कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

परीक्षणसँगै खाँचो मनोबलको

सविना कार्की

जेठ ५ गते एउटा अनलाइनमा ‘कान्तिपुर टीभीमा कोरोना त्रास’ शीर्षक समाचार आयो, जसमा लेखिएको थियो— एक समाचारवाचिकालाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखियो... उनी बेहोस भएपछि टीभीमा खैलाबैला मच्चियो... एम्बुलेन्स बोलाएर टेकु लगिएको छ... ।

परीक्षणसँगै खाँचो मनोबलको

त्यो समाचारमा सत्यता थिएन । यसले हामी सहकर्मीलाई मात्र होइन, हाम्रा घरपरिवार, आफन्त र साथीभाइ सबैलाई तनाव दियो । हरेक फोनमा हामीप्रतिको चिन्ता थियो । समाचार गलत हो भन्दा पनि सबैजसोले पत्याएनन् । मैले पहिलो पटक अनुभूति गरें, कुनै गलत समाचारले मानिसको जीवनमा कतिसम्म असर गर्दो रहेछ भनेर । जताततै त्रास फैलिरहेका बेला कसैले कसरी यस्तो समाचार लेख्न सक्छ ?

अर्कातिर, सामाजिक सञ्जालमा पत्रकारले कोरोना भाइरस परीक्षण गराएकामा ठूलै बहस चलिरहेको छ, जुन कदापि राम्रो अभ्यास होइन । धेरैजसोको भनाइ छ— पत्रकारले स्रोत र पहुँचको दुरुपयोग गरे । हामीले के बुझ्नु जरुरी छ भने, व्यावसायिक पत्रकारिता गरिरहेकाहरू फ्रन्टलाइनका अन्य व्यक्तिजस्तै जोखिममा छन् । हरेक दिन फिल्डमा गई रिपोर्टिङ गरेर बेलुका घर पुग्दा मैले संक्रमण पो भित्र्याएँ कि भन्ने त्रास घरभित्र बसेर तपाईंले महसुस गर्न सक्नुहुन्न । सञ्चार क्षेत्र पनि अत्यावश्यक सेवामा त पर्छ, तर यहाँ सेवा गर्नेहरू राज्यको कुनै पनि राहत कार्यक्रममा पर्दैनन् । एउटा अध्ययनअनुसार, यो महामारीमा पत्रकारले काम गर्न छोडे सही सूचनाको अभावमा अहिलेभन्दा धेरै गुणा बढी मानिसले ज्यान गुमाउन सक्छन् । सत्य–तथ्यमा आधारित पत्रकारिताले लाखौं मानिसको ज्यान बचाउन सक्छ । म यहाँ व्यावसायिक पत्रकारिता गर्नेहरूको मात्र कुरा गरिरहेकी छु ।

चीनको वुहानमा जनवरीको सुरुआतमा कोरोना भाइरस संक्रमणको पुष्टि भयो । त्यसयता म यस विषयमा अपडेट छु जस्तो लाग्थ्यो । तर मलाई कोरोनाबाट बच्ने उपाय र लक्षण के हुन्, अहिलेसम्म विश्वमा कति मानिसको मृत्यु भयो, कति निको भए, कति संक्रमित छन् जस्ता सामान्य जानकारी मात्र रहेछ । यसको मनोवैज्ञानिक असरबारे भने आफैंले परीक्षण गरेपछि मात्र थाहा भयो ।

इटाली, स्पेन, अमेरिका, बेलायतमा कोरोना–प्रभावबारे समाचार लेख्दै आएका हामी आफैं यो भुमरीमा पर्दै छौं । अस्तिसम्म कोरोना केही होइन भन्ने हामीले आफ्नै देशमा संक्रमितको संख्या दिनहुँ बढेको देखिरहेका छौं । मृत्युका खबर पनि सुन्न–लेख्न बाध्य भयौं । बिस्तारै हामीलाई कोरोना सोचेभन्दा खतरनाक रहेछ भन्ने महसुस हुन थालेको छ । केही दिनअघि मैले पीसीआर टेस्ट गराएँ । रिपोर्ट नआउँदासम्मको तनाव म बयान गर्न सक्दिनँ । मैले आफ्नी बहिनी र नजिकका साथीहरूसँग कैयौं पटक रिपोर्टबारे चिन्ता व्यक्त गरिरहें । कतिलाई त मप्रति रिस पनि उठ्यो होला । परीक्षणपछि मात्र मलाई थाहा भयो— पोजेटिभ देखिए फोन आउँछ, नेगेटिभ देखिए एसएमएस आउँछ ।

यसबीच नचिनेको नम्बरबाट फोन आउँदा पनि म झसंग हुन्थें । एक छिनमा ढुक्क भइने, एक छिनमा तनाव भइहाल्ने ! मसँगै परीक्षण गराएकाहरूले तीन दिनपछि रिपोर्ट नेगेटिभ आएको रे भन्ने स्टाटस फेसबुकमा राखे । तर पुष्टि कसैले नगरेकाले मलाई झन् तनाव भयो । ल्याबमै फोन गर्दा थाहा भयो, जाँच्ने काम सकिएको रहेनछ । धेरै नमुना संकलन भएकाले क्युमा राखिएको रहेछ । चार दिनपछि आधिकारिक रूपमा थाहा भयो, रिपोर्ट नेगेटिभ आयो भनेर । तनावको हिसाबले मैले रिपोर्ट नेगेटिभ आउँदा असाध्यै खुसी हुन्छु होला भन्ने सोचेकी थिएँ । तर त्यस्तो केही भएन । सामान्य नै लाग्यो । तर यो ढुक्क पनि एक पटकलाई न हो ! संक्रमणको सम्भावना हरेक सेकेन्डमा हुन्छ । सतर्कता सदैव आवश्यक छ ।

कोरोनाविरुद्धको लडाइँ जित्ने उपाय भनेको भौतिक दूरी र उच्च मनोबल नै हो । संक्रमण जोकोहीलाई पनि हुन सक्छ । संक्रमितलाई हेला होइन, हौसला बढाउने काम गर्नुपर्छ । तपाईं–हाम्रो हौसलाले संक्रमितमा भाइरस पराजित गर्न सक्ने मनोबलको विकास हुन्छ । संक्रमितबाट भौतिक रूपमा टाढा बसौं, भावनात्मक रूपमा होइन । कुसमाचारमा त झन् चासै नदिऔं ।

प्रकाशित : जेष्ठ २२, २०७७ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?