दलीय अभिजातको कैदखाना

छलकपट, षड्यन्त्र, क्षणवादी बठ्याइँ मात्रलाई समृद्धिको जग भनिएको रहेछ । अब धेरैलाई यो यथार्थ छर्लंग भएको हुनुपर्छ ।
उज्ज्वल प्रसाईं

कतिपय घटना र प्रसंग सोझै भन्दा अत्यन्त क्रूर, अशोभनीय, भद्दा र दिगमिगलाग्दो सुनिन सक्छन् । यथार्थको ठाडो चित्रण कहिलेकाहीँ स्वयं यथार्थभन्दा बढी भयानक बन्ने गर्छ । सत्ताप्रमुखका क्रूर ठट्टाहरू सम्झनुस् वा रुकुम हत्याकण्डको बीभत्सता, यी दुवै यथार्थलाई जस्ताको तस्तै व्यक्त गर्न कठिन हुन्छ ।

त्यसैले विम्बहरूको खोजी गरिन्छ, काव्य र आख्यानको सहारा लिइन्छ । रोम जलिरहँदा निरोले बाँसुरी बजाएको विम्ब सार्वकालिक प्रतीत हुन्छ । रोम जलिरहेकै बेला निरोको बाँसुरी क्रूरतम यथार्थ थियो, सयौं वर्षको अन्तरालमा त्यो काव्यात्मक वा आख्यानात्मक विम्ब बन्यो ।

दलीय राजनीतिले उत्पादन गरेका अभिजातहरू आधुनिक निरो हुन् । उनीहरू दनदनी बलिरहेको रोमभन्दा अलिकति दूरीमा छन्, हलुका ताप महसुस गरेर आनन्दमा छन्, मानौं त्यो आगोबिना उनीहरू चिसा हुन्थे र कठ्यांग्रिन्थे । ओठमा बाँसुरीका प्वाल होइन, कविता वा तुकबन्दी छन् । यथार्थतर्फ पिठ्यूँ फर्काएर आराम गरिरहेका उनीहरू बेलाबेला आगोतर्फ हेर्छन्, सोझै बेतन लिने र घुमाउरो बेतन ग्रहण गर्ने आफ्नो अरिङ्गाल–सेनालाई आगोको खबर राख्न अह्राउँछन् । जतिपटक उनीहरू आगोतिर फर्कन्छन्, त्यो त्यति नै दन्किन्छ, मानौं नजर लगाएरै घ्यू थपिदिन सक्षम छन् । आगोले आफूलाई भस्म बनाउँदैन भन्नेमा उनीहरू ढुक्क छन् ।

अधिकांश मुलुकमा उस्तै अभिजातहरू शासन गर्दै छन् । मानवनिर्मित दुनियाँको अधिकांश हिस्सामा आगलागी जारी छ । मुस्किलले महामारी, आँधीहुरी, भूकम्प र सलह एकसाथ झेलेर बसेका आम मानिस आफैंसँग सोधिरहेका छन्— के हामी ‘एपोक्यालिप्स’ भोग्दै छौं ? आफ्नो भागको आगलागी बेहोरेर नेपाल कहिले तंग्रिन्छ, भन्न सकिन्न । आगो निभाउन नदिनुमा मजा मान्नेहरूको ताउरमाउर ठूलो छ । उनीहरू अतिरिक्त फुर्केर बोलेको सुन्न विद्युतीय सञ्जालको एक फेरो मारे पुग्छ, कहिलेकाहीँ अखबार पल्टाए तिनैलाई देखिन्छ । सल्लाहकारको भेषमा मजा लिनेहरूको सानोतिनो घुइँचो छ । सरकारी नागरिक समाजको खोलमा मुख मिठ्याउनेहरूको उल्लेख्य प्रभाव छ । व्यापारीको आवरणमा सरकारी कमिसन हत्याउनेहरू आगो अझै दन्काउने यत्नमा छन् । त्यसैले आगो सहजै निभ्दैन ।

अविच्छिन्न बलिरहने आगोका लागि कोरोना विषाणु पछिल्लो कारक मात्रै हो । पहिल्यै खन्याइएका इन्धनहरू धेरै छन् । गरिबी र अभावको आगो, भय र बेचैनीको आगो, रोग र भोकको आगो, जातीय विभेद र बहिष्करणको आगो, अत्याचार र हत्याको आगो, चाकरी र मोलमोलाइको आगो, अव्यवस्थापन र लापरबाहीको आगो, दण्डहीनता र भ्रष्टाचारको आगो । निरन्तर बलिरहेको आगोमा आफ्नो चिसो पिठ्यूँ सेकाउँदै कविता र गीत लेखिरहेका निरोको नेपाली नाम काढिरहन आवश्यक छैन । असली नाम र सोअनुसारको नक्सा सम्झनुभन्दा विम्बमा मात्र कल्पनु कम कठिन हुन्छ । बिस्तारै मुटु र मस्तिष्कसम्म बलिरहेको आगोको ताप सञ्चार गरेर मोक्ष पाउने निरोहरूको अन्तिम आकांक्षा हुन सक्छ ।

लोकतन्त्रमा शासक हुँदैन भनिन्थ्यो, निरो सवार भए । व्यवस्थापनका लागि राज्यको परिकल्पना गरेको भनियो, शासक बस्ने प्रत्येक मेच आफैंमा खुनी र रहस्यमयी दरबार बन्यो । मान्छे सबै बराबर हुन् भनियो, जातले मान्छेको जीवन–मरण निर्धारण गरिदियो, जातैले प्रेम र घृणा छुट्याउदियो, जातैले दण्ड र सजाय तोकिदियो । विधि पारदर्शी हुन्छ र त्यसैको शासन हुन्छ भनियो, त्यो विधिको प्रत्येक शब्द र आशयमा छल गरियो । श्रमको सम्मान हुन्छ भनियो, प्रत्येक प्रकोपले सबैभन्दा पहिला श्रमिकहरूकै ज्यान लियो, श्रमकै असाध्यै ठूलो क्षय गर्‍यो । पश्चिमा ज्ञानोदयको अभ्यास छिचोलेर आएको आधुनिकता र त्यसको जगमा बसाइएको लोकतान्त्रिक व्यवस्था त्यस्तो यथार्थ बन्यो, जसको सग्लो चित्रण आफैंमा अत्यन्तै क्रूर र आततायीपूर्ण देखिन्छ ।

लोकतन्त्रका नाममा अभ्यास गरिरहेको यो व्यवस्थाले बृहत्तर समाज र राज्यबीच स्पष्ट दूरी कायम गर्‍यो । शासन सञ्चालनका लागि औपचारिक वैधता स्थापित गर्न अत्यन्त ठूलो मिहिनेत गर्ने, त्यसका लागि निर्वाचन लगायतका औपचारिक तामझाम पनि उति नै तन्मयतासाथ प्रदर्शन गर्ने । शासकका क्रूरता छोप्न वैध सुनिने स्वादिला भाष्य तयार गर्ने, व्यवस्था र संरचनामा अन्तर्निहित अनवरत हिंसा ढाक्न विभ्रमहरू सृजना गर्ने । त्यसैले राज्य र समाजबीचको लामो दूरी देख्न हम्मे पर्छ, जर्जर हिंसा बुझ्न अप्ठ्यारो पर्छ । औपचारिक कथ्य र कागजमा जनता नै शासक देखिन्छन्, यथार्थमा जनता निरीह शासित मात्र हुन पुग्छन् ।

निर्वाचनको वैधता बोकेर हिँडेको मान्छे आम नागरिकभन्दा कता हो कता भिन्न भइसकेको हुन्छ, औपचारिकतामा त्यो देखिँदैन । वैध दस्तावेजमा जनताको प्रतिनिधि भनिने केही दर्जन मान्छे स्रोत र शक्तिको चरम दुरुपयोग गर्ने अख्तियारी लिएका अभिजात भइसकेका हुन्छन् तर औपचारिक भाषाले त्यो भन्न दिँदैन । समाजका मूलभूत आवश्यकता, समस्या र चिन्ता एकातिर हुन्छन्, वैधताको फुली भिरेका राजनीतिक अभिजातले ती आम चासोको ठीकविपरीत नीति बनाउँछन्, कानुन तर्जुमा गर्छन् र जनविरोधी काम गर्छन् । आफ्ना सारा बदमासी र नकामलाई सही साबित गर्न तिनलाई राज्य सञ्चालकहरूले वर्षौं लगाएर निर्माण गरेको भाषा र संकथनले बलियो साथ दिन्छ । आम सञ्चारमा बेलाबेला चुहिने नकामहरूको दृश्य यथार्थको अत्यन्तै सानो अंश मात्रै हो ।

ठूला विपत्ले कहिलेकाहीँ स्थापित भाष्य बेकामे साबित गरिदिन्छन्, सतहमा देखिएका रङ्गीन आवरण च्यातिदिन्छन् । कोभिड–१९ ले निम्त्याएको संकटमा सतह अलिकति उक्किएको छ, भ्रमहरू केही तोडिएका छन् । काठमाडौंदेखि बर्दियासम्म हिँड्न बाध्य पारिएका श्रमिकका खुट्टाले कम्युनिस्ट पार्टी, तिनका सत्ता र तिनले बनाएका मजदुर संगठनको सतह उधारिदिए । अंगिरा पासीको हत्या, नवराज विश्वकर्मा र उनका साथीहरूको सामूहिक हत्याले राजनीति एवं संविधानसमेतले संरक्षण गरेको संरचनागत हिंसामाथि लगाइएको रङ्गीन पर्दा च्यातिदियो । सामूहिक हत्याको बचाउमा निर्लज्ज उत्रिएका हिंस्रक शासकको असली अनुहार सतहमा ल्याइदियो । हत्याको जगमा रहेको जातीय विभेद छोप्न वा अनदेखा गर्न हरपल कोसिस गरिरहेका सुकिला अभिजातहरूको सतही उदारता उदांगो बनाइदियो । त्यसो त हिजो गरिएका सारा सामाजिक तथा राजनीतिक आन्दोलनका सीमितता पनि औंल्याइदियो ।

कोभिड–१९ ले निम्त्याउने आर्थिक संकटको सामना गर्न सुविचारित तत्कालीन र दीर्घकालीन योजना जरुरी थिए । त्यसका लागि नेपाली समाजका संकट र सम्भावना बुझेको हुनुपर्थ्यो । सामाजिक संरचना, त्यसको निरन्तरताका लागि खडा गरिएको शक्ति संरचना र साथमा अहिले भइरहेका अनेक बदलावलाई अन्दाज गर्न सक्नेले ती संकट र सम्भावना देख्न सक्थ्यो । यस वर्षका लागि पारित गरिएका नीति तथा कार्यक्रम, वार्षिक बजेट, संसद्मा भएका बहस लगायतले राजनीतिक अभिजातहरूमा सुझबुझ र कल्पनाशीलताको ठूलो अल्पता रहेको पुष्टि गर्‍यो । छलकपट, षड्यन्त्र, क्षणवादी बठ्याइँ मात्रलाई समृद्धिको जग भनिएको रहेछ, अब धेरैलाई यो यथार्थ छर्लंग भएको हुनुपर्छ । राष्ट्रवादको रमरम रौनकका छिद्रहरूबाट पनि यो दुर्मति देखिएको हुनुपर्छ ।

राजनीतिक कुलीनहरू सत्ताको कैदखानामा तबसम्म सुरक्षित रहेर आफ्ना चिसा पिठ्यूँ आम मान्छेका दुःखको आगोमा सेकाइरहन्छन्, जबसम्म समुदायले उनीहरूबाट समाज सञ्चालनको अख्तियारी छिन्न सक्दैन । यो भन्न सजिलो छ, काम थाल्न र सफल हुन महाकठिन छ । कठिनतम यात्रामा सफलता पाउने कुनै ठोस सूत्र नहुन सक्छ । पाइला चाल्दै र मौलिक सूत्रहरू बनाउँदै हिँड्न थाल्नु नै सबैभन्दा उपयुक्त तरिका हुन सक्छ । दुनियाँका अरू भेगमा यथास्थितिमा परिवर्तन चाहनेहरूले पाइला चाल्न सुरु गरेका हुन सक्छन्, तिनको खोजी गरेर संवाद स्थापित गर्नु मात्रै पनि श्रेयस्कर हुन सक्छ । महासंकटको अँध्यारोमा उज्यालोका आशा र सपना जोगाइराख्ने प्रयत्न पनि काफी हुन्छ । प्रकाशित : जेष्ठ २३, २०७७ १०:२२

प्रतिक्रिया
पठाउनुहोस्

संकटमा अनलाइन शिक्षाकाे औचित्य

संकटमा आफूले नजानेका, नगरेका र मन नपराएका कामकुरामा पनि मन केन्द्रित गर्न सक्ने क्षमता चाहिन्छ । अनलाइन कक्षाहरू चल्ने क्रममा छन् र परिणाम निस्कन केही समय लाग्छ । कुनै फल नचाखीकनै मीठो छैन भन्नु गैरजिम्मेवारी हुन्छ ।
श्याम शर्मा, सुरेन्द्र सुवेदी, वन्दना जैन, वामदेव अधिकारी

दोस्रो विश्वयुद्ध चलिरहँदा पश्चिमका ‘एलाइड फोर्सेस’ लाई बुझाइको एउटा चुनौती आइलाग्यो । त्यो चुनौती थियो— जर्मन रकेट प्रहारको चोट लिएर फर्किने युद्धविमानहरूलाई जति सुधार गरे पनि नफर्किने विमानको संख्या बढ्दै जानु र मर्ने चालकहरूको संख्या थपिँदै जानु ।

यो संकट त्यतिखेर मात्र समाधान गर्न सकियो, जब एब्राहम वाल्ड नामक हंगेरीका तथ्यांकशास्त्रीले सही विश्लेषण गरेर सुझाए— फर्केर आउने विमानका जुनजुन भागमा कुनै चोट छैनन्, नफर्केका विमानहरू तिनै ठाउँमा गोली लागेर खसेको हुनुपर्छ ।

माथिको घटनाले कोरोना महामारीले सिर्जेका चुनौतीलाई बुझ्न र त्यसको असरलाई सामना गर्न मद्दत गर्छ । खास गरी स्रोतसाधन कम र सामाजिक संरचना कमजोर भएका हाम्रोजस्ता देशहरूमा तथ्य/तथ्यांकसहितको बुझाइले नीति/कार्यक्रम बनाउन ठूलो सहयोग गर्छ । यो आवश्यकता नेपालको शिक्षा क्षेत्रमा सबैभन्दा बढी टड्कारो भएको हामीले देखेका छौं ।

त्रिभुवन विश्वविद्यालयका लागि गएको महिना सम्पन्न एउटा देशव्यापी अनलाइन शिक्षण तालिम संयोजनमा हामी संलग्न थियौं । त्यो अनुभवका आधारमा, उच्च शिक्षामा केन्द्रित भई, यो लेखमा हामीले अनलाइन शिक्षणका लागि पूर्वाधार तयार गर्न सम्बन्धित सबै पक्षले आआफ्ना बुझाइमा कसरी स्पष्टता ल्याउन सक्छन् भन्नेबारे छलफल गरेका छौं ।

महामारीलाई मनन गरौं

पहिलो कुरा, कोरोना महामारीका कारण हाल शैक्षिक क्षेत्रमा भएको वस्तुगत, सामाजिक र भावनात्मक क्षतिले बनाएको संकटपूर्ण अवस्था सबैले मनन गर्नुपर्छ । आफूले प्रत्यक्ष असर नभोगेकाहरूले पनि अरूले भोगेको कठिनाइ बुझ्नुपर्छ । खास गरी नीतिनिर्माता र शिक्षकहरूले यो संकटलाई ध्यान नदिई उठाएका कदमले न प्रभावकारी परिणाम ल्याउँछन्, न त न्यायपूर्ण अवस्था नै ।

उदाहरणका लागि, मानौं कुनै काठमाडौंवासी प्राध्यापकले अनलाइन नै पढाइरहेका थिए र बीचमा यो महामारी फैलियो । अब यसको असरलाई ख्याल नगरी शिक्षणमा मात्र ध्यान दिए उनमा मानवीय चेतको अभाव रहेको झल्किन्छ । महामारीका कारण उनका विद्यार्थीका अभिभावकहरूको रोजगारी गुमेको वा आय घटेको, परिवार/आफन्तमा कोही बिरामी भएको वा विदेशमा भएको, दैनिक जीवन अस्तव्यस्त भएको, बसाइँसराइ गर्नुपरेको, मानसिक तनाव भएको जस्ता समस्या हुन सक्छन् । त्यसको अर्थ ती शिक्षक वा नीति/कार्यक्रम निर्माताले पनि, यस्ता सबै समस्याको समाधान गर्न सक्छन् भन्ने होइन । जानकार र संवेदनशील हुनुले तात्त्विक रूपमा फरकचाहिँ पार्छ नै ।

अहिले विकास गरिने ‘अपर्झट अनलाइन शिक्षा’ नहुनु मामाभन्दा जस्तोसुकै मामा राम्रो भन्ने खालको पद्धति हुन सक्छ । यो अवस्थामा एउटा नयाँ विद्युतीय शिक्षण प्रणाली स्थापना गरेर सामान्य रूपमा पूरै शिक्षा अघि बढाएको दाबी कसैले गर्छ भने त्यसमा बुझाइ वा संवेदनाको कमी भएको मान्न सकिन्छ । बरु यो ‘अधुरो दूर शिक्षा’ समेत हो भन्ने स्विकारेर त्यसलाई सकेजति राम्रो बनाउन सरोकारवालाहरूलाई मिलाएर अध्ययन, छलफल र सहकार्य गरी नीति/कार्यक्रम बनाउनु फलदायी हुन्छ । स्पष्ट र विवेकपूर्ण सोचाइले मात्र अहिले जे गर्न सकिन्छ, त्यसमा खुसीसाथ समर्पित हुन धेरैलाई प्रेरणा मिल्छ । त्यसरी गरिएको उपलब्धिले दीर्घकालीन रूपमा शिक्षामा रूपान्तरणका लागि समेत भूमिका खेल्न सक्छ ।

प्रमाणका आधारमा काम गरौं

आर्थिक–सामाजिक विकास भएका देशहरूमा समेत धेरै असमानता रहेछन् भन्ने कटु सत्य यो महामारीले उजागर गरिदिएको छ । त्यस्ता असमानताका खाडल हामीकहाँ अझै गहिरा छन् । त्यसैले जानकार पक्षहरूसँग सल्लाह लिँदै र आफ्ना विद्यार्थीको अवस्था प्रतिनिधित्व हुन सक्ने खालको अध्ययन गर्दै जान आवश्यक छ ।

अहिले अधिकतम विद्यार्थीलाई सम्पर्कमा ल्याउन सक्ने उपायहरू (जस्तो— विश्वविद्यालयप्रदत्त इमेल, सूचनामूलक वेबसाइट, मुडलजस्ता सिकाइ व्यवस्थापन प्रणाली) अवलम्बन गर्न आवश्यक छ । अध्ययन र अनुभवबाट सुधार गर्दै जाने बाटा खुल्छन् । तर सबै विद्यार्थीले अनलाइन पढ्न सक्छन् भन्ने अपेक्षा राख्ने प्रणाली सफल हुँदैन, न त कडिकडाउ गरेर प्रभावकारी हुन खोज्ने तालिम, प्रशासन वा शिक्षण नै । फर्केर आउन सक्ने विमानलाई मात्र सुधार्ने कार्यक्रमजस्तै हुन्छन् ती ।

अनलाइनमा देखिने समाचारमा कतिपय विद्वान्ले आफ्नो अनुभवका आधारमा के गर्नुपर्छ वा गर्न सकिन्छ भनी सुझाएको पाइन्छ । फरक संकाय र विषयमा पाठ्यक्रमको स्वभाव र उद्देश्य अनि शिक्षणशैली फरक हुन्छन्; जस्तो— ल्याब वर्क, पेसागत र इन्टर्नसिप अनुभव, स्थलगत खोज,सामूहिक परियोजना, केस स्टडी, पुस्तकालय वा अभिलेखालयमा गएरै गर्नुपर्ने काम, कला अभ्यास, यात्रा वा सामुदायिक कार्य आदि । त्यस्तै, सहर वा राजधानीमा बसी दूरदराजमा कस्तो अवस्था छ भन्ने जानकारी नलिई वा असंवेदनशील भएर लेख्ने वा नीति/कार्यक्रम बनाउने गर्नु हुँदैन ।

त्यसको अर्थ हामी उत्साहित, आशावादी, लगनशील नहुनु भन्ने पटक्कै होइन । सन् २०१३–१५ ताका पश्चिमी संसारमा हजारौं विद्यार्थीलाई लेक्चर दिएर एकै ठाउँ पढाइयो । दस विश्वविद्यालयबाहेक अरू बन्द गर्दा हुन्छ भनेर तर्क गर्ने धेरै उद्यमी र विद्वान्समेत देखिए । राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा प्रख्यात ती मानिसले अनलाइन शिक्षा आफैंमा पूर्णतः नयाँ विकल्प हो भन्ने तर्क गरे । पछि त्यो शैक्षिक/प्राविधिक ‘आन्दोलन’ आफैं शिक्षणको सबैभन्दा कमजोर पद्धतिको जगमा उभिएको थियो भनी शिक्षाविद्हरूले देखाइदिए । अफसोस, उनीहरूको तर्कले जनमानसको बुझाइ र शिक्षामा हुने सार्वजनिक लगानीमा असर गर्‍यो । त्यो हामीले दोहोर्‍याउनु हुँदैन,त्यो पनि यस्तो संकटका बेला । जुन कारण उड्ने कारको आशाबेच्नेहरूले राजमार्गहरूको सम्भार र विकासमा नकारात्मक असर गर्छन् भनिन्छ, त्यही कारण परिस्थितिबारे तथ्य/तथ्यांकबिना उत्साहित हुनेले पनि समाजलाई हानि पुर्‍याउँछन् ।

सुसूचित, जिम्मेवार र संवेदनशील भएर काम गर्नुलाई ब्रेक लगाउनुका रूपमा नभई गाडीलाई सही बाटामा हिँडाउनु भनेर बुझ्नुपर्छ ।

सीप र स्रोतको विकास गरौं

सिकाइलाई मूर्तरूप दिन हामीसँग के–कस्ता संरचना थिए, जुन अहिले हामीले गुमाएका छौं ? प्रविधि प्रयोगका माध्यमले के फिर्ता ल्याउन सकिन्छ, के सकिँदैन र के नयाँ ढंगले गर्नुपर्छ ? यी कुरा बुझेर स्रोत/सामग्रीको अल्पकालीन तयारी गर्नुपर्छ ।

संस्थागत तयारीले मात्र पुग्दैन । प्राविधिक र संस्कारगत पूर्वाधार बनाउन नीतिगत निर्णय, कार्यक्रम र लगानीका अलावा जनशक्तिको विकासमा सहकार्य, प्रेरणा, सेवाभाव, स्रोतको साटासाट अनि समुदाय बनाउने कामले अझ महत्त्वपूर्ण भूमिका खेल्छन् । यही बुझाइका आधारमा त्रिभुवन विश्वविद्यालयद्वारा औपचारिक प्रणाली तयार हुँदै गर्दा, चार–पाँच वर्षयता अनलाइन सहकार्य गर्दै आएका सयौं अध्यापकमध्ये हामी २५ जना स्वयंसेवीले आफूले जानेका प्रविधि प्रयोग गरेर के–कति अध्यापन गर्न सकिन्छ त भन्ने खोजी गर्‍यौं । अनि अरूलाई समेट्दै एउटा बृहत् तालिम अभियान तय गरी देशैभरिबाट ७०० भन्दा बढी प्राध्यापकलाई सहभागी गरायौं । त्यसपछि १ हजारभन्दा बढीलाई सामाजिक सञ्जालमा जोडेर सहयोगी सामग्री उपलब्ध गर्ने/गराउने समुदाय बनायौं ।

पूर्वाधार विकासको अर्को महत्त्वपूर्ण पक्ष भनेको संकटका बेला नयाँ काम गर्दा त्यसको अनुभव र उपलब्धिलाई अभिलेखीकरण गरी त्यसलाई शैक्षिक सामग्रीका रूपमा विकास गर्नु हो, जसरी हामीले गर्‍यौं । परिणामस्वरूप गत महिना देशैभरि अध्यापकहरूले आफ्ना सम्पर्कमा आउन सक्ने विद्यार्थीहरूलाई फेसबुक, युट्युब र व्यक्तिगत जुम आदि प्रयोग गरेर अनलाइन अध्यापन गर्न थाल्नुभयो । अहिले शिक्षण व्यवस्थापनको आधिकारिक प्रणाली तयार भएपछि पनि आफ्ना विद्यार्थीबाट प्रतिक्रिया लिने, उनीहरूमाझ छलफल/सहकार्य गराउने र आफूलाई प्रश्न सोध्ने अवसर दिनेजस्ता काममा हामी लाग्न सकेका छौं । संस्थागत प्रणाली तय हुँदै गर्दा प्रशिक्षित, आत्मविश्वासी र प्रविधिमैत्री पेसागत समुदाय तयार भएको छ ।

प्रविधिमैत्री बनौं, प्रविधिमत्त होइन

अनलाइन शिक्षाको विरोध गर्नेहरू राजनीतिक, सामाजिक, आर्थिक वा मानवीय कारण देखाउँछन् । तिनले देखाएका कतिपय समस्या जायज र गम्भीर पनि हुन्छन् । त्यसैले एकातिर, विरोधको प्रतिरोध होइन, समस्या छन् भने तिनलाई सम्बोधन गर्नुपर्छ । अर्कातिर, त्यस्ता विरोधले गर्न सकिने वा गर्नैपर्ने कामलाई पनि रोकिदिन्छन् । त्यसैले विरोधलाई सुन्नु र संवादमा सामेल गर्नुपर्छ ।

अर्को कुरा, प्रविधिमैत्री बन्न चाहनेले पनि दोस्रो किसिमको समस्या पैदा गर्न सक्छन् । उनीहरूले प्रविधिमैत्रीपनलाई आवश्यकभन्दा बढी देखाउने, सतही कुरा गर्ने, साध्य बिर्सेर साधनमा ध्यान दिने, प्रविधि नजान्ने ज्येष्ठ शिक्षकलाई हतोत्साहित गर्नेजस्ता काम गर्न सक्छन् । यी प्रवृत्तिले एक कदम अघि दुई कदम पछि लैजान सक्छन् ।

प्रविधिमत्त सोच र व्यवहारले जसरी उद्योग–व्यवसायमा श्रमिकलाई शोषण र अन्याय गर्छ, त्यसरी नै शिक्षामा शिक्षण स्वयम् र शिक्षार्थी अनि शिक्षकलाई बिर्सिन सक्छ । उदाहरणका लागि, विद्यार्थीले सिके/सिकेनन् भनी बुझ्न र शिक्षण सुधार्न लिइने परीक्षालाई आँखाका नानीले क्यामेरा नछुटाईकन एकपटक किबोर्डमा लेखेर आफ्नो लेखनशैली दर्ता गर्ने, अनि त्यसरी नै क्यामेरा र किबोर्डका अधीनमा रहेर घण्टौंको जाँच दिनुपर्ने व्यवस्था अपनाउन सक्छ । त्यस्तै, भिडियो क्यामेरा र लाइभ स्ट्रिमिङले विद्यार्थीले सोच्दै गर्दा बोलेका, गल्ती गरेका, संवेदनशील भावना समेटेका कुरा वा राम्ररी कुरा बुझ्नुअघि लेखेका विचारलाई इन्टरनेटको विश्वव्यापी चौतारीमा लगेर राखिदिन सक्छ । यस्तो गर्न बाध्य गराउनु वा थाहै नदिई त्यसो गरिदिनुजस्ता काम पनि प्रविधितन्त्रवादी सोचका उपज हुन् ।

ठीक र बेठीक, न्याय र अन्याय, निजी र सार्वजनिक वा व्यक्तिको स्वेच्छा र अरूको जबर्जस्तीका बीच सीमा मेटाउन सक्ने अवस्थासमेत प्रविधिमत्त सोचले निम्त्याउँछ । विश्वास प्रेरणाको आधार हो, प्रेरणा सिकाइको अनि प्रेरित भएर सिक्ने काम शिक्षाको हो भन्ने कुरा पनि बिर्साउन सक्छ । विद्यार्थीको गोपनीयताका साथै आत्मविश्वास, सहजता र परस्पर विश्वास शिक्षण सिकाइका गम्भीर आधार हुन् । प्रविधिले यस्ता मान्यताहरूलाई बेवास्ता गर्ने वातावरण बनायो भने हामी शिक्षकका पेसागत जिम्मेवारी र सामान्य आचारसंहिता भंग हुन्छन् ।

जोखिम र संवेदनशीलता नभएका ठाउँमा पनि प्रविधितान्त्रिक/मत्त सोचाइले शिक्षाको प्रभावकारिताका लागि प्रविधिलाई दाउनतिर लैजाँदैन । उल्टै प्रविधिले शिक्षालाई डोर्‍याउन थाल्छ । जस्तो— हजारौं विद्यार्थीलाई पनि एकैचोटि उत्तिकै प्रभावकारी पारामा पढाउन सक्छु भन्नेजस्ता उदांग तर्क गर्न प्रेरित गर्न सक्छ । छोटकरीमा, हामी अध्यापकहरूले झिल्केपाटी देखेपछि भित्तेपाटीलाई अनर्थमा छोड्ने बानी त्याग्न प्रविधिप्रति समालोचकीय सोच अपनाउनुपर्छ, प्रविधिमत्त होइन ।

गरेर सिकौं

महामारीको प्रभावले असमानता बढाएको अहिलेको अवस्थामा अनलाइन शिक्षणले असमानताहरूलाई अझै गहिरा नबनाओस् भनेर सोच्नुपर्छ । त्यो सोचाइलाई व्यवहारमा लागू गर्ने जिम्मेवारी सबै पक्षको हो । अनलाइन कक्षा चलाउँदा भौतिक कक्षामा गुम्न गएका सबै कुरा प्राप्त गर्न सकिन्छ भन्ने विश्वास हामीलाई किमार्थ छैन । बुझाइ र संवेदनशीलता अनि इच्छा र उत्प्रेरणाले निर्देशित गर्ने प्रणालीको आवश्यकता छ भन्ने हाम्रो दृष्टिकोण हो ।

अनलाइन कक्षाहरू चल्ने क्रममा छन् र परिणाम निस्कन केही समय लाग्छ । सबै शिक्षक र विद्यार्थीका लागि बराबर प्रविधि, पहुँच, स्वास्थ्य, रोजगारी र लगन सम्भव नहोला । यस्ता समस्याहरू अध्ययन र अनुभवबाट पहिचान गर्दै जानुपर्छ । कुनै फल नचाखीकनै मीठो छैन भन्नु गैरजिम्मेवारी हुन्छ । बरु औपचारिक प्रणाली र स्रोतसाधनले नपुगेका ठाउँमा अनौपचारिक रूपमा आआफ्ना समुदाय मिलेर सिक्नु/सिकाउनुपर्छ ।

हामीले सुरुमा भनेको कथामा फर्किएर आउन सक्ने युद्धविमानका पखेटा र पुच्छरमा चोटहरू थिए । नफर्केकाहरूलाई त्यहाँ नभई बीच भागमा गोली लागेको हुनुपर्छ भनेर विश्लेषक वाल्डले बताएका थिए । त्यसको अर्थ हो— देखिने प्रमाणका आधारमा नदेखेका समस्याको समेत अनुमान गर्न सक्नुपर्छ । विशेष गरी अहिलेको जस्तो अनिश्चित र संकटपूर्ण समयमा सबै पक्षलाई आफूले नजानेका, नभोगेका, नगरेका र मन नपराएका काम र कुरामा पनि मन केन्द्रित गर्न सक्ने क्षमता चाहिन्छ । सम्बन्धित सबैले नबुझीकन तर्क, निर्णय वा काम गर्ने प्रवृत्तिभन्दा माथि उठ्न आवश्यक छ । यो संकटले शिक्षामा र सबै क्षेत्रमा, एउटा बुज्झकी र संवेदनशील संस्कार जन्माउनुपर्छ ।

...

शर्मा न्युयोर्क राज्यको स्टोनी ब्रुक विश्वविद्यालयमा लेखन तथा वक्शास्त्रका सहप्राध्यापक हुन् ।

सुवेदीले केही वर्षयता शिक्षक तालिमको संयोजन गर्दै र अधिकारी वेबिनार अन्तरक्रिया प्रशिक्षणमा सहभागी रहँदै आएका छन् । जैन व्यवस्थापन संकायकी उपप्राध्यापक हुन् ।

प्रकाशित : जेष्ठ २३, २०७७ १०:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×