कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

दलीय अभिजातको कैदखाना

छलकपट, षड्यन्त्र, क्षणवादी बठ्याइँ मात्रलाई समृद्धिको जग भनिएको रहेछ । अब धेरैलाई यो यथार्थ छर्लंग भएको हुनुपर्छ ।
उज्ज्वल प्रसाई

कतिपय घटना र प्रसंग सोझै भन्दा अत्यन्त क्रूर, अशोभनीय, भद्दा र दिगमिगलाग्दो सुनिन सक्छन् । यथार्थको ठाडो चित्रण कहिलेकाहीँ स्वयं यथार्थभन्दा बढी भयानक बन्ने गर्छ । सत्ताप्रमुखका क्रूर ठट्टाहरू सम्झनुस् वा रुकुम हत्याकण्डको बीभत्सता, यी दुवै यथार्थलाई जस्ताको तस्तै व्यक्त गर्न कठिन हुन्छ ।

दलीय अभिजातको कैदखाना

त्यसैले विम्बहरूको खोजी गरिन्छ, काव्य र आख्यानको सहारा लिइन्छ । रोम जलिरहँदा निरोले बाँसुरी बजाएको विम्ब सार्वकालिक प्रतीत हुन्छ । रोम जलिरहेकै बेला निरोको बाँसुरी क्रूरतम यथार्थ थियो, सयौं वर्षको अन्तरालमा त्यो काव्यात्मक वा आख्यानात्मक विम्ब बन्यो ।

दलीय राजनीतिले उत्पादन गरेका अभिजातहरू आधुनिक निरो हुन् । उनीहरू दनदनी बलिरहेको रोमभन्दा अलिकति दूरीमा छन्, हलुका ताप महसुस गरेर आनन्दमा छन्, मानौं त्यो आगोबिना उनीहरू चिसा हुन्थे र कठ्यांग्रिन्थे । ओठमा बाँसुरीका प्वाल होइन, कविता वा तुकबन्दी छन् । यथार्थतर्फ पिठ्यूँ फर्काएर आराम गरिरहेका उनीहरू बेलाबेला आगोतर्फ हेर्छन्, सोझै बेतन लिने र घुमाउरो बेतन ग्रहण गर्ने आफ्नो अरिङ्गाल–सेनालाई आगोको खबर राख्न अह्राउँछन् । जतिपटक उनीहरू आगोतिर फर्कन्छन्, त्यो त्यति नै दन्किन्छ, मानौं नजर लगाएरै घ्यू थपिदिन सक्षम छन् । आगोले आफूलाई भस्म बनाउँदैन भन्नेमा उनीहरू ढुक्क छन् ।

अधिकांश मुलुकमा उस्तै अभिजातहरू शासन गर्दै छन् । मानवनिर्मित दुनियाँको अधिकांश हिस्सामा आगलागी जारी छ । मुस्किलले महामारी, आँधीहुरी, भूकम्प र सलह एकसाथ झेलेर बसेका आम मानिस आफैंसँग सोधिरहेका छन्— के हामी ‘एपोक्यालिप्स’ भोग्दै छौं ? आफ्नो भागको आगलागी बेहोरेर नेपाल कहिले तंग्रिन्छ, भन्न सकिन्न । आगो निभाउन नदिनुमा मजा मान्नेहरूको ताउरमाउर ठूलो छ । उनीहरू अतिरिक्त फुर्केर बोलेको सुन्न विद्युतीय सञ्जालको एक फेरो मारे पुग्छ, कहिलेकाहीँ अखबार पल्टाए तिनैलाई देखिन्छ । सल्लाहकारको भेषमा मजा लिनेहरूको सानोतिनो घुइँचो छ । सरकारी नागरिक समाजको खोलमा मुख मिठ्याउनेहरूको उल्लेख्य प्रभाव छ । व्यापारीको आवरणमा सरकारी कमिसन हत्याउनेहरू आगो अझै दन्काउने यत्नमा छन् । त्यसैले आगो सहजै निभ्दैन ।

अविच्छिन्न बलिरहने आगोका लागि कोरोना विषाणु पछिल्लो कारक मात्रै हो । पहिल्यै खन्याइएका इन्धनहरू धेरै छन् । गरिबी र अभावको आगो, भय र बेचैनीको आगो, रोग र भोकको आगो, जातीय विभेद र बहिष्करणको आगो, अत्याचार र हत्याको आगो, चाकरी र मोलमोलाइको आगो, अव्यवस्थापन र लापरबाहीको आगो, दण्डहीनता र भ्रष्टाचारको आगो । निरन्तर बलिरहेको आगोमा आफ्नो चिसो पिठ्यूँ सेकाउँदै कविता र गीत लेखिरहेका निरोको नेपाली नाम काढिरहन आवश्यक छैन । असली नाम र सोअनुसारको नक्सा सम्झनुभन्दा विम्बमा मात्र कल्पनु कम कठिन हुन्छ । बिस्तारै मुटु र मस्तिष्कसम्म बलिरहेको आगोको ताप सञ्चार गरेर मोक्ष पाउने निरोहरूको अन्तिम आकांक्षा हुन सक्छ ।

लोकतन्त्रमा शासक हुँदैन भनिन्थ्यो, निरो सवार भए । व्यवस्थापनका लागि राज्यको परिकल्पना गरेको भनियो, शासक बस्ने प्रत्येक मेच आफैंमा खुनी र रहस्यमयी दरबार बन्यो । मान्छे सबै बराबर हुन् भनियो, जातले मान्छेको जीवन–मरण निर्धारण गरिदियो, जातैले प्रेम र घृणा छुट्याउदियो, जातैले दण्ड र सजाय तोकिदियो । विधि पारदर्शी हुन्छ र त्यसैको शासन हुन्छ भनियो, त्यो विधिको प्रत्येक शब्द र आशयमा छल गरियो । श्रमको सम्मान हुन्छ भनियो, प्रत्येक प्रकोपले सबैभन्दा पहिला श्रमिकहरूकै ज्यान लियो, श्रमकै असाध्यै ठूलो क्षय गर्‍यो । पश्चिमा ज्ञानोदयको अभ्यास छिचोलेर आएको आधुनिकता र त्यसको जगमा बसाइएको लोकतान्त्रिक व्यवस्था त्यस्तो यथार्थ बन्यो, जसको सग्लो चित्रण आफैंमा अत्यन्तै क्रूर र आततायीपूर्ण देखिन्छ ।

लोकतन्त्रका नाममा अभ्यास गरिरहेको यो व्यवस्थाले बृहत्तर समाज र राज्यबीच स्पष्ट दूरी कायम गर्‍यो । शासन सञ्चालनका लागि औपचारिक वैधता स्थापित गर्न अत्यन्त ठूलो मिहिनेत गर्ने, त्यसका लागि निर्वाचन लगायतका औपचारिक तामझाम पनि उति नै तन्मयतासाथ प्रदर्शन गर्ने । शासकका क्रूरता छोप्न वैध सुनिने स्वादिला भाष्य तयार गर्ने, व्यवस्था र संरचनामा अन्तर्निहित अनवरत हिंसा ढाक्न विभ्रमहरू सृजना गर्ने । त्यसैले राज्य र समाजबीचको लामो दूरी देख्न हम्मे पर्छ, जर्जर हिंसा बुझ्न अप्ठ्यारो पर्छ । औपचारिक कथ्य र कागजमा जनता नै शासक देखिन्छन्, यथार्थमा जनता निरीह शासित मात्र हुन पुग्छन् ।

निर्वाचनको वैधता बोकेर हिँडेको मान्छे आम नागरिकभन्दा कता हो कता भिन्न भइसकेको हुन्छ, औपचारिकतामा त्यो देखिँदैन । वैध दस्तावेजमा जनताको प्रतिनिधि भनिने केही दर्जन मान्छे स्रोत र शक्तिको चरम दुरुपयोग गर्ने अख्तियारी लिएका अभिजात भइसकेका हुन्छन् तर औपचारिक भाषाले त्यो भन्न दिँदैन । समाजका मूलभूत आवश्यकता, समस्या र चिन्ता एकातिर हुन्छन्, वैधताको फुली भिरेका राजनीतिक अभिजातले ती आम चासोको ठीकविपरीत नीति बनाउँछन्, कानुन तर्जुमा गर्छन् र जनविरोधी काम गर्छन् । आफ्ना सारा बदमासी र नकामलाई सही साबित गर्न तिनलाई राज्य सञ्चालकहरूले वर्षौं लगाएर निर्माण गरेको भाषा र संकथनले बलियो साथ दिन्छ । आम सञ्चारमा बेलाबेला चुहिने नकामहरूको दृश्य यथार्थको अत्यन्तै सानो अंश मात्रै हो ।

ठूला विपत्ले कहिलेकाहीँ स्थापित भाष्य बेकामे साबित गरिदिन्छन्, सतहमा देखिएका रङ्गीन आवरण च्यातिदिन्छन् । कोभिड–१९ ले निम्त्याएको संकटमा सतह अलिकति उक्किएको छ, भ्रमहरू केही तोडिएका छन् । काठमाडौंदेखि बर्दियासम्म हिँड्न बाध्य पारिएका श्रमिकका खुट्टाले कम्युनिस्ट पार्टी, तिनका सत्ता र तिनले बनाएका मजदुर संगठनको सतह उधारिदिए । अंगिरा पासीको हत्या, नवराज विश्वकर्मा र उनका साथीहरूको सामूहिक हत्याले राजनीति एवं संविधानसमेतले संरक्षण गरेको संरचनागत हिंसामाथि लगाइएको रङ्गीन पर्दा च्यातिदियो । सामूहिक हत्याको बचाउमा निर्लज्ज उत्रिएका हिंस्रक शासकको असली अनुहार सतहमा ल्याइदियो । हत्याको जगमा रहेको जातीय विभेद छोप्न वा अनदेखा गर्न हरपल कोसिस गरिरहेका सुकिला अभिजातहरूको सतही उदारता उदांगो बनाइदियो । त्यसो त हिजो गरिएका सारा सामाजिक तथा राजनीतिक आन्दोलनका सीमितता पनि औंल्याइदियो ।

कोभिड–१९ ले निम्त्याउने आर्थिक संकटको सामना गर्न सुविचारित तत्कालीन र दीर्घकालीन योजना जरुरी थिए । त्यसका लागि नेपाली समाजका संकट र सम्भावना बुझेको हुनुपर्थ्यो । सामाजिक संरचना, त्यसको निरन्तरताका लागि खडा गरिएको शक्ति संरचना र साथमा अहिले भइरहेका अनेक बदलावलाई अन्दाज गर्न सक्नेले ती संकट र सम्भावना देख्न सक्थ्यो । यस वर्षका लागि पारित गरिएका नीति तथा कार्यक्रम, वार्षिक बजेट, संसद्मा भएका बहस लगायतले राजनीतिक अभिजातहरूमा सुझबुझ र कल्पनाशीलताको ठूलो अल्पता रहेको पुष्टि गर्‍यो । छलकपट, षड्यन्त्र, क्षणवादी बठ्याइँ मात्रलाई समृद्धिको जग भनिएको रहेछ, अब धेरैलाई यो यथार्थ छर्लंग भएको हुनुपर्छ । राष्ट्रवादको रमरम रौनकका छिद्रहरूबाट पनि यो दुर्मति देखिएको हुनुपर्छ ।

राजनीतिक कुलीनहरू सत्ताको कैदखानामा तबसम्म सुरक्षित रहेर आफ्ना चिसा पिठ्यूँ आम मान्छेका दुःखको आगोमा सेकाइरहन्छन्, जबसम्म समुदायले उनीहरूबाट समाज सञ्चालनको अख्तियारी छिन्न सक्दैन । यो भन्न सजिलो छ, काम थाल्न र सफल हुन महाकठिन छ । कठिनतम यात्रामा सफलता पाउने कुनै ठोस सूत्र नहुन सक्छ । पाइला चाल्दै र मौलिक सूत्रहरू बनाउँदै हिँड्न थाल्नु नै सबैभन्दा उपयुक्त तरिका हुन सक्छ । दुनियाँका अरू भेगमा यथास्थितिमा परिवर्तन चाहनेहरूले पाइला चाल्न सुरु गरेका हुन सक्छन्, तिनको खोजी गरेर संवाद स्थापित गर्नु मात्रै पनि श्रेयस्कर हुन सक्छ । महासंकटको अँध्यारोमा उज्यालोका आशा र सपना जोगाइराख्ने प्रयत्न पनि काफी हुन्छ ।

प्रकाशित : जेष्ठ २३, २०७७ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?