१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

विकृत राजनीतिको पुनरावृत्ति

‘तपाईं कुनै पनि औपचारिक पदमा जानु नै ठूलो कुरो हैन, बरु तपाईं किन जाने र त्यहाँ गएर गर्ने एजेन्डा के छ भन्ने कुरो महत्त्वपूर्ण हो ।’
धनकुमारी सुनार

‘म शुद्धतालाई घृणा गर्छु, म असलपनलाई घृणा गर्छु, म जतासुकैको पनि गुणात्मकतालाई अस्वीकार गर्छु । म सबैतिर सबै मान्छेको हड्डीभित्रैसम्म भ्रष्टता मात्रै चाहन्छु ।’ यो भनाइ हो प्रसिद्ध उपन्यासकार जर्ज अरवेलको ।

विकृत राजनीतिको पुनरावृत्ति

अरवेलले क्रूर र हदैसम्मका स्वार्थी राजनीतिक नेताहरूको नियतमाथि कठोर व्यंग्य गरेका छन्, जुन प्रधानमन्त्री केपी ओलीको प्रवृत्तिसँग ठ्याक्कै मेल खान्छ । बितेका वर्षमा उनले पदमा रहन जस्तोसुकै तिकडम, फन्डा र जालझेल गर्न सक्ने विशेष खुबी र क्षमता देखाइसकेका छन् ।

हुन त नेपालमा ओली प्रवृत्ति आम राजनीतिक प्रवृत्ति हो, जसको जरा अढाई सय वर्षभन्दा पुरानो छ । वर्तमान शासकको चरित्र एकलवर्गीय, लिंगीय र वर्णव्यवस्थाले निर्माण गरेको हो । चाहे जंगबहादुरकालीन प्रवृत्ति होस् वा शाहकालीन वा पछिल्लो समय कांग्रेस–कम्युनिस्ट नामधारी, शासकका अनुहारमा खास भिन्नता छुट्याउन कठिन छैन । रमाइलो के छ भने, सबै आफ्ना कुकर्म जनताकै लागि र जनताकै नाममा भएको भन्छन् र अहिलेसम्म नेपाली जनता पटकपटक झुक्किँदै आएका छन् । गणेशमान सिंहले त्यसै भनेका हैनन्, नेपाली जनता भेडा हुन् भनेर । चाहे जतिसुकै भ्रष्ट र पतित होऊन्, उनै अनुहार र प्रवृत्तिलाई बहुमत दिएर जिताउँछन्, नियत र क्षमतामा ‘आउटडेटेट’ हरूलाई भोट दिन्छन् अनि शीर्षस्थ भनिएका नेताहरूको चरम अराजकता र भ्रष्टताको साक्षी बन्छन् । यो चक्र दशकौंदेखि दोहोरिरहेकै छ ।

संसदीय प्रणालीमा हुने यही हो, हामीसँग विकल्पै हुँदैन । अझ, सांसदको टिकटदेखि निर्वाचनसम्म करोडौं खर्च हुने नेपालको जस्तो विकृत संसदीय प्रणालीमा निम्नस्तरको र भुइँमान्छेले सांसद्मा उठ्न र जित्न सम्भव छैन । संसदीय निर्वाचनमा भोट हाल्ने दिनसम्म मात्र मतदाता शासक हुन्छ, त्यसपछि पाँच वर्षसम्मका लागि सांसद शासक हुन्छ र आफूअनुकूल जनमतको अधिकतम उपयोग गर्छ ।

चमत्कारी ‘हिरोइज्म’ को खोजी

राजनीतिमा धेरै चर्चा हुने विषय हो— जोसिला र असल नियतसहितका युवा समूहको खोजी । सडेगलेको, पुरानो र थोत्रो पुस्ता हटे अहिलेको बेथिति सबै हट्छ भन्ने आम मनोविज्ञान छ । यसमा केही सत्यता पनि होला, तर यो आंशिक सत्य मात्र हो । हालै नेकपाका नेता प्रदीप नेपालले भने, ‘मेरो पुस्ताका सबैले विश्राम लिए हुन्छ ।’ उनले दोस्रो पुस्तालाई पार्टीसत्ता र राज्यसत्ता थाम्न सुझाव दिए । नेकपामा उनको अनुरोध लागू हुने छेकछन्द देखिन्न, न त दोस्रो पुस्ता नै त्यो दायित्व लिन तयार देखिन्छ । बरु उनीहरू सर्वोच्च भनिएका नेताहरूकै चाकडी र थोरैतिनुमै रमाएको देखिन्छ ।

झन्डै तीन दशक एमालेमा भुइँ कार्यकर्ता भएर बस्दा मेरा राजनीतिक हिरो थिए— कमरेड घनश्याम भुसाल । उनी पहिलो पुस्ता र आफ्नै पुस्ताभन्दा फरक र क्रान्तिकारी कुरा गर्थे । सोच्थें— दलित, महिला र सीमान्तकृतका सरोकार र मुद्दामा क्रान्तिकारी विचार र पार्टीलाई त्राण दिने वर्तमान र भविष्यका नायक यिनै हुन् । अहिले सोच्छु— म रुमानी रथमा बढी मच्चिएकी रहिछु, किनकि कुनै पनि परिघटनाका लागि व्यक्ति केही हो र होइन पनि । पछिल्ला केही घटनाक्रम हेरेर सजिलै अनुमान गर्न सकिन्छ— व्यक्ति सिद्धान्त र विचारमा असल हुनुले मात्रै आंशिक फरक त पार्छ, तर पूर्ण होइन । आज ठूलठूला भ्रष्टाचार र बेथितिविरुद्घ युवा नेताहरूले समेत प्रतिवाद नगर्नु, कमजोर र लरबरिएको लवजमा बोल्नुले पनि व्यक्तिभन्दा व्यवस्था प्रधान हो भन्ने प्रमाणित भएको छ ।

आज चाहिएको असल भावनासहितको सुस्त नेतृत्व हैन, सही विचारसहितको वेगवान् नेतृत्व हो जसलाई झिनामसिना कुरोमा अल्झने छुट छैन । झन्डै सत्तरी वर्षको राजनीतिक–आर्थिक संक्रमणले थिलथिलो भएको मुलुकलाई निकास दिने जाँगर र दृष्टिकोणसहित वैचारिकीमा आधारित राज्य संरचनाको परिवर्तन चाहिएको हो ।

यथास्थितिमा परिवर्तन सम्भव छैन

सत्तारूढ नेकपाले पछ्याइरहेको नवउदारवादी आर्थिक व्यवस्था र भ्रष्टताले कुरूप, लोभले चुर्लम्म डुबेको नेतृत्वबाट सुख, समृद्धि र समाजवाद सम्भवै छैन । त्यहाँ घनश्याम भुसाल त के, उनीजस्ता एक दर्जन नेता भए पनि हुनेवाला केही छैन । किनकि अहिलेसम्म नेकपामा राजनीतिक वैचारिकी र पद्धतिमा खासै विमति देखिन्न । मार्क्सवाद–लेनिनवादलाई मूल दार्शनिक तथा सैद्धान्तिक मार्गदर्शक सिद्धान्त स्विकारिए पनि बहुदलीय जनवादका चौध विशेषतामध्ये प्रमुख विशेषता भने उदारवादमा आधारित संसदीय व्यवस्थालाई संस्थागत गर्ने नै हो । नेकपाले अंगीकार गरेको ‘जबज’ का मुख्य विशेषता भनेको बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली र आवधिक निर्वाचनबाट सत्तामा टिकिराख्नु नै हो । २०४६ सालयता सत्ताको खेलोमा मग्न एमालेले सत्तामा रहँदा आंशिक सुधारात्मक परिवर्तनबाहेक पार्टीभित्र दलाल पुँजीपतिहरूको निर्माणबाहेक केही गर्न सकेन ।

दर्जनभन्दा बढी काण्डैकाण्डको खातमा पछिल्लो समय एमसीसी, यति र ओम्नी प्रकरण, सांसद अपहरण, ४० प्रतिशतले पार्टी फुटाउन सक्ने अध्यादेशसहितका काण्ड हिन्दी सिरियलझैं लगातार आइरहेकै छन् । अपहरण काण्डपछि भने नेकपा फुटाउने आशंकाले पार्टीभित्रकै केही नेतामा ओलीको राजीनामा माग्नेसम्मको रन्को उठेको थियो । तर ओलीबाट वामदेव गौतमलाई भावी प्रधानमन्त्रीको पासा फाल्ने र प्रचण्डसँग अपारदर्शी सम्झौता गर्ने काम सम्पन्न भएपछि नेकपाभित्रको विपक्षी गठजोड भत्कियो अनि हाल प्रधानमन्त्रीको राजीनामाको संकट पनि टरेको देखिन्छ । भावी दिनमा केही लेनदेन र नेताहरूको चोचोमोचो मिले पनि त्यसले नेपाली समाजमा चुलिँदै गएको आर्थिक र सामाजिक संकट टार्नेवाला छैन ।

विगतमा भएका ठूलठूला काण्ड, नेकपाभित्रैबाट हालै विकसित विभिन्न काण्डबारे नयाँ वा पुराना पुस्ताका कुनै पनि नेताको कठोर र सैद्धान्तिक विमति देखिँदैन । जनस्तरमा व्यापक आलोचित हुँदा पनि तद्विषयमा सैद्धान्तिक बहस र छलफल आह्वान गर्ने हिम्मत पनि कसैमा देखिएन । तसर्थ आजको नेकपाको कलह भनेको ‘कालेकाले मिलेर खाऊँ भाले’ नै हो । विवादित र अपारदर्शी ओम्नी घोटाला, अध्यादेश र अपहरण काण्ड लगायतमा मिडिया, बौद्घिक र स्वतन्त्र जमातले आलोचनात्मक काम गरेकै कारण ओली सरकार पछि हट्न बाध्य बन्यो । यसमा नेकपा र प्रतिपक्षी नेपाली कांग्रेसभित्रको आन्तरिक दबाब र अन्तरसंघर्षले भने थोरै मात्र हस्तक्षेप भएको थियो ।

ओलीले नेपाली जनताको मतको अपमान गर्दै आएका छन् । नेकपाले बहुमत प्राप्त गरेपछि नै उनले अक्षम र भ्रष्टलाई संरक्षण गर्दै आएका छन् । उनको भारदारी कोटरी प्रवृत्ति नसच्चिने गरी पतनको बाटातिर उद्यत छ । प्रदीप नेपालको भाषामा, ‘ओली फन्डाबाज हुन् । उनी आफ्नो स्वार्थ पूरा गर्न केही न केही फन्डा निकालिरहन्छन् ।’ अर्का फन्डाबाज प्रचण्डको उद्देश्य आफूपछि छोरीबुहारीको राजनीतिक कल्याणमा समर्पित हुनु र अर्को पटक हरहालतमा प्रधानमन्त्री हुनु हो ।

नेपाली शासकहरूको जनताकै लागि, जनताका नाममा कहिल्यै नअघाउन्जेल कुर्सीमा टाँसिरहने खेल देख्दा लाज र सरम आफैं लाजविहीन भएका छन् । सत्तासँग सम्पत्ति जोडिएको छ अनि सम्पत्तिसँग परिवारवाद र लोभ । वर्तमान शासकहरूलाई अभावले यति विघ्न लोभ जागेको पक्कै हैन । किनकि अहिले सत्ताका लागि हारगुहार गरिरहेका नेताहरूले २०४६ सालपछि निरन्तर शासनमा तर मारेकै छन् । ओली दुई पटक प्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री बने भने सत्ताका लागि मरिहत्ते गर्ने नेताहरू दर्जनौं पटक सांसद, मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री बनेका नै हुन् । अतः ओली वा एकाध भ्रष्ट नेतृत्व सत्ताच्युत हुँदैमा जनताले राहत पाउनेछैनन् । किनकि यथास्थितिमा वामदेव वा रामदेव जो आए पनि अर्थराजनीतिमा कुनै परिवर्तन हुँदैन र धराशायी बनेको अर्थराजनीतिमा कुनै चमत्कार हुनेछैन ।

सम्पत्ति र सत्ताका अगाडि सैद्धान्तिक तर्क र तथ्यको विसर्जन, इतिहास र योगदानको अवमूल्यन, नेकपा लगायतका मूलधारका राजनीतिक दलहरूमा मौलाउँदो टुटफुट र गुलामी अहिले उत्कर्षमा छ । ‘समाजवाद’ नैतिक मूल्यको बर्खिलाफमा गइरहेको छ ।

प्रा. पीताम्बर शर्माले कुराकानीका क्रममा भनेका थिए, ‘तपाईं कुनै पनि औपचारिक पदमा जानु नै ठूलो कुरो हैन, बरु तपाईं किन जाने र त्यहाँ गएर गर्ने एजेन्डा के छ भन्ने कुरो महत्त्वपूर्ण हो ।’ शर्माले भनेझैं आजका शासकले सत्तामा गरेको छिनाझपटीको नौटंकीले तात्त्विक रूपमा नेपाली समाज र भुइँमान्छेहरूको जीवनमा फरक नपार्ने शतप्रतिशत सत्य हो । आमूल परिवर्तनका लागि सोही स्तरको वैचारिकी र आन्दोलन आजको आवश्यकता हो ।

प्रकाशित : जेष्ठ ८, २०७७ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?