कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

आवधिक शासकहरूको चटक

महाभारतमा एउटा भनाइ दोहोरिइरहन्छ— राजा (शासक) निधिपति (मालिक/ईश्वर) होइन, निधिपतिको प्रतिनिधि मात्र हो । तर आजको युगका आवधिक शासकहरू किन आफैं निधिपति भएको भ्रम पालिरहेछन् ?
सविता विमली

बन्दाबन्दीयता हिँडडुल ठप्प भएको छ । दिन सजिलै बित्दैन । सामाजिक सञ्जाल चहार्नु दैनिकीको महत्त्वपूर्ण अंश बनिसकेको छ । केहीमा नअडिएकी म महाभारतमा पुगेर अडिन्छु । राज्य सञ्चालन तथा राजनीतिका दाउपेचले भरिएको यो कथाका संवादले मलाई पटकपटक झस्काउँछन् ।

आवधिक शासकहरूको चटक

राजा शान्तनुलाई कुलगुरुले ‘आफ्ना राजालाई प्रश्न गर्नु प्रजाको अधिकार हो’ भन्छन् । प्रश्न सोध्ने अधिकारलाई नागरिकको अधिकारका रूपमा त्यस बेलाको समयले नै स्थापित गरेको रहेछ । हामी भने त्यही अधिकारका लागि आजपर्यन्त लडिरहेका छौं ।

कोरोना रोकथामका लागि आवश्यक सामान खरिद प्रक्रियामा प्रश्न गर्नेहरूविरुद्ध उल्टै प्रहार गरियो । काठमाडौं प्रेसमाथिको प्रहार सिंगो प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको बुझ्न अप्ठ्यारो छैन । नागरिकले गरेका प्रश्नलाई न्याय गर्नु भनेको शासकीय सफलता पनि हो भनी सत्ताले बुझ्न सकेको देखिँदैन ।

राजनीतिशास्त्रको शोध बाँकी छ । नेपालको लोकतान्त्रिक अभ्यासमा सूचनाको हकको भूमिकामाथिको मेरो अध्ययनलाई यो बन्दाबन्दीमा सक्ने कोसिसमा छु । महाभारतकालीन प्रश्न सोध्ने अधिकार र आजको सूचनाको हकको अनुहार उस्तै लाग्छ । समयमै प्रश्न गर्न नसक्दाका त्रासदी माफीयोग्य छैनन् । युगसंहारक त्रासदी कतै कसैका केही प्रश्नले रोकिन्थे कि † त्यसैले आजकल प्रश्नसँग आकर्षण बढेको छ र म प्रश्नहरूलाई प्रेम गर्ने भएकी छु ।

सूचनाको हकले लोकतन्त्रको सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेमा दुई मत छैन । २०१० सालमै वाक् तथा प्रकाशनको स्वतन्त्रताका पक्षमा नेपालको सर्वोच्च अदालतले फैसला गरेको रहेछ । प्रकाशनको स्वतन्त्रतामार्फत नागरिकको आवाजको रक्षाका लागि न्यायालय उभिएको फैसला हेरेर दंग पर्छु ।

बन्दाबन्दी लम्बिँदै छ । हामीसँग आफैंले बनाएका सामग्री असाध्य कम छन् । सिंगो विश्व आवश्यकीय सामग्रीका लागि चीनको मुख ताकिरहेछ । २२ टन सामग्री लिनका लागि गएको जहाज साढे सात टन मात्र लिएर फर्किन्छ । एउटा व्यापारी समूह अरूको बाटो छेकेर आफू मात्रै सामान बोक्न सफल भएको खबर कानमा ठोक्किन्छन् । अर्बौंका मालिक त्यही आयातित सामग्री कूटनीतिक नम्बर प्लेटको सवारी साधनमा कालोबजारी गरिरहेका भेटिन्छन् । यो विपत्मा अरूलाई छेकेर उनी कति कमाउन चाहन्थे ? अरूले उत्पादन गरेका सामान बेचेर हामी व्यापारी मात्रै कहिलेसम्म भइरहने ? उद्यमी कहिले बन्छौं हामी ?

आफूलाई आवश्यक रकम जुटाउन छटपटाइरहेको राष्ट्रिय आविष्कार केन्द्रका लागि देशभित्रै कामकाजी करिब ५० लाख जनशक्तिले दिनको एक रुपैयाँ छुट्याए यो संस्था उभिने मात्र होइन, दौडिने थियो भन्ने लागेरै मैले गत असोज १ गते कान्तिपुर दैनिकमा ‘महावीरलाई एक रुपैयाँ’ शीर्षक लेख लेखेकी थिएँ । यो लेख लेखिरहँदासम्म केन्द्रका नाममा ३०८,९६३.१६ रुपैयाँ जम्मा भएको छ ।

यो समय आविष्कार केन्द्रले आफ्नो सामथ्र्यले भ्याएसम्म काम गरिरहेको छ । केन्द्रबाट पीपीई तयार गरेर नि:शुल्क बाँडिएका छन् । यो महामारीमा अरू धेरै आवश्यकीय सरोकारका काममा अग्रसर बनेको आविष्कार केन्द्रलाई देखेर यो र यस्तै अरू केन्द्र कति आवश्यक रहेछन् भन्ने बोध कसले गरेको छैन होला ? किन हो, राष्ट्रिय आविष्कार केन्द्रकै आँगनबाट सर्वसाधारणका आँतमा न्यानो पुग्ने गरीको उद्यमशीलताको क्षितिज उघ्रन्छ भन्ने लागिरहन्छ मलाईचाहिँ । गोविन्द केसीले उठाएको सरकारी मेडिकलको संख्यामा बढोत्तरी हुनुपर्ने, मेडिकल शिक्षा नि:शुल्क हुनुपर्ने माग कति कपटरहित रहेछ भन्ने बुझ्न अझै पनि ढिलो गर्‍यौं भने हाम्रा लागि योभन्दा ठूलो दुर्भाग्य अर्को हुनेछैन ।

प्रधानमन्त्रीको राष्ट्रका लागि सम्बोधन बडो चाखका साथ हेर्छु । आउलान् भन्ने लागेका तथा आउनैपर्ने कतिपय कुरा सम्बोधनमा समेटिएनन् । तर आउनै नहुने एउटा कुराचाहिँ बीचमा सुत्तै पसेको रहेछ— जीवन रोज्ने कि वैयक्तिक स्वतन्त्रता ? वैयक्तिक स्वतन्त्रता सबैभन्दा धेरै सूचनाको हकसँग जोडिन्छ भनिरहेका छन् मैले पढेका साहित्यहरूले । सूचनाको हक प्रश्न सोध्ने अधिकार हो । के गर्दै छौ है भनेर सत्तालाई नागरिकले गर्ने खबरदारी हो । तर मेरा बिरामी जनप्रतिनिधि सोधिरहेछन्— तँलाई तेरो जीवन प्यारो कि स्वतन्त्रता ? मलाई आफ्नो स्वतन्त्रता आफ्नो जीवनजत्तिकै प्यारो छ कामरेड !

बन्दाबन्दीले डेढ महिना पूरा गर्‍यो । बारपाक भूकम्प पाँच वर्षको भयो । दोस्रो जनआन्दोलनपछिका चौध वर्ष, गणतन्त्र स्थापनाका बाह्र वर्ष पूरा भए ।

यो महामारीमा सबैले घर सम्झिए । देश सम्झिरहेछन् । घर फर्किनेले भोगेको सकस र राज्यको उदासीनताको के कुरा ! उनीहरूलाई यो निष्ठुर सहरले प्रेमपूर्वक बिदा गर्न सकेन । परदेशबाट आँखा बिछ्याएर देश पर्खिने कति छन् † देशभित्रै देश नभेटेर हैरान कति छन् ! देश भने असंवैधानिक विधेयक जारी गर्न र फेरि तिनैलाई खारेज गर्न व्यस्त छ । दुईतिहाइको नेतृत्व गरिरहेको सत्ता आफ्नाहरूलाई पत्याउन नसकेर अंकगणित मिलाउन लागिपरेको छ र उसको हातमा शेष होइन, शून्य हात लागेको छ ।

आवश्यकलाई राहत, संक्रमितलाई उपचार, आवश्यक स्वास्थ्य सामग्रीको जोहोमा लाग्नुपर्ने सिंगो राज्य संरचना सत्ताको कुस्तीमा यसरी व्यस्त रह्यो, त्यहाँ सरकारको कमजोरी र गर्नैपर्ने काम मुद्दा बनेनन्; गुट, भागबन्डा, पद, हैसियत मात्र मुद्दा बने । बनिरहेछन् । दशकौंपछिको एकमना सरकारप्रतिको नागरिकको विश्वासलाई फेरि कुल्चिने प्रयास गरियो । तर यी सबका कर्ताहरूमा लज्जा भने कहीँ कतै देखिँदैन ।

अहिलेको सरकारले डेलिभरी दिन नसकेको पक्कै हो । तर केपी ओलीले दिन नसकेको डेलिभरी पुष्पकमल दाहाल, माधव नेपाल वा झलनाथ खनालले दिन्छन् भन्नु उस्तै बेकार कुतर्क पनि हो । ओलीको बदलामा कुनै पनि भूपू प्रधानमन्त्रीलाई पदस्थापन गर्नु भनेको अर्को मूर्खता हो । अब कोही कार्यकारीमा आउनुपर्छ भने दोस्रो पुस्ता आउनुपर्छ । यदि दोस्रो पुस्ता हिम्मत गर्न सक्दैन भने तेस्रो पुस्ता तयार रहनुपर्छ । अहिले हालीमुहाली गरिरहेको पहिलो पुस्ताले आफ्नो युग सकिएको बोध गर्न ढिलो गर्नु हुन्न । राम्रो कार्यक्षमता प्रदर्शन गर्न नसकेका मन्त्री पनि दोहोरिनु हुन्न । अबको समृद्धिको नेतृत्व गर्न नेपाली राजनीतिको यो बूढो पुस्ता अक्षम छ भन्न बितेका केही हप्ताको रस्साकस्सी हेरे पुग्छ । केही थान मन्त्री र मुख्यमन्त्री पदको नापजोखमा खपत गरिएको कोरोना समयको हिसाब कामरेडहरूलाई बडो महँगो पर्नेछ ।

पार्टी अध्यक्षलाई सत्ताको बागडोर सुम्पिने जुन थिति बसेको छ, अब त्यसलाई तोड्ने बेला भएको छ । सत्तासँग खाईखेली तथा गठजोड गर्न पाइने लोभले अध्यक्ष बन्ने यस्तो होड छ, धेरै समयदेखि राजनीतिक दलहरूले न राम्रो संगठक जन्माए न कुनै सिर्जनशील नेतृत्व नै राष्ट्रलाई दिए । दिए त केवल कर्कश अध्यक्ष र सिंहदरबारमा झुन्डिने फुस्रा तस्बिरहरू मात्रै ।

महाभारतमा थुप्रै पटक एउटा भनाइ दोहोरिइरहन्छ— राजा (शासक) निधिपति (मालिक/ईश्वर) होइन, यो निधिपतिको प्रतिनिधि मात्र हो । अझ धृतराष्ट्रलाई त निधिपतिको प्रतिनिधिको प्रतिनिधि मात्र भनिएको छ । तर आजको युगका यी आवधिक शासकहरू किन आफैं निधिपति भएको भ्रम पालिरहेछन् ? यस्तो भ्रम मात्र पालिरहेका छैनन् उनीहरू; यो आवधिकतालाई सिंगो जुनी ठान्ने अक्षम्य गल्ती पनि गरिरहेका छन् । यो कोरोना समय आवधिक शासकहरूको निर्लज्ज चटक हेरर बस्न बाध्य छ । यो कारनामाका रचयिताहरूलाई भने इतिहासले पक्कै माफ गर्नेछैन ।

प्रकाशित : वैशाख २८, २०७७ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?