कोरोना-त्रासबीच गाउँले जगाएको आशा

कोरोना संक्रमणबाट हजार कहर सहनुपरे पनि गाउँमा बेरोजगारहरूले काम र दाम अनि भोकमरीबाट मरिने भयका बीच जिउन बाध्य मानिसहरूले आशाका झिल्काहरू देख्न थालेका छन् ।
प्रभा कैनी

कोरोना महाव्याधिका कारण सम्भावित भोकमरी र कष्टको आकलन गरेर धेरैले गाउँको बयान गर्न थालेका छन् । व्यापार, विकास, उन्नति, प्रगति, भ्रमण र मनोरञ्जनजस्ता विषय गौण भएका छन् ।


खानै नपाएर मरिने हो कि भन्ने आशंकाले पिरोलिएकाहरूबाट जिउने पहिलो आधार खोज्ने क्रममा ‘गाउँ जाने’, ‘कृषि व्यवसाय गर्ने’, ‘बाँझा बारी खन्ने’ जस्ता उद्गार आउन थालेका छन् । हुन पनि नेपालीलाई हरेक दुःखका घडीमा गाउँले साथ दिँदै आएको छ । भूकम्प आयो, मानिसहरू गाउँतिर लागे ! कोरोनाको प्रभाव बढ्न थाल्यो, सहर छोडेर गाउँतिर भाग्दै छन् । सहरजस्तो निष्ठुरी हुँदैन गाउँ । नातागोता, इष्टमित्र, छरछिमेकीको एकता र सद्भावले जेलिएको हुन्छ गाउँ । ‘मर्दाको मलामी, जिउँदाको जन्त’ भन्दै कर्तव्यको भाषा बोलिन्छ गाउँमा । कामको माचोमा भारो पर्म, खरखाँचोमा ऐंचोपैंचोले सामूहिकताको भावना जीवन्त भइरहेको हुन्छ त्यहाँ । यता सहरमा भीडमा हिँडे पनि मानिसले आफूलाई नितान्त एक्लो महसुस गर्छ । घनिष्ठता कम हुन्छ । छिमेकीहरूलाई पनि चिनेको नचिन्यै गर्ने आदत विकास भएको हुन्छ, सहरियाहरूमा ।

भकारीभरि आफ्नै खेतको धान, आँगनमा मकैका सुली अनि घरको माथिल्लो तलामा भटमास, कोदो, फापर, तोरी, मस्याङ लगायत राखिएका सानाठूला बाँसका कोठी र डालीहरू । करेसाबारीमा मौसम अनुसारका साग, मुला, फर्सी, बोडी, भिन्डी, भान्टा, करेला, घिरौंला चिचिन्डाजस्ता तरकारी र केही साना ड्याङहरूमा अदुवा, हलेदो र लसुन । जोत्नका लागि कम्तीमा एक हल गोरु र दूधका लागि गाईभैंसी अनि मासुका लागि बाख्राको समेत जोहो । समग्रमा यस्तै उत्पादन र उपभोगबाट गाउँलेहरूको आजीविका धानिन्थ्यो । चार-पाँच दशकपहिलेसम्म कृषिजन्य गुजारामुखी पारिवारिक अर्थव्यवस्था लगभग यस्तै थियो । अहिले यस प्रणालीमा आमूल परिवर्तन आएको छ, केही बाह्य प्रभावले त केही हाम्रै अदूरदर्शिताले । त्यति विघ्न आत्मीयता दर्साउने र आपत्तिमा आश्रय दिने हाम्रा गाउँहरू किन दिनानुदिन उजाड हुँदै गए ? किन युवारहित र ऊर्जाविहीन हुन पुगे हाम्रा गाउँहरू ? किन भावनाको प्रतीकात्मक स्थलमा मात्र सीमित हुँदै छन् हाम्रा गाउँहरू ? एकै दिन र एकै छिनमा परिवर्तित भएका होइनन् हाम्रा गाउँहरू । यसमा निश्चयै केही कारण र बाध्यता थिए/छन् ।भावनात्मक प्रेम हुँदाहुँदै पनि बढ्दो जनसंख्याका आवश्यकता पूरा भएनन् गाउँमा । धेरैको हकमा, घामपानी सहेर अति मिहिनेतसाथ छ-सात महिना बिताएर उब्जाएको उब्जनीले पारिवारिक आवश्यकता पूरा गर्न कठिन हुन थाल्यो । धेरै दुःख, थोरै आम्दानी ।

वर्षभरिको मिहिनेतको हिसाबकिताब हुन थाल्यो । उत्तर निस्कियो— घाटाको जिन्दगानी कतिन्जेल तानिरहने ? बरु लाग्ने त्यतैतिर जहाँ श्रम बेचे नगद हात लाग्छ र त्यही रकमले जे चाहियो त्यही किन्न पाइन्छ । सहरले आकर्षित गर्‍यो गाउँलेलाई । सहरमा पैसाले हरेक सुविधा किन्न सकिने देखेर गाउँको कृषकले आफ्नो जीवनको तुलना गर्न थाल्यो ।

धारापानी, बिजुली, स्कुल, कलेज, अस्पताल, सडक र हरकिसिमका सुविधा र मनोरञ्जन, जुन गाउँमा सजिलै मिल्दैन, सहरमा प्राप्त हुने उसले देख्यो । सहरले श्रम किन्छ, नगद दिन्छ । नगदले जे चाह्यो उही पाइन्छ, जति चाह्यो उति लिन मिल्छ, जति बेला चाहियो उति बेलै ल्याउन पाइन्छ । त्यसैले त ‘बाबुआमाबाहेक सबै थोक किन्न पाइन्छ सहरमा’ भन्छन् गाउँलेहरू । मात्र नगदको जोहो भए पुग्यो । नगद मिल्छ सहरमा, गाउँमा त जिन्सीकै राज छ, केही हदसम्म अझै पनि ।

गाँवैगाउँले भरिएको हाम्रो देशमा गाउँको उन्नति कहिल्यै अपरिहार्य ठानिएन भन्न चाहिँ मिल्दैन । योजना आयोगमा किसानको तस्बिर झुन्ड्याउन सुझाउने बीपी कोइरालाको गाउँले किसानको ‘एउटा सानो घर, खेती गरी खाने जमिन, एउटा दुहुनो गाई, छोराछोरी पढाउन पाउने र बिरामी पर्दा औषधि गर्न सकिने कृषकको...’ परिकल्पना समग्रमा गाउँले जीवन उकास्ने आशयले गरिएको थियो । आफ्नो दृष्टिकोणअनुसार काम गर्ने अवसर नमिलेका कारण उनीप्रति गुनासो गर्ने ठाउँ उति रहेन । राजा महेन्द्रले ‘गाउँ फर्क अभियान’ घोषणा गरेर एकोहोरो सहरतिर आकर्षित जनतालाई गाउँतिर फर्काउने प्रयत्न त गरेका हुन्, तर राजकीय घोषणामा ‘अभियान’ भनिए पनि त्यो साँच्चिको अभियान भने साबित हुन सकेन । केही समय केही पञ्चलाई फलिफाप गराउने नाराबाहेक यस घोषणाबाट अभिप्रेरित भएर न सहर पस्ने गाउँ फर्किए, न अभियानका रूपमा समाजमा यसले कुनै उत्सुकता नै पैदा गर्‍यो ।

एमाले पार्टी पनि ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने आह्वानसहित चुनावमा होमिएको हो । परन्तु राजा महेन्द्रको घोषणाभन्दा यो अभियान कुन अर्थमा मात्रै फरक रह्यो भने, एमाले हजारौं युवा नचाएर चुनाव जित्न सफल भयो तर गाउँलेको आशा र आपेक्षामा तात्त्विक परिवर्तन ल्याउन सकेन । यसै गरी हरेक सरकार र अनेक एनजीओले पनि गाउँ विकासको दुहाई दिइरहेकै छन् । हरेक पार्टीका हरेक उम्मेदवारले गाउँको उन्नतिका लागि घोषणापत्रमा लेख्ने मात्र नभई, भाषणमा ‘बसूँबसूँ लाग्ने सुनको थाल बनाउँछु गाउँलाई’ भन्ने प्रतिबद्धता गर्न पनि भुलेनन् । तर पनि गाउँ पछाडिको पछाडि नै रह्यो । उन्नति र विकासका जे-जति काम भए, अधिकांश सहरकेन्द्रित रहे, जसले गर्दा मानिस सहर पस्ने प्रवृत्ति घटेन, न त सहर पसेकाहरू गाउँ फर्किए । किन यस्तो भयो होला त ?

यसको पहिलो कारण हो— विश्वव्यापीकरणको एकछत्र प्रभाव । यातायात, सञ्चार र प्रविधिको विकाससँगै युवाहरूले आफ्नो जमिनको भन्दा बाहिरको कमाइ सुविधाजनक र नाफामूलक ठहर्‍याए । संसारको कहीँ पनि आफ्ना लागि उपयुक्त अवसर मिल्न सक्छ भने गाउँमै दुःख किन गरिरहने ? युवाहरूमा आशा सञ्चार भयो । विश्वव्यापीकरणबाट प्राप्त अवसरको खोजीमा सहरबजारका मात्र होइन, गाउँका कुनाकन्दराका बासिन्दासमेत दौडधुपमा लागे । निश्चय नै, विश्वव्यापीकरणका अनेक फाइदा छन्, तथापि गाउँ रित्तिनमा यसलाई एक प्रमुख कारक नमानी सुखै छैन ।

दोस्रो हो— हाम्रो अल्पदृष्टिको परिणाम । विकासका नाममा हामीले आफ्ना परम्परागत शैलीमा परिवर्तन मात्र खोज्यौं । निर्वाहमुखी अर्थव्यवस्थालाई विकासको बाधक सम्झियौं । यसरी नै पढ्यौं, यसरी नै पढायौं । गुजारामुखी कृषि पद्धति हाम्रा गाउँअनुकूल भएकाले यसैको विकासका लागि सोच्नु र प्रयास गर्नुपर्छ भन्ने नबुझी हामीले आयातित विकासका सिद्धान्त घोकेर गाउँलाई उपेक्षा गरिरह्यौं । गुरुजनले ‘सहर र समृद्धि’ को गुणगान गर्दै रहे, हामीले गुरुवचन पालना गर्दै रह्यौं । निर्वाहमुखी अर्थव्यवस्था समृद्धि ल्याउन नसक्ने तल्लो तहको अभ्यास सिद्ध हुँदै रह्यो । आफ्ना लागि आफ्नै परिश्रमले सबै थोक आफैं उत्पादन गर्ने प्रणाली एक किसिमको मोडल हुन सक्छ र यसमै उन्नतिका तौरतरिका खोजिनुपर्छ भन्ने नबुझी यसको विस्थापनमा जोड दियौं ।

कोरोना संक्रमणले हाम्रो चेत केही मात्रामा खुलाइदिएको छ । उन्नति-प्रगति, सुख-समृद्धि र वैभवका लागि दौडधुप गर्ने मानिसका सामु जिउनु मात्र पनि ठूलो चुनौती देखा परेका बेला उपेक्षामा परेका गाउँहरू घना बस्ती हुन सक्ने र बाँझा रहेका खेतबारी हराभरा हुने सम्भावना देखिएको छ । अहिले विदेशमा काम खोसिएर वा आफ्नै देशमा गरिखाने भावनाले अभिप्रेरित भएर केही युवा स्वदेश फर्किंदै छन् । उनीहरूले के काम गर्लान् भनेर सोच्दा गाउँ नै सुरुमा मथिंगलमा आउँछ । हुन पनि पाँच-सात दशकअघि जस्तो अचेलका गाउँहरू अति विकट छैनन् । धेरै ठाउँमा त सहर र गाउँको सुविधामा खासै अन्तर छैन । बिजुली बत्ती नबलेका गाउँ कमै छन् । अधिकांश ठाउँमा घरघरमा अथवा दुई-चार घरबीच खानेपानी पुगेकै छ । प्रारम्भिक शिक्षाका लागि पनि दुइर्×-चार घण्टा हिँड्नुपर्ने ठाउँहरू अब अपवादका रूपमा मात्र भेटिन्छन् । गाउँगाउँसम्म सडक पुगेका कारण बिरामीलाई अस्पताल पुर्‍याउनु केही घण्टाको काममा सीमित भएको छ । यातायात सुविधाले आफ्ना उत्पादन अन्यत्र पुर्‍याउन र आवश्यक सामग्री घर ल्याउन पनि दुरूह हुन छोडेको छ, केही हिमाली जिल्लामा बाहेक । यसैले स्वदेश फर्केकाहरूको पहिलो आश्रयस्थल गाउँ र उनीहरूले गर्ने पहिलो कर्म खेतीपाती नै रहेको सहजै अनुमान गर्न सकिन्छ । ठाउँठाउँमा युवाहरूले कतै व्यक्तिगत रूपमा त कतै सामूहिक रूपमा खेती सुरु नै गरिसकेका सुखद खबरहरू आउन थालिसकेका छन् ।

स्थानीय निकायले युवाका लागि अनेक सहयोग पुर्‍याउन सक्छ । तिनलाई जमिन उपलब्ध गराउने, सहुलियत दरमा ऋण प्रवाह गर्ने, सिँचाइको व्यवस्था मिलाइदिने, बीउबिजन र मलको अभाव हुन नदिने व्यवस्था गर्न सकिन्छ । उत्पादनको बिक्री-वितरणको जिम्मा लिइदिन र बिचौलियाको अनावश्यक हस्तक्षेपबाट मुक्त गराउन सकियोभने उत्पादक र उपभोक्ता दुवै थरी लाभान्वित हुन सक्नेछन् । कोरोना संक्रमणबाट हजार कहर सहनुपरे पनि गाउँमा बेरोजगार र अर्धबेरोजगारहरूले काम र दाम अनि भोकमरीबाट मरिने भयका बीच जिउन बाध्य मानिसहरूले आशाका झिल्काहरू देख्न थालेका छन् ।

अन्त्यमा, हाम्रा गाउँमा थालिएका यी विकासका लहर पहिलापहिला जस्तो थालिँदै छोडिँदै गरिएका कार्यक्रम जस्ता नहोलान् भन्ने आशा गर्ने प्रशस्त ठाउँ छ । किनकि यो पहल न त माथिबाट घोषित न अन्यत्रबाट आयातित हो । यो त देशको ऊर्जाशील युवा जमातले आफ्नै अनुभवले सिकेर र बुझेर प्रारम्भ गर्न लागेको अभियान हो । युवा जमातको अनुभूतिजन्य अपनत्वको भावना प्रतिविम्बित भएको हुँदा गाउँ विकासको यो प्रवाहको निरन्तरतामा विश्वास गर्ने प्रशस्त आधार छन् । प्रकाशित : जेष्ठ १८, २०७७ ०९:३७

प्रतिक्रिया
पठाउनुहोस्

संस्कार, संस्कृति र हिंसा

प्रभा कैनी

काठमाडौँ — यौनजन्य हिंसाका धेरैजसो घटना सार्वजनिक हुँदैनन्  । किन ? यस सन्दर्भमा कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरण नमुना बनेको छ  ।

यतिखेर निर्मलाको हत्याकाण्ड सर्वाधिक चासोको विषय बनेको छ । त्यस घटनाले आम नेपालीको संगठित आक्रोश एकातिर छ भने अर्कातिर सरकार त्यति गम्भीर नहुनु उत्तिकै चिन्ताजनक छ । लगभग तीन महिना हुँदा पनि पीडित पक्षले न्याय पाएको छैन । पीडितको पक्षमा सुदूरपश्चिमदेखि उठेको ज्वाला काठमाडौं र देशभरि फैलँदा पनि सरकार अपराधी फेला पार्न सक्दैन वा चाहँदैन ।

यो प्रकरणमा जस्तै हरेक हिंसाका पीडितलाई सरकारले न्याय दिन्छ भन्ने विश्वास छैन । विश्वासै नभएको कुरामा जनसाधारण व्यर्थको टण्टा बेसाउन चाहँदैनन् । निर्मला हत्याकाण्डमा जसरी हरेक दिन घटेका घटनालाई लिएर समाजका हरेक व्यक्ति जुर्मुराइरहन पनि सक्दैनन् ।हरेक कामका लागि जिम्मेवार निकाय हुन्छ । त्यसैद्वारा कार्यसम्पन्न हुनुपर्छ भन्ने अपेक्षा गरिन्छ । तर सिङ्गो नेपाल तात्दा पनि हिंसापीडितले न्याय पाउन सक्दैन भने अरू यस्तै साना ठूला मुद्दामा एक्लो व्यक्तिले न्यायको अपेक्षा कसरी गर्न सक्छ ? न्याय पाउने विश्वास नहुँदा नहुँदै त्यहाँसम्म जाने झमेला किन गर्ने ? पैसाको खर्च, समयको बर्बाद हुँदा पनि न्यायको ग्यारेन्टी नहुँदा हिंसाका अनेक घटना परिवार, छरछिमेकी र नातेदारले मिलाउने कोसिस गर्छन् ।

हाम्रो समाजमा महिला हरेक पक्षबाट प्रताडित बन्ने गरेका छन् । उनीहरूको अवस्था यति निरीह र दुर्बल छ कि हिंसाका घटना प्रकाशमा ल्याउनुभन्दा गुपचुप राख्नु उत्तम ठान्छन् । पहिलो, न्याय पाउन गाह्रो छ, दोस्रो, न्याय मिलिहाले पनि पछि जीउन कठिन छ । इज्जत जाने डर, विवाह नहुने चिन्ता र समाजले उल्टै पीडितलाई पीडा दिइरहने सम्भावना रहन्छ ।

बलात्कारको शिकार हुनुमा पीडितको दोष हुँदैन, शतप्रतिशत दोष पीडकको हो । तर परपीडक सामाजिक प्रवृत्तिले पीडितलाई नै खेद्छ । फलत: शारीरिक हिंसा एकपटक भोगेकी युवती वा महिला जीवनमा बारबार मानसिक यातना भोग्न बाध्य हुन्छे । यस्तै अनेकन सम्भावनाको लेखाजोखा गरेर परिवार र व्यक्ति स्वयंले पनि घटना लुकाउनु उत्तम ठान्छन् । घटना लुकाएपछि पीडकलाई हाइसन्चो हुन्छ ।

अधिकांश हिंसामा नजिकका नातेदार र छिमेकी संलग्न रहने हुँदा पीडक प्रत्यक्ष, परोक्ष रूपमा पीडितलाई उजुरी दिन निरुत्साहित गर्न र आफू अनुकूल वातावरण सिर्जना गर्न उद्यत रहन्छ । समाजमा पीडित पीडाको चक्रमा रुमलिरहन्छ र पीडक भने उन्मुक्तिको अनुभूति गर्दै त्यस्तै घटना दोहोर्‍याइरहन उद्यत रहन्छ । यसमा हाम्रो संस्कार र संस्कृतिप्रति हाम्रा रूढ मान्यता जिम्मेवार छन् ।

एकाथरि मानिस पहिलेको समाज आदर्शमय थियो, अनेक कारणले आजकल महिला हिंसा वृद्धि भएको छ भन्ने गर्छन् । महिलाको शिक्षाको स्तर बढेको छ जसका आधारमा उनीहरू स्वावलम्बी बनेका छन् । आम मानिसको चेतनास्तरमा वृद्धि भएको छ, त्यसैअनुसार नियम कानुन बनेका छन् । यसरी सनैसनै आदिम समाजभन्दा मध्ययुगीन समाज उन्नत भन्न मिल्यो । मध्ययुगीनभन्दा आधुनिक समाज विकसित र सभ्य बन्दै गयो । यो तथ्य महिलाको उन्नति प्रगतिका पक्षमा पनि लागू हुन्छ । आजको सभ्य भनाउँदो समाजको ठूलै हिस्साले साथ दिँदा र अनुकूल कानुन बन्दा त निर्मला प्रकरणले यस्तो जब्बर रूप लिएको छ भने पहिलेको अवस्था महिलाको पक्षमा अनुकूल थियो भन्नु बेतुक मात्र हो ।

हिंसात्मक घटना जीवन्त रहिरहनुमा प्रमुख जिम्मेवार को हो ? यौन हिंसाका अपराधीलाई दण्ड दिन किन यति कठिन भइरहेछ ? यौन हिंसा हुनुमा कोही पुँजीवादलाई दोष दिन्छन्, कोही साइबर संस्कृतिलाई औंल्याउँछन् । अझ कोही त महिलाका फेसन र विज्ञापन जस्ता तथ्यलाई विशाल बनाउन उद्यत देखिन्छन् । यी कारण यदाकदा मिल्लान् तर जड कारण होइनन् । यौन लगायत सम्पूर्ण हिंसाको प्रमुख कारण हाम्रो संस्कार र संस्कृतिभित्र छिपेको छ । धेरै प्रकारका हिंसा हाम्रो संस्कृतिका रूपमा जीवन्त रहँदै आए । हामीले तिनको निराकरणको बाटो पहिल्याउन सकेका छैनांै ।

आज हामी जेलाई हिंसा भन्दैछौं, ती केही पहिलेसम्म हाम्रा संस्कार र संस्कृतिका अभिन्न रूप थिए कि थिएनन् ? सतीप्रथा उन्मूलन हुनुअघि समाजले त्यसलाई सुसंस्कार ठान्थ्यो । पतिब्रता कहलाउन महिला मृत लोग्नेको लाससँगै मृत्युवरण गर्थे । लोग्नेसँग जलेर मर्न नचाहनेलाई बलै गरेर पनि मारिन्थ्यो । त्यो कार्य दण्डनीय मानिँदैन थियो । अहिले सतीप्रथा जघन्य अपराध भएको छ ।

आज हामी वैवाहिक बलात्कारको कुरा उठाउन सक्ने भएका छौं । त्यसका लागि कानुन बनेको छ । तर विवाहपश्चात् महिलालाई आफ्नो अधीनस्थ वस्तुका रूपमा लिएर व्यवहार गर्ने चलन अहिले पनि जस्ताको तस्तै छँदैछ । लाग्छ, नब्बेभन्दा बढ्ता प्रतिशत महिला लोग्नेबाट कुटिन्छन् । तैपनि महिला यसलाई बाहिर ल्याउन सक्दैनन्, चाहँदैनन् । सुसंस्कृत महिलाले घरको कुरा बाहिर ल्याएको राम्रो मान्दैन समाजले । त्यसमा महिलाको आर्थिक परनिर्भरताको कारण पनि केही मात्रामा छ । आमाबाबु, सासू, ससुरालगायत सबै पतिले यस्सो हात लगाउँदा पनि हल्ला मच्चाउँछे भनेर महिलालाई नै उल्लु बनाउन तम्सन्छन् । महिलालाई सहनुपर्ने उपदेश दिनेहरू लोग्ने मानिसको विपक्षमा चुइक्क बोल्दैनन् । समाजले जानेर नजानेर हिंस्रक प्रवृत्तिलाई प्रोत्साहन दिएको छ । लोग्नेबाट महिला पिटिने क्रम घटेको अनुमान लगाउन सकिन्छ । अहिले हामी पिट्नुलाई हिंसा भन्न थालेका छौं तर शताब्दियौंदेखि यसलाई सहज संस्कृतिका रूपमा लिएका थियौं कि थिएनांै ?

हामीमध्ये केही वैवाहिक बलात्कारको वकालत गर्न सक्ने भएका छौं । तर वैवाहिक बलात्कार र वैवाहिक पद्धति सम्बन्धित छन् भन्ने विषयमा कतिले चिन्तन गरेका छन् ? विधिविधान निर्माताले समेत यसको असली कारणबारे यथेष्ट चिन्तन गरेका छन् भनेर विश्वास गर्ने आधार पनि देखिंदैन । विवाहमा ‘दान’ का रूपमा पतिको घर पुगेकी अवलाले सुहागरातमा यौन कर्मका लागि पति तयार हुँदा अहिले मेरो चाहना छैन भनेर तत्क्षण प्रतिकार गर्न कति महिलाले सकेका छन् ? ‘दान’ का रूपमा भित्र्याइएकी पत्नीलाई पुरुषले आफ्नो इच्छा अनुसार भोगे, भोग्दैछन् । यो पनि हाम्रो संस्कारको अंग थियो । पुरुष अनुकूल भइदिनु हाम्रो धर्मले सिकाएको छ, आफ्नो इच्छा र चाहनालाई दबाउन र त्याग गर्न हामीलाई अभ्यस्त बनाइएको छ । यसले पुरुषलाई एकतर्फी रूपमा बलियो र महिलालाई कमजोर बनाउँछ भन्ने बुझ्न आवश्यक छ कि छैन ?

भरखर हामीमध्ये केही आफ्नो चाहना बेगरको कार्य हिंसा हो भन्न सक्ने भएका छौं, तर कतिले यसको स्रोत र असली कारण पत्ता लगाउने प्रयत्न गरेका छन् ? अनि कति महिला पुरुष यो हिंसाको रूप बदल्न वैवाहिक पद्धतिमा परिवर्तन गर्नुपर्छ भन्नेमा सहमत होलान् ? विचारणीय छ । दाइजो र तिलक जस्ता हिंसा निम्याउने प्रथा पनि हाम्रो संस्कृतिका रूपमा जीवन्त छँदैछन् । कुनै कुनै समुदायमा प्रचलित तानी विवाहलाई संस्कृतिको रूपमा स्वीकारिन्छ । बलात्कारमा परेका महिलालाई जसले बलात्कार गरेको हो उसैको शरणमा पुर्‍याउने गरेका घटना छन् । युद्धग्रस्त क्षेत्रमा विजयी पक्षले पराजित पक्षलाई धम्क्याउन र विजयोन्माद प्रदर्शनका लागि पनि पराजित पक्षका महिलालाई आफ्नो अधीनको वस्तु बनाउन प्रयत्न गर्ने र पराजित पुरुषलाई चुनौती दिँदै खुलेआम यौनजन्य हिंसा मच्चाउने गरेका घटना आदिम समाजको मात्र चित्रण होइन । बलात्कार गरेर पनि निर्धक्क डुल्ने पुरुष र जीवनभरि सास फेरेर पनि मरेतुल्य जीवन बाँच्न बाध्य बलात्कार पीडित महिला हाम्रा यस्तै संस्कार र संस्कृतिको उपज हो भन्न हिच्चकिचाउनु पर्दैन । संस्कार र संस्कृति हत्तपत्त परिवर्तन गर्न सकिँदैन । आज हिंसापीडितले न्याय नपाउने कारण पनि यही संस्कारजन्य मानसिकताको परिणाम हो । यस्ता जघन्य अपराधको कानुनी उपचार नै पहिलो प्राथमिकता हो । तर यतिमात्र पर्याप्त होइन । आपराधिक घटना न्यूनीकरणका लागि समाजका परम्परा, संस्कार र संस्कृतिजन्य मान्यतामा पुनर्मूल्यांकन र परिवर्तनको खाँचो छ ।

प्रकाशित : आश्विन २८, २०७५ ०७:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×