कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

राष्ट्रवाद अफिम त होइन ?

सशक्त जनप्रतिरोध नहुँदा जसरी कोरोना महाव्याधिले भ्रष्ट र निकम्मा सरकारको आयु बढाएको छ, त्यसरी नै सीमा विवादले महाव्याधिबाट जनतालाई बचाउन गर्नैपर्ने कामकारबाहीबाट भाग्ने सरकारको अकर्मण्यतालाई छोपछाप गर्ने खतरा पनि छ ।
राजेन्द्र महर्जन

कारोना महाव्याधिले मानवजातिलाई के-कति असर गर्ला, अनुमान गर्ने क्रम तीव्र भएको छ । एक थरी चिन्तक र विचारक यसले विश्वभर नै जनतामाथि राज्यको निगरानी, राज्यमा जनताको होइन तानाशाही शक्ति-व्यक्तिको प्रभुत्वसँगै राष्ट्रवादी संक्रमण बढ्ने अनुमान गर्दै छन् ।

राष्ट्रवाद अफिम त होइन ?

जनताबाट निर्वाचित राजनीतिक शक्ति-व्यक्तिले नै राज्यमाथि प्रभुत्व जमाउने र जनतामाथि निगरानी-नियन्त्रण बढाउने परिघटना व्यापक भइरहेका बेला यो महाव्याधिले पनि त्यही प्रवृत्तिलाई मलजल गर्ने आशंका गरिएको हो ।

यस्तो पश्चगमनलाई वैचारिक-सैद्धान्तिक टेको दिनमा राष्ट्रवादको भूमिका सबैभन्दा अग्रगामी छ, चाहे त्यो कुनै पनि रूपरंगमा प्रकट भएको होस् । राज्यमाथि प्रभुत्व जमाउने र जनतामाथि निगरानी-नियन्त्रण बढाउने अधिकांश शक्ति-व्यक्तिले राष्ट्रवादी मुकुन्डो लगाएरै जनमानसमा वर्चस्व वा नेतृत्व कायम गरेका छन् । चाहे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको श्वेत श्रेष्ठतावाद होस् या भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको हिन्दुत्ववाद या नेपालका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको पहाडे राष्ट्रवाद, सबै निगरानी-नियन्त्रणकर्ताको भूमिकामा छन्, प्रभुत्वशाली र वर्चस्वशालीको जिम्मेवारी निर्वाह गर्दै छन् ।

कोरोना महाव्याधिबाट आफ्ना नागरिक बचाउने नाराका साथ थालिएका पहलमा विभिन्न देश, सरकार, जनताबीच सहकार्यको सट्टा प्रतिस्पर्धा देखिन्छ । त्यस्तै, समन्वयको साटो प्रतिद्वन्द्विता अनि सद्भावको उल्टो घृणाको राजनीति र पराईकरणको रणनीति व्यापक रूपमा पाइन्छ, जुन राष्ट्रवादकै अभिव्यक्ति हो । भन्नलाई त आफ्नो देश र जनताको मात्रै होइन, विश्वको हित र मानव समुदायको भलाइका लागि पहल गरिएको दाबी गरिन्छ, जबकि ती नाराको नेपथ्यमा आम रूपमा सार्वजनिक खपत हुने लोकप्रियतावाद रहेको छ भने तिनको पहलकदमीको उद्देश्यमा पनि राष्ट्रवादी शिक्षा-दीक्षाबाट जनमानसको औपनिवेशीकरण रहेको छ । कोरोना भाइरसको उत्पत्ति-पुराणदेखि संक्रमित व्यक्तिहरूप्रतिको व्यवहार तथा उपचार-खोप निर्माणमा राष्ट्रिय द्वन्द्वसँगै विदेशीहरूलाई गरिएको अपमानले तिनको राष्ट्रवादलाई उजागर गरेका छन् ।

राष्ट्रवादीहरूको राष्ट्र

सार्वजनिक खपतका क्रममा सबैजसो शासकले ‘वसुधैव कुटुम्बकम्’ भन्ने गर्छन्, जबकि उनीहरूको धरतीचाहिँ आफ्नै देशको भूमि, त्यसमा पनि ‘राष्ट्र’ को सेरोफेरोमा मात्रै खुम्चिएको पाइन्छ । उनीहरूको राष्ट्र भनेको स्वदेश, स्वदेशभित्र पनि मुठीभर प्रभुत्वशाली वर्ग, त्यसमा पनि निश्चित वर्ण, जात, लिंगका मानिसमा मात्रै सीमित छ ।

रोमिला थापरका अनुसार, संस्कृत साहित्यमा ‘राष्ट्र’ शब्द ‘राज चम्किनु’ बाट व्युत्पन्न भएको मानिन्छ र उत्तर-वैदिककालमा ‘टेरिटोरी’ (शासित क्षेत्र) का रूपमा प्रयोग भएको पाइन्छ । अचेल यसलाई देश, मुलुक, राज्यको पर्यायवाची शब्द मानिन्छ । जबकि अंग्रेजीमा राष्ट्रलाई ‘नेसन’ का रूपमा अनुवाद गरिन्छ अनि यसले जन्मजात प्राप्त हुने जाति र नस्लसँगै भाषिक समुदायको अर्थ धारण गर्छ । त्यसैले ‘राष्ट्र’ वा ‘नेसन’ बंगाली भाषाको ‘जाति’ र उर्दू भाषाको ‘कौम’ सँग अत्यधिक मिल्छ ।

लोकप्रियतावादी नेताहरूले जनमानसमा रोप्ने राष्ट्रवादभित्रको राष्ट्र जन्मजात प्राप्त हुने जाति र नस्लसँगै भाषिक समुदायसम्बद्ध छ । राष्ट्रलाई देश, मुलुक, राज्यको पर्यायवाची शब्दका रूपमा प्रयोग गर्ने क्रममा राष्ट्रवादलाई देशभक्तिसँगै देशको भूभाग, नदी, माटो, पहाड, हिमालसँग जोडिएको पनि भान हुन्छ ।

त्यस्तो भान पार्न सिपालु लोकप्रियतावादी नेताहरूले पनि ‘टेरिटोरियल नेसनालिजम’ (आर्जित भूक्षेत्र-‘रिल्म’-‘मुलुक’ सँग जोडिएको राष्ट्रवाद) मात्रै उजागर गरिरहेका हुन्छन्, देश-जनताको सार्वभौमसत्तासँग सम्बन्धित हित र स्वार्थलाई होइन । त्यसैले अमेरिका-मेक्सिको सीमामा पर्खाल लगाउने भाषण र आप्रवासी जनताविरुद्ध विषवमन गर्नमा ट्रम्पको ‘टेरिटोरियल नेसनालिजम’ सँगै श्वेत श्रेष्ठतावाद टाँसिएको छ । त्यस्तै, मुस्लिमबहुल पाकिस्तानको सीमामा सधैंजसो युद्धरत भारतलाई मोदीले ‘हिन्दुस्तान’ बनाउन उरालेको हिन्दुत्ववादी राजनीति, मुस्लिमविरोधी नागरिकता कानुन, दलितविरोधी ‘लिन्चिङ’ अभियान खासमा हिन्दुत्ववादी सांस्कृतिक राष्ट्रवादसँग गाँसिएका छन्, जसमा ‘उच्च वर्ण’ का कुलीन हिन्दु पुरुषको प्रभुत्व र हित छर्लंगै देखिन्छ ।

नेपालमा राष्ट्र-राज्यको निर्माण

श्वेत वा हिन्दु जनताका हित र स्वार्थ रक्षा गर्नु बेठीक होइन, तर श्वेत वा हिन्दुका हित र स्वार्थको ‘मात्रै’ रक्षा गर्नु बेठीक हो; यो रङ, नस्ल, धर्ममा आधारित राष्ट्रवादको अभ्यास हो । भारतमा मुसलमान र अंग्रेजहरूको शासन जमेपछि नेपाललाई ‘असिल् हिन्दूस्थान’ बनाउने श्री ५ महाराजाधिराज पृथ्वीनारायण शाहको सपनालाई श्री ३ महाराज जंगबहादुर कुँवर राणाले १९१० सालमा जातभातका आधारमा दण्डित र पुरस्कृत गर्ने मुलुकी ऐन बनाएर संवैधानिकता दिनु र नयाँनयाँ महाराजहरूले २०७२ सालमा सनातन धर्म-संस्कृतिको रक्षा गर्ने धर्मनिरपेक्ष राज्य बनाउनु धर्ममा आधारित राष्ट्रवादकै विस्तार गर्नु हो । यसरी कुनै एउटा धर्म, वर्ण, जात, थर, लिंग र क्षेत्रका प्रभुत्वशाली वर्गको मात्रै ‘राष्ट्र-राज्य’ बनाइएको देशमा कसैलाई राष्ट्रनिर्माता र राष्ट्रपिता त कसैलाई राष्ट्रपति र राष्ट्रकवि मान, पदवी र खान्की दिनु अनौठो होइन ।

यही राष्ट्रवाद फैलिँदो छ, विजित जनताका भूमि र सम्पत्ति लुट्दै सेनालाई पोस्ने, थरघरलाई मात्रै भारदार नियुक्त गर्ने, एउटा जातथरका मात्रै राजाजस्तै प्रधानमन्त्री, सेनापति र अन्य संस्थाका पति हुने संरचनामार्फत । एउटा धर्मावलम्बीकी माता जनावर मात्रै राष्ट्रिय हुने र राष्ट्रिय जनावर खाँदा अराष्ट्रिय, अपराधी र दण्डित ठहरिने अनि एउटा भाषा मात्रै नेपाली हुने, अरू सबै अनेपाली-गैरनेपाली हुने सिलसिलामा झाँगिँदो छ राष्ट्रवाद । सकेसम्म बहुल पहिचानको निषेध गर्ने, नसकेमा बहुल पहिचानप्रति ओठेभक्ति अनि नीति-निर्णय-नियतमा पहिचानको पोषण र अभ्यासमा गहिरिँदो छ राष्ट्रवाद ।

राष्ट्रवादकै अर्को पाटो पनि जारी छ- आफू र आफ्ना सबै पक्षलाई सभ्य, श्रेष्ठ, शुद्ध, पवित्र, उच्च मान्दै अरूलाई म्लेच्छ, असभ्य, अशुद्ध, अपवित्र, असुर, दानव, राक्षस, शूद्र, अछूत, नीच, हीन, ठान्दै पराईकरण र दानवीकरण गर्ने सांस्कृतिक उद्यम । यस्ता उद्यम गर्ने राष्ट्रवादीहरूले देशभित्र वा बाहिर काल्पनिक शत्रु खोज्छन् र त्यही शत्रुसँग डन किहोतेको शैलीमा छद्म युद्ध गर्छन्; संघर्षको मैदानमा होइन, जनमानसमाथि विजय प्राप्त गर्दै राज कायम गर्छन् वा शासन टिकाइराख्छन् ।

राष्ट्रिय र अराष्ट्रिय तत्त्व

यसकै परिणामस्वरूप दक्षिणपन्थीदेखि वामपन्थीसम्मको विचार, व्यवहार र अनुहार छुट्याउन पनि अति कठिन भएको हो; महान् राष्ट्रवादी महेन्द्र-वीरेन्द्रका पञ्च-मण्डले, प्रजातान्त्रिक समाजवादी बीपी कोइराला-गणेशमान सिंहका प्रजातन्त्रवादीदेखि पुष्पलालका कम्युनिस्टसम्मका चिन्तन र आचरणमा आधारभूत सांस्कृतिक भिन्नता नदेखिएको हो । प्रजातन्त्र वा समाजवादको नारा लगाए पनि, पार्टी र व्यवस्थाका लागि प्रजातान्त्रिक साइनबोर्ड लगाए पनि धेरैजसोको मन त राष्ट्रवादी नै छ । नयाँ-पुराना महेन्द्रमाला पढेर दीक्षित, शासित-अनुशासित भएको भावनाको संसारमा रमाउने मस्तिष्कको ‘राष्ट्र’ मा अन्य राष्ट्रको कुनै भूमि हुँदैन ।

शंका-सन्देह नगर्ने, कारण नखोतल्ने, प्रश्न र तर्क नगर्ने अनि आस्था, विश्वास र भक्तिभाव देखाउने मानसको ‘राष्ट्र’ मा पराईका लागि खासै अधिकार हुँदैन, कर्तव्यबाहेक । महिलाले आमाका नाममा नागरिकता माग्दा वा मधेसीले संघीयता, समानुपातिक समावेशिता र आत्मसम्मानको अधिकार खोज्दा विखण्डनकारी र भारतीय एजेन्ट देख्ने नजरमा ‘राष्ट्र’ भनेकै आफू मात्रै हो; अरू त पराई, शत्रु वा अराष्ट्रिय तत्त्व भइगए !

यसरी दीक्षित गरिएको राष्ट्रवादी जनमानसको घोडा चढेर कुनै बेला महेन्द्र शाह सवार भएका थिए, अचेल खड्गप्रसाद शर्मा ओली । शाह वा ओली व्यक्ति मात्रै होइनन्, राष्ट्रवादी जनमानसमाथि सवार शासकीय प्रवृत्तिका द्योतक हुन्, जसले छद्म युद्धमा जितेको र हवाई सपना साकार गरेको गाथा गाउने गर्छन् । जब साँच्चै देशको स्वार्थ र जनताको हितमा केही काम गर्नुपर्ने बेला आइलाग्छ, निरोको शैलीमा बाँसुरी बजाउँछन् कि गीत-कविता लेखेर विश्वव्यापी समस्यालाई समेत अनदेखा गरिदिन्छन् । कोरोना महाव्याधिमा समयमै ठोस कामकारबाही गर्नुपर्ने बेला अठार घण्टा सुतेर बिताउने ओली सरकार त्यस्तो राष्ट्रवादी भाइरस भएको छ, जसले कोरोना संक्रमणलाई वास्ता गर्दैन र मृत्युपछि लासको गणना मात्रै गर्छ । उनीहरूको ‘राष्ट्र’ मा प्रवासी नेपाली कामदारले छिर्नै पाउँदैनन्; देशको भौगोलिक-राजनीतिक सीमा मिचिँदा पनि उनीहरूको ‘राष्ट्र’ को भूगोललाई केही फरक पर्दैन ।

राष्ट्रवादी उत्तेजनाको सीमा

यस पटक नेपालको कालापानी-लिपुलेक-लिम्पियाधुरा क्षेत्रमा भारतले सडक उद्घाटन गरेपछि युवा-विद्यार्थी आक्रोश सडकमा पोखिएको छ । ‘अन्तर्राष्ट्रियतावादी कम्युनिस्ट क्रान्तिकारी’ पार्टीको राष्ट्रवादी सरकारबाट गिरफ्तारी र दमनपछि यही आक्रोश सामाजिक सञ्जालमा भारतको नक्सादेखि प्रधानमन्त्री मोदीको तस्बिर जलाउने उपक्रमसम्ममा अभिव्यक्त भएको छ । राजधानीका सडकदेखि मोफसलका चौबाटासम्म आक्रोशको ज्वाला दन्काउनेहरूमा धेरैजसो ‘अन्तर्राष्ट्रियतावादी क्रान्तिकारी’ नै देखिन्छन् । सीमामा तारबार लाउने उत्तेजनादेखि अवैध सडक लिजमा दिने बकवासबीच सोच्नैपर्ने पक्ष हो- सीमा अतिक्रमणको बुद्धिमत्तापूर्ण प्रतिरोध राष्ट्रवादी भुमरीमा फस्ने गरी चलाउने हो र ? सरकारी अकर्मण्यताबाट जनताको ध्यान मोड्ने गरी अगाडि बढाउने हो र ?

हुन त दीनहीन देशका जनतामा राष्ट्रवादको मात्रा चर्को हुने र ठूला देशका ठूला शासकहरूले गर्ने अपमान र बलिमिच्याइँविरुद्ध उग्र प्रतिक्रिया सहजै पोखिने रहेछ ।

अन्य विदेशीले आफ्नो देशविरुद्ध छिसिक्क केही भन्नु हुँदैन, राष्ट्रवादीहरूको हातबाट उसको पुतला जलिहाल्छ ।

ठूला देशले गरेका बलिमिच्याइँ र ठ्लूा नेता-अभिनेताहरूले गरेका अपमानको विरोधमा प्रदर्शन भइहाल्छ । ठूला देशका ठूला शासकहरूको सशक्त प्रतिकार गर्न नसकिने हुनाले होला, तिनको नस्ल, रूपरंग र भाषासँग मिल्ने स्वदेशीलाई आक्रमण वा गालीगलौज गरेर भए पनि रिस शान्त गरिन्छ, बलमिच्याइँ र अपमानको बदला लिइन्छ । सशक्त रूपमा राजनीतिक प्रतिरोध, सैनिक प्रतिवाद वा कूटनीतिक पहल गर्न नसकेरै होला, भावनात्मक विरोध सडक, गल्ली, चोकदेखि सामाजिक सञ्जालसम्म छताछुल्ल पोखिन्छ । यस अर्थमा अपमान र बलमिच्याइँले जलाएको मनमस्तिष्कलाई शमन गर्ने ‘राष्ट्रवादी अफिम’ निकै प्रभावकारी रहेको तथ्य मोदी र ओलीलाई राम्ररी थाहा छ ।

कुनै सशक्त जनप्रतिरोध नहुँदा जसरी कोरोना महाव्याधिले भ्रष्ट र निकम्मा सरकारको आयु बढाएको छ, त्यसरी नै सीमा विवादले महाव्याधिबाट जनतालाई बचाउन गर्नैपर्ने कामकारबाहीबाट भाग्ने सरकारको अकर्मण्यतालाई छोपछाप गर्ने खतरा पनि छ । आफ्नो न्यायपूर्ण आक्रोश भ्रष्ट सरकारको अकर्मण्यता बचाउने अभियानको झन्डा त बन्ने होइन ? सडकदेखि सामाजिक सञ्जालमा पोखिएको आक्रोशलाई देश र जनताको हितमा केन्द्रित गर्नलाई जनमानसले आफ्नै राष्ट्रवादी विचार-व्यवहारमाथि प्रश्न उठाउने बेला झएको छ ।

प्रकाशित : जेष्ठ ६, २०७७ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?