संस्कृति बन्दै बलात्कार- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संस्कृति बन्दै बलात्कार

यो हाम्रो मानसमा यति स्थापित भइसकेको छ, आफैंले यसको अभ्यास गरिरहेको पनि हेक्का हुँदैन ।
श‌ृङ्खला खतिवडा

हालै इन्स्टाग्राम र ट्विटरतिर एउटा महत्त्वपूर्ण विषयबारे चर्चा चल्यो । नेपालमा त्यति प्रचलनमा नआइसकेको ‘रेडिट’ नामक एपमा केही अकाउन्टले नेपाली युवतीहरूका निजी तस्बिर, स्वीकृतिबिना नै, अति अपमानजनक प्रतिक्रियासाथ सेयर गरेका रहेछन् । पब्लिक रहेको त्यस ग्रुपमा नाबालिगदेखि नेपालका केही नाम चलेका युवतीसमेतका तस्बिर थिए । थ्रेडका टिप्पणी पढ्दै जाँदा मेरो आङ सिरिंग भयो । नाबालिगदेखि वयस्क युवासम्मका प्रतिक्रियाहरू, लिक गरिएका सेक्स टेप र नग्न/अर्धनग्न तस्बिरहरू, बिकिनी र फोटोसप गरिएका फोटादेखि सामान्य सोसल मिडिया तस्बिर सबैमा एउटै समानता थियो— यौनेच्छाबारे तुच्छ भाषामा टिप्पणी । ‘ती युवती कति सेक्सी छन्’ वा ‘एक रातको कति लिन्छिन्’ जस्ता । धेरै कुरा यहाँ लेख्न नमिल्ने खालका थिए । माफ पाउँ।


आफ्ना इन्स्टाग्राम प्रोफाइलका तस्बिरहरू त्यहाँ गलत ढंगमा चित्रित भएको पाएपछि एउटा ठूलै जमात त्रसित भयो । नयाँ पुस्ताका महिला, जो समानताका अधिवक्ता र उदाहरण दुवै हौं, जो खुला रूपमा हिँड्छौं, महिला–पुरुष समान साथी बनाउँछौं, समान शिक्षा र अवसर पाएका छौं, अग्रणी स्थानमा रहेर व्यवसाय हाँक्छौं, कहिलेकाहीँ राति रेस्टुराँ र क्लब जान डराउँदैनौं र हिचकिचाउँदैनौं, खुला समाजको प्रतिनिधित्व गर्छौं अनि आफ्ना समकालीन पुरुषहरूबाट पनि त्यही मानसिकताको आशा राख्छौं, हामीलाई रेडिट अकाउन्टले वास्तविकताको खाल्डोमा धकेलिदिएको आभास भयो ।

बलात्कारलाई हामी सधैं एउटै दृष्टिकोणले हेथ्र्यौं, एउटा ‘सिंगुलर स्टयान्ड–अलोन’ घटनाका रूपमा । तर हामीले बिस्तारै बलात्कारलाई एक घटनामा मात्र सीमित नगरी विकृत मानसिकताको उपजका रूपमा खडा गर्दै छौं, संस्कृतिसँग जोड्दै छौं । यस घटनाले मलाई केही महिनाअगाडिको आफ्नो तिक्त अनुभवको सम्झना गरायो । एउटा साहित्यिक सम्मेलनमा हामी महिला सुरक्षासम्बन्धी छलफलमा थियौं । मैले महिलाहरू कोही कतै पनि सुरक्षित नरहेको बताउने सन्दर्भमा, आफैं पनि नाबालिग हुँदा यौन हिंसाको सिकार भएको चर्चा गरेकी थिएँ । बहसको मर्म प्रस्ट थियो— महिला अझै असुरक्षित छन् । भोलिपल्ट नेपालको एउटा ख्यातिप्राप्त पत्रिकामा समाचार आयो, यस्तो शीर्षकसहित— ‘म यौन हिंसाको सिकार भएँ : शृङ्खला’ । यसमा मैले बनाएको छाउपडीसम्बन्धी अछामको वृत्तचित्रबाट निकालेर म कमजोर र पीडित देखिने तस्बिर राखिएको थियो । त्यो समाचार केही अनलाइन मिडियाले पनि हुबहु सेयर गरेछन् । फेसबुकमा त्यसबारे आएका प्रतिक्रिया पढ्दा नेपालमा महिलासम्बन्धी मानसिकता अझै कति अपमानजनक रहेछ भन्ने छर्लंग भयो । तीमध्ये केही टिप्पणीमा लेखिएको थियो— ‘जे भयो राम्रै भयो’, ‘केटी बिगार्ने दुई कुरा : थुतुनो र मुतुनो’, ‘सुनको पक्कै छैन होला, छालाकै होला, नेपालजस्तो देशमा जे भयो ठीकै भयो’, ‘यस्तै हुन्छ, नखरा देखाउँदै हिँडे’सि’, ‘अलि धेरै पैसा भएको व्यापारी फसाउने दाउ होला नि मिस नेपालज्यू’, ‘बाहिर मात्र कि भित्रै छिर्‍यो, प्रस्टै भनिदिए हुन्थ्यो’, ‘त्यति बेला मज्जा आयो होला, अनि भनिनौ, अहिले बाल्यकालको यादको कुरा गछर्यौ’, ‘राम्री छयौ, किन नहुनु र ?’, ‘हजुर बाल्यकालमा यौन हिंसाको सिकार हुनुभएको थियो भने त्यति बेलै बोल्नुपथ्र्यो’, ‘यो त कस्ती नकचरी आइमाई रहिछे’, ‘कुन ठूलो कुरा भयो र ?’ ... ।

म सम्बन्धी गलत समाचारमा तुच्छ प्रतिक्रिया जनाउनेहरूमा मेरा बुबाको उमेरका व्यक्ति, भर्खर बिहे गरेका जवान, एक वर्षकी छोरीका बाबु जसको प्रोफाइल तिनकै नानीका तस्बिरले रंगिएको थियो, मेरी आमाजस्ता महिला लगायत थिए । म झन् स्तब्ध भएँ।

सबै माध्यम गरेर ५०० हाराहारी प्रतिक्रिया थिए होलान्, जसमा ९५ प्रतिशतको धारणा यस्तै थियो । म भित्रैबाट गलें । आफ्नो बाल्यकालको तीतो क्षणमाथि गरिएका तुच्छ टिप्पणीले मन भारी भयो । मलाई थाहा थियो— यो ममाथि मात्र होइन, सम्पूर्ण महिलामाथिको दृष्टिकोण हो र समाजबाट तिरस्कृत हुने डरले धेरैको आवाज दबिएको छ ।

म त्यत्तिमै रोकिइनँ । त्यस्ता प्रतिक्रिया गर्ने हरेकको प्रोफाइल खोलेर हेर्न थालें । मेरा बुबाको उमेरका व्यक्ति, भर्खर बिहे गरेका जवान, एक वर्षकी छोरीका बाबु जसको प्रोफाइल तिनकै नानीका तस्बिरले रंगिएको थियो, मेरी आमाजस्ता महिला । म झन् स्तब्ध भएँ ।

ती कुनै कम्प्युटरपछाडि लुक्ने फेक आईडी थिएनन् । हरेक दिन घर, चोक, कार्यस्थलमा देख्ने– भेट्ने परिवारका व्यक्ति थिए । त्यो हाम्रो समाज थियो । एउटा प्रतिक्रिया अझै मनमा टाँसिएको छ । दुई सन्तानकी आमाले, जसको प्रोफाइलमा महिलालाई आत्मरक्षाको तालिम दिइरहेको तस्बिर थियो, लेखेकी थिइन्, ‘मोडेल १०० प्रतिशत पैसा र फेसनका लागि यस्तो काममा लाग्छन् भने कुन नौलो कुरा भयो र ? निर्मला सम्झिनुस् न ।’ उनले निर्मला पन्तको कुरा गरेकी थिइन् । १३ वर्षीया ती बालिकाको जसको झन्डै दुई वर्षअगाडि बलात्कारपछि हत्या भएको थियो । यस घटनाले त्यति बेला महिला सुरक्षालाई लिएर देशै तरंगित बनाएको थियो । सार्वजनिक आक्रोश व्यापक थियो ।

हामीले बलात्कारमुक्त समाजको कल्पना गर्दैगर्दा महिला उत्पीडन र हिंसालाई सामान्यीकरण गर्दै छौं र परिवर्तनका सपना बुन्दै छौं । हामी बलात्कारीलाई फाँसी दिए यसको समाधान हुन्छ भन्ने सोच्छौं, तर महिलासम्बन्धी हिंसालाई समाजको सामान्य पाटोजसरी स्विकार्छौं । बलात्कार संस्कृति हाम्रो मानसमा यति स्थापित भइसकेको छ कि, आफैंले यसको अभ्यास गरिरहेको पनि हेक्का हुँदैन । हामी महिलालक्षित अपमानजनक गीत सहजै सुन्छौं, आत्मविश्वासी महिलालाई घमन्डी ठान्छौं, आफ्नो विश्वासमा तर्क राख्न सक्ने महिलालाई अहंकारी भन्छौं, आफ्ना साथीसंगीसँग घुम्न जान पति/प्रेमीसँग सल्लाह गर्दैनौं, अनुमति लिन्छौं ।

अपमानजनक प्रतिक्रियादेखि छेडछाडसम्म, यौन उत्पीडनदेखि बलात्कारसम्म सबै एउटै मानसिकताका उपज हुन्, जसले महिलालाई केवल वस्तु ठान्छ । बलात्कार संस्कृतिमा हामी चार तह रहेको पाउँछौं— सामान्यीकरण, पतन, स्वतन्त्रता हनन र स्पष्ट हिंसा । मैले धेरै महिला साथी, दिदीबहिनीसँग यस विषयमा कुरा गर्दा सबैले आफूलाई कुनै न कुनै रूपमा यो पिरामिडमा देख्नुभयो । चौबीस वर्षको उमेरमा मैले यस्तो कटु अनुभव गरिसकेकी छु र म यसमा एक्लै छैन । यो हामी सबैको वास्तविकता हो । अब हामीले प्रतिवाद गर्नुपर्छ । गल्ती उत्पीडनमा पर्ने कुनै पनि महिलाको हुँदैन, गल्ती त्यो मानसिकताको हुन्छ जसले उनको पहिरन, लवाइ–खवाइ, आचरण र कमजोरीमा दोष देख्छ ।

बलात्कार त्यही मानसिकताको उपज हो, जसले महिलालाई पुरुषसमान देखेन, जसले छेडछाडलाई सामान्य रूपमा लियो, जसले वैवाहिक बलात्कारमा विश्वास गरेन र जसले महिलाले आक्रमण आफैं निम्त्याएको ठान्यो । हामीमध्ये कसैले पनि आफूलाई पीडित अथवा पीडकका रूपमा बलात्कार संस्कृतिको पिरामिडमा पायौं भने आफैं मूल्यांकन गरौं र परिवर्तन आफैंबाट सुरु गरौं । बलात्कारीलाई कडा सजायले यो संस्कृतिको हाँगा त काटिएला, तर जरा हाम्रो मानसमा झाँगिएको छ, जुन महिलाप्रति माया र आदरले मात्र हट्न सक्छ ।

(पूर्वमिस नेपाल खतिवडा सामाजिक अभियन्ता हुन् ।)

प्रकाशित : वैशाख २६, २०७७ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्

अधिनायकवादी प्रवृत्ति र लोकतन्त्र

यो ‘कम्युनिस्ट’ सरकारको आयु व्यवस्थापकीय मान्यता र राजनीतिक सिद्धान्तमा भन्दा केही नेताको स्वार्थ सन्तुलनमा टिकेको छ ।
लोकराज बराल

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले मजदुर दिवसका सिलसिलामा दिएको वक्तव्यमा वर्तमान सरकारलाई अस्थिर पार्न सञ्चारमाध्यम लागेको आरोप लगाएका छन् । शासक भएपछि आलोचना खप्न नसक्नेमा धेरै पर्छन् । उनीहरू आफूले गरेको जस्तोसुकै काम पनि सही नै ठान्छन् । यो विचित्रको मनोविज्ञानले अरूका सही सल्लाह या आलोचनालाई आफूप्रतिको अनर्गल प्रचार ठान्छ । व्यक्तिवादी सोच र निर्णय हावी हुन थालेपछि अधिनायकवादी तन्त्रका लक्षण देखिन थाल्छन् । आफूले सोचे अनुसारका जस्तासुकै काम र निर्णयप्रति असहमति व्यक्त भए शत्रु ठान्ने मानसिकता बन्छ ।


लोकप्रिय नाराका भरमा चुनाव जितेपछि धेरै देशका शासकले राजनीतिक महत्त्वाकांक्षा पलाउन थाली अनेक हतकन्डा प्रयोग गरेका उदाहरण भेटिन्छन् । ‘हाउ डेमोक्रेसिज डाई’ पुस्तकमा स्टेभन लेभिस्की र डेनियल जिब्लाटले यसको सविस्तार र रोचक विश्लेषण गरेका छन् । संयुक्त राज्य अमेरिकाजस्तो विश्वको शक्तिशाली लोकतान्त्रिक भनिने देशमा समेत स्थापित संस्था, मून्य र मान्यतामा ह्रास आई व्यवस्था अधिनायकवादी, असहिष्णु र जातीय ध्रुवीकरणतिर अघि बढिरहेको त्यसमा सप्रमाण उल्लेख छ । अमेरिकाको प्रतिपक्षी राजनीतिक दलका नेतालाई लगाइने लाञ्छना र नवलोकतान्त्रिक देशका दलीय सोच र शैलीमा अब धेरै भेद नरहेकाले लोकतन्त्रको भविष्य के होला भन्ने गहन प्रश्न उठ्न थालेको छ ।

नेपालमा राजनीतिक अस्थिरता निम्त्याउने कारकहरूमा सरकारका नेताको भूमिका प्रमुख देखिन्छ । जुन संगठन र नारामा उनीहरू चुनाव जिती सरकार चलाउन थाल्छन्, तिनै संगठन र उद्देश्य बिर्सी व्यक्तिकेन्द्रित राजनीति गर्न थाल्दा समस्या खडा हुन्छ । खड्गप्रसाद ओलीको आजको समस्या त्यही हो । उनी एकातिर चारैतिरबाट घेराबन्दी गरिएको कुरा उठाई शक्ति कायम गर्ने अनेक हतियार प्रयोग गर्न थाल्छन् र अर्कातिर स्थापित व्यवस्थाको आफैं हुर्मत काढ्न पछि पर्दैनन् । संसदीय व्यवस्थाको आवरणमा पाँच वर्ष पाएको जनमतको वकालत गर्दा आफ्ना सम्पूर्ण क्रियाकलापको भने सधैं बचाउ गर्छन् । उनका नजरमा सञ्चार, बुद्धिजीवी र अन्य नागरिक समाजका अगुवा विरोधी हुन् । किनभने उनीहरू, उनका शब्दमा, उनले गरेका कामको पक्षमा बोल्दैनन् र सरकार अस्थिर बनाउन अग्रसर रहन्छन् ।

नेपालको वर्तमान ‘कम्युनिस्ट’ सरकारको आयु व्यवस्थापकीय मान्यता र राजनीतिक सिद्धान्तभन्दा पनि औंलामा गन्न सकिने केही नेताको स्वार्थ सन्तुलनमा टिकेको छ । यस्तो स्वार्थमा अलिकति तलमाथि पर्दा दुईतिहाइ नजिकको सरकार एकै छिनमा धरमरिने गरेको छ । यसको बचावटका लागि बाह्य शक्तिसमेतले चलखेल गर्ने देखिएको छ । तर यो नेपालको राजनीतिको नयाँ रूप होइन । २००७ सालदेखि बाह्य मध्यस्थताका नाउँमा आन्तरिक राजनीति तरंगित हुँदै आएको छ । आफ्ना सबै गल्ती छोप्न विदेशी हस्तक्षेपविरुद्ध राष्ट्रवाद उछाल्ने गरिन्छ । भारत यस्तो हस्तक्षेपको तारो बन्दै आएको र नेपालका राजनीतिक दलहरूको राष्ट्रवाद भारत विरोधमा आधारित भएको हो । ससाना कुरामा पनि चासो राख्ने र प्रभाव पार्ने भएकाले यसलाई ‘सूक्ष्म व्यवस्थापन’ मा संलग्न हुने गरेको भनिँदै आलोचना गरिएको भन्ने छ । आज चीनले यस्तो भूमिका लिन थाली नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक झगडा मिलाउन सक्रिय देखिन थालेको छ । नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध गहिरो बनाउन र सी चिनफिङ विचारलाई अघि बढाउन नेकपा प्रतिबद्ध भएकाले दुवै दलबीचको सम्बन्धमा अनेक नयाँ आयाम थपिने सम्भावना बढेको छ । चीन विश्वशक्तिका रूपमा उदाइरहेको र यसले सानाठूला सबै राष्ट्रमा आफ्नो वर्चस्व कायम गर्ने उद्देश्यले नयाँं रणनीति लिँदै अघि बढिरहँदा नेपालमा नेकपाको एकमना सरकार चलिरहोस् र यसले चीनअनुकूल नीति लिओस् भन्ने चाहना राख्नु स्वाभाविकै हो । यसका लागि चीन अब अझ सक्रिय हुने सम्भावना बढेको छ । गत निर्वाचनमा ओलीले भारतले लगाएको नाकाबन्दीको विरोध गरेका थिए र जनताले त्यसको समर्थन गर्दा उनी चुनाव आफ्नो पक्षमा पार्न सफल भए । झन् माओवादी र एमालेको एकीकरणले नेकपा अत्यधिक बहुमतका साथ सरकार बनाउन सफल भयो । अब यसको स्थायित्वको रक्षा कसरी गर्ने भन्ने समस्या आएको छ, दलभित्रकै कारणले । दलका नेताबीचको स्वार्थको झगडाले नेकपा कमजोर भई सरकार नै धराशायी हुने त होइन भन्ने डरले अनेक दौडधुप हुन थालेको छ । तर, स्वार्थ सन्तुलन गर्ने ठोस आधार नभएकाले यस्तो आन्तरिक कलहले घरीघरी नपिरोल्ला भन्ने ठोस आधार भने देखिएको छैन ।

कुनै पनि मापदण्डमा नेकपा चीनको जस्तो एकदलीय अधिनायकवादी पार्टी हुन सक्तैन । नेपालको राजनीतिक पृष्ठभूमि, भूराजनीतिक अवस्था, उदार सामाजिक बनावट र उदार लोकतन्त्रका कतिपय अवधारणा र तीप्रतिको अभिमुखीकरणले नेपाल एकदलीय चरित्रको अधिनायकवादतिर लाग्न सक्तैन । यसैले पञ्चायती अधिनायकवाद चल्न सकेन, किनभने यस व्यवस्थाको स्थायी चरित्र निर्दलीय हुन सकेन । कुनै नजिकको छिमेकीको हैकम मानी, उसको कठपुतली नभई आफ्ना बुतामा अधिनायकवाद चल्न सक्ने अवस्था छैन । त्यसैले आफ्ना स्वार्थरक्षाका लागि केही झुकाव (टिल्ट) हुन सक्छ तर स्थायी रूपमा एकदलीय व्यवस्था लाद्न सम्भव छैन । कुनै बेला भूराजनीतिक सन्तुलन यताउता होला र नेकपाका नेताहरूमा अधिनायकवादी प्रवृत्ति बढ्ला तर नेकपा अब एकदलीय अधिनायकवादी होला भन्ने आधार पाइँदैन । प्रतिपक्षीहरूले कतिपय कार्यकलापका आधारमा नेकपा अधिनायकवादतिर उन्मुख भएको आरोप लाए पनि, प्रधानमन्त्री ओली र अन्य नेतामा अधिनायकवादका लक्षण देखिए पनि तिनलाई त्यसतिर हिँड्न यहाँको अवस्थाले दिँदैन र यदि ती त्यता उन्मुख भए नै भने पनि जनताले पछार्नेछन् । यसको अर्थ तिनमा अलोकतान्त्रिक चरित्र हावी नभएको भन्ने होइन ।

विश्वव्यापी रूपमा लोकतान्त्रिक परिपाटीमा ह्रास आएको र लोकतन्त्रप्रति कट्टर मानिने कतिपय दलमा समेत अलोकतान्त्रिक प्रवृत्ति हावी भइरहेकाले नेपालका कम्युनिस्टमा आफ्ना पुराना एकदलीय (लेनिनिस्ट) चरित्रप्रति मोह नहोला भन्न सकिँदैन । उनीहरूले अझै पक्का लोकतन्त्रवादी दलका रूपमा देखिने हिम्मत गरी आफ्ना दलको नाउँ गैरकम्युनिस्ट राख्न सकिरहेका छैनन् । त्यसमा पनि नेपालको बहुदलीय व्यवस्थामा बिलकुलै असान्दर्भिक लेनिनवादी सिद्धान्तप्रति अझै उनीहरू मोहित देखिन्छन् । तर लेनिनवादको अवशेष अलिकति चीनमा रहे पनि बहुदलीय व्यवस्था मानिएको नेपालमा त्यसको कुनै तुक छैन । तसर्थ व्यक्तिगत महत्त्वाकांक्षाले मात्र नेता स्वेच्छाचारी हुन खोज्दा दलभित्र र बाहिर प्रतिकार हुन थाल्छ, जसरी आज खड्गप्रसाद ओलीप्रति असन्तोष देखिएको छ । कुर्सीमा बसेपछि मान्छे अन्धो हुन्छ भन्ने कुरामा धेरै सत्यता छ । आज अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि खड्गप्रसाद ओलीसम्म यही मानसिकताले पीडित देखिन्छन् । भएका निकाय पनि उनीहरूकै इसारामा चल्नुपर्ने भएकाले स्थापित संवैधानिक सस्था र मान्यता निष्क्रिय हुँदा रहेछन् । यो लोकतन्त्रका लागि अत्यन्त डरलाग्दो पक्ष हो । व्यक्तिको स्वेच्छाचारिता केही समय चल्ला तर निकाय र संरचना नै तलमाथि परे लोकतन्त्र धराशायी हुने सम्भावना बढ्छ । आज अपहरण भएको भन्दै प्रहरी र अन्य निकायमा किटानी उजुरीसम्म दर्ता हुन नसक्ने अवस्था आउँदा के लोकतन्त्र विकसित हुने वातावरण बन्न सक्छ ? यस्तो प्रवृत्ति आजको ओली सरकारमा मात्र देखिएको होइन, यसपहिलेका सरकार प्रमुखहरू पनि यसबाट मुक्त छैनन् ।

नेपालका दलहरू बेलायतमा जस्तो संसद्भित्रै विकसित हुँदै आएका होइनन् । उनीहरू क्रान्ति (परिवर्तन) सम्पन्न गर्नका लागि निर्मित संगठन हुन् । पछि संसदीय अभ्यासमा सरिक भई भूमिका खेल्ने गरेका हुन् । त्यसमा पनि नेकपाको सिद्धान्त, नीति, कार्यशैली आजको व्यवस्था अनुकूलको होइन । घटना, परिस्थिति र भौगोलिक अवस्थाले उनीहरू उदार लोकतन्त्रमा समाहित हुन पुगेका हुन् । तर अझै पनि यसका नेताको रणनीतिक रुझान कम्युनिस्ट हुने र यथार्थवादी बन्न उदार लोकतान्त्रिक व्यवस्थामा खेल्नुपर्ने भएको छ । परस्पर विरोधी धारणा र गतिविधिमा यो दलको भूमिका देखिएको छ । शक्ति प्राप्त गर्नु यसको मुख्य उद्देश्य भएकाले अब बन्दुकले होइन, ब्यालेट (भोट) ले शक्ति प्राप्त गर्ने खेल सफल भएकाले र यहाँको बाध्यताले नेकपा संसदीय (व्यापक अर्थमा लोकतान्त्रिक) भएको हो । यसले वर्तमान व्यवस्थाको औचित्य स्थापित भएको छ किनभने लोकतन्त्रमा सबै अटाउने र खेल्ने अवस्था रहन्छ । त्यसैले चिनियाँ मोडल नेपालका लागि सम्भव हुँदैन किनभने त्यसमा प्रतिपक्षको भूकिमा रहँंदैन । चीनका आफ्नै पृष्ठभूमिमा त्यो ठीकै होला; नेपालको सम्पूर्ण परिस्थितिमा भने त्यस्तो मोडेल सम्भव छैन । तर लोकतन्त्रलाई कसरी बलियो बनाउने, राजनीतिक दलका नेतामा यसप्रतिको समर्पण दरिलो–भरिलो छ/छैन, स्वच्छ प्रभावकारी जनप्रिय सरकार बनेको छ/छैन भन्ने हेक्का राख्ता मात्र लोकतान्त्रिक सरकारको औचित्य प्रमाणित हुन सक्छ । नत्र गज्याङगुजुङ तन्त्र चलिरहन्छ, जसभित्र राजनीतिक स्थायित्व गौण हुन्छ । आज नेपालको अवस्था त्यस्तै छ ।

प्रकाशित : वैशाख २६, २०७७ ०८:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×