कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

थारूहरू सधैं किनारमा

नीरा भगत

राजनीतिको माथिल्लो स्थानमा पुग्नेबित्तिकै थारूहरूले आफ्नो समुदाय बिर्सन्छन् र राज्यकै नीतिलाई प्रवर्द्धन गर्छन् । दाङबाट थारू समुदायको प्रतिनिधित्व गर्दै राष्ट्रिय पार्टीको महामन्त्रीसम्म भएका एक व्यक्ति लोभिएर राजाको सल्लाहकार भए ।

थारूहरू सधैं किनारमा

यसरी आफ्नो समुदायको हितविपरीत काम गरेकाले ती व्यक्ति अहिले खुइलिए । उनलाई जनताले पत्याउँदैनन् ।अहिले एकादेशको आफ्नो कहानी सुनाएर बस्छन् रे । त्यस्तै, बाँकेमा एक होनहार थारू नेता उदाएका थिए । उनी पनि म कुन समुदायबाट किन उदाएँ भन्ने बिर्सिएर आफ्नो स्वार्थमा लागे । सिद्धान्तविहीन राजनीति र थारू समुदायको भावनाविपरीतका काम गरेपछि अस्ताउनु स्वाभाविक नै हो । उनीहरूले ठाउँमा हुँदा आफ्नो समुदायको हितका लागि कार्यक्रम ल्याउन सकेनन् । चाकरी गरेर वा आन्दोलनबाट राज्यको गतिलो पदमा पुगेका थारूहरूले आफ्नो समुदायको उत्थानको योजना बुन्न सकेनन् ।

आवाजविहीन आदिवासी थारूको मूल पैतृक थलो मधेस र चुरेबीचको भूभाग हो । थारू जुन बेला यो क्षेत्रमा बसोबास गर्थे, त्यस बखत राजवंशी, सतार र केही झागड पनि सँगै थिए । घनघोर जंगल र बुट्यान घारीभित्र थारूहरू छरिएर बसेका थिए । यो क्षेत्रमा एकातिर सर्प, बिच्छी, जंगली हात्ती, बाघ, भालु लगायत हिंस्रक जनावरको बिगबिगी थियो भने, अर्कातिर औलो र म्यादी ज्वरोको डर । यस्ता समस्या खेप्दाखेप्दै पनि आदिवासी थारूहरूले देशको सीमारक्षा गरे । हामीले आफूलाई आवश्यक पर्ने सबै चीज उत्पादन गर्थ्यौं । यतिखेर सहरीकरणसँगै निर्वाहमुखी पेसा केही संकटमा परेको छ । अलि अगाडि हामीले देशभित्रबाटै नाकाबन्दीझैं दशकौं लामो अवस्था खेपेका थियौं । त्यस्तोमा पनि हामी संकटमा परेनौं । लुगा तानमा बुन्थ्यौं । कपासको बोट रोपेर धागोको व्यवस्था गर्थ्यौं ।

जसरी परालबाट गुन्द्री बनाइन्छ, त्यसै गरी धागोबाट घरमै कपडा बनाउँथ्यौं । कोही पनि खाली बस्दैनथे । कृषि उब्जनीले बाँच्ने आधार दिन्थ्यो । लगाउने लुगा र खानेकुराको व्यवस्था भएपछि स्थिति सहज हुने नै भयो । त्यस बेला घरेलु जडीबुटी नै हाम्रा औषधि हुन्थे । सीमाका थारू कसरी बसेका होलान् भनेर राज्यले कहिल्यै सोधपुछ गरेन । त्यस बेला थारूको बस्तीमा कसले खोलिदिने अस्पताल ? हाम्रो खबर सुन्ने पनि कोही थिएन । सबैले बेवास्ता गर्दा पनि हामी यो भूमि छोडेर कतै हिँडेनौं । हाम्रो मौलिकता, परम्परा र संस्कृति अझै जोगिएको छ । यदि यसै गरी सबै समुदायले आत्मनिर्भर तरिकाले बाँच्न सिकेका भए हामी नेपाली उत्पादन निर्यात गर्न सक्ने थियौं । निर्यात नगरे पनि कमसेकम आयात त गर्नुपर्ने थिएन । स्वावलम्बी भएर जीवनयापन गर्नु सबैभन्दा ठूलो उपलब्धि हो ।

नेपालमा विद्यालय नहुँदा पहाडी समुदायका पुरुषहरू अध्ययनका लागि बनारसलगायत भारतका विभिन्न सहर पुग्थे । यसरी पढेर फर्कनेहरूले नै राज्यको महत्त्वपूर्ण पद ओगटे । तर थारूले यसरी पढ्न पाएनन् । शिक्षा नपाएपछि चेतना कमजोर भयो । अघिल्लो पुस्ताले पढ्न पाए पो पछिल्लो पुस्ताले शिक्षाको महत्त्व बुझ्न सक्छ । थारूको हकमा अघिल्लो पुस्ता शिक्षित भएन । त्यसैले यसको महत्त्वबारे पछिल्लो पुस्ता पनि अनभिज्ञ रह्यो । औपचारिक शिक्षा नभएपछि अवसर पनि पाइएन । मधेसमा बसाइँ सर्नेको लर्को लागेपछि शिक्षा पनि थारू बस्तीमा पुग्दै गयो । त्यसपछि विद्यालय खुल्न थाले । थारूका छोराछोरीले पढ्न पाए । शिक्षामा थारूको पहुँच बढ्न थाल्यो ।

चुरेबाट थारूहरू पहाड वा हिमालमा पुगेनन् । बरु मधेसकै एक जिल्लाबाट अर्को जिल्लामा बसाइँ सरे । औलो नियन्त्रण भइसकेपछि थारूको थलोमा पहाडबाट मानिसहरू झरे । बिहार, उत्तरप्रदेश, असम, मेघालय, बंगाल, भुटान र बर्माबाट पनि मानिसहरूको ताँती लाग्न थाल्यो । राजा महेन्द्रले सुकुम्बासीलाई मधेसमा जग्गा बाँड्ने नीति ल्याएपछि जग्गा मात्रै होइन, जंगल पनि सखाप भए ।

थारूलाई वास्तै गरिएन । थारूको भूगोलमा नयाँ भूमिपुत्रहरूको जन्म भयो, जसले आफन्तसमेत ल्याएर थारू बस्तीवरिपरि जोत्न थाले । राज्यले तलब सुविधाबापत मधेसको जमिन बाँड्न थाल्यो । थारू बस्तीवरिपरिको जमिन खोसियो । जमिनसँगै रोटी पनि खोसियो । स्वभावैले थारू सोझो जात हो भनिन्छ । थारूले राजनीतिक तिकडम गर्न जान्दैनन् । तर राजनीति अर्काको खेदो नखनी, दाउपेच नगरी हलो जोतेजस्तो सीधा लाइनमा चल्दैन । सधैं वक्ररेखामा हिँड्छ वा हिँडाइन्छ । वक्ररेखामा हिँड्न नजान्ने थारूहरू सधैं किनारमा पारिए, पारिइरहेका छन् ।

प्रकाशित : जेष्ठ २०, २०७७ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?