ने विमर्शहरू भए । मास्क नहुनेले गम्छा वा साडीको सप्कोले मुख छोपे । एकआपसमा दूरी जरुरी छ भन्ने बोध भयो । साबुन वा स्यानिटाइजर नभए पनि खरानी–पानीले हात धुन थालियो । तर पनि कोरोनासँग जोडिएर आउने अन्धविश्वास प्रज्वलनशील पदार्थजस्तै फैलिरहेछ । यस्तो किन हुन्छ ?

विश्वास–अविश्वास र श्रद्धा–अन्धश्रद्धामा भिन्नता हुन्छ । श्रद्धाले आफूलाई विश्वास गर्न सिकाउँछ, विवेकलाई बल दिन्छ, संशय निर्मूल पार्छ, तर्क–बुद्धिलाई तिखार्छ । अन्धश्रद्धाले भने विवेक नष्ट गर्छ, आशंकालाई प्रोत्साहन दिन्छ र तर्कलाई तिरस्कार । श्रद्धा कतिखेर अन्धश्रद्धामा रूपान्तरित हुन्छ, भेउ पाइँदैन । यस्तोमा सामान्यजन अन्धविश्वासको भुमरीमा फस्दै जान्छन् र बिस्तारै अन्धविश्वास नै धर्म बन्दै जान्छ । अन्धविश्वास अँगालेकाहरूले कुनै तर्क सुन्न चाहँदैनन् । तर्कले मानसिक चपेटामा परेका वा भीडको मनोविज्ञानमा सामेल भइसकेकाहरूको भरोसामा आघात पुर्‍याउँछ । अन्धविश्वास एउटा मान्यता हो, जसको खाल्डोमा डुबेपछि तथ्य र तर्कको औचित्य अनि सही र गलतबीचको फरकको अर्थ रहन्न ।

विश्वभर संक्रमण बढ्दै गएका बेला देहातमा भाइरसलाई कोरोना माई भनेर महिमामण्डित गरिँदै छ । कोरोनाले हाम्रो गाउँघर घेरिसक्यो । भाइरसको पूजा फलानो–फलानो दिन हुनुपर्ने, नौ अंकसँग जोडिएको उपक्रम पूर्ण गर्नुपर्ने तथा एउटा चमत्कारी कथा पनि वाचन गर्नुपर्ने जस्ता आख्यान–रचनाका पछाडि न कुनै बाबाहरू देखिएका छन् न त कुनै यस्तै संगठन, तैपनि यस्तो कुराले प्रचार पायो । यसका सामाजिक–आर्थिक सवालहरू कालापानीसँग गाँसिएको सार्वभौमिकता वा नवराज विकको हत्याले उत्पन्न दलितमुक्तिका प्रश्नहरूभन्दा कम छैनन् । तर कुनै पनि तहको सरकारले यसबारे बोल्न नचाहनु आश्चर्यजनक छ । सरकारहरूले अन्धविश्वासविरुद्ध सचेतनाको रणनीति ल्याएका छैनन् । कसैले यो विषयमा सरकारलाई प्रश्न गरेको पनि छैन । अहिलेको सत्ताले आधुनिक प्रविधिको प्रयोग गर्न त जानेको छ तर वैज्ञानिक सोच मन पराउँदैन । वैज्ञानिक चेतले प्रश्न गर्न सिकाउँछ । प्रश्नले तथ्य र तर्कपूर्ण जवाफ खोज्छ । हाम्रा सरकारहरू आफूलाई मिथकमा परिणत गर्न तम्सिएका छन्, ताकि कसैले तिनको उपस्थितिलाई चुनौती दिन नसकोस् । तिनीहरू आफ्नो राजनीतिक अभ्युदयलाई कुनै अवतारभन्दा कम ठान्दैनन् र त अरिंगाल जमात दण्डवत्मा बिनासर्त हाजिर हुन्छ । हामी राजनीतिक र मानवीय दृष्टिले पछाडि धकेलिँदै छौं भन्ने यसले देखाउँछ । गणतन्त्रले परिकल्पना गरेको आधुनिक मान्छेमा अति आदिम प्रवृत्तिहरूको पुनरुदय हुँदै गएको छ ।

रोगलाई दैवीय प्रकोप त्यही समाजले मान्छ, जहाँ दैव–इच्छाले जातको सोपानतन्त्रमा कोही पीँधमा पुगेको ठहराइन्छ । जसलाई जित्न सकिएन, जसको प्रकोपबाट जोगिन सकिएन, जहाँ शोधले काम गरेन, त्यहाँ त्यो पक्षलाई दैवीय रूपमा ग्रहण गर्न थालियो । कुनै बखत हैजाबाट जोगिन ज्वरस्तोत्र सिफारिस गरियो, मलेरिया लाग्दा जन्तर बाँडियो, चेचक (स्मलपक्स) लाई ‘माई आएको’ भनियो । चेचक कोरोनाजस्तै विषाणुजनित रोग हो । चेचकलाई यसै गरी शीतला माईका रूपमा दैवीकरण गरियो, मन्दिर बने, भजन गाइए, चालिसा पाठ भए ।

अन्धविश्वास हाम्रो समाजमा अपरिचित छैन, तर लामो परिवर्तनको यात्राका बावजुद फेरि उही ढंगढाँचामा यसरी फर्किनुले सामाजिक रूपान्तरणको प्रक्रियालाई पराजित भएको देखाउँछ । र, यो हाम्रा लागि नयाँ चुनौती हो । नियतिवादविरुद्ध वैज्ञानिक र मानवतावादी चिन्तनको सूत्रपात बीसौं शताब्दीका महामारीहरूपछि भयो तर घुमीफिरी हामी अहिले त्यही चौबाटोमा आइपुग्यौं । प्रत्येक महामारीपश्चात् व्यक्ति स्वयंमा बदलिन्छ र नयाँ समाज व्यवस्था अस्तित्वमा आउँछ । सामाजिक बनोटमा विद्यमान अन्धविश्वाससँग जुध्न जुन राजनीतिक संस्कृतिबाट त्यो उत्पन्न भएको हो त्यसलाई बुझ्नुपर्छ । सामाजिक–आर्थिक अवस्थाका कारण अन्धविश्वासले ठाउँ पाउँछ र यसले उत्पन्न गरेका समस्याहरू हामीमाझ कालिय–नागजस्तै फणा फैलाएर खडा छ ।

कोरोना महामारीसँग जोडिएको राजकीय प्रबन्धको अनिश्चितता र चिकित्सा सुविधाहरूको अभावले नागरिकलाई नियतिवादी र अन्धविश्वासी बनाउँदै छ । भाइरसको जेन्डरसमेत निर्धारण भइसकेको छ । चेचकको जमानामा परिकल्पित ‘शीतला माई’ होऊन् वा अहिलेको ‘कोरोना माई’, नर वा मादा छुट्याउनुको पछाडि कुन मनोविज्ञानले काम गरेको छ ? यस्तो महाव्याधिकालमा असहाय जन आफ्नो धार्मिक परिधिको लक्ष्मणरेखालाई नाघ्दै अर्को धर्मका देवीदेवतालाई पूजा गर्न आतुर किन हुन्छन् ? सतहबाट हेर्दा यसलाई धार्मिक उदारता मानिएला, तर मिहिन दृष्टिले लगाउने हो भने यो असुरक्षित र असहाय बेलामा मुखरित हुने अन्धविश्वास नै हो । अतीतका अँध्यारा गल्लीहरूतिर फर्किंदा शासकहरूले योजनाबद्ध तरिकाले अन्धविश्वासका अवयवहरूलाई मलजल गरेको पाइन्छ । अहिलेकै नवशासकहरूले प्रार्थनागृह निर्माणलाई जति प्राथमिकता दिए त्यति विद्यालय, स्वास्थ्यकेन्द्र वा पुस्तकालयलाई दिएका छैनन् । आधुनिक हुनु भनेको वैज्ञानिक दृष्टिसम्पन्न र प्रगतिशील बन्नु हो । असल सांस्कृतिक विरासतलाई निरन्तरता दिँदै खराब चलनलाई केराको बोक्राजस्तै ताछ्दै जानु हो ।

यस्ता ‘माई’ हरूको पूजापाठमा महिलाहरू नै किन अग्रसर हुन्छन् ? महिलाहरूलाई मात्रै किन आफ्ना पति वा पुत्रको स्वास्थ्यचिन्ताले सताउँछ ? वर्णव्यवस्थामा तल रहेका जातहरूमै यो चलन किन छिटो भित्रिन्छ ? यसको जवाफ हाम्रो परम्परागत सामाजिक ढाँचामा लुकेको छ । महिला वा पिछडिएका जातहरूलाई जुन संस्कृतीकरणको गुफामा छिराइयो, त्यसैको परिणति हो यो । महिलाहरूमा व्याप्त सामाजिक–आर्थिक असुरक्षाको बोधले गर्दा परिवारका पुरुष सदस्यहरूलाई जोगाउनुपर्छ भन्ने धारणा बलियो भयो । यही मान्यताले महिलाहरू अन्धविश्वासमाथि निर्भर हुन पुगे । अर्को कारण हो— स्वास्थ्यसेवामाथि अविश्वास तथा असंवेदनशील शासकीय रवैया ।

अन्धविश्वासका कारक शासकीय र सामाजिक तन्त्र पनि हुन् । महामारीभन्दा पनि महामाईको अवधारणामा भित्रिएको अन्धविश्वासले मान्छेलाई मार्दै छ । अन्धविश्वासले मान्छेको विवेकको हत्या गर्छ । यसले शासकीय कमजोरीहरू पनि बिसाउँछ र त अक्षम सत्ताले महामाईहरूको आरती उतार्छ । अन्धविश्वासले कमजोरीमा चुकुल लगाउने भएकाले जुनसुकै सत्ताले त्यसलाई पोषित हुने अवसर दिइरहन्छ । नेपाली सत्ताले पनि यो महारोगमा आफूलाई पृथक् देखाउन सकेन ।

प्रकाशित : जेष्ठ २९, २०७७ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?