बजेट र लिम्पियाधुरा- विचार - कान्तिपुर समाचार

बजेट र लिम्पियाधुरा

अनुमा कोइराला

सीमा अतिक्रमण अहिलेको राष्ट्रिय मुद्दा हो । तर बजेटले यो विषयलाई समेटेको देखिएन । यसबाट सरकारले आफ्नै नीति तथा कार्यक्रमको खिल्ली उडाएको छ ।

नेपालको सिमानामा पुस्तौंदेखि द्वारपालको भूमिका निर्वाह गर्दै आएका नागरिकको कदर नगरी सुशासन कदापि स्थापित हुन सक्दैन । दिगो विकास र सबल अर्थतन्त्रका लागि शीघ्र सीमा समस्या र सीमान्तकृतका समस्या हल हुनैपर्छ । दार्चुलाका सौका समुदायले आन्तरिक आवागमनसाथै दैनिक आवश्यकता परिपूर्तिकै लागि भारतको भूमिमा टेक्नैपर्ने, आवश्यक भारतीय प्रशासनिक पद्धतिबाट गुज्रिनैपर्ने वर्षौंदेखिको बाध्यताका विषयमा सरकार जानकार छ । यता, छिमेकीको मिचाहा प्रवृत्तिका कारण सारा नेपालीको चैन लुटिएको छ । तर, राष्ट्रिय स्वाभिमान बढाउने मुद्दामा पनि सरकारले बेवास्ता गरेको छ ।

तुलनात्मक रूपमा निकै कम महत्त्व बोकेका अन्य राजमार्ग र सोखिन आयोजनाले बजेटमा स्थान ओगटिरहँदा दार्चुला–टिंकर सडकखण्डले प्राथमिकता नपाउनु ठूलो विडम्बना हो । हुन त, विगत दुई आर्थिक वर्षको बजेटमा पनि यस आयोजनाको शीर्षक नै हटाइएको थियो । अहिले यही विषयले ज्वलन्त स्वरूप लिइराख्दा पनि यो सडकले बजेट पाएन ।

नागरिक तथा सञ्चारमाध्यमको तीव्र दबाबपछि सरकारको नीति तथा कार्यक्रममा राष्ट्रप्रमुखबाट सीमारक्षासम्बन्धी जुन खालको अभिव्यक्ति आयो, त्यसले देशभरि सकारात्मक ऊर्जा फैलाएको थियो । त्यसलगत्तै प्रधानमन्त्रीबाट आएको सकारात्मक अडान र संशोधित नक्साले सीमारक्षा अभियानको शुभसंकेत दिलाएको थियो । अतिक्रमित भूभागसहितको नक्सा सार्वजनिक हुनु सार्वभौमसत्ता र अखण्डताको पक्षमा पहिलो कदम थियो । यसलाई अतिक्रमण समस्याको समाधानको प्रस्थानविन्दु मानियो पनि । तर संविधान संशोधनमा देखिएको अलमल र सीमाक्षेत्रको विकास बजेटबाट पनि बाहिरिनुले अतिक्रमित भूभागको समस्यालाई सरकारले सदाझैं मौसमी जिम्मेवारीका रूपमा वहन गरेको अर्थ लाग्छ ।

दार्चुला–टिंकर सडकखण्ड मात्र होइन, सिंगै दार्चुला जिल्लाको कायापलट गर्नैपर्ने आकस्मिकताले अबको कूटनीतिलाई चुनौती दिएको छ । कालापानी, लिपुलेक क्षेत्रको कूटनीतिक चुनौती एउटा हो भने गुँजी, नाबी र कुटी गाउँहरूले मागेका कूटनीतिक आवश्यकता अर्कै थरी छन् । यी तीन गाउँका नागरिकलाई भारत सरकारले भारतीय नागरिकता बाँडेको छ, कतिपय सामाजिक सुरक्षा र भौतिक सुविधा प्रदान गरेको छ । गुँजीमा बजार, अस्पताल, बैंक, विद्यालयजस्ता संरचना छन् । छाङ्रु र टिंकरवासी नै त्यहाँका उपभोक्ता बन्न बाध्य छन् । ती नेपाली भूभागबाट भोलि भारत फिर्ता जाने परिस्थिति निर्माण हुँदा अब त्यहाँका बासिन्दाले पाउने नेपाली नागरिकता मात्र बन्नु हुँदैन । सीमाक्षेत्रका बासिन्दाको व्यावहारिक पाटाहरूलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ ।

दार्चुला–टिंकर सडकसँगसँगै पूर्वाधार विकास एवं सामाजिक सुरक्षा, आरक्षण, राहत प्याकेज, रोजगारी एवं कृषि उत्पादनको बजारीकरणका परियोजनासहित सरकार ब्यास पुग्नुपर्छ । ब्यास, छाङ्रु, टिंकर लगायतमा विद्यालय तथा अस्पतालजस्ता पूर्वाधार विकासको रणनीति लागू गरी प्राथमिक तयारीमा होमिनुपर्छ । छिमेकी जिल्लाका बासिन्दा लालायित हुने गरी दार्चुलाका सम्पूर्ण गाउँ कायापलट गर्न सरकार सक्षम रहनुपर्छ । अनि मात्रै, सार्वभौम नागरिक र सीमान्तकृतहरूको योगदानको कदर हुन्छ । र, सरकारको देशप्रेम पनि प्रमाणित हुन्छ । यस उद्देश्यपूर्ति हेतु नीतिगत तहबाटै कामको थालनी हुनुपर्छ । तर बजेटमा यस मुद्दाले स्थान पाएन । बजेटमा संशोधन गरेरै भए पनि दार्चुलाको कायापलट र टिंकरसम्म सडक निर्माण गर्ने कार्यक्रम राख्नुपर्छ ।

हामी माइतीघर–त्रिपुरेश्वरको फ्लाइओभर, तीनकुने–जडीबुटी सुरुङमार्ग, रेल सुविधाजस्ता सुख त्याग्न तयार छौं । शान्तिपूर्ण रूपमा अतिक्रमण समस्या समाधान गर्न यस्ता रकमान्तरलाई सहर्ष स्वागत गर्नेछौं । राष्ट्रहितका लागि एउटा नागरिकले निर्वाह गर्नुपर्ने भूमिका हरहालतमा निर्वाह गर्न सदैव तत्पर छौं । यो संकटमा सरकारबाट कुशल कूटनीति र प्रबल आन्तरिक तयारी तथा व्यवस्थापनको टड्कारो आवश्यकता देखिएको छ ।

प्रकाशित : जेष्ठ २१, २०७७ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्

क्वारेन्टाइनबाट अस्पताल ल्याइएका बिरामीको मृत्यु

भारतको मुम्बईमा बस्दै आएका ४६ वर्षीय ती पुरुष आइतबार राति ३८ जनासँगै बसमा आएका थिए ।
माधव अर्याल

पाल्पा — क्वारेन्टाइनमा बिरामी परेपछि तानसेनस्थित मिसन अस्पताल ल्याइएका एक व्यक्तिको उपचारकै क्रममा मंगलबार मृत्यु भएको छ ।

पूर्वखोला गाउँपालिका–१ सिलुवाका बासिन्दा उनी वडा नं २ को शम्भु मावि क्वारेन्टाइनमा राखिएका थिए ।

अस्पतालका अनुसार सोमबार ल्याइएका उनलाई कोरोनासँग मिल्दोजुल्दो श्वास फेर्न कठिन हुने, सुख्खा खोकी, १ सय दशमलव ४ भन्दा बढी ज्वरो र छाती दुख्ने लक्षण देखिएको थियो । सोही अनुसार उपचार अगाडि बढाए पनि बचाउन नसकिएको अस्पतालका सूचना अधिकारी जीवन भट्टराईले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयले उनमा कोरोना संक्रमण भए/नभएको पुष्टि गर्न स्वाब प्रादेशिक प्रयोगशाला भैरहवा पठाए पनि रिपोर्ट आइसकेको छैन । पूर्वखोला–२, जल्पाका वडाध्यक्ष नीरबहादुर सारुका अनुसार भारतको मुम्बईमा बस्दै आएका ४६ वर्षीय ती पुरुष आइतबार राति ३८ जनासँगै बसमा आएका थिए । ‘जल्पामा आउँदा नै सन्चो नभएजस्तो देखिएको थियो,’ उनले भने, ‘राति भएकाले चाउचाउ उमालेर त्यही खाएर सुतेका हुन् ।’ सोही क्वारेन्टाइनमा बसेका ४९ वर्षीय एक पुरुषलाई पनि ज्वरो आएकाले थप उपचारका लागि तानसेन पठाउने तयारी भएको सारुले बताए ।

प्रकाशित : जेष्ठ २१, २०७७ ०९:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×