१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

अन्त्यहीन भाइरस युग 

प्रायशः जीवहरूले पृथ्वीमा पालैपालो राज्य गरिरहँदा भाइरस युग कहिल्यै व्याख्या गरिएन । तर, जीवको उत्पत्तिदेखि आजसम्म आउँदा भाइरस कहिल्यै हराएको छैन । स्मरणीय छ, सबै युग परिवर्तन गरिदिने एक मुख्य कारक भाइरस हो ।
भाइरस वर्गीकरणको अन्तर्राष्ट्रिय समितिको २०१८ को प्रतिवेदनले भन्छ— पृथ्वीमा चार हजार आठ सय प्रकारका भाइरस छन् । तीमध्ये दुई सय १९ प्रकार मानवजातिका लागि संक्रामक हुन् ।
रामचन्द्र अधिकारी

काठमाडौँ — पृथ्वीमा जीवहरूको विकासक्रममा विभिन्न कालखण्डहरूमा भिन्नभिन्न जीवहरूको प्रभुत्व रहेको देखिन्छ । आजभन्दा दुई अर्ब तीस लाख वर्षअघि ब्याक्टेरियाको प्रभुत्व थियो ।

अन्त्यहीन भाइरस युग 

त्यस्तै एक अर्ब ५० करोड वर्षअघि फन्जाई, कोरल, जुका र माछाहरूको जमाना थियो । ६० करोड वर्षअघि उन्यु र उभयचरको प्रभुत्व थियो । १२ करोड वर्षअघि आउँदा डाइनोसरलगायतका सरिसृपहरू यो धराका प्रमुख र नेतृत्वदायी जीवहरू थिए । सोही समयमा फूल नफुल्ने तर कडा फल हुने सल्लोजस्ता जिम्नोस्पर्मको स्वामित्व थियो । अहिलेभन्दा छ करोड ५० लाख वर्षपहिले पुराना जीवहरूजस्तै डाइनोसर, दाँत भएका चराहरू, उन्यु र जिम्नोस्पर्महरू लोप भएर गए । अनि फूल फुल्ने बिरुवा, चरा र स्तनधारीको जन्म भयो । तसर्थ पृथ्वीको विगत हेर्दा ब्याक्टेरियाको युग, अमेरुदण्डीय जनावरको युग, माछाको युग, उभयचर, सरिसृपको अनि चरा र स्तनधारीको युग तथा अन्त्यमा आधुनिक मानिस र हरिया बोटबिरुवाको युग आयो । जुन छ लाख वर्षअघिदेखि अद्यापि चलिआएको छ ।

प्रायशः जीवहरूले पृथ्वीमा पालैपालो राज्य गरिरहँदा भाइरस युग कहिल्यै व्याख्या गरिएन । तर, जीवको उत्पत्तिदेखि आजसम्म आउँदा भाइरस कहिल्यै हराएको छैन । स्मरणीय छ, सबै युग परिवर्तन गरिदिने एक मुख्य कारक भाइरस हो । अरू आए गए तर सबै युगमा गुप्त उपस्थिति राखिराख्ने जीव भाइरस हो । जति उत्पत्ति भए जीवहरू उनीहरूमध्ये ८० प्रतिशत लोप भएर गए, तिनीहरूलाई लोप गराउने एउटा घटक भाइरस हो भन्ने कुरामा वैज्ञानिकहरू विश्वस्त बनेका छन् । हो, त्यसैले सोही क्रमलाई निरन्तरता दिँदै भाइरसले आजको मानिस र हरिया झारपात तथा ठूला रूखहरूको शासनकाललाई चुनौती दिइरहेको छ ।

पृथ्वीको उत्पत्ति आजभन्दा साढे चार अर्ब वर्षअगाडि भएको र त्यसको करिब एक अर्ब वर्षपछि जीवको उत्पत्ति भएको विश्वास गरिन्छ । भाइरसलाई जीव भनेर पूर्णतया स्वीकार नगरिए पनि एक अकोषीय परजीवीको हैसियतमा अस्तित्वमा छ । अरू कोषीय जीवहरूको उत्पत्ति हुनुअघि भाइरसको उत्पत्ति भएको एकथरी वैज्ञानिकको तर्क छ यद्यपि ‘कुखुरा पहिला कि अण्डा’ भनेझैँ कोषीय जीव पहिला कि अकोषीय भाइरस भन्ने बहस पनि जीव वैज्ञानिक वृत्तमा चलिरहेको छ ।

समुद्रमा जीव बन्नुपूर्व जैविक अणुहरू बनिएका थिए । रुसका वैज्ञानिक अलेक्जेन्डर ओपारिन र अंग्रेज जेबिएस हाल्डेनले १९२० मा विश्वसामु दिएको दर्शनअनुसार मिथेन, पानीको बाफ, एमोनिया बन्दै सुगर, एमिनो एसिड, हाइड्रोसाइनाइड एसिड, न्क्लुिओटाइड्स, न्युक्लिक एसिड आदि बन्दै आए । न्युक्लिक एसिडका रूपहरू डीएनए र आरएन हुन् जुन जीवका आधारवस्तु मानिन्छन् । यही चीजबाट कोषीय जीवको उत्पत्ति भएको ओपारिनहरूको तथ्यलाई मान्दै आइएको छ । भाइरसको बनावटमा २० प्रकारका न्युक्लिक एसिड, कार्बोनिक्स समूह र एमिनो समूहका एमिनो एसिडहरू हुन्छन् । यस आधारमा भाइरस पनि उही बेला बन्यो तर यो कोषीय ढाँचामा नआई सोही रूपमा बसिरह्यो भन्ने बुझाइ छ । भाइरोलोजिस्टहरू कुहिन र मार्टिन (२००५) ले आफ्नो प्रकाशनमा उल्लेख गरेका छन् कि भाइरस कोषीय जीव बन्नुभन्दा अघिदेखि पृथ्वीमा थियो । बिस्तारै आफैँ टुक्रिने एकाइको रूपमा विकास भएर जटिल स्वरूपमा बदलियो भनेर उनीहरूले दाबी लिएका छन् । भाइरस कसरी उत्पत्ति भयो भन्ने विषयमा पश्चगामी एउटा सिद्धान्त छ । यसले भन्छ ः स्वतन्त्र रूपमा बाँच्ने कुनै जीवले शरीरबाट आनुवांशिक जानकारीमूलक सामग्री हरायो, यही अपांगता भएको जीव नै कालान्तरमा सफल परजीवी भई सृष्टिमा रह्यो । यस्तो पश्चगामी क्रमविकास अन्य ठूला जीवमा पनि देखिन्छ । जस्तै ः ह्वेल, डल्फिन आदिका पुर्खाहरू जमिनमा बस्थे तर यिनीहरू पानीतिरै फर्की गएर उतै स्थापित भएका हुन् । यिनका अंगहरूमा पूर्वजहरूका भन्दा थुप्रै परिवर्तन पाइन्छन् । अर्को अग्रगामी सिद्धान्तले ‘भाइरस पहिला एउटा आनुवांशिक वस्तुको टुक्रोको रूपमा रहेको थियो र कुनै जिनोम (जीवको शरीर) मा प्रवेश पाई अस्तित्व मात्र जोगाएन द्रुत रूपमा क्रमविकसित पनि भयो’ भन्छ । उदाहरणका लागि एचआईभी । प्रान्जिसभिलीलगायतले २००६ मा एक लेखमा पनि ब्याक्टेरिया र अन्य न्युक्लियसधारी जीवभन्दा अगाडिदेखि नै भाइरस थियो, करिब साढे तीन अर्ब वर्षअगाडि भनी जनाएका छन् ।

संयुक्त राज्य अमेरिकाको विज्ञान प्रज्ञा प्रतिष्ठानको २०१४ को प्रोसिडिङमा साइबेरियाको हिउँमा ३० हजार वर्षअघिका केही भाइरस (पिथोभाइरस) पाइए भनिएको छ । यसले भाइरस सर्वव्यापी रहेछ भन्ने प्रमाणित गर्छ । साथै यतिका वर्ष सुषुप्त बसेर अनि आक्रामक भई आएको भन्ने वैज्ञानिक तर्क छ । जब यसले मेरुदण्डीय ठूला जनावरमा आक्रमण सुरु गरी क्षति बढायो तब विस्तृत खोजी हुन थाल्यो भनेर सिड्नी विश्वविद्यालयका अनुसन्धाताले सन् २०१८ मा प्रख्यात विज्ञान पत्रिका नेचरमा प्रस्तुत गरेका छन् । अर्का भाइरोलोजिस्ट डी हेरेलेले पनि कोषभन्दा अगाडि भाइरसको उत्पत्ति भएर निरन्तर सफलताको बाटोमा अघि बढेको भनेर १९२२ मा लेख प्रकाशित गरेका छन् ।

अरू जीवले प्रकृतिमा रहिरहने अनेक युक्ति गर्दा पनि सफल नभएर प्रकृतिको छनोटमा नपरेर विस्थापित भए भने कतिपय अर्कै रूपमा परिवर्तित भई अस्तित्वमा छन् । तर भाइरसले यति दुःख गर्नु परेन । उसले आकस्मिक उत्परिवर्तन हुने आनुवांशिक सामग्रीको धारण गर्‍यो र समयमै परजीवी जीवन रोज्यो । यति भएपछि जहिल्यै सफल भइरह्यो, अन्त्यहीन यात्रा तय गर्‍यो र जैविक संसारमा भएका ठूला प्रलयको कारक बन्न पनि सफल भयो ।

जतिबेला एककोषीय र ब्याक्टेरियाको नेतृत्वमा जैविक संसार हाँकिएको थियो उबेला नै ब्याक्टेरियोफेज भाइरसले तिनलाई थान्को लगाएको अनुमान छ । माछा युगको अन्त्य, उभयचरको अन्त्य र सरिसृपको अन्त्य भएका घटनामा भाइरसलाई ठूलो जिम्मेवार मानिन्छ । तीन अर्ब दस करोड वर्षअघिदेखिका नुडिभाइरस, ब्राकोभाइरसले विध्वंसकारी जैविक क्रान्ति ल्याएको विश्वास गरिन्छ । हुन त डाइनोसरलाई हड्डीको अनियन्त्रित वृद्धि हुने रोग (क्यान्सरजस्तै) लागेर सखाप भएको भनिन्छ तथापि उक्त युगमा पनि भाइरसको भित्री प्रभुत्व रहेको भनी २०१२ को अमेरिकी विज्ञान प्रज्ञा प्रतिष्ठानको प्रोसिडिङमा उल्लिखित छ । साथै एमिलिआनी (१९९३) का अनुसार जति पनि समूहगत महालोपका घटनाहरू भए भाइरसको भूमिकालाई उल्लेख्य मानिन्छ । फूल फुल्ने बिरुवाको सबैभन्दा पुरानो अवशेष मानिएको आर्किफ्रुक्टस लिनोनिनजेन्सिसमा समेत भाइरस संक्रमण थिएछ भनिएको छ । मानिसका पुर्खा मानिएका रामापिथेकस, अस्ट्रालोपिथेकस आदिमा समेत हर्पिस, साइटोमेगालो र बार भाइरसको संक्रमण थियो । आजभन्दा नौ हजार वर्षअघिका अस्ट्रेलियन मानिसमा ह्युमान टी सेल ल्युकेमिया भाइरस टाइप वान् भाइरसको संक्रमण थियो । यसलाई हालको एड्स रोगको सहायक मानिन्छ ।

जिनमा परिवर्तन आउन दसौँ लाख वर्ष लाग्छ भन्ने तथ्य पत्याइएको छ तर दसौँ करोड वर्ष बितिसक्दा पनि भाइरसको जिन उही रहेको भाइरसशास्त्रहरूमा लेखिएको पाइन्छ ।

भाइरस वर्गीकरणको अन्तर्राष्ट्रिय समितिको २०१८ को प्रतिवेदनले भन्छ— पृथ्वीमा चार हजार आठ सय प्रकारका भाइरस छन् । तीमध्ये दुई सय १९ प्रकार मानवजातिका लागि संक्रामक हुन् ।

धेरै जीव उदाए अस्ताए । भाइरस कहिल्यै अस्ताएन । बरु नयाँ आउनेसँगै सह–सम्बन्ध कायम गरी बस्यो र सँगै क्रम विकसित पनि हुँदै आयो । ऊ मात्र होइन यसले त अरू जीवकोषमा समेत क्रमविकास गराइदिन्छ । बुझौँ– हामीले विगतका भाइरल रोगको प्रतिरोधी क्षमता विकास गर्दै आउनु भनेको कोषको क्रमविकास हुँदै आएको हो । भाइरस द्रुत तथा अनुकूलित क्रमविकास हुनुका पछाडि मुख्य पाँच कारण मानिन्छन् । ती हुन्– ठूलो संख्याका सन्तान, उत्परिवर्तनको उच्च क्षमता र उत्परिवर्तित (म्युटेन्ट) सन्तानको उच्च अनुकूलन क्षमता, प्रकृतिको छनोट, तीव्र तथा छोटो जीवनचक्र र अर्ध–जीवको रूपमा यसको उपस्थिति । यिनै विशेषताले भाइरसको कहिल्यै अन्त्य हुन्न भन्ने अड्कल लगाउन सकिन्छ । अर्को महत्त्वपूर्ण कुरा के भने प्रकृतिले यसलाई छनोट गरेको छ र यसैलाई आफ्नो बलियो अस्त्रको रूपमा सुरक्षित राखी प्रयोग गर्दै आइरहेको छ र भविष्यमा यसले निरन्तरता पाउनेछ ।

हालका धरावासी सबै किसिमका वनस्पति, प्राणी र सूक्ष्म जीवहरू सबैमा भाइरसले घर जमाएको छ । वनस्पतिका दस ठूला महामारीबर्द्धक रोगहरू भाइरसले नै लगाइरहेका छन् । उभयचरमा कम्तीमा छ प्रकारका भाइरल महामारी चलेका छन् । चरा र स्तनधारीमा विगतदेखि अहिलेसम्म भएका भाइरसको महाव्याधि त सबैले सुनेका र भोगिरहेका छौँ ।

आजको पृथ्वीको नेता जीव मानिस र हरिया वनस्पति मानिए तापनि प्रभावकारी शक्ति भाइरस रहेछ भन्ने प्रस्ट भइसकेको छ । आगामी दिनमा पनि भाइरसको प्रभुत्व कम हुने देखिँदैन । आज पशुपालनको व्यवसायीकरण भएको छ, जंगली जनावरहरूको संरक्षण जोडदार गरिँदै छ, जंगली जनावरसँग मानिसको घनिष्ठता बढिरहेको छ, घरपालुवा जनावरलाई घरभित्रै ओच्छ्यानकक्ष र भान्साकक्षसम्म पुर्‍याइएको छ, जलवायु परिवर्तनका कारण पनि भाइरसको गतिविधि बढेका छन् । यी आधारमा पछिका दिनमा मानिस भाइरसको जोखिममा झन् बढी पर्ने देखिन्छ । त्यति मात्र होइन मानिसको र वनस्पतिको भूमण्डलीकरण भएको छ, मानिस पृथ्वीभरि घुमेको छ, जंगली जनावरहरूको विश्वव्यापी व्यापार बढेको छ, जंगली जनावरको मासु मीठो र महत्त्वपूर्ण मानिएको छ । यो क्रम आजै सेलाएर जाँदैन अनि कसरी भन्न सकिन्छ भोलिका दिनमा सुरक्षित झइन्छ ।

माइक्रोबियल इकोलाजीमा त्रुटिस सटलले लेखेका छन्, प्रत्येक दिन ८० करोड भाइरस हावामा जम्मा भइरहेका छन् । जीवित कोषमा आश्रय नपाए बाँच्नै सक्दैन भनिए तापनि हावामा छरिएका कोषीय अंशमा समेत सफल जीवन जिउन सक्ने गरी विकसित भइसकेको छ । यी विविध आधारमा आगामी युग पनि भाइरसको प्रभाव रहने देखिन्छ ।

अधिकारी प्राणीशास्त्र विभाग, स्नातकोत्तर क्याम्पस, विराटनगरका उपप्राध्यापक हुन् ।

प्रकाशित : जेष्ठ ३, २०७७ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?