घरधन्दाको बोझमा महिला 

सुशीला शर्मा

निकै दिनदेखि ग्यास्ट्रिकले सताएर धामीलाई भेट्न हिँडेकी एक महिलासँग गाउँमा मेरो भेट हुन्छ । ३५ वर्षकी ती महिलाको २० वर्षे सन्तान पनि सँगै छ । बाआमाले १४ वर्षे कलिलो उमेरमै विवाह गरिदिए ।

गाउँमा छोरीको कर्म यस्तै त हुन्छ । दुर्गम पहाडी भेगमा खेल्ने, रमाउने, पढ्ने उमेरमै विवाह गरिन्छ । विवाहपछि ती महिलाका दिनहरू घाँस काट्ने र भैंसीको हेरचाहमा बित्यो । आफूलाई समय दिन पाइनन् । सानै उमेरमा धेरै बच्चा जन्माउँदा उनको शरीर कमजोर बन्यो । बच्चा हुर्काउने, खनजोत र मेलापर्ममै जीवनका दिनहरू बिते । आफ्नो स्वास्थ्यको ख्याल गर्न पाइनन् । उनको शरीर बच्चा जन्माउँदाको पीडा र कामको बोझले गल्यो । यो उमेरमा पनि उनको दिनचर्यामा केही परिवर्तन आएको छैन । घाँस काट्ने, दाउरा बटुल्ने, गाईभैंसी चराउने र खेतीपाती ।

समयमै खाना नखाएर वा शरीरमा पानीको मात्रा नपुग्दा उनी बेलाबेला बिरामी पर्छिन् । धामीले झारफुक गरेर रोग निको पार्दिन्छ भन्नेमा उनको विश्वास छ । त्यसैले उनी बिरामी पर्दा धामीकहाँ जान्छिन् । मैले भेट्दा उनलाई धामीले पानी फुकेर खान दिइरहेको थियो । धामीले पहिले नाडी छामे अनि सानो भाँडोमा पानी हालेर हँसियाले घोले र उनलाई पिउन लगाए । उनले ग्यास्ट्रिकको औषधि पनि खाएकी रहिछन् तर निको नभएपछि धामीको शरणमा आइन् । गाउँमा पेट दुखेकोदेखि ज्वरोसम्म फुकफाकले निको हुन्छ भन्ने विश्वास गहिरो छ । धामीले बिरामीलाई बुटी भनेर विभिन्न आयुर्वेदिक झार दिने भएकाले केही व्यक्तिलाई निको पनि भएकै छ ।

बिरामी हुने गरी काम गर्दा पनि उनको श्रीमान्ले जस दिँदैनन् । बिरामी छु भन्दा श्रीमान्ले के अब सुतेर बस्ने हो त भन्छन् रे । उनी स्वस्थ र फुर्तिलो देखुन्जेल श्रीमान्ले घर र खेतको काम लगाइरहन्छन् । श्रीमान्लाई लाग्दो हो पढे-लेखेकी छैन, घरको काम नगरे केमा लगाउने ? परिवारभित्र उनी कामदारको भूमिकामा छिन् र उनले जानेको सीप घाँसको भारी बोक्नु मात्रै हो ।

उनको दुःख-सुख, रहर र चाहनाबारे श्रीमान्ले वास्ता गर्दैनन् । श्रीमतीको बारेमा यस्तो सोच्ने फुर्सद पनि हुँदैन । पुरुषले भान्साको काम गर्नु हाम्रो समाजमा लाजको विषय बन्ने गर्छ । यदि कसैले भान्साको काम सघाइहाले भने पनि गाउँलेले कस्तो जोईटिंग्रे रहेछ भन्लान् भन्ने डर सधैँ श्रीमान्मा हुन्छ । श्रीमतीलाई मायालु व्यवहार गर्ने त बेसोमती कहलिन्छ । वर्षौंदेखि निरन्तर एकतमासको शारीरिक र मानसिक थकान ती महिलाको बोलीमा झल्कन्थ्यो ।अधिकांश पहाडी परिवार पशुपालनमा निर्भर छ । घाँस महिलाले काट्छन् ।

पुरुषले भने दूध बजारसम्म पुर्‍याउँछन् । बजारमा जमघट गरी राजनीतिको कुरा गर्छन् । गाउँ-सहरको खबर थाहा पाउँछन् । बजार जाँदा नयाँ कुरा सिकेर आउँछन् । बा रेडियो सुन्छन्, टेलिभिजन हेर्छन्, सभासम्मेलनतिर पनि पुग्छन् । भलै लकडाउनका कारण केही समययता दैनिकी बदलिएको छ । आमा घरकै चौघेराभित्र कुरा सुनेका आधारमा आफ्नो धारणा बनाउँछिन् । अनि परिवारमा बाको आवाज ठूलो हुने नै भयो । महिलाहरू घरव्यवहारमा जोतिइरहेका हुन्छन् । कतै मेलापातमा साथीसंगीको भेट भयो भने पनि अभाव, भात-भान्सा र श्रीमान्ले गरेको हेलाकै कुरा गर्छन् ।

हाम्रा आमाहरू र हाम्रो दुःख उस्तै छ । ‘बुद्धि छोटो हुने भएकाले स्त्रीको मनमाथि अधिकार जमाउन असम्भव छ’ भन्ने ऋग्वेदको पाठ हामीले पुस्तौंदेखि घोक्दै आयौं । महिलाहरू जीवनसाथीभन्दा पनि यौनदासी र सेविकाको हैसियतमा छन् अझैं । छोराछोरीको हेरचाह र घरायसी काममा नै जीवन बित्छ । त्यसैले पनि अहिलेका सचेत महिलाले हजारौं वर्षदेखिका चलन, मान्यता र त्यसले महिलाको मानसिक, शारीरिक र सामाजिक अवस्थामा पारेको प्रभावको बारे लेख्नु-बोल्नुपर्छ । यो चलन हटाउन अझै धेरै समय लाग्छ । जान्ने-बुझ्ने पुरुषलाई महिलाको यो पाटो गन्थन-मन्थन लाग्न सक्छ । तर बोल्न छोड्नु हुन्न । हाम्रो समाजमा महिलालाई मानवको रूपमा नहेरी सती, सावित्री र पृथ्वी भनिन्छ ।

महिला सहनशील अनि शारीरिक रूपमा कमजोर हुन्छन्, त्यसैले घरभित्रको मात्र केन्द्रित हुनुपर्छ भन्ने धारणा अझै छ । शिक्षित र आत्मनिर्भर महिलाले पनि भान्साको काम गर्नैपर्छ । अनि बौद्धिक बहसमा कहिले सहभागी हुने ? कहिले राजनीतिमा आफ्नो हिस्सा खोज्ने ? महिलालाई समेटियो भने मात्र समाजको विकास हुन सक्छ । समाज अविकसित हुनुको एउटा कारण महिलाहरूका पक्षलाई ख्याल नगरी सधैं पितृसत्ताभित्रै रहेर सोच्नु र व्यवहार गर्नु हो ।

प्रकाशित : जेष्ठ ९, २०७७ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

लकडाउनमा सकारात्मक सोच

सुशीला शर्मा

अहिले हामी प्रत्येक क्षण कोरोनाले भकाभक मानिसको मृत्यु भएका खबरले नीरस भइरहेछौं । कुनै सिर्जनात्मक काम गर्न पनि जाँगर छैन । विशेष गरी सहरी क्षेत्रमा लकडाउनले हामी एउटै कोठाभित्र गुम्सिएर बस्न बाध्य छौं । साथीभाइसँग कुराकानी गर्दा पनि नैराश्यपूर्ण भावमा पोखिइरहेछौं । गाउँघरमा भने स्थिति अलि फरक छ ।

मानिसहरू बस्तुभाउ, खेतीपातीलगायतका काममा अरू बेलामा झैं खटिरहेका छन् । स्वास्थ्यकर्मीले सामाजिक दूरी कायम गर्ने, साबुन–पानीले हात धुने, सरसफाइमा ध्यान दिने, पौष्टिक खाना र तरल पदार्थ खाने सुझाव दिएका छन् । यसो गर्दा कोरोना भाइरसबाट बँच्न सकिन्छ ।

लकडाउनले व्यक्तिगत स्वतन्त्रतालाई अप्ठ्यारोमा पारिरहेको छ । सबैलाई सञ्चित खाद्यान्न कहिले सकिएला भन्ने डर छ । उता दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरूलाई कोरोना महामारी हो र जो कोही प्रभावित हुन सक्छन् भन्ने खासै चिन्ता देखिँदैन । उनीहरू पैदलै हिँडेर ज्याला मजदुरी गर्ने ठाउँसम्म पुगेका छन् । भारतमा काम गर्ने सयौं मजदुर भने कोरोनाको हल्लाले आफ्ना परिवार सन्तानसँग बिछोडिनु पो पर्ने हो कि भनेर अतालिँदै क्वारेन्टाइन र लकडाउनको पर्बाह नै नगरी देशको सिमानामा आइपुगेका छन् । कामको खोजीमा अर्काको देश गएका नेपाली मजदुरलाई आफ्नो घरमा आउन दिने कि नदिने भन्ने विवाद अहिले भइरहेको छ ।

जब संकटहरू आइपर्छन् तब धेरै मानिस अस्थिर अनि विचलित भएर हडबडाउने, चिन्ता लिने र निराश हुन्छन् । यस्तै संकटहरूको सामना गर्न व्यक्तिले भावनात्मक ज्ञानको अभिवृद्धि गर्नुपर्छ । कतिपयको हुर्काइसँगै प्राकृतिक रूपमै बौद्धिक हुन सक्छन् । यस्ता व्यक्तिले आफू सम्हालिने र परिवार तथा समाजलाई पनि सम्हाल्ने क्षमता राख्छन् । भावनात्मक ज्ञान त्यो क्षमता हो जसले व्यक्ति स्वयंको भावनालाई सकारात्मक व्यवस्थापन गरी प्रभावकारी तरिकाले सञ्चार गर्न, अरूलाई समभावले हेर्न, चुनौतीहरूलाई कम गर्न र द्वन्द्व रोक्न सहयोग पुर्‍याउँछ । व्यक्तिलाई मानसिक रूपले बलियो र अरूसँगको सम्बन्ध पनि मजबुत बनाउँछ । त्यस्तै मानिसलाई आफ्नो कार्यमा सफल बन्न मद्दत गर्ने अनि लक्ष्य हाासिल गर्न पनि सहयोग गर्छ । मनोविज्ञ डेनियल गोलमेनका अनुसार भावनात्मक ज्ञानले सामान्यतया स्वव्यवस्थापन, स्वचेतन, सामाजिक सचेतना र सम्बन्ध व्यवस्थापनमा मद्दत पुर्‍याउँछ ।

कोरोनाले जुराइदिएको शून्य समयलाई भिन्न तरिकाले सोच्ने, बहस गर्ने, योजना बनाउने, प्रकृतिलाई बुझ्ने, गरिब र धनीबीचको खाडल पुर्ने, असमानताको अन्त्य गर्ने र अस्वस्थ होडबाजी त्याग्नेमा प्रयोग गर्नुपर्छ । त्यस्तै अन्धाधुन्ध तरिकाले आकाश छोएका विकसित भनिएका राष्ट्रहरूको पछि नलाग्ने, उपयोगी र प्रकृतिसँग मिल्ने खालका पुराना खेतीपाती, पशुपालन, वनजंगल रेखदेख र सहयोगलाई निरन्तरता दिने खालका ज्ञान र शिक्षा पनि अपरिहार्य भएको छ । कोभिड–१९ ले विश्व आक्रान्त छ । मानिसहरू त्रास छन् । समृद्धिको चरमचुली पुगेको भनिएका राष्ट्रहरूमै भकाभक यो भाइसरले मानिसहरू ढल्न थालेका छन् । लाग्दै छ सम्पत्ति र आविष्कारले मात्र प्रकृतिलाई जित्न सकिँदो रहेनछ । प्रकृतिमा रहेका जीवाणुुहरूले मानवमाथि जाइलागेर बेला–बेला हायलकायल पार्दा
रहेछन् । लकडाउनको अहिलेको अवस्थामा हामी शून्य भएर बस्नुभन्दा केके सिक्न सकिन्छ भनेर छलफल र मनन गर्न सक्छौं ।

केही प्रकृतिले सिकाउँछ, केही अध्ययन र व्यवहारबाट सिकिन्छ । सिकाइ हस्तान्तरण हुँदै जान्छन् । विज्ञान र गणित विषय आधुनिक र वैज्ञानिक चेतका लागि पढ्नु अनिवार्यजस्तै हो । तर यी विषयसँगसँगै सामाजिक सीपहरू पनि नयाँ पुस्ताका लागि अपरिहार्य छ । बालबालिकाको सन्दर्भमा द्वन्द्व कसरी व्यवस्थापन गर्ने र सरसफाइका नियम बेलैमा अनिवार्य रूपमा सिकाउनुपर्ने देखिन्छ । अधिकांश ग्रामीण समुदायमा सरसफाइ पहिलो प्राथमिकतामा पर्दैन । अर्को प्राथमिकतामा नपर्ने विषय खानपान हो । हामीले खाने र बालबालिकालाई दिने खानेकुरा स्वस्थकर छ वा छैन, बासी वा सडेगलेका हो कि होइन भन्नेमा ख्याल गरिएको पाइँदैन । केवल भोक र मीठो लागेको भरमा कहिले आवश्यकताभन्दा धेरै त कहिले खाँदै नखाने अनि जंक फुडमा अभ्यस्त भएको देख्न सकिन्छ । यी र यस्ता खानपान र जिम्मेवारीका कुराहरू पहिले ठूलाले व्यवहारमा लागू गर्ने र सिक्ने उमेरका बालबालिकालाई सिकाउँदै जानुपर्नेछ ।

सिक्ने मामलामा सबै मानिसको तरिका र क्षमता एउटै हुँदैन । कसैकसैलाई जिन्दगीको धेरै समय समाज र सामाजिकीकरणका विभिन्न विषयवस्तुबारे बुझ्नै लाग्छ । त्यसैले सिकाइ प्रक्रिया निरन्तर चल्छ भन्ने चलन नै छ । सबै मानिस सिकेका विषयमा विज्ञ नै हुन्छन् भन्ने पनि छैन । सिक्नु र सिकेका असल कुराहरू जीवनमा लागू गर्न सक्नु वास्तवमा सिकाइ हो । जब व्यक्ति आफैं विभिन्न पारिवारिक, आर्थिक र मनोसामाजिक समस्याहरूसँग साक्षात्कार हुँदैन तबसम्म सामाजिक सिकाइ कठिन हुन्छ । व्यक्तिले समाजबाट नै आफ्नो भावावेगलाई नियन्त्रण र पहिचान गर्न सिकिरहेको हुन्छ । यदि बालबालिकालाई यी सब नसिकाए सामाजिकीकरणमा समस्या पर्न सक्छ । सामाजिक सिकाइलाई प्रभावकारी बनाउन सर्वप्रथम व्यक्तिले स्वयंलाई भावनात्मक ज्ञानका लागि तयार पार्नुपर्ने हुन्छ ।

मानव जीवनलाई पुनर्विचार गर्ने र पुन:समायोजन अहिलेको आवश्यकता हो । यस्तो कार्यका लागि गन्नेमान्यले अहम् छोड्नुपर्छ, भ्रष्टाचार तोड्नुपर्छ, एक व्यक्ति मात्र बाँच्ने र आफ्नो परिवारका कैयौं पुस्तासम्मको सम्पत्ति साँच्ने तीव्र आकांक्षा बन्द गर्दै समाजप्रतिको आफ्नो जिम्मेवारी महसुस गर्नुपर्छ । गरे असम्भव केही थिएन । हुर्किरहेका नयाँ पुस्ताहरूलाई सकारात्मक ज्ञानका लागि भावनात्मक शिक्षाको मद्दत लिनुपर्छ । यो परिस्थितिले जुराइदिएको समयलाई नेतृत्व तहबाटै असल कर्मको सुरुआत गरे, गर्न नसकिने केही छैन ।

प्रकाशित : चैत्र २३, २०७६ ०९:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×