कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बीभत्स घटनाको परिप्रेक्ष्य

जनयुद्धको अग्रपंक्तिमा रहेर परिवर्तनका लागि काम गर्ने दलितको अवस्थामा किन आमूल परिवर्तन आउन सकेन ? यो प्रश्नको जवाफ माओवादी नेताहरूबाट नआएपछि अब कसलाई सोध्ने ? प्रश्नको दुर्गति हो यो ।
किशोर नेपाल

कर्णाली प्रदेशका रुकुम र जाजरकोटलाई छुट्याउने नदी हो भेरी । रुकुमको चौरजहारी यो भेगको धेरै पुरानो र ‘धनी’ बजार हो ।

बीभत्स घटनाको परिप्रेक्ष्य

अहिले चौरजहारी बजारमा यो पुरानो तुजुक कतै देखिँदैन । मध्यपश्चिमकै ठूलो खच्चड स्टेसनका रूपमा रहेको चौरजहारी बजारको विकास स्मार्ट सिटीका रूपमा हुने भएको छ । मध्यपहाडी राजमार्गले यसको कायापलट गर्नेछ ।

केही समयअघिसम्म चौरजहारीबाट मध्यपश्चिम क्षेत्रका लागि दैनिक आवश्यकताका उपभोग्य वस्तुहरूको आपूर्ति हुने गर्थ्यो । देशमा लोकतन्त्रको पुनःस्थापनापछि यो क्षेत्रमा केही सामान्य खालका ‘विकास’ भएका छन् । सबभन्दा ठूलो विकास भनेको सल्यानको सल्ली बजारदेखि जाजरकोटको खलंगासम्म मोटरबाटोको निर्माण हो । जाजरकोटबाट डोल्पाका लागि मोटरबाटोको ट्र्याक खुलिसकेको छ । अहिले जाजरकोट र रुकुम दुवैतिर यातायात आंशिक रूपले सहज छ । सल्ली बजारबाट आफ्नो पिठ्यूँमा उपभोग्य सामानको भारी बोकेर हिमालपारिको जिल्ला डोल्पासम्म पुग्ने खच्चडहरू विस्थापित भएका छन् । यसलाई पनि विकासको संकेत नै मान्नुपर्ला ।

‘जनयुद्ध’ कालमा जाजरकोट माओवादीले स्थापना गरेको ‘नमुना’ जिल्ला थियो । जुनी गाउँमा माओवादीले कम्युनको पहिलो प्रयोग गरेका थिए । हरेक बिहान जन–गणतन्त्र रेडियो घन्किन्थ्यो । यो घुम्ती रेडियो थियो । यसको स्थायी ठेगाना थिएन । समाचारका अतिरिक्त यो रेडियोले यस्ता ‘जिंगल’ बजाउँथ्यो—

सानी र उनकी आमा हिजोआज निकै

‘छरिता’ देखिन्छन्

किनभने, उनीहरू बाह्रहाते फरिया लगाउँदैनन् ।

महिला हो— अप्ठेरा कपडा नलगाउनुहोला ।

कि त कुर्ता–सुरुवाल, कि प्यान्ट–सर्ट

लगाउनुहोला ।

त्यही समयमा, रुकुमका बारेमा शाही नेपाली सेनामा कार्यरत एक सुरक्षा अधिकारीले मलाई बताएका थिए— यो रुकुम जिल्ला माओवादीको उद्गमस्थल हो । शाही सेनाले यो ठाउँ छाड्यो भने यहाँको राज्य तिनीहरूकै हातमा पर्नेछ ।

त्यति बेला ती दुवै जिल्ला चर्चित थिए, परिवर्तनका प्रतीकका रूपमा । अहिले पनि चर्चित छन्, तर बेग्लै कारणले । अहिले जाजरकोटका आधा दर्जन केटाहरूको ज्यान गएको छ । आधा दर्जन घाइते भएका छन् । बाँकी आत्तिएका छन् । भर्खरै प्रहरी सेवाका लागि भएको परीक्षामा नाम निकालेका जाजरकोटका नवराज विकले आफ्ना डेढ दर्जन साथीहरूलाई बोलाएर भने, ‘हिँड, रक्छिन जाऔं रुकुमतिर ।’ उनका ती डेढ दर्जन साथीमा आधा गैरदलित थिए भने आधा दलित । साथीहरूलाई थाहा थियो— नवराज सोती गाउँको मल्ल वंशकी कन्यासँग प्रेम गर्छन् । साथीहरू तुरुन्तै हौसिए ।

अपराह्नतिर आफ्ना साथीहरूसहित नवराज आफ्नो जाजरकोटको राना गाउँबाट रुकुमको सोती गाउँतिर लागे । त्यति बेला कसैले सोचेको थिएन, उनीहरू दुर्भाग्यतिर लम्किरहेका छन् । जाजरकोटमा लागेको ‘तालाबन्दी’ को उल्लंघन गर्दै केटाहरूको टोली रुकुमको सोती गाउँ पुग्यो । तर, त्यहाँ नवराजका लागि केटी ‘रक्छिने’ उल्लासको वातावरण थिएन ।

वातावरणमा गह्रुंगो तनाव थियो । नवराज र उनका साथीहरूलाई लखेट्न सोती र वरपर गाउँका बासिन्दा तालाबन्दी तोडेर सोतीमा जम्मा भएका थिए । सामान्य वादविवादपछि केटाहरू लखेटिए । लखेटिँदा–लखेटिँदै चार जना दलित र दुई जना गैरदलितको मृत्यु भयो । ती आधा दर्जन मृत शरीर भेरीमा फेला परे । तिनको हत्या भएको थियो कि घटना भवितव्य मात्रै थियो ? यसको उत्तरका लागि यो साता पर्खिनुपर्नेछ । सम्भवतः शुक्रबार रुकुम प्रहरीले अनुसन्धानको रिपोर्ट जिल्ला अदालतमा बुझाउनेछ ।

यो घटनालाई नेतृत्व तहमा रहेका जनप्रतिनिधि, देशमा रहेका विभिन्न दलका राजनीतिकर्मी, मानवाधिकारवादी, बुद्धिजीवी, समाजसेवी र सञ्चारकर्मीले बडो गम्भीरतापूर्वक हेरेको देखिएको छ । दलित अभियन्ता र नेताहरूले यस घटनाको वजन तौलेका छन् । दलित अधिकारका अभियन्ता तथा पूर्वसांसद विनोद पहाडीले यो ‘नरसंहार’ लाई दलितविरुद्धको नियोजित घटना बताएका छन । यसविपरीत, घटना नियोजित नभएर यसको कारण तत्काल उत्पन्न भएको उत्तेजक परिस्थिति थियो भन्ने अवस्था पनि उत्तिकै सक्रिय छ । युवावस्थामा टेक्दै गरेकी घरकी छोरी ‘लछार्न आउने’ जम्मा डेढ दर्जन केटालाई भगाउन घरेलु हतियार बोकेका तीन गाउँका झन्डै सत्तरी जनाको भीड जम्मा हुनु यसै पनि स्वाभाविक थिएन । के यो साँच्चै षड्यन्त्र थियो त ? नवराजका आधा साथीहरू गैरदलित थिए । देशका आधा दर्जन होनहार नागरिक भवितव्यमा परेका थिए वा षड्यन्त्रमा मारिएका थिए ? आशा गरौं, नेपाल प्रहरी र सरकारका अन्य अनुसन्धान संस्थाले ‘रजहाँसले जस्तै दूधको दूध पानीको पानी’ छुट्याएर यसको सत्यतथ्यसँग जनतालाई परिचित गराउनेछन् ।

नेपालमा अपराधको अनुसन्धान सधैं सत्ताधारीहरूबाट प्रभावित हुने गरेको छ । तालाबन्दीका बेला पत्रकार बोकेर मोटर गुडाउने पाससम्म गृहमन्त्रीबाट निकासा हुने देशमा दुई महत्त्वपूर्ण जिल्लाको आरपारमा देखिने गरी, जोडेर भएको यो घटना राजनीतिबाट प्रभावित नरहला भन्ने आशा गर्न पनि सकिँदैन । हरेक घटनामा सरकारले सत्यको साथ दिएको छैन, आफ्नो पक्षको साथ दिएको छ । तैपनि, रुकुम र जाजरकोट दुवैतिरका प्रभावशाली व्यक्तिका भनाइ सुन्दा र घटनालाई निष्पक्ष दृष्टिले हेर्दा यसलाई दलितविरुद्धको षड्यन्त्र मान्न सकिँदैन ।

रुकुम र जाजरकोट जिल्ला मध्यपश्चिमका अपेक्षाकृत प्रगतिशील थलो हुन् । यी जिल्लामा अन्तरजातीय विवाह त्यति ठूलो वर्जित विषय थिएन । अहिले चर्चामा रहेको सोती गाउँका मल्ल परिवारका लागि अन्तरजातीय विवाह नौलो कुरा होइन । मल्ल परिवारमा जन्मिएकी यमुना मल्लले सल्यानका विष्णु चनारासँग अन्तरजातीय विवाह गरेकी थिइन् । अहिले उनका दुई सन्तान छन् । त्यस्तै, मल्ल परिवारमै जन्मिएकी रोजी मल्लले चौरजहारीका संगम सुनारसँग बिहे गरेकी हुन् । उनका पनि दुई सन्तान छन् । यो गाउँका अर्का व्यक्ति नीमबहादुर मल्लले सल्यानकी सीता विकसँग अन्तरजातीय बिहे गरेका हुन् । नीमबहादुर र सीताका एक सन्तान (छोरा) छन् । सोती गाउँको उदार पृष्ठभूमिका लागि यी उदाहरण पर्याप्त होलान् । हो, उदाहरण जतिसुकै मननीय र प्रशंसनीय भए पनि मानिसको मन कति बेला उत्तेजित र कति बेला विक्षिप्त बन्छ, भन्न सकिँदैन ।

रुकुमको सोती र जाजरकोटको राना गाउँ जोडिएर भएको बीभत्स घटनाले नेपालका कथित बुद्धिजीवी, समाजसेवी र गैरसरकारी संस्थालाई विचलित तुल्याएको छ । अरुन्धती रायका डुप्लिकेट पनि भन्न नसुहाउने केही अवतार व्यक्तिका विरुद्ध बरबराउन थालेको पनि देखियो । सोती घटनाले कति बेला थप उत्तेजना उत्पन्न गर्ला र बालीनाली उठाउन पाइएला भनेर चौरजहारीका होटलमा बियर तान्दै नवराज ‘ड्रगिस्ट’ भएको झुटो चर्चा गर्ने दुःखी आत्माको पनि कमी देखिएन । आफूलाई वैकल्पिक मिडिया बताउने धूर्तहरूको फौजले पीडित पक्षको घर घेरेर परिवारजनको हुर्मत लिएको पनि देखियो । रुकुमको मुसीकोट नगर अन्तर्गतको सोती गाउँ, मटेलाको पुल, राना गाउँ र चौरजहारी बजार संघीय राजधानीबाट आएका सुकिलामुकिलाले फैलाएको अत्तरको बास्नामा डुब्यो । यो घोर विसंगति थियो । परिस्थिति र परिकल्पनाबीचको विसंगति । राना गाउँमा पीडितहरूको बिजोग थियो । घरधनीले आफ्नो घरमा काजकिरिया गर्न नदिएपछि पानीट्यांकीतिर किरिया गर्न पुगेको परिवार, कलिलो उमेरमा विधवा भएकी बुहारी र नाति, घरका आश्रितहरू । मानवीय करुणाको यो चित्रलाई भजाएर राजनीतिको रोटी सेक्न तयार रहेका पाखण्डीहरूको अनुहार चिनियो ।

दलितप्रति दया र सहानुभूति देखाउनेको कमी देखिएन । दलितलाई दया होइन, सम्मान दिनुपर्छ भन्ने विचार लोप देखियो । आशा थियो, संसद्मा आवाज उठ्ला । दलितको सम्मान स्थापित होला । प्रमुख प्रतिपक्षी कांग्रेसका प्रदीप गिरि, मीनेन्द्र रिजाल र गगन थापा लगायतका विचारवान् सांसदहरूले दलितको हक कायम गर्न बाध्यात्मक परिस्थितिको सिर्जना गर्लान् । जनयुद्धको अग्रपंक्तिमा रहेर परिवर्तनका लागि काम गर्ने दलितको अवस्थामा किन आमूल परिवर्तन आउन सकेन ? यो प्रश्नको जवाफ माओवादी नेताहरूबाट नआएपछि अब कसलाई सोध्ने ? प्रश्नको दुर्गति हो यो । जनयुद्ध हाँक्ने ‘नायक’ हरूमा दिन–प्रतिदिन खलनायक चरित्रको विकास भइरहेको प्रत्यक्ष देखिएको छ । नेपाल कम्युनिस्ट पार्टीले जानेर वा नजानेर सर्वसत्तावादी बाटो रोजेको छ । देशको मुख्य सिंहासनमा एउटा बिरामी मानिस बसेको छ । उसमा निर्णय क्षमता देखिँदैन । लोभमा चुर्लुम्म डुबेको छ ऊ । क्वारेन्टिनका नाममा खुलेका सुँगुरका गोठजस्ता बस्तीमा बाँच्न बाध्य छ जनता । यी सबै विसंगत स्थितिका निम्ति आफ्नो जिम्मेवारी स्वीकार नगर्ने वर्तमान सरकारको कुरा नगरौं होला ।

अब त देशका लागि आवाज उठाउनैपर्ने भएको छ ।

प्रकाशित : जेष्ठ २९, २०७७ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?