कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

अमेरिकामा सप्तरंगी विद्रोह

दासमुक्त भए पनि, निग्रोबाट काला, कालाबाट ‘कलर्ड’ र अहिले अफ्रिकी–अमेरिकी कहलिए पनि अमेरिकी न्याय व्यवस्थाले काला हुनु अपराधी हुनु बराबर ठान्छ ।
प्रमोद मिश्र

कोरोना महामारीले थलिएकै बेला ७०० भन्दा बढी अमेरिकी सहर कैयौं दिनदेखि नस्लवादविरुद्ध आन्दोलित छन् । ‘मलाई सास फेर्न गाह्रो भो,’ ‘कालाहरूको जीवन पनि जीवन हो’ (ब्ल्याक लाइभ्स म्याटर) र ‘न्याय छैन, शान्ति पनि हुन्न’ (नो जस्टिस, नो पिस) जस्ता नाराहरूले यहाँको आकाश गुञ्जायमान छ ।

अमेरिकामा सप्तरंगी विद्रोह

यसको तात्कालिक कारण, मिनियापोलिस सहरमा चार प्रहरीले जर्ज फ्ल्वोइड नामक निहत्था काला युवकलाई हात पिठ्युँपछाडि लगेर हतकडी लगाई, भुइँमा घोप्टो पारेपछि तीमध्ये एक गोरा प्रहरीले घुँडाले लगभग नौ मिनेटसम्म घाँटी थिचेर मार्नु भए पनि, अमेरिकाको स्थापनामै रहेको मानिसको नैसर्गिक समानता र व्यक्तिगत स्वतन्त्रताबीचको द्वन्द्व हो यो, जसका दुई ध्रुवमा काला र गोरा छन् ।

काला–गोरा, बूढा–अधबैंसे–जवान अमेरिकीहरूद्वारा सर्वत्र प्रतिरोधको स्वर यतिका दिनसम्म घन्काइरहनुमा कालाहरूमाथि अमेरिकी प्रहरी ज्यादतीको लामो नस्लवादी इतिहासले पनि काम गरेको छ । साथै काला–गोरासहित सबै मूलका अनगिन्ती अमेरिकीमा कालाहरूमाथि अत्याचार अति भयो भन्ने दायित्वबोध, करुणा र आक्रोशको मिश्रित भावनाको विस्फोटन पनि हो यो । सन् १९९१ मा लस एन्जलस सहरमा प्रहरीद्वारा रोड्नी किङको नृशंस पिटाइ र त्यसपछि कालाहरूले गरेको हूलदंगाबाट विरोधको थालनी भए पनि कालाहरूमाथि नस्लीय विभेद, अत्याचार, दमन भने अमेरिकामा सन् १६१९ मै सुरु भएको हो । यही वर्ष तिनलाई प्रथमपटक अफ्रिकाबाट दास बनाई अमेरिका ल्याइयो । युरोपेली मूलका (गोरा) हरूको स्वामित्वमा रहेको अपरिमित जग्गाजमिनमा तमाखु, कपासजस्ता नगदेबाली लाउन अफ्रिकाबाट दासहरू ल्याउने प्रथाका कारण सुरु भयो यो । दुई सय वर्षभन्दा बढीको दासत्वपछि अब्राहम लिंकनको नेतृत्वमा दक्षिणका दासप्रथाका हिमायती कन्फेडरेट राज्य र उत्तरका दासमुक्त युनियन राज्यबीच पाँचवर्षे (१८६०–६५) गृहयुद्ध भयो । त्यसपछि लिंकनले अफ्रिकी मूलका कालाहरूलाई दासमुक्त घोषणा (१८६३) गरे । तर तिनीहरूलाई ४० एकड जमिन र एउटा खच्चर उपलब्ध गराउने वाचा लिंकनको हत्यापछि प्रतिगामी राजनीतिक शक्तिहरूको उदयका कारण पूरा हुन सकेन ।

बाह्रवर्षे पुनर्निर्माणकाल (१८६५–७७) का दौरान संविधानको तेह्रौं, चौधौं र पन्ध्रौं संशोधनमार्फत कालाहरूले दासताबाट मुक्त भई बराबरीको नागरिक हक पाए । तर, राजनीतिक दाउपेचले गर्दा त्यसपछि एकएक गरी दक्षिणी राज्यका गोराहरूले प्रादेशिक कानुन बनाएर ती सबै अधिकार कालाहरूबाट खोसे अनि पृथक्तावाद र दमनको दुश्चक्र प्रारम्भ गरे । श्वेत वर्चस्ववादी आतंककारी संगठन कुकल्क्स क्लान (केकेके) ले कालाहरूलाई सानो गल्तीमा पनि (खास गरी गोरा महिलाहरूमाथि आँखा लाएको आरोपमा) रूखमा झुन्ड्याउने वा जलाउने, कालाहरूका घरबार र चर्चमा आगो लाउनेसहित विभिन्न किसिमका चरम अत्याचारबाट आतंकित बनाए । गोराले मुखमा कालो पोतेर कालाहरूको खिल्ली उडाउने जिमक्रो नामक काल्पनिक पात्रका नाममा पृथकीकरणको ‘जिमक्रो’ कानुन बनाएर कालाहरूलाई पाइसकेको मताधिकार र राज्यका स्रोतसाधनबाट वञ्चित पारे । यिनै अत्याचारबाट आजित र आतंकित भएर हूलका हूल कालाहरू अवसरको खोजीमा अमेरिकाको उत्तरमा रहेका औद्योगिक सहरहरूमा बसाइँ सरे । यसलाई अमेरिकी इतिहासमा ‘ग्रेट माइग्रेसन’ (१९१६–७०) भनिन्छ । त्यतिन्जेल दक्षिणी प्रदेशमा गाउँले जीवन बिताइरहेका, अधियाँ र मजदुरी गरिरहेका मुक्त दासका सन्तानहरू बसाइँसराइपछि उत्तर र पश्चिमका औद्योगिक सहरहरूमा कोच्चिएर बस्न बाध्य भए ।

तर उदार, सहरी र औद्योगिक उत्तरमा राज्यले कानुन बनाएर उनीहरूमाथि नस्लीय विभेद नगरे पनि श्वेतबहुल समाजले सामाजिक विभेद कम गरेन । सहरहरूका जुनजुन भागमा कालाहरू हजारौंहजारको संख्यामा बसाइँ सरे, त्यहाँ पहिलेदेखि नै बसिरहेका युरोपका विभिन्न मुलुकका गोराहरू सहरका छुट्टै भागमा सर्न थाले । सिकागो, टल्सा, न्युयोर्कको हार्लेम, डेट्रोइट, फिलाडेल्फिया, लस एन्जलसजस्ता उत्तर र पश्चिमका सहरमा गोराहरूले कालाहरूमाथि आक्रमण गरी दंगा गरे । दुई सय वर्षको दास प्रथाले पिल्सिएका कालाहरू पहिलेदेखि नै निपट गरिब थिए, हाम्रा मुक्त कमैयाजस्तै । दास प्रथामा कानुनी विवाह वर्जित हुनु, दास आमाबाबु र बालबच्चालाई सम्पत्तिका रूपमा गाईगोरुजस्तै बेचबिखन गरिनु आदिले यी बसाइँ सर्ने कालाहरूको, जसलाई त्यतिखेर निग्रो भनिन्थ्यो, पारिवारिक स्थिति पनि कमजोर थियो । तर अब सहरका एकै ठाउँमा घनीभूत भएर बस्न बाध्य भएपछि बाँच्नका लागि यस्ता भित्री सहरहरूमा तिनले निर्धनता र विभेदका कारण चोरी, लुटपाट, लागूपदार्थको कारोबार, हत्या, सामूहिक मारकाटजस्ता आपराधिक घटना गर्न थाले । स्थानीय करले चल्ने भएकाले र ती क्षेत्रमा व्यापार–व्यवसाय पनि नभएकाले विद्यालय, स्वास्थ्य, पुस्तकालय आदिको व्यवस्था हुन सकेन । फलस्वरूप गरिबीसँगै अशिक्षा र अशिक्षासँगै बेरोजगारी पनि त्यत्तिकै बढ्न थाल्यो ।

यस्तो परिस्थितिमा कालाहरू बस्ने सहरका भित्री भाग एकातिर अपराध जन्माउने थलो बने भने, अर्कातिर तिनै ठाउँबाट खाँटी अमेरिकी पहिचान दिने संगीत, कला र साहित्यको पनि जन्म भयो । न्युयोर्लिन्सबाट ज्याज, सिकागोबाट ब्लुज र र्‍याप, न्युयोर्कको हार्लेमबाट साहित्य, संगीत र कलाको मिश्रणसहितको ‘हार्लेम रेनेसान्स’ नामक सांस्कृतिक आन्दोलन जन्म्यो । बास्केटबल, अमेरिकी फुटबल, बेसबलजस्ता खेलबाट कालाहरू वर्जित थिए । तर, ६० को दशकको समावेशी कानुनपछि यिनै सहरहरूबाट माइकल जोर्डन, टाइगर उड्सजस्ता खेलाडी अनि माइकल ज्याक्सन र ओप्रा विन्फ्रीजस्ता गायक र कलाकार निस्के । कला र खेल क्षेत्रमा नामी भई केही कालाले निकै दाम कमाए ।

६० को दशकमा भएको भियतनाम युद्धको विरोधसँगै रूढिवाद, पितृसत्ताविरुद्ध नारीमुक्ति आन्दोलनजस्ता आम अमेरिकी विद्रोहका साथै ‘ब्ल्याक पावर मुभमेन्ट’ र ‘ब्ल्याक आर्ट्स मुभमेन्ट’ ले कालाहरूमा एउटा नयाँ आत्मविश्वास उब्जाइदिए । हार्लेम रेनेसान्सले गोराहरूलाई कालाहरूको गीत–संगीत, नृत्य र कला–साहित्यप्रति आकर्षित गराई कालाहरूको संस्कृति अमेरिकाको मूलधारमा प्रवेश गरायो । ब्ल्याक पावर मुभमेन्टले कालाहरूमा हामी आफ्नै जनजीवनमा आधारित पृथक् संस्कृति निर्माण गर्न सक्छौं भन्ने आत्मविश्वास जगाइदियो । आत्मरक्षाका लागि ब्ल्याक प्यान्थर भन्ने सशस्त्र जत्थाको पनि जन्म भयो । पहिले अभिशाप बनेको गरिबी र उत्पीडनको पीडाबाट महान् साहित्य, संगीत र कलाको जन्म पनि भयो । उदाहरणका लागि, सन् २००५ मा हरिकेन कट्रिनाले न्युयोर्लिन्सलाई ध्वस्त पारेपछि कालाहरू बसोबास गर्ने त्यहाँको वडा नम्बर ९ बाट उनीहरूको उठीबास भयो । त्यहीँबाट जन्मेको ज्याज संगीतको भविष्य अब के हुन्छ भन्न थाले टिप्पणीकारहरूले ।

तर गरिबी त गरिबी नै हुन्छ । गरिबीले गरिबी जन्माउँछ । गरिबीले अपराध जन्माउँछ र अपराधले अपराध । इसाई धर्मले, खास गरी जिजस क्राइस्टले भोगेको दुःखको उदाहरणले दासकालदेखि नै कालाहरूमा दुःख सहने प्रेरणा जाग्यो र भविष्यप्रतिको आशा मर्न दिएन । त्यही धार्मिक आशलाई लिएर मार्टिन लुथर किङले दक्षिणमा रहेको रंगभेदमा आधारित पृथकीकरणको विरोध गर्न ’६० को दशकमा अहिंसात्मक मार्ग अपनाए । उता, मेलकम एक्सले इस्लाम धर्म अपनाउँदै इँटाको जवाफ पत्थरले दिने भन्ने ‘नेसन अफ इस्लाम’ अँगाले र गोराहरूलाई (नीला आँखा भएकाले) नीलो सैतान (डेभिल) भन्न थाले ।

यी दुई धारमध्ये मार्टिन लुथरको मध्यमार्गलाई अमेरिकी सत्ताले बढी रुचायो र उनकै नेतृत्वमा नागरिक अधिकारका लागि भएको संघर्ष सफल भयो । दक्षिणी राज्यमा काला जातिलाई मतदानको अधिकारबाट वञ्चित गर्ने कानुन अमेरिकी राष्ट्रपति लिन्डन जोन्सनले खारेज गरे । फलस्वरूप, सन् १९६५ मा कालाहरूका लागि प्रथमपटक मताधिकार पाएको सय वर्षपछि मताधिकार कानुनमार्फत विभेदबिनाको मताधिकारको पुनर्बहाली भयो । साथै तिनको संघर्षकै परिणामस्वरूप अश्वेतहरू (काला, एसियाली, नेटिभ अमेरिकन, ल्याटिन अमेरिकन) को बहुतर्फी योगदान (साहित्य, संगीत, संस्कृति आदि) बारे स्कुल, कलेज र युनिभर्सिटीमा औपचारिक अध्ययन सुरू भयो ।

’६० को दशकमा भएका आन्दोलन र उथलपुथलले यी उपलब्धि त हात परे, तर अमेरिकाको सहरी माहोलमा र आर्थिक ढाँचामा खासै परिवर्तन भएन । लागूपदार्थको सेवन, बेचबिखन, अपराध, सामूहिक भिडन्तका कारण एकातिर समानान्तर अदृश्य अर्थव्यवस्था चल्न थाल्यो भने, अर्कातिर कालामाथि हिंसा महामारीका रूपमा बढ्यो । यस्तो तीव्र अपराधीकरणले कानुन व्यवस्थालाई पनि चर्को बनायो । प्रहरीकरण बढ्यो । प्रहरीको सैनिकीकरण हुन थाल्यो । सिकागोकी ग्वेन्डलिन ब्रुक्स नामकी कवयित्रीले ‘हामी मस्त’ (वी कुल) कवितामार्फत यस भित्री सहरको युवा ‘निहिलिज्म’ (विनाशवाद) लाई यसरी उजागर गरेकी छन्— ‘पुल खेलाडीहरू/सुन कोदालो बारमा/हामी मदमस्त/स्कुल छाड्यौं/छाडी अबेरसम्म घातमा बस्छौं हामी/सीधा ठोक्छौं हामी/पाप गाउँछौं/ठाडै पिउँछौं हामी/सोझै बजाउँछौं/छिटै मर्छौं हामी ।’

यसरी ठूला सहरका भित्री भागमा कालाहरू बसोबास गर्ने ठाउँ दशकौंदेखि युद्ध क्षेत्र बनेका छन् । ‘फुड डेजर्ट’ (सागसब्जी पसलविहीन क्षेत्र) बनेका छन् । स्थानीय कर दिने गरिब भएपछि आर्थिक कमजोरीका कारण त्यहाँ स्कुल निम्नस्तरका हुन्छन् । अशिक्षाले बेरोजगारी जन्माएको छ र बेरोजगारीले ‘मरता क्या नहीं करता’ अपराध । सरकारले कानुन व्यवस्था कडा पार्न प्रहरी त खटाउँछ, तर त्यहाँको आर्थिक ढाँचामा परिवर्तन गर्दैन ।

दोस्रो विश्वयुद्धपछि ध्वस्त भएका युरोप र जापानको पुनर्निर्माण अमेरिकाले मार्सल प्लानअन्तर्गत गर्‍यो । तर आफ्नै भित्री सहरहरूमा प्रहरी लगाउनुबाहेक केही गरेन । यहाँसम्म कि, बाराक ओबामाले पनि केही गरेनन्, प्रथम काला राष्ट्रपति भएबापत वाहवाही पाएर पनि । संरचना, विचार र व्यवहारमा अलिअलि सुधार भए पनि नस्लवादी विभेद रहिरह्यो ।

सन् १९९२ मा बिल क्लिन्टन राष्ट्रपति भए । उनी कालाहरूप्रति उदार त थिए, तर चुनावमा बहुसंख्यक गोराहरूको समर्थन आफूतिर पार्न आफूलाई ‘ल एन्ड अर्डर प्रेसिडेन्ट’ घोषित गरी कडा कानुन ल्याए, अपराध नियन्त्रण गर्न । तीनचोटि गैरहिंसात्मक अपराधमा भेटिए जेल जानैपर्ने व्यवस्था, ‘प्रोफाइलिङ’ (अनुहार हेरी कसलाई चेक गर्ने, कसलाई नगर्ने) व्यवस्था ल्याए । यी सबको मार स्वतः कालाहरूमाथि बढी पर्‍यो । दासमुक्त भए पनि, आफूलाई निग्रोबाट काला, कालाबाट ‘कलर्ड’ र अहिले महान् विरासत जनाउनका लागि अफ्रिकी–अमेरिकी कहलिए पनि कानुन र न्याय व्यवस्थाले उनीहरूलाई नस्लीय पूर्वाग्रहका कारण काला हुनु अपराधी हुनु बराबर ठान्छ, रूढिगत (स्टेरियोटाइप) धारणाले गर्दा ।

यही दृष्टिकोणलाई युरोप र एसियाबाट आउने आप्रवासीहरूले पनि सापट लिने गरेका कैयौं उदाहरण छन् । तर कतिपय आफ्नो चेतनास्तर बढाई यसलाई तोड्न पनि सफल भएका छन् । नेपाली मूलका फेसन डिजाइनर प्रबल गुरुङको ‘वासिङ्टन पोस्ट’ मा भर्खरै प्रकाशित लेखले यो कुरालाई उजागर गरेको छ । एक दशकअघिको कुरा हो । लस एन्जलसछेउ एक नेपाली सज्जनको घरमा भएको जमघटमा अमेरिकी कालाहरूमा अपराध बढी हुने कुरा उठ्दा म यसको ऐतिहासिक पृष्ठभूमिबारे बोल्दै के थिएँ, स्मार्टफोन भिरेका, बैंकमा काम गर्ने र हाउभाउले आफूलाई अमेरिकाको रैथाने ठान्ने तीस–पैंतीसका अर्का नेपाली सज्जनले प्याच्च भनिहाले, ‘यिनीहरू उही हाम्रा कामी–दमाईजस्ता त हुन्छन् नि ! खत्तम ! यिनीहरू यस्तै हुन्छन् ।’ म स्तब्ध भएँ र मुखबाट अंग्रेजीको ‘वाट द फ... यु आर टकिङ’ निस्की त गयो ! फेरि आफूलाई सम्हाल्दै भनें, ‘म अमेरिकामा किन यस्तो भयो भनेर भन्दै छु, तर तपाईं ? कति जना कामी–दमाईसँग तपाईंको भेट भएको छ ? फलानो, फलानो, फलानोको नाम सुन्नुभएको छ ?’ मैले नाम लिएकामध्ये कोही विद्यावारिधि थिए त कोही विद्वान् लेखक । मैले यसरी कुरा गरेको सुनेर घरबेटीको अनुहार पनि नीलोकालो भयो । किन म रिसाएँ भन्ने लाग्यो होला उनलाई ।

त्यसैले अहिलेका अमेरिकी प्रहरीहरूमा कोही राम्रा छन् त कोही कालाहरूप्रति नस्लीय पूर्वाग्रह बोकेका । सत्ता र शक्तिको विरासत र बहुसंख्यकको पहिचान भएपछि कालाहरूप्रति नस्लीय पूर्वाग्रह पाल्नु सजिलो भएको छ । तर पूर्वाग्रहविरुद्ध जागृत चेतनाको अभावमा विरलै त्यस्ता व्यक्ति हुन्छन्, जो मानिसलाई पूर्वाग्रहरहित भएर हेर्छन् ।

त्यसैले अहिले जर्ज फ्ल्वोइड हत्यापछिको आन्दोलनमा काला–गोरा–पहेंला सप्तरंगी अमेरिकी सामेल भएका छन् । किनभने अमेरिकी नयाँ पुस्तामा चेतना र न्याय भावना जाग्दो छ । आशा छ, यस आन्दोलनले दृष्टिकोण, संरचना र व्यवहारमा परिवर्तन ल्याउन सफल हुनेछ र अमेरिका आफ्नो स्थापनाकालमै परिकल्पित अझ पूर्ण गणतन्त्र बन्न सफल हुनेछ ।

प्रकाशित : जेष्ठ २७, २०७७ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?