१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

नियन्त्रणबाहिर नजाओस् संक्रमण

सम्पादकीय

नेपालमा कोभिड-१९ संक्रमणका घटना खासै छैनन् कि, परीक्षणको अभावमा नदेखिएका हुन् भन्ने द्विविधा अब रहेन । पीसीआर परीक्षणको दर बढाइएसँगै संक्रमितको संख्या ह्वात्तै बढ्न पुगेको छ । मंगलबार एकै दिन ८३ जनामा संक्रमण पुष्टि भएको छ ।

नियन्त्रणबाहिर नजाओस् संक्रमण

पहिलो सय संख्या पुग्न सय दिनभन्दा बढी लागेकामा सोमबार र मंगलबार मात्रै १ सय ११ जना संक्रमित थपिएका छन् । संक्रमितको संख्या २ सयबाट उकालो लाग्दै गर्दा २० जिल्लालाई प्रकोपले छोइसकेको छ । केही पालिकामा यो समुदायमै फैलिसकेको देखिन्छ । यस्तो अवस्थामा संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गरी परीक्षण गर्नु अपरिहार्य छँदै छ, संक्रमित क्षेत्रमा आवतजावत गरेकालाई निगरानी गर्नु पनि आवश्यक छ ।

लकडाउन आठौं सातामा जारी भए पनि मानिसको बाक्लो आवागमन रोकिएको छैन । र, यस्तो आवागमनमा आवश्यक सावधानी पनि अपनाइएको पाइँदैन । जस्तो, काठमाडौं उपत्यकामा मात्रै मंगलबार २४ घण्टामा ७ हजारजति भित्रिएका छन् । यो क्रम केही दिनयता निरन्तरजस्तै छ । थानकोट, फर्पिङ र जगाती नाकाबाहेक सुरक्षा जाँच छल्दै अरू बाटोबाट भित्रिने पनि छन् । र, यीमध्ये कति संक्रमण फैलिएका जिल्लाबाट आएका छन् । मूलबाटोमा प्रहरीले ज्वरो नापेर विवरण त टिप्ने गर्छ, तर यत्तिकै भरमा जोखिम घट्ने हुँदैन । ज्वरो नआए पनि उनीहरूमा संक्रमण भएको/सरेको हुन सक्छ । त्यसैले गन्तव्यमा पुगेपछि कम्तीमा दुई सातासम्म उनीहरूले आफूलाई ‘सेल्फ क्वारेन्टिन’ मा राख्नैपर्छ । नत्र कदाचित उनीहरूलाई संक्रमण रहेछ भने त्यो धेरैलाई सर्न सक्ने जोखिम हुन्छ ।

अहिले दक्षिणी भेगका केही जिल्लामा ठूलो संख्यामा संक्रमण देखिइसकेको छ । पर्सामा मात्रै ८२ जना संक्रमित पाइएका छन् । यस्तै, उदयपुरमा ३२, कपिलवस्तुमा २९, बाँकेमा २४ र रूपन्देहीमा १६ जनामा संक्रमण देखिएको छ । डराउनुपर्ने कारण के छ भने, यसबीचमा देशभित्रै यात्रा गरेकाहरूमा पनि प्रकोप पाइएको छ । जस्तो, पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वास्थित मंगल माविको क्वारेन्टिनमा बसेकामध्ये संक्रमित पाइएका १४ जना गत १३ गते बागलुङबाट बस ‘रिजर्भ’ गरी त्यहाँ पुगेका थिए । त्यसअघि नै संक्रमित भेटिएको जिल्ला बागलुङबाट फर्किएकै कारण उनीहरूलाई सोझै क्वारेन्टिनमा राखिएको थियो । यसबाट सीमापारिबाट मात्र होइन, मुलुकभित्रै पनि संक्रमण फैलिएको पुष्टि हुन्छ ।

तसर्थ, हिजो भारतलगायत संक्रमण फैलिएका देशबाट आएकाहरूको हकमा पहिचान, निगरानी र परीक्षणको जुन प्रक्रिया अपनाइएको थियो, आज त्यही शैली स्वदेशभित्र पनि अनुसरण गर्न आवश्यक छ । संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको त परीक्षण गर्न जरुरी छ नै, संक्रमण फैलिएको क्षेत्रबाट अन्यत्र गएका व्यक्तिहरू पनि निगरानी/स्वनिगरानीमा बस्ने व्यवस्था मिलाइनुपर्छ । यस्तो व्यवस्था नगरिएमा भोलि व्यापक स्तरमा समुदायमा संक्रमण फैलने जोखिम देखिन्छ । अहिले देखिएको यो संक्रमण हिजो भारत तथा विदेशबाट आएका व्यक्तिहरूलाई उचित निगरानीमा राखी पर्याप्त परीक्षण नगर्नुको परिणाम हो । यही कारण, लकडाउनको आठौं सातामा पनि संक्रमितको संख्या बढिरहेको छ ।

सरकारले लकडाउन लगायतका संक्रमण फैलिन नदिने अरू उपायको सही ढंगले पालना गराउन सकेको भए र नागरिकहरू पनि त्यही हिसाबले जिम्मेवार भइदिएको भए संक्रमण पहिलो चरणबाट अघि बढ्ने थिएन । हामी आफैंले छाडेको छिद्रबाट यसले फैलने मौका पाएको हो । हिजो मजदुरहरू उपायहीन भई सयौं किलोमिटर भोकै हिँडेर थातथलो फर्कन बाध्य भए । उनीहरूलाई व्यवस्थित ढंगले फर्काउन सरकारले चाहेन । यसैगरी सीमापारिबाट अझै घर फर्कन गुहार माग्दै छन् । तर यसबीचमा देशभित्रै पनि सवारी पासको दुरुपयोग गरी असावधानीपूर्वक, भीडभाड गरेर, आवतजावत भइरहेको छ । गन्तव्यमा पुगेर उनीहरू निगरानीमा बसे-नबसेको टुंगो छैन । यसबाट पनि जोखिमको सम्भावना उत्तिकै छ ।

अब प्रकोपलाई अनियन्त्रित हुन नदिन सरकारले शंकास्पदहरूको परीक्षण व्यापक बढाउनुपर्छ । संक्रमण फैलिएको क्षेत्रमा लुकीछिपी आवागमन रोकिनुपर्छ । त्यस्तो क्षेत्रबाट अन्यत्र गएको व्यक्तिले आफूलाई पूर्ण स्वनिगरानीमा राख्नैपर्छ । यस्तो काममा सरकार मात्र होइन, सम्बन्धित नागरिक पनि जिम्मेवार बन्नुपर्छ ।

सरकारको आँखा सजिलै छल्न सकिएला, तर भाइरसको सकिँदैन । सरकारले पनि परीक्षणको संख्या र दायरा बढाउनुको अलावा संक्रमण फैलिन सक्ने जोखिम भएका सबै क्षेत्रमा आवश्यक सावधानी अपनाउनुपर्छ । पूरै देश लामो समय लकडाउनमा कैद भइरहने, तर संक्रमण फैलिरहने अवस्था आउन दिनु हुँदैन ।

प्रकाशित : जेष्ठ १, २०७७ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?