कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नदी थाँक्रो, हामी लहरा

तारानिधि भट्टराई

हाम्रो देशमा नदीनाला, झरना, ताल, पोखरी गरी पानीका विभिन्न स्रोत छन् । जलचक्रअनुरूप यी सबै आपसमा गाँसिएका हुन्छन् । त्यसैले, पानीको एउटा स्रोतमा परेको समस्या अर्कोमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले सजिलै प्रतिविम्बित हुन्छ ।

नदी थाँक्रो, हामी लहरा

पानीको प्राकृतिक उपलब्धतालाई दीर्घकालसम्म सुनिश्चित गरी वातावरण स्वच्छ राख्न प्रत्येक स्रोतलाई संरक्षण गर्नुपर्छ । सबै स्रोतबारे एउटै लेखमा समेट्न गाह्रो हुने भएकाले यहाँ नदीलाई केन्द्रमा राखिएको छ ।

पृथ्वीको सतह अत्यन्त परिवर्तनशील छ । जमिन उचालिने, कोल्टो पर्ने, दबिने र समथर हुने प्रक्रिया विभिन्न ठाउँमा निरन्तर चलिरहेका हुन्छन् । हाम्रो देशमा हुने मनसुनी वर्षा या हिमपातले यी प्रक्रियालाई खासै फरक नपारे पनि वर्षाको भल वा हिउँ पग्लिएर निक्लिएको जल यिनैले निर्दिष्ट गरेको सबैभन्दा भिरालो सतहतिर बग्न थाल्छ । बग्ने क्रममा पानीले माटाका कणलाई पनि आफूसँगै लाँदा सानो कुलेसो बन्छ । यस्ता कुलेसाहरू आपसमा मिसिँदै जाँदा पानीको मात्रा पनि बढ्छ र मुख्य कुलेसो झन् फराकिलो र गहिरो हुँदै जान्छ । यो क्रम हजारौं वर्ष चलेपछि त्यहाँ पानीढलो बन्छ, जहाँ मुख्य नदीका साथसाथै यसका सहायक नदीनाला पनि हुन्छन् । हाम्रो देशका साना–ठूला सबै नदीनालाको उत्पत्ति यसरी नै भएको हो ।

कुनै पनि नदी त्यो क्षेत्रमा कार्यरत भौगर्भिक शक्ति र जलवायुसिर्जित परिस्थितिको साझा नतिजा हो । नदीको लम्बाइ, चौडाइ, गहिराइ र बाटो वा बग्ने तरिकाले ती कुराहरूलाई प्रतिविम्बित गरेको हुन्छ । त्यसैले नदी भन्नाले यसको सम्पूर्ण लम्बाइ (उद्गमस्थलदेखि विसर्जनस्थलसम्म नदीले ओगटेको भूभाग) लाई सम्झनुपर्छ, न कि आफूअगाडि देखिएको भाग मात्र । नदीले आफू बगेको सम्पूर्ण बगरलाई आपसमा यसरी गाँसेको हुन्छ, यसको कुनै भागमा प्राकृतिक हलचल वा मानव हस्तक्षेप भयो भने त्यसको नतिजा नदीको सम्पूर्ण भागमा वा कुनै विशिष्ट स्थानमा देखा पर्छ । उदाहरणका लागि, फराकिलो बगर बनाएर बगिरहेको नदीको माथिल्लो तटीय क्षेत्रको जमिन भौगर्भिक कारणले उचालिन थाल्यो भने, नदीको पानी तल्लो तटीय क्षेत्रतिर पहिलेको दाँजोमा चाँडो बग्न थाल्छ । चाँडो बग्दा पानी नदीको केन्द्रीय भाग (मुख्य भँगालो) तिर सोहोरिन्छ । गति र मात्रा दुवै बढेपछि पानीले आफू बगेको ठाउँको माटोलाई पनि सकेसम्म धेरै बगाउने हुनाले त्यो भाग वरिपरिको भन्दा गहिरो हुन्छ ।

फलस्वरूप, पानीजति गहिरिएर बनेको नयाँ बगरमा बग्न थाल्छ भने पुरानो बगरको बाँकी अंशचाहिँ किनारमा फाँटका रूपमा देखा पर्छ । यस्तै प्रक्रिया दोहोरिँदा नदी झन् गहिरिन्छ र दुवै किनारमा थप बगर देखा पर्छ । बगर वा फाँटमा भएको ढुंगा–माटो नदीले नै बगाउँदै ल्याएर त्यहाँ विसर्जन गरेको हो । नदी किनारमा यसरी विकास भएका कान्ले फाँटहरूलाई हाम्रा पुर्खाहरूले खेतबारी बनाएर जीविकोपार्जन गरेका हुन् । यसको अर्थ हो— नदीले हामीलाई गाउँ एव सहर बसाउन र खेतीपाती गर्नयोग्य भूमि मात्र उपलब्ध गराएन, जीवन धान्न नभई नहुने माटो र पानीको पनि जोहो गरिदिएको छ । भूमिगत जलभण्डारलाई पुनर्भरण गर्दै वर्षाको पानीलाई आफूमा समाहित गरेर किनारका बस्तीहरूलाई डुब्नबाट बचाउने काम पनि नदीले नै गरिआएको हो । पानीको विकल्परहित सदाबहार स्रोत मानेरै होला, हाम्रा पुर्खाहरू नदीलाई देवीदेवताका रूपमा पूजा गर्थे, नदीको प्राकृतिक बहावलाई बिथोल्दैनथे र नदीवरिपरि फोहोर गर्नु हुँदैन भन्थे ।

अचेल हामीले नदीको महत्त्व बिर्सिएका छौं । नदीले प्राकृतिक रूपमा सिर्जिएको बगरलाई मिचेर हामीले नदीको बहाव क्षेत्रलाई साँघुरो बनाएका छौं । कतिपय सानातिना नदीको त नामनिसानै मेटाएर बस्ती बसाएका छौं या खेती गरिरहेका छौं । शौचालयको निकास, कलकारखानाबाट निक्लने प्रदूषण एवं सहरबाट निक्लिएका विविध फोहोरमैला फाल्ने ठाउँ भएका छन् धेरैजसो नदी । मानव सभ्यतालाई अगाडि बढाउन अतुलनीय भूमिका खेलेको नदीलाई हामीले गरिरहेको तुच्छ व्यवहार प्रकृतिले कतिन्जेल सहला ?

सिँचाइ र विद्युत्का लागि बाँध बनाएर तल्लो तटीय क्षेत्रतिर बग्नलाई कति पनि नराखी सबै पानी हाम्रो स्वार्थमा प्रयोग गर्न नहिचकिचाएका प्रसंगहरूलाई समेत हामीले उपलब्धि मानेका छौं । त्यस्ता बाँधमार्फत नदीको पानीमा आश्रित जलचरहरूको जीवनचर्यालाई तहसनहस बनाएकामा पनि हामी चिन्तित देखिँदैनौं । उदाहरणका लागि, नदीमा हुने थुप्रै जलचरमध्ये बाम माछा पनि एउटा हो । वयस्क हुनै लाग्दा बंगालको खाडीबाट यो माछा गंगा हुँदै नेपाली नदीहरूमा विचरण गर्न निक्लन्छ । गंगाबाट गण्डकी हुँदै चितवनको देवघाट आइपुगेपछि यो माछा कालीगण्डकीतिर मोडिन्छ । कालीगण्डकीको तीव्र बहावविरुद्ध पौडँदै यो जलचर रिडी, बेनी, जोमसोम हुँदै कागबेनीसम्म पुगेर पुनः बंगालको खाडीतिर फर्कन्छ । हजारौं वर्षदेखि चलिआएको बाम माछाको यो रोमाञ्चक यात्रालाई हामीले नदीमा बाँध बाँधेर पूर्णविराम लगाइदिएका छौं । त्यस्ता बाँध बनाउँदा माछालाई आवतजावत गर्न ‘फिस पास’ बनाउनुपर्ने कानुनी प्रावधान भए पनि यसलाई पालना गरिएको देखिँदैन ।

नेपालले ओगटेको भूगोलमा मानिसहरू आउनुभन्दा धेरैअगाडिदेखि नै नदीहरू थिए । तिनै नदीको सहारा पाएर मानव सभ्यता यहाँ फस्टाएको हो । अर्थात्, नदी थाँक्रो हो भने, हामी लहरा हौं । तसर्थ, नदीहरूको संरक्षण र संवर्द्धन नगरी मानव अस्तित्व लामो समय कायम रहन सक्दैन । अहिले संसारलाई नै गाँजेको कोरोना भाइरसको मानिसमा संक्रमण हुनुको एउटा सम्भावित कारण वन्यजन्तु–मानिस सम्बन्धको अनुशासनमा आएको विचलनलाई मानिएको छ ।

गर्मी याममा हाम्रो देशका कैयौं भागमा पानीको अभाव हुने गरेको छ । त्यसमाथि, जलवायु परिवर्तनको प्रभावले अतिवृष्टि, खण्डवृष्टि र खडेरी बढिरहेको छ । त्यति हुँदाहुँदै पनि कथंकथाचित् मनसुनी वर्षा ढिलो भयो या देशका विभिन्न भागमा लामो खडेरी पर्‍यो भने पानीको आपूर्ति कसरी गर्ने भन्ने कल्पनासम्म हामीले गरेका छैनौं । यस्तो विषम अवस्थामा, गाउँ–बस्ती नजिकका पानीका सानातिना स्रोतहरू सुके भने नजिकैको अलिक ठूलो नदीको पानीमा भर पर्नुबाहेक अर्को उपाय हुँदैन । नदीनालालाई हामीले प्रदूषित नगरे संकटका बेला तिनैको पानी निस्फिक्रीसँग प्रयोग गर्न सकिन्थ्यो । दुर्भाग्य, हामीले धेरै नदीलाई छुनै नमिल्ने गरी प्रदूषित गरेका छौं । हाम्रो सौभाग्य, नदीहरू मृत नै भइसकेका छैनन् । ज्ञान, विज्ञान र प्रविधिको प्रयोगले तिनलाई अझै पनि प्राकृतिक स्वरूपमा फर्काउन सकिन्छ । त्यसका लागि गर्नुपर्ने पहिलो काम हो— नदीको प्राकृतिक बहाव क्षेत्रको सीमाङ्कन गरी त्यहाँभित्रको अनधिकृत बसोबासलाई यथाशीघ्र हटाउनु । दोस्रो, नदीमा फोहोर फाल्न दिनै हुन्न ।

तेस्रो, नदी किनारमा वृक्षरोपण गरी रेखदेखको जिम्मा स्थानीय बासिन्दालाई सुम्पिनुपर्छ । चौथो, नदीबाट अवैज्ञानिक तरिकाले बालुवा–गिट्टी झिक्ने र रैथाने जलचरको अनधिकृत सिकार गर्ने वा बासस्थान भत्काउने काम तुरुन्त बन्द गर्नुपर्छ । पाँचौं, स्थानीय सरकार एवं प्रदेश सरकारले आआफ्ना क्षेत्रमा कम्तीमा एउटा नदीलाई कुनै पनि किसिमको मानव हस्तक्षेपरहित भएर प्राकृतिक रूपमा वहन दिनुपर्छ । छैटौं, नदीमा पुल वा बाँध बनाउँदा वा नदीको पानी विविध काममा प्रयोग गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन गरी त्यसको नतिजालाई अक्षरशः पालना गर्नुपर्छ । जसरी हामी अहिले कोभिड–१९ सँग जुध्न एकढिका भएका छौं, त्यसै गरी नदीनाला बचाउने काममा पनि जुटिहाल्नुपर्छ ।

(भट्टराई भूगर्भशास्त्रका प्राध्यापक हुन् ।)

प्रकाशित : जेष्ठ २३, २०७७ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?