कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रुकुम वियोगान्त : अमानुषिक प्रवृत्तिको उत्कर्ष

सम्पादकीय

रुकुमको चौरजहारीमा शनिबार राति जे भयो, त्यो एक्काइसौं शताब्दीमा पनि नेपाली समाजमा कुन स्तरको जातीय उत्पीडन र क्रूर प्रवृत्ति जीवितै छ भन्ने दृष्टान्त हो । कथित जातीय उचनीचका नाममा प्रेम विछोड गराउन त्यहाँ मच्चाइएको रक्तपात हाम्रो सामाजिक चेतनामाथिकै नमेटिने कलंक हो ।

रुकुम वियोगान्त : अमानुषिक प्रवृत्तिको उत्कर्ष

आफ्नी प्रेमिकालाई लिन त्यस रात साथीहरूका साथ चौरजहारी–८, सोती पुगेका जाजरकोट भेरी–४, रानागाउँका २० वर्षीय नवराज विक आफू मात्रै मारिँदैनन्, सँगै गएका टीकाराम सुनार र गणेश बुढामगरको पनि हत्या हुन्छ । अरू तीन जना सन्दीप विक, लोकेन्द्र सुनार र गोविन्द शाही बेपत्ता हुन्छन् । केटी कथित उपल्लो जातको भएकै कारण उनीहरू ५०–६० जना गाउँलेको अन्धाधुन्द आक्रमणमा पर्छन् ।

जातीय विभेदको उत्कर्षका रूपमा देखिएको यो अमानुषिक हर्कतको जति निन्दा–भर्त्सना गरे पनि कमै हुन्छ । अलिकति पनि विवेक भएको जोकोहीलाई यस काण्डले स्तब्ध बनाएको छ । जातीय भेदभावकै कारण कुनै प्रेम जब यसरी शोकान्तमा गएर टुंगिन्छ, तब सबैले सोच्नैपर्छ— आखिर हामी कस्तो समाजको निर्माण गर्दै छौं ? राजनीतिक र कतिपय सामाजिक जागरणका हिसाबले जतिसुकै अग्रगामी छलाङ मार्‍यौं भन्दाभन्दै पनि जातीय उत्पीडन अन्त्यको सवालमा हामी शंखेकिराकै गतिमा रहेछौं । यसबाट थाहा हुन्छ, हाम्रो समाजमा अझै कति पछौटेपन छ । घातक त यस्तो पछौटेपनमा चेतना अभाव मात्र छैन, अमानुषिक प्रवृत्ति पनि छ । आफ्नी छोरीचेलीसित बिहे गर्न चाहेकै भरमा यो स्तरको जघन्य अपराधमा ओर्लनु त्यही मनोवृत्तिको उपज हो । एक्काइसौं शताब्दीको सभ्यता आफैंले शिर झुकाउनुपर्ने यो वियोगान्त हाम्रो राष्ट्रिय लज्जाको विषय हो ।

घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा एक समिति गठन गरेको छ । त्यसले छानबिन गरेर प्रतिवेदन बुझाउला, तर फौजदारी आपराधिक कार्यको अनुसन्धान गर्ने दायित्व पूर्णतः सम्बन्धित प्रहरी कार्यालयको हो । रुकुम प्रहरी र जिल्ला सरकारी वकिलको कार्यालयले घटनाको विस्तृत अनुसन्धान गरी सबुत प्रमाणहरू बलियो बनाएर अदालतमा मुद्दा लैजानुपर्छ । कसैको दबाब र प्रभावमा नपरी अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ । मृतकका परिवारले त्यहाँका वडाअध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुबा वीरबहादुर मल्ललगायतले लखेटीलखेटी मारेको आरोप लगाएका छन् ।

रुकुम प्रहरीले वडाध्यक्ष मल्लका साथै केटी, केटीका बुबा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ललगायत १२ जनालाई नियन्त्रणमा लिएको छ । संलग्न अन्यको खोजी भइरहेको उसको भनाइ छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई सजाय दिलाउन प्रहरीले कुनै कसर बाँकी राख्नु हुँदैन । साथै, आक्रमण भइरहँदा घटनास्थल पुगेको प्रहरीले कुनै प्रतिकार्य नगरेको पीडित पक्षको भनाइ छ, यसबारे पनि छानबिन गरिनुपर्छ । केटीको बिहे गर्ने उमेर नपुगेको तर्क पीडक पक्षको छ । मुलुकी ऐनअनुसार केटाकेटी दुवै २० वर्ष नभई गरिएको विवाह बदर हुन्छ । तर त्यसको आफ्नै उपचार विधि छ, पहिल्यै सम्झाइ–बुझाइ गर्न सकिन्छ, बिहे गरेरै लगेको भए पनि कानुनअनुसार दण्डित गर्न सकिन्छ । तर हत्याका लागि कुनै पनि बहाना उपलब्ध हुनु हुँदैन ।

मुलुकी ऐनमार्फत जातीय छुवाछूत अन्त्य घोषणा गरिएको आधा शताब्दी नाघिसक्दा र जातीय विभेदलाई दण्डनीय बनाउँदा पनि दलितमाथिको विभेद/अपराध रोकिएको छैन । यही शुक्रबार मात्रै बुटवलमा रातको समय केटासँग हिँडेकै कारण सामूहिक दुर्व्यवहार भोग्नुपरेपछि १५ वर्षीया दलित किशोरीले आत्महत्याको बाटो रोजिन् । दुई साताअघि पाल्पामा दलितसँगै बिहे गरेकै कारण एक पुरुषलाई आमाको शवसम्म छुन दिइएन, सुरुमा किरिया बार्न पनि घरमा पस्न नदिएर केही दिन बारीमै छाप्रो बनाएर बस्न बाध्य तुल्याइएको थियो । त्यस्तै, अलि अघि पोखरामा किरियापुत्री बस्ने सार्वजनिक भवन प्रयोग सम्बन्धमा दलित र गैरदलितबीच विवाद भएको थियो ।

अन्तरजातीय विवाहकै कारण बर्सेनि कसै न कसैको हत्या भइरहेको हुन्छ । मुलुकमा जातीय कुप्रथाको जरो कति गहिरो छ भन्ने साक्षी हुन् अमानवीयताको हद नाघेका यी घटनाहरू । त्यसैले, शताब्दीऔं पुरानो विभेद अन्त्य गर्न यो रुढीवादको जरो नै मिल्क्याउनुपर्छ । पात र काण्डहरूमा रंगरोगन गरेर मात्रै यो अमानवीय प्रथा हट्न सक्दैन । त्यसका लागि मुलुकमा व्यापक सामाजिक र सांस्कृतिक जागरणको खाँचो देखिन्छ । यसको नेतृत्व राष्ट्र र समाज परिवर्तनको अगुवाइ गर्नुपर्ने दलहरूले लिनुपर्छ, कार्यकारिणी अधिकार भएका सरकारहरूले जागरणको ढोल पिट्नुपर्छ ।

यस्ता घटना हुन नदिन, भइहालेमा न्यायको पक्ष लिई पीडकलाई कारबाही दिलाउन उनीहरूले भूमिका खेल्नुपर्छ । पहुँचका आधारमा पीडकलाई कुनै संरक्षण दिइनु हुँदैन । हामी सबैले ख्याल गर्नुपर्छ— जबसम्म जातीय विभेद रहिरहन्छ, तबसम्म जतिसुकै भौतिक प्रगति गरे पनिनेपाल एउटा उन्नत राष्ट्र बन्नै सक्दैन । जबसम्म दलितहरू मान्छे गनिँदैनन्, उनीहरूमाथि भेदभावपूर्ण क्रियाकलाप भइरहन्छन्, तबसम्म कथित उपल्लो जातिकाहरू स्वयं मान्छे बन्न सक्दैनन् । सरकार, दलहरू र समाजका सबै तह र तप्काको सामूहिक प्रयत्न भयो भने पक्कै पनि यो अँध्यारो सुरुङबाट निस्कन सकिन्छ । सम्बन्धित सबै पक्षले यस्तो पहल अविलम्ब गर्नुपर्छ, ताकि भोलि कसैले जातीय विभेद नभोगोस् र दुलही लिन गएको कोही शव बनेर फर्किनु नपरोस् ।

प्रकाशित : जेष्ठ १४, २०७७ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?