रामायण : कति प्राचीन ?

बालकाण्डमा भारतका कौशाम्बी, वैशाली, मिथिला, गिरिव्रज, अयोध्याजस्ता सहरको वर्णन छ । यी सबै सहर अहिले उत्तर प्रदेश र बिहारमा पर्छन् । सन् १९४७ यता भारतमा गरिएको पुरातात्त्विक उत्खननले यी सहर इसापूर्व ६०० का हुन् भन्ने देखाएको छ ।
भोगीराज चाम्लिङ

‘वाल्मीकि रामायण’ (संस्कृत) को सबैभन्दा प्राचीन हस्तलिखित पाण्डुलिपि नेपालमा सुरक्षित छ । ओरियन्टल इन्स्टिच्युट, भारतले प्रकाशन गरेको ‘द वाल्मीकि रामायण : क्रिटिकल इडिसन’ (सन् १९६०) मा नेपालबाट प्राप्त दुईवटा पाण्डुलिपि समावेश छ ।

रामायणबारे ‘क्रिटिकल’ अध्ययन गर्न भारत र भारतबाहिर गरेर २००० थान पाण्डुलिपि संकलन गरिएकोमा ‘प्राचीनता, शुद्धता र पूर्णता’ लाई आधार बनाएर नेपालबाट यी पाण्डुलिपि छानिएका हुन् । इतिहासकार बाबुराम आचार्यका अनुसार, ताडपत्रमा प्राचीन नेवारी लिपिमा लेखिएका ती पाण्डुलिपिमध्ये एउटा विक्रम संवत् १०७६ (सन् १०२०) को हो भने अर्कोचाहिँ नेपाल संवत् ७९५ (सन् १६७५) को । यी पाण्डुलिपि हामी काठमाडौंस्थित वीर पुस्तकालय (माइक्रोफिल्म एमएसएस नम्बर ९३४ र ९०५) मा हेर्न, पढ्न सक्छौं (सम्पादक जीएच भट्ट, भोल्युम १, बालकाण्ड, पृष्ठ XXiX) ।

वाल्मीकि रामायण यसरी पाण्डुलिपिमा परिणत हुनअघि लामो समयसम्म मौखिक परम्पराका रूपमा जनस्तरमा लोकप्रिय आख्यान-काव्यका रूपमा प्रचलित थियो । दुई हजार वर्षभन्दा अझ अगाडिको के कुरा ! हाम्रै गाउँघरमा हिजो अस्तिसम्म किरात राई पुर्खाहरूसमेत अहिलेको दोहोरी गीतजस्तै ‘भानुभक्त रामायण’ का ‘सिलोक’ (श्लोक) मा खासखास अवसरमा मुखराल (मौखिक) सवाल-जवाफ गर्थे । एउटा पुर्खाले एउटा सिलोक भन्थ्यो, अर्को पुर्खाले जवाफ दिन्थ्यो । जसले जवाफ पर्काउन सकेन ऊ हारेको ठहरिन्थ्यो । जित्नेको नामसुवास दस गाउँमा फैलिन्थ्यो- ‘ए, फलाना गाउँमा त नसक्नुको (सिद्धहस्त) फलाना सिलोके छ रे ।’

रामायणको उत्तरकाण्डमै उल्लेख भएको यस्ता ‘सिलोकेहरू’ चाहिँ कुश र लव थिए जो ऋषि वाल्मीकिका चेला पनि हुन् । दोस्रो शताब्दी अन्तिमतिरको मानिने संस्कृतग्रन्थ ‘कल्पनामण्डिटिका’ मा समेत रामायण मौखिक पम्परामा थियो भन्ने कुरा उल्लेख छ (एम. विन्टरनित्ज : अ हिस्ट्री अफ् इन्डियन लिटरेचर, जर्मन भाषाबाट अनुवाद सन् १९२७, पृष्ठ ५१३) । त्यस्ता गायकहरू प्रचलित श्लोकमा थपघट गर्न स्वतन्त्र हुन्थे । रामायणका कतिपय अंश पाठ मात्र गरिन्थ्यो, कतिपय अंशचाहिँ संगीतसँगै लयमा गाइन्थ्यो । संस्कृतमा ‘कुशीलव’ को अर्थ नै विशेषगरी मौखिक परम्पराका महाकाव्यहरूका वाचक, गायक र अभिनयकर्ता भन्ने हुन्छ । प्राचीन मौखिक गीत-काव्यहरू यसरी नै वाचकहरू, गायकहरू, अभिनयकर्ताहरूले मौखिक र अभिनयमार्फत जोगाउने र फैलाउने गरेका हुन् । निश्चय नै मौखिक परम्परामा काव्यात्मक दक्षता भएकाहरूले श्रोता, दर्शकहरूको मुड र रुचिअनुसार थप गर्नु स्वाभाविक हो । यसरी थपिँदै जाँदा रामायणको मूलभन्दा पनि थपिएको अंश बढी लोकप्रिय हुन पुग्यो । र, रामायण मूलभन्दा मोटाउँदै गएर अहिलेको स्वरूपमा आइपुग्यो (हर्मन ज्याकोबी : द रामायण, ओरियन्टल इन्स्टिच्युट अफ् बरोडा, जर्मन भाषाबाट अनुवाद सन् १९६०, पृष्ठ ४९) ।

यदि श्रोताहरूलाई सीता, दशरथ या कौसल्याको कथाले मन छुन्थ्यो भने उनीहरू त्यसमा अझ बढी फूलबुट्टा भर्थे, जसले गर्दा श्रोताहरू मख्ख पर्थे । यदि स्रोताहरू युद्धको कथाबाट रोमाञ्चित हुने खालका भेटिए भने गायकहरू युद्धका कथामा बाँदर सैनिकहरूको संख्या दसौं हजार पुर्‍याउँथे, राक्षसहरूको धेरैभन्दा धेरै विनाश भएको कुरा थपिदिन्थे । यदि हाँसोठट्टाबाट प्रभावित हुने खालका श्रोताहरू हुन्थे भने त्यस्तै कथाका श्लोकहरू थपिदिन्थे । यदि श्रोताहरू पढालिखा ब्राह्मण हुन्थे भने नैतिकताका कुरा, नीतिका कुराहरू थप गर्थे (एम. विन्टरनित्ज, पृष्ठ ४९७) । समयको लामो दौरानमा विभिन्न व्यक्तिबाट थपिए पनि रामायणलाई पछिल्लो समयमा प्रतिभाशाली कविले निश्चित अनुशासनमा रहेर अन्तिम रूप दिएको हो भन्ने कुरा रामायणका रचनाशैलीबाट प्रस्ट हुन्छ । वाल्मीकिको कला हुबहु अनुकरण गर्न सक्ने ती व्यक्ति को थिए ? यसै भन्न सकिन्न (हर्मन ज्याकोबी, पृष्ठ ५१) ।

रामायण (राम+अयण) को अर्थ हुन्छ- रामको कार्य अथवा प्रस्थान (मोनियर विलियम्स, इन्डियन विज्डम अर् एक्जाम्पल्स् अफ् द रिलिजियस्, फिलसफिकल एन्ड इथिकल डक्ट्रिन्स अफ् द हिन्दुज, सन् १८७५, पृष्ठ ३३७-३८) । यद्यपि रामायणका कथावस्तुबारे चाहिँ बहस बाँकी नै छ । हर्मन ज्याकोबीका अनुसार, रामायण खासमा अलगअलग दुईवटा मूलकथाहरूको जोड हो- पहिलो, अयोध्याका राजा दशरथसम्बन्धी मूल कथा हो जहाँ दशरथ मूल नायक छन् । दोस्रो हो, रामको वनयात्रा र रावणमाथिको विजय । यी दुई स्वतन्त्र मूलकथामध्ये पहिलो भागले इक्ष्वाकु वंशका राजकुमारको रंगीन जीवनको कथा भन्छ भने दोस्रो भाग पूरै मिथकीय छ (हर्मन ज्याकोबी, पृष्ठ ६६) । तर, दिनेशचन्द्र सेनचाहिँ ज्याकोबीभन्दा अलि फरक मत राख्छन् । उनी के भन्छन् भने राम र रावणको कथाचाहिँ भिन्दाभिन्दै भनिँदै आएका भारतका लोकगाथा हुन् । त्यसलाई वाल्मीकिले जोडेर रामायण बनाएका हुन् (द बङ्गाली रामायन्स्, सन् १९२०, पृष्ठ iX) । दशरथ र रामका स्वतन्त्र कथालाई जोडेको हो या राम र रावणका स्वतन्त्र कथालाई जोडेको हो भन्ने अझै खोजीका विषय हुन् । आउँदा दिनमा यसबारे टुङ्गो लाग्ला नै ।

अहिलेसम्म टुङ्गो लागिसकेको कुराचाहिँ के भने रामायणको मूल स्वरूप (पाठ) इसापूर्व तेस्रो शताब्दीमा वाल्मीकिले तयार गरेका थिए, जुन प्राचीन लोकगाथामा आधारित थियो (एम. विन्टरनित्ज, पृष्ठ ५१७) । वाल्मीकि जसले त्यति सुगठित काव्य परिष्कृत छन्दमा रचना गरे, त्यसलाई उनीभन्दा पछाडिका महाकाव्यका वाचक, गायकहरूले नयाँ स्वाद र समय सुहाउँदो बनाएर अझ बढी लोकप्रिय बनाए (हर्मन ज्याकोबी, पृष्ठ ६२) । तर, परम्परामा विश्वास गर्नेहरू रामायणलाई ५००० वर्ष पुरानो मान्छन् । वैज्ञानिक अध्ययन गर्नेहरूमध्ये प्रख्यात अंग्रेज विद्वान् एफई पार्जिटरले रामको युगलाई इसापूर्व १४०० को ठहर गरेका छन् । जर्मन र भारतीय विद्वान्हरूचाहिँ इसापूर्व ८०० सम्म मान्ने गर्छन् । एउटा आम सहमतिचाहिँ केमा देखिन्छ भने रामायणको वर्तमान स्वरूप इसापूर्व ४०० देखि इसाको २०० का बीचमा तयार भएको हो । त्यस्तै रामायणको कथा इसापूर्व १००० भन्दा पुरानो होइन भन्ने कुरामा पनि विद्वान्बीच खासै विवाद छैन । त्यसका केही मान्य आधारहरू छन् :

एक : प्राचीन सहरहरू

रामायणको पहिलो अध्याय बालकाण्डमा भारतका थुप्रै सहरको वर्णन छ । ती हुन् कौशाम्बी, वैशाली, मिथिला, गिरिव्रज, अयोध्या इत्यादि । यी सबै सहर अहिले उत्तर प्रदेश र बिहारमा पर्छन् । सन् १९४७ यता भारतमा गरिएको पुरातात्त्विक उत्खननले यी सबै सहर इसापूर्व ६०० का हुन् भन्ने देखाएको छ । सी-कार्बन डेटिङले कतिपय सहरको सर्वप्राचीन जग इसापूर्व १००० मा खडा भएको देखिन्छ । यसकारण निर्धक्क भएर के भन्न सकिन्छ भने रामायणको जुन कथा छ, त्यो इसापूर्व १००० भन्दा कुनै हालतमा पनि पुरानो होइन । त्योभन्दा पहिले गंगाको मैदानमा संगठित सहरहरू नै थिएनन् (एचडी संकालिया : ‘आर्कियोलजी एन्ड रामायण अर् डेटिङ द रामायण’, पुरातत्त्व : बुलेटिन अफ् द इन्डियन आर्कियोलजिकल सोसाइटी, नम्बर १, सन् १९६७-६८, पृष्ठ १) । त्यस्तै रामायणको अन्तिम अध्याय उत्तरकाण्डअनुसार, भरतका छोराहरूले गन्धर्वहरूलाई पराजित गरेर तक्षशिला (टक्शिला) र पुष्कलावती (चार्षद) सहर बसाएका थिए । जोन मार्सलले तक्षशिला अनि मोर्टिमर ह्विलरले पुष्कलावतीमा गरेको उत्खननअनुसार यी दुई सहर पनि इसापूर्व ६०० का हुन् (एचडी संकालिया, पृष्ठ २) ।

अर्को कुरा, पूर्वी भारतका यी सहरबारे उल्लेख हुँदाहुँदै पनि रामायणमा पाटलीपुत्रको नामचाहिँ उल्लेख छैन । जबकि पाटलीपुत्र मेगास्थनीहरूको शासनकालमा भारतको राजधानी बनेको थियो । यसको अर्थ हो, रामायणको बालकाण्डमा थप्ने कार्य नन्द र मौर्य (इसापूर्व ३२१-१८५) हरूको शासनभन्दा अगाडि नै भएको हो (हर्मन ज्याकोबी, पृष्ठ ७६) ।

दुई : फलाम

रामायणमा फलामको पनि उल्लेख छ, जसका लागि अयश, कालायश अथवा कार्सआयश, लोहा शब्द प्रयोग भएको छ । अयशबाहेक तीनवटा चाहिँ निश्चित रूपमा फलामकै लागि प्रयोग भएको शब्द हो । रामायणका राजा जनकसँग आठ पाङ्ग्रा भएको धनुकाँड छ, जसमा ताँदो चढाएर रामले सीतालाई प्राप्त गरेका छन् । यसप्रकारको धनुको निर्माण फलामसम्बन्धी उन्नत प्रविधि विकास भएपछि मात्र सम्भव हुने कुरा हो । भारतमा यस्तो फलाम उद्योगको विकास इसापूर्व ५०० पछि भएको हो (एचडी संकालिया, पृष्ठ ३) भने फलामको प्रयोग सुरु भएको भनेको इसापूर्व १००० मा हो (दिलीप के. चक्रवर्ती एन्ड नयनजोत लाहिरी, ‘द आइरन एज् इन् इन्डिया : द बिगिनिङ एन्ड कन्सिक्वायन्स’, पुरातत्त्व : बुलेटिन अफ् द इन्डियन आर्कियोलजिकल सोसाइटी, नम्बर २४, सन् १९९३-१९९४, पृष्ठ २३) । फलाम प्रयोगको सन्दर्भले पनि रामायणको कथालाई बढीमा इसापूर्व १००० भन्दा परको मान्न सकिन्न (एचडी संकालिया, पृष्ठ ३) ।

तीन : भाषा

रामायणको प्राचीनताबारे बताउने अर्को आधार भाषा हो । हर्मन ज्याकोबीको विचारमा रामायणको भाषा बुद्धको समयभन्दा अगाडिको हो । भारतका सम्राट अशोकले आफ्ना अभिलेख संस्कृतमा होइन, प्राकृत भाषामा कुँदाएका छन् । स्वयं बुद्ध (इसापूर्व छैटौं-पाँचौं शताब्दी) ले पनि संस्कृतमा प्रवचन दिएका थिएनन्, पालि भाषामा दिएका थिए । बुद्ध अथवा अशोकभन्दा पछाडि रचना भएको भए रामायण पक्कै पनि संस्कृतमा हुने थिएन, पालि अथवा प्राकृत भाषामा हुने थियो, जुन त्यसबखतको जनभाषा थियो । त्यसैले बुद्धभन्दा अगाडि संस्कृत जनभाषाका रूपमा रहेको बखत रामायण रचना गरिएको हो (एम. विन्टरनित्ज, पृष्ठ ५११) भन्न सकिने आधार यो पनि हो । कतिपय विद्वान्हरू रामायण गैरसंस्कृत भाषामा रचना गरिएको हो, पछि मात्र संस्कृतमा अनुवाद गरिएको हो भन्ने मान्यता पनि राख्छन् तर यो मतको खण्डन गरेका छन् ज्याकोबी र विन्टरनित्जले (एम. विन्टरनित्ज, पृष्ठ ५१२) । किनभने, रामायणजस्तो लोकप्रिय महाकाव्य संस्कृत जनभाषा भएको बखत रचना नगरेर संस्कृत भाषा मृत भएको बेला रचना हुने कुरै आउँदैन (हर्मन ज्याकोबी, पृष्ठ ८७) अर्थात् बुद्ध अथवा अशोकको समयपछि रचना हुने कुरै आउँदैन ।

यद्यपि इसाको पहिलो शताब्दीमा पनि संस्कृतमा रचना हुँदैनथ्यो भन्ने होइन । बौद्ध धर्मावलम्बीहरूले पनि संस्कृत भाषामा रचना गर्थे । त्यसको प्रमाण हो अश्वघोषको ‘बुद्धचरित्’, जुन रामायणलाई नमुना मानेर रचना गरिएको हो । इसाको दोस्रो शताब्दी सुरुतिरका मानिने अश्वघोषले रामायणबाट प्रभाव ग्रहण गर्नुको अर्थ हो, दोस्रो शताब्दी समाप्त हुनुभन्दा अगाडि नै रामायण अहिलेको स्वरूपमा तयार भइसकेको थियो (एम. विन्टरनित्ज, पृष्ठ ५१२-५१३) ।

चार : खगोल विज्ञान

चौथो अध्यायको श्लोक २३ मा खगोल विज्ञानसँग सम्बन्धित एउटा घटनाले रामायण इसापूर्व ५०० भन्दा पहिलेको हो भन्ने देखाउँछ । त्यहाँ एउटा श्लोक छ, जहाँ घाम पूरै छेकिएर कालो धब्बाजस्तो हुन पुगेको वर्णन छ । रामायणमा यो घटनाबारे यति जीवन्त वर्णन छ कि कविले प्रत्यक्ष अनुभव गरेर वर्णन गरेजस्तै लाग्छ- त्यसबखत हावाहुरी चल्यो, दिउँसै आकाशमा ताराहरू देखिए, चराहरू गुँडमा बास बसे, यस्तै अन्य थुप्रै घटना भए (हर्मन ज्याकोबी, पृष्ठ ८२) । यस्तो पूर्ण सूर्यग्रहण धेरै समयको अन्तरालमा हुने दुर्लभ घटना हो, जुन रामायणमा वर्णित छ । जर्मनीमा यस्तो पूर्ण सूर्यग्रहण सन् १९९० मा घटेको थियो । खगोल विज्ञानको गणनाअनुसार, यस्तो पूर्ण सूर्यग्रहण भारतमा इसापूर्व ३०९, ४२६, ५४६, ५४८, ५७४, ७६९ र ७९४ मा घटेको थियो । यसमध्ये इसापूर्व ३०९ मा लागेको पूर्ण सूर्य ग्रहण हिमालय क्षेत्रमा परेको थियो, त्यसैले त्यसको कुरै भएन । बाँकीमध्ये इसापूर्व ४२६ र ५४८ को सूर्य ग्रहण सबैभन्दा बढी थियो । त्यस हिसाबले रामायणका कविले देखेको सूर्य ग्रहण यी दुई मितिको थियो कि भन्न सकिन्छ । समग्रमा चाहिँ रामायणका कविले पाँचौं, छैटौं या आठौं शताब्दीका कुनै एक सूर्य ग्रहण देखेको अनुमान गर्न सकिन्छ (हर्मन ज्याकोबी, पृष्ठ ८३-८४) ।

पाँच : यवन अर्थात् ग्रीक

रामायणमा विदेशीहरूलाई बुझाउन ‘यवन’ शब्द प्रयोग भएको छ । अल्ब्रेख्त वेबरका अनुसार, यवन भनेका ग्रीकहरू हुन् (अन् द रामायण, जर्मन भाषाबाट अनुवाद सन् १८७३, पृष्ठ ४९) । यसको अर्थ हो, ग्रीकहरू भारतमा आउँदासम्म पनि रामायणमा थप्ने कार्य जारी थियो (हर्मन ज्याकोबी, पृष्ठ ७१) । भारतमा विदेशीहरूको प्रवेश इसापूर्व २०० देखि भएको मानिन्छ (डीएन झा, एन्सियन्ट इन्डिया इन हिस्टोरिकल आउटलाइन, सन् २००९, पृष्ठ १११) । रामायणमा सुनका गहना र भाँडाकुँडाको मात्रै कुरा गरिएको छैन, ढोका र पर्खाल पनि सुनले मोहरिएको उल्लेख छ, जुन यवनहरूको भारत प्रवेशपछिको घटना हो । त्यस्तै वाइन (रक्सी) को उल्लेख छ । भरतका सेनालाई दुईथरी रक्सी खुवाइएको वर्णन रामायणमा पाइन्छ । पुरातात्त्विक उत्खननले ग्रीक र रोमन रक्सीहरू इसापूर्व १०० देखि इसाको ४००-५०० सम्म भारतमा प्रयोग हुन्थ्यो भन्ने पुष्टि भएको छ । रोमन र ग्रीसमा रक्सी राख्न बनाइने प्राचीन जग (भाँडा) समुद्र किनारका भारतका सहरहरू द्वारका, कोल्हपुर, पोन्डिचेरीका घरका अवशेषभित्र पाइएका छन् । त्यस्तै समुद्रभन्दा टाढाका सहरहरू जुन्नर, नेवासालगायतका सहरहरूमा पनि पाइएका छन् (एचडी संकालिया, पृष्ठ २) ।

छ : सती प्रथा

मोनियर विलियम्सका अनुसार, रामायणमा सती प्रथाबारे कुनै उल्लेख छैन । जबकि ‘महाभारत’ मा चाहिँ पाण्डुकी श्रीमती माद्री, वासुदेवका चार श्रीमती र कृष्णका कतिपय श्रीमतीहरू सती गएको चर्चा गरिएको छ । यसको अर्थ हो, महाभारतले प्रतिनिधित्व गर्ने भारतको उत्तर-पश्चिमी भूभाग पन्जाब क्षेत्रमा इसापूर्व तेस्रो शताब्दीमा सती प्रथा फैलिइसकेको थियो । त्यस्तै इसापूर्व तेस्रो शताब्दीमा मेगास्थानबाट भारतको पूर्वी भूभागमा पर्ने मगधसम्म पनि सती प्रथा फैलिइसकेको थियो (मोनियर विलियम्स, पृष्ठ ३१५) । तर, रामायण जसले पूर्वी भारतको परिष्कृत सभ्यताको प्रतिनिधित्व गर्छ (एम. विन्टरनित्ज, पृष्ठ ५०७) त्यहाँ सती प्रथाबारे उल्लेख नहुनुको अर्थ हुन्छ, इसापूर्व तेस्रो शताब्दीभन्दा पहिले नै रामायण तयार गरिसकिएको थियो ।

अर्थात् निचोडमा यति भन्न सकिन्छ- रामायणका लोकगाथाको युग बढीमा इसापूर्व १००० हो, लोकगाथालाई वाल्मीकिले इसापूर्व तेस्रो शताब्दीमा उत्कृष्ट महाकाव्य अर्थात् रामायणका रूपमा तयार गरेका हुन् र रामायणको वर्तमान स्वरूप दोस्रो शताब्दी समाप्त हुनुअघि नै तयार भइसकेको थियो । प्रकाशित : जेष्ठ १०, २०७७ ०८:५७

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

माझकिरातका दुर्लभ कागजात 

इतिहास कागजपत्र र अभिलेखमा मात्र बाँचेको हुँदैन, सामाजिक स्मृतिमा पनि जीवन्त भइरहेको हुन्छ । फेरि लिखित प्रमाणहरूका अभावमा लामो समयपछि किंवदन्तीमा परिणत हुँदो रहेछ इतिहास । तर, किंवदन्ती नभइसकेका इतिहासका पात्र हुन् माझकिरातका अटल राय र चतमे राय ।
भोगीराज चाम्लिङ

काठमाडौँ — डेढ महिनाअगाडि ‘म्यासेन्जर’ मा एउटा गज्जब ‘सन्देश’ आयो, जुन पढेर म खुसीले छटपटिएँ । लेखिएको थियो– ‘सेवा–नमस्कार सर, म भोजपुर दिङ्लाबाट । यहाँ मसँग संवत् १८२५–२६ सालको कागजात छ तर खुट्याएर अर्थ्याउन असमर्थ भएकोले तपाईंबाट समाधान हुने थियो कि ?’ 

विनोद राईले भरोसा गरेर पठाउनुभएको (१२ फेब्रुअरी) यो ‘सन्देश’ पढ्नासाथै मैले त्यो ऐतिहासक कागजात पठाइदिन आग्रह गरेँ । त्यो कागज पढेपछि त झन् मेरा रौंसमेत ठाडा भए । त्यो यति दुर्लभ ऐतिहासिक कागजात थियो कि धेरै–धेरै धेरै नै दुर्लभ थियो । तीन थानमध्ये दुईवटा अटल रायले ‘राजाभारासामर्थ’ का रूपमा जारी गरेको बिर्ता खेत र खेतसँग सम्बन्धित कागज थियो । अर्को एक थानचाहिँ किरात राईहरूले गोरुको मासु खाएबापत सरकारलाई कर (मेगजिन) तिरेको कागज थियो ।

यी कागजात दिङ्लागढी गाउँपालिका, वडा नम्बर ७ साल्मा निवासी पदमबहादुर राई (दुमी) को घरमा उहाँकै छोरा ध्रुव राईको सहयोगमा फेला पारिएको हो । किरात संस्कार र इतिहासबारे गहिरो चासो मात्रै होइन, दखलसमेत राख्नुहुने अवकाशप्राप्त शिक्षक पदमबहादुर राईलाई मैले विनोद राईमार्फत प्रश्न सोधेको थिएँ, ‘यति दुर्लभ ऐतिहासिक कागजात कसरी सुरक्षित रह्यो ?!’ उहाँको सूत्रात्मक जवाफ आयो, ‘मेरा बराजु, च्याप्जु बाजेहरूको अवज्ञाका कारण ।’

यो ‘अवज्ञा’ का पछाडि रोचक कथा लुकेको रहेछ । पदमबहादुर राईका अनुसार, किरात राई समाजमा बाबुको मृत्युपछि छोराले बाबुसँग सम्बन्धित कुनै पनि प्रकारका कागजात राख्नुहुँदैन, खोला, नदी, धारा इत्यादिमा सेलाउनुपर्छ, अन्यथा ‘स्वर्गको बाटो’ मा बाधा आइलाग्छ भन्ने मान्यता स्थापित गरिएको छ । यसकारणले गर्दा पनि किरात राई समाजमा पुराना कागजपत्रहरू नष्ट भएछन् । उहाँले बताउनुभएको अर्को एउटा कारण पनि रोचक छ ।

धनकुटा भ्रमणका बखत राजा महेन्द्रले ‘ताम्रपत्र बुझाउनू, हामी हेरी तिमीहरूको हक अधिकार सुनिश्चित गर्छौं’ भनेर लिम्बूहरूलाई उर्दी लगाएका रहेछन् । त्यही क्रममा ताम्कुका राईहरूले पनि राजा महेन्द्रलाई ताम्रपत्र बुझाएछन् । तर, पदमबहादुर राईका पितापुर्खाहरूले चाहिँ स्वर्ग जाने प्रलोभन पनि अवज्ञा गरेछन्, राजा महेन्द्रको हुकुम पनि अवज्ञा गरेछन् ।
0000

प्राप्त तीनमध्ये अटल रायको नामबाट जारी दुई कागजातमा लेखिएको छ –
कागजात १
स्वस्ति श्रीराजाभारासामर्थ
श्रीअटलजीत राये जीव
आगे श्री कदुमाफुफुकै हरिबोद्या षेत तीस् मुरी बीर्ताकै दीहल है आपना बीर्ता जानी जोतहु जोतावहु परम सुष भोग्या करहु इती स्मवत् १८२६ साल माहा ७ रोज मोकाम डी(ङ्)लाकोट सुभम्

कागजात २
स्वस्ति श्रीराजाभाराकसामर्थः
श्रीअटलजित राये जीव
स्वस्ति श्रीसाके १६९० श्रीसंवत् १८२५ मास फाल्गुन तद्दिने १० रोजः रयाल्या षेत बाधा असि मुरिको षेत सषा रुपया असि ८० नगदका जमान लाग्याका हः तस् वातका साछि श्री जित राया श्री प्रमानन्द राय श्री अमर्सिंह थापाका मार्फत् शुभं मुकाम लेगुवा (बायाँ छेउमा) सही श्रीवाद रायेले लिया
00000
यी दुई कागजातलाई थुप्रै सन्दर्भबाट केलाउन सकिन्छ । तर, यसपटक तीन कोणबाट मात्र हेर्ने प्रयास गरिएको छ–
एक, अटलजित राय र चतमे राय : इतिहास कागजपत्र र अभिलेखमा मात्र बाँचेको हुँदैन, सामाजिक स्मृतिमा पनि जीवन्त भइरहेको हुन्छ । फेरि लिखित प्रमाणहरूका अभावमा लामो समयपछि किंवदन्तीमा परिणत हुँदो रहेछ इतिहास । तर, किंवदन्ती नभइसकेका इतिहासका पात्र हुन् माझकिरातका अटल राय र चतमे राय ।

पश्चिम नेपालका मुकुन्द सेनका छोरा लोहाङसेनले १६ औं शातब्दीमा कोचे राजा विजयनारायणलाई हराएर मोरङ राज्य, समग्र पूर्वी पहाड र तराई विजय गरेका थिए । तर, उनको निधनपछि छोराहरूले अंशवण्डा गरी तीन राज्य खडा गरे (ज्ञानमणि नेपाल, नेपाल निरुक्त, २०४० : पृ. २७८) । पल्लो किरात अर्थात् लिम्बुवान विजयपुर राज्यअन्तरगत पर्दथ्यो भने ओल्लो र माझकिरात भनिने भूभाग मकवानपुर राज्यअन्तर्गत थियो । राजा हेमकर्ण सेनले माझकिरातको प्रशासन सञ्चालनका लागि भाइ जगत् सेनलाई नियुक्त गरे । तर, माझकिरातका खम्बू (राई) हरूले जगत सेनलाई नै राजा बनाएर विसं १७९२ मा छुट्टै राज्य खडा गरे जसलाई चौदण्डी राज्य भनेर भनिन्छ । त्यो चौदण्डी राज्यको राजधानी उदयपुरको उत्तरी पहाडमा पर्ने चौदण्डी डाँडामा थियो ।

सेन राजाहरू चौदण्डीगढीमा बसेर मगरात (उदयपुरको मगर बस्ती), भावर र अम्बपुरका तलहट्टीमा शासन गर्थे भने खम्बू (राई) दीवान तथा चौतरियाहरू माझकिरातमा बसेर प्रशासन सञ्चालन गर्थे (श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षीप्त जीवनी, २०६१, पृष्ठ ४१५) । उनै दिवान तथा चौतरियाहरूमध्ये हालको भोजपुर जिल्लाका थिए अटल राय, हालको खोटाङ जिल्लाका थिए चतमे राय । पृथ्वीनारायण शाहको सैनिक आक्रमणविरुद्ध उनै चतमे र अटल रायको नेतृत्वमा लडाइँ भएको थियो, जसले गर्दा माझकिरातमाथि विजय प्राप्त गर्न पृथ्वीनारायण शाहका सैनिकहरूलाई ५ महिना (विसं १८२९ भदौ–पुस) लागेको थियो (बाबुराम आचार्य, ऐजन, पृष्ठ ४१८) ।

खोटाङका सबै गढीहरूमा पराजित भएपछि खम्बूहरू हतुवागढीमा केन्द्रित हुन पुगे । उनीहरूबीच सरसल्लाह हुँदा अटल रायले भनेछन्, ‘आत्मसमर्पण गर्नुभन्दा म युद्धमा मर्नु बेस ठान्दछु ।’ उनलाई दह्रो साथ दिनेहरूमा खोटाङ हलेसीका चतमे चाम्लिङ (राय), खोटाङ चिसापानीका माने पुमा, नरवीर साम्पाङ र ओखलढुंगाका जगवीर कोयू थिए । तर, गोरखाली सेनाका बन्दुकका अगाडि धनुकाँडको केही नचलेपछि अटल र चतमे रायहरूले हतुवागढी छाडेर हिँडे । त्यसैले चतमे राय र अटल राय दुवैका शाखासन्तान अहिले भोजपुर र खोटाङ क्षेत्रमा पाइँदैन । युद्धमा पराजित भएपछि उनीहरू कोशी तरेर भारतको विहार पुगे । उनीहरूसँगै हिँडेका खम्बूहरू अहिले पनि ठूलो संख्यामा उत्तरी विहारको मधेपुरा र सुपौल जिल्लाको पनि उत्तरी भेगमा बसोबास गरिरहेका छन् । अटल रायका सन्तानहरू चाहिँ अहिले हाङपाछाका रूपमा चिनिन्छन् (विष्णु एस राई, खम्बुवानबाट हराएका सन्तानहरू, २०६७, पृष्ठ १६) ।
चतमे रायका बारेमा खासै लोकोक्तिहरू प्रकाशमा आएका छैनन् तर अटल रायबारे चाहिँ फुटकर सवाईहरू भोजपुर र धनकुटातिर प्रचलित छ –
भोजपुर क्षेत्रमा बान्तावा राईभाषामा प्रचलित लोकसवाई यस्तो छ :
नेपालायाङका ङेनची मबानाङा नाम बाखा टुङ्सा
मो एनुकी अटलकाजीओ अलावा लोङ्सा
अकमाआ सिरुखाया लोराखारालो कुमाङा ता
तोखोक तोखोक छुङ्सा ।।
प्वालोन्टाकि लोरा त अघुराङ धुङ्सा
अयावाचिआ लेगुवा घाटाया अखाट्टा हुङ्साहुङ्सा ।।

(नेपालबाट सेनाहरू आए आकाश धर्ती हल्लाउँदै त्यो सुनेर अटलकाजीको सातो गयो डरले दौडेर गई सिरुबारीमा लुक्दा त ख्वाक् ख्वाक् खोक्यो उठेर दौड्दा त घुँडा ठोक्कियो साथीहरूले लेगुवाघाटमा पर्खैंदैपर्खंदै लगे ।।)
(चन्द्रकुमार राई ‘हतुवाली’, भोजपुर जिल्लामा रहेको ऐतिहासिक हतुवागढीको वस्तुपरक तथ्य अध्ययन प्रतिवेदन, २०६८, पृष्ठ ११५) ।

त्यस्तै धनकुटा छिन्ताङतिर बान्तावा राईभाषामा प्रचलित लोकसवाई यस्तो छ –
अटले नु बडले लेगुवा नु फुङ्सा ।
पृथ्वीनारान बाना उक्टा धरती लुङ्सा ।।

(अटले र बडले लेगुवाबाट आयो ।
पृथ्वीनारान आउँदा धर्ती काम्यो ।।)
(अर्जुन माबुहाङ/भरत तुङघङ, हज्शन पाण्डुलिपिमा गोर्खा–खम्बुवान–लिम्बुवान युद्ध, २०७०, पृष्ठ ६६)

अटल राय र चतमे रायबारेमा नारायणहिटी राजदरबारनजिकै रहेको नारायण मन्दिरको पटाङ्गिनीको संवत् १८५० को कप्तान धोकलसिंह बस्न्यातको शिलालेखमा चर्चा गरिएको छ,, जसमा माझकिरात रावाखोलाका चतिम राय र पामाखोलाका अटल रायको नेतृत्वमा खम्बूहरूले पृथ्वीनारायण शाहका सेनाविरुद्ध लडाइँ लडेको उल्लेख छ (बाबुराम आचार्य, ऐजन, पृष्ठ ४१८, ४२८) । त्यसो भए के माझकिरातमा दुईवटा मात्र गढी थिए, जसको नेतृत्व चतमे र अटल रायले गर्थे ? त्यस्तो पनि होइन । उनीहरू त कुनै पनि गढीका शासक थिएनन् । त्यसो भए किन चतमे र अटल रायको नेतृत्वमा माझकिरातका खम्बूहरूले युद्ध लडे त ? योचाहिँ आजसम्म पनि नसुल्झिएको प्रश्न थियो, यी दुई कागजबाट खुलस्त हुन पुगेको छ ।

पहिलो कुरा, चौदण्डी राज्यको पहाडी प्रदेशको शासन सञ्चालन गर्न हतुवागढीमा शासनकेन्द्र कायम गरिएको थियो (ज्ञानमणि नेपाल, ऐजन, पृष्ठ २९२) । र, हालको भोजपुर जिल्लाको प्रशासन हेर्ने दीवान या चौतरिया थिए अटल राय । त्यही भएकाले अटल रायले जारी गरेका यी दुई कागजमा आफूलाई ‘राजाभारासामर्थ’ अर्थात् राजाको भार बोक्न समर्थका रूपमा उल्लेख गरेका हुन् । त्यो राजा भनेको चौदण्डीगढीका कर्ण सेन थिए । त्यस्तै अटल रायका कागजात दुई ठाउँबाट जारी भएका छन्– लेगुवा र दिङ्लाकोटबाट ।

लेगुवाचाहिँ हतुवागढीमा पर्छ तर दिङ्ला (डिंलाकोट) चाहिँ अर्कै गढी भएको स्थान हो । अटल राय हतुवागढीका मात्र राजा हुन्थे भने दिङ्लाबाट उनले कागज जारी गर्न सक्ने कुरै हुँदैनथ्यो । उनले समग्र भोजपुर क्षेत्रको प्रशासन हेर्ने भएकैले दिङ्लाबाट जारी गरिएका कागज फेला परेको हो ।

दोस्रो कुरा, चतमे रायबारे पनि यी दुई ऐतिहासिक कागजले अझ बढी खुलस्त हुन पुगेको छ । चतमे राय पनि हालको खोटाङ जिल्लाअन्तर्गत राजा कर्ण सेनको प्रशासन हेर्ने ‘राजाभारासामर्थ’ नै थिए । त्यही कारणले धोकलसिंह बस्न्यातले राखेको शिलालेखमा चतमे र अटल रायलाई समान हैसियतमा प्रस्तुत गरिएको हो ।

शिलालेखमा चतमे रायलाई रावाखोलाको भनिएको छ । यसको अर्थ उनी रावाखोलाका हुन् भन्ने होइन, बरु रावाखोला क्षेत्रमा सेन राजाहरूको प्रशासनको केन्द्र थियो, त्यसका प्रमुख चतमे राय थिए भन्ने हो । यसो भन्न सकिने दुईवटा आधार छन्— रावाखोला क्षेत्रमा धान उत्पादन हुने भएकाले सेन राजाहरूले ब्राह्मण, संन्यासी, क्षत्रीहरूलाई ठूलो परिमाणमा खेत कुशविर्ता दिएका थिए । आफ्ना विश्वासपात्रहरूको विशेष बस्ती रहेको त्यत्तिको उपयुक्त स्थानमा प्रशासनिक केन्द्र हुनु स्वाभाविकै हो । अझ बलियो आधारचाहिँ अटल रायसँगै भाग्ने क्रममा भारतको विहार पुगेका खम्बू राईहरूले बताइरहेको मौखिक इतिहास हो । बिहार पुगेका त्यतिबेला १४ वर्षका अटल रायका नाति गुमानसिंह राईले आफ्ना सन्तानहरूलाई बताएअनुसार चतमे चाम्लिङ हलेसीका थिए जसले पृथ्वीनारायण शाहविरुद्ध अन्तिम लडाइँ लड्ने अटल रायको प्रस्तावमा सबैभन्दा पहिला समर्थन गरेका थिए (विष्णु एस राई, ऐजन, पृष्ठ १६) । एउटा प्रवल सम्भावना के छ भने चतमे राय हलेसी गढीका प्रथम शासक होलैसुङका शाखासन्तान हुन् ।

दुई, स्थानीय स्वशासन : सेन राजाहरू आलंकारिक राजा मात्र हुन्थे, खास प्रशासन चाहिँ खम्बू दिवान र चौतरियाहरूले सञ्चालन गर्थे (बाबुराम आचार्य, ऐजन, पृष्ठ ४१५) । उनीहरूले प्रशासन हेर्ने थुम र गढीहरू त्यसबखत खोटाङ र भोजपुर क्षेत्रमा मात्रै पनि दुई दर्जनभन्दा बढी थिए । हालका ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, संखुवासभा, धनकुटा जिल्लामा गरेर त सयको हाराहारीमा थुम तथा गढीहरू थिए । ती गढीका स्थानीय ‘राजा’ खम्बूहरू हुन्थे (भोगीराज चाम्लिङ र तारामणि राई, किरात क्षेत्रका गढीहरू, २०७४) । यसबाट किरात क्षेत्रमा सेन शासनकालमा स्थानीय स्वशासनको अभ्यास थियो भन्ने देखिन्छ । अझ त्यस्तो स्वशासनको अभ्यास किरातहरूले लिच्छविकालदेखि नै गरिरहेका थिए भन्ने संकेत राजा मानदेवको विसं ५२२ को चाँगुनारायण अभिलेखलले गरेको छ (धनवज्र वज्राचार्य, लिच्छविकालका अभिलेख, २०५३, पृष्ठ १६, ज्ञानमणि नेपाल, नेपालनिरुपण, पृष्ठ २८९) ।

तीन, धान खेती ः अटल रायका यी दुवै ऐतिहासिक कागज खेत (षेत) सँग सम्बन्धित छन् । एउटाचाहिँ कदुमाफुफुलाई विर्ता दिइएको कागज हो, अर्कोचाहिँ असी मुरी धान उत्पादन हुने खेत असी रुपैयाँ (?) मा जमान (बन्धकी ?) गरिएको कागज हो । यसभन्दा अझ धेरै अगाडि राजा शुभ सेनले रावाखोला क्षेत्रमा विसं १७३१ मै ब्राह्मण, संन्यासी, क्षत्रीलाई खेत कुशविर्ता दिएको कागज फेला परेका कारण (पोखरेलको इतिहास, २०५७, पृष्ठ १३७) लिखित प्रमाणले माझकिरात क्षेत्रमा धान खेतीको इतिहास ३४५ वर्ष पुरानो बताउँछ । यसले अर्को के कुरा पनि संकेत गर्छ भने भोगचलन गरिरहेकै जग्गा विर्ता या कुशविर्ता दिइने भएकाले सेन राजाबाट विर्ता पाएर आर्य र खस समुदाय माझकिरातमा प्रवेश गर्नुभन्दा पहिले नै खम्बू (राई) हरूले धान खेती गर्थे ।

प्रकाशित : चैत्र ८, २०७६ १४:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×