गाउँ बने बन्छ देश

विज्ञान र प्रविधिको बलमा निर्मम तरिकाले प्रकृतिमाथि विजय गर्दा के जितेछौं त ? एउटा जाबो सूक्ष्म कीटबाट भाग्दै हिँड्नुपर्ने !
रामचन्द्र पौडेल

सबैको अन्तिम शरण आफ्नै थलो । पशुपक्षी दिनभरि चारतिर भौँतारिए पनि साँझ आखिर आफ्नै बास फर्कन्छन् । दुनियाँभरि फिँजिन पुगेका नेपालीहरू पनि अहिले कोरोना महामारीका कारण आफ्नै देश फर्कंदै छन् । त्यसमा पनि सहरबजार हैन, आफ्नै गाउँ । आफ्नै थातथलो सुरक्षित ठान्दै, मुन्टो लुकाउने ठाउँ खोज्दै गाउँघरतिरै हान्निँदै छन् । आमाकै छातीमा मुन्टो घुसार्न पुग्ने बालकजस्तै ।

गाउँ बने बन्छ देश

अंग्रेजीमा एउटा शब्दावली छ— ‘ब्लेसिङ इन डिसगाइज’ । अर्थात्, हाम्रै उखान ‘लात्तले हानेको कुकुर टाँडमाथि’ भनेझैं । अथवा, ‘काठ काट्ता अक्षर परे’ जस्तै या ‘कहाँ पोखियो ? भागमा’ भनेजस्तै, घन्चमन्च र कोलाहलपूर्ण सहरबजारबाट अहिले मानिस गाउँतिर ओइरिँदै छन् । यो एक किसिमले हाम्रा लागि वरदान साबित पनि हुन सक्छ ।

कोरोना भाइरस संक्रमण ठूला सहर, अग्ला घर, खचाखच मान्छे, औद्योगिक सभ्यता, मोटरकारहरूको ठेलमठेल र आधुनिक विकासको चकाचौँधबाट सुरु भयो । विकसित युरोप र अमेरिका, नवविकसित मध्यपूर्व हुँदै यो भारतको औद्योगिक र आर्थिक राजधानी बम्बई र दिल्लीसम्म अत्यधिक फैलिएको छ । मान्छे सुरक्षा खोज्न गाउँतिर भाग्दै छन् । अरू महामारी पछौटेपन, अविकास र गरिबी व्याप्त रहेका ठाउँहरूमा फैलने गर्थे । नेपालमा हैजाले सबभन्दा बढी कर्णालीतिर हाहाकार मच्चाउँथ्यो । अहिले त्यसको उल्टो भएको छ ।

विश्वभरि तहल्का मच्चाइरहेको कोरोनाको सामु मै हुँ भन्ने शक्तिहरू निरीह देखिएका छन् । विश्वशक्ति अमेरिका नै लाचार देखिएको छ । विज्ञान र प्रविधिको त्यत्रो उन्नति हायलकायल बनेको छ, किंकर्तव्यविमूढको अवस्थामा पुगेको छ । म सम्झन्छु कवि तथा नाटककार बालकृष्ण समको यो उद्गार— ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ । यही क्रममा म सम्झन्छु महर्षि वेदव्यासलाई, जसको दर्शनले भन्छ— मानिसको बढ्दो आकांक्षा र उर्लंदो महत्त्वाकांक्षालाई बेलाबेला तालु नै झन्कने गरी ठेस लाग्ने गर्छ । पृथ्वीमा सन्तुलन कायम गर्न कुनै न कुनै अवतार अवतीर्ण हुन्छ । महत्त्वाकांक्षी दण्डित हुन्छ । भर्खर दूरदर्शनमा भारतीय राष्ट्रपतिको उक्ति देखें— ‘कोरोनाको कारक हो अति आबादी ।’ र, अहिले पश्चिमाहरूले ‘कन्स्पिरेसी थ्यौरी’ पनि अघि ल्याएका छन् ।

भन्नलाई अलिकति अप्ठ्यारो लाग्छ, यतिखेर मैले विद्यार्थी छँदा पढेको प्रसिद्ध अर्थशास्त्री माल्थसको ‘अप्टिमम थ्यौरी अफ पपुलेसन’ पनि सम्झिरहेको छु— जनसंख्या चुलिएपछि स्रोत–साधन बराबरीमा आउँछ । यता, महात्मा गान्धीको चर्खा र खादी आन्दोलनलाई सम्झँदै, ‘स्मल इज ब्युटिफुल’ का लेखक शुमाकरले भनेका कुराहरूतर्फ पनि मेरो ध्यान गइरहेको छ, ‘पृथ्वीसँग मानिसको आवश्यकता पूर्ति गर्ने जति पनि क्षमता छ, तर मानिसको लालचलाई पूर्ति गर्ने कत्ति पनि क्षमता छैन ।’ त्यो लालच र महत्त्वाकांक्षामा भौँतारिँदै आज मानिस कोरोना प्रकरणसम्म आइपुगेको छ ।

त्यसैले हामीले एकपल्ट सुस्ताएर, एकपल्ट गम खाएर अहिलेसम्मको दौडधुपतिर फर्केर हेर्ने हो कि ? विज्ञान र प्रविधिको बलमा अविचारित र निर्मम तरिकाले प्रकृतिमाथि विजय गर्दा के जितेछौं त ? कहाँ पुगिएछ त ? सोच्ने हो कि ! एउटा जाबो सूक्ष्म कीट कोरोनाबाट भाग्दै हिँड्नुपर्ने, लुक्तै बस्नुपर्ने र आखिर गएर आफ्नै कुनाकन्दरा गाउँठाउँ खोज्दै प्रकृतिकै काखमा मुन्टो घुसारेर सुरक्षित अनुभव गर्नुपर्ने !

सहर सुरक्षित छैनन् । यहाँ प्रदूषित वायुले पृथ्वीको सुरक्षाकवच ओजोनको भित्तो छेड्दै छ । त्यसैले अहिले सुरक्षाको खोजीमा गाउँ फर्केका नागरिकहरूलाई गाउँमै सुरक्षित बस्न दिऔं । तर कोरोना महामारीबाट सुरक्षित हुँदै गर्दा तिनले भोकमरीबाट चाहिँ असुरक्षित हुन नपरोस् ! त्यसको पनि प्रबन्ध गरौं । हाम्रो धरतीसँग हाम्रो भोकको आवश्यकता पूर्ति गर्ने प्रशस्त क्षमता छ । हामीलाई सुख र आनन्द दिने क्षमता पनि छ । त्यसको विकास गर्ने योजना ल्याऔं । रोजगारीको खोजमा सम्पत्तिशाली मुलुकतिर गएका नेपाली पनि त्यहाँबाट फर्काइएका छन् र प्राय: सबै गाउँतिरै गइरहेका छन् । गाउँमै फर्केका छन् । सुनसान बन्दै गएका गाउँहरू पुन: गुलजार बन्दै छन् । अब यी मानिसलाई गाउँमै थाम्न सक्नुपर्छ । यसका लागि राज्यले विशेष कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ ।

गाउँ फर्केका जनतालाई गाउँमै थाम्न किन पनि आवश्यक छ भने, सहरहरूमा बढी जनघनत्वले सहरी जीवनलाई नारकीय र हिँड्नै असम्भव बनाएको छ । अस्वस्थकर बनाएको छ । वातावरण ध्वस्त बनाएको छ । काठमाडौंजस्ता सहरको जनसंख्या नघटाईकन भएकै छैन । नत्र सास फेर्नै गाह्रो हुँदै छ । अब यहाँ केहीले पनि पुग्दैन । पानी लगायतको आपूर्तिसमेत असम्भव हुँदै जानेछ ।

रोजगारीको खोजमा बाहिरिएका नेपाली गाउँघर फर्किरहेका छन्। सुनसान गाउँहरू पुन: गुलजार बन्दै छन्। अब यो जनशक्तिलाई गाउँमै थाम्न सक्नुपर्छ । यसका लागि राज्यले विशेष कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ ।

उता गाउँ रित्तिएकाले उर्वर जमिन बाँझै छन् । सबैतिर झाडी बनिसक्यो । मानिसको कमीले गर्दा गाउँमा बाघ, भालु र बाँदरहरूको रजाइँ चलेको छ । सबैतिर सन्तुलन हराउँदै गएको छ । कृषि उब्जनी कसले गर्ने ? विदेशबाट रोकियो भने के खाने ? त्यसकारण गाउँ पुगेको जनसंख्यालाई गाउँमै स्थापित गर्ने योजना र कार्यक्रम बन्नुपर्छ । त्यति राम्रो हावापानी, सुन्दर र स्वच्छ बसाइ हुँदाहुँदै गाउँ मानिसले सुखसुविधाको खोजीमा छाडेका थिए । हिजो गाउँसम्म पूर्वाधार पुगेको थिएन । आज बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य पुगे पनि गाउँ रित्तिइरहेका छन् । अब यही मौका हो, हिजो पूर्वाधारमा गरिएको लगानीलाई उपयोगमा ल्याउने पनि ।

यसका लागि केही कुरा सोचिहाल्नु, केही कुरा गरिहाल्नु आवश्यक छ । मुख्य कुरा बुझौं— गाउँबाट मान्छे हिजो किन भागेका हुन् ? गाउँमा कुनै सुविधा थिएन । हुँदाहुँदा गाउँमा सुरक्षा भएन । माओवादीका कारण पनि धेरै गाउँघरको घरजम छाडेर हिँडे । अब आज गाउँमा सुरक्षा पनि छ । गाउँमा सबै आधुनिक पूर्वाधार पनि पुगेका छन् । पुगेका छैनन् त केवल रोजगारी, आम्दानीको स्रोत, गुणस्तरीय शिक्षा र स्वास्थ्यसेवा, बस्ती विकास तथा सुधार । गाउँमुखी अर्थतन्त्रलाई प्रोत्साहनको अभाव छ । ‘ग्रामीण जीवन नै मर्यादित र सुखी जीवन हुन सक्छ, गाउँकै स्वच्छ र स्वस्थ हावापानीमा दीर्घजीवन प्राप्त गर्न सकिन्छ’ भन्ने चेतनाको अभाव छ । र, यी सबैभन्दा प्रमुख कुरा, श्रमको सम्मान गर्ने संस्कृतिको अभाव छ ।

गाउँमै रोजगारी र आम्दानीको स्थिति सिर्जना गर्न अहिले हाम्रो हातमा रहेको पहिलो कुरा हो— कृषि क्रान्ति । कृषि क्रान्तिलाई आवश्यक पर्ने आधुनिक कृषि प्रविधि, कृषि औजार, गुणस्तरीय बीउबिजन र मल अनि भरपर्दो सिँचाइ सुविधा र ऋण सुविधा । अनि मध्यस्थको शोषणबाट उन्मुक्ति, सहकारीको राम्रो प्रबन्ध, सुरक्षाका लागि कृषि बिमा र पशु बिमाको सुविधा तथा शीतभण्डारहरूको प्रबन्ध, सब ठाउँमा व्यवस्थित बजारको प्रबन्ध । यति भएपछि किसानले आफूलाई चाहिने अन्न, फलफूल, तरकारी, माछा, मासु, अण्डा मात्र उत्पादन गर्दैनन्, स्वदेश र विदेशका बजारलाई आपूर्ति पनि गर्नेछन् । नयाँनयाँ खोज र अनुसन्धान गरेर समुद्रपारिसम्मै पुर्‍याउन सकिने उच्च मूल्य पाउने कम तौलका वस्तु उत्पादन गरी राम्रो आम्दानी लिन पनि सक्छन् । यसैले कृषि अनुसन्धान र कृषि प्रसारलाई प्रभावकारी बनाऔं ।

कृषि क्रान्तिका लागि राज्यले छिटै कानुन तर्जुमा गरेर आफ्नो जमिन नहुने नागरिकले पनि जमिन प्राप्त गर्ने सक्ने व्यवस्था गर्नुपर्छ । तीमध्ये भूमि बैंकको व्यवस्था अति सहज र सरल हुन सक्छ । गाउँभरि त्यसै रहिरहेका जमिन सरकारले भाडामा लिने, अनि कसले कति जमिनमा काम गर्न चाहन्छ, सुपथ मूल्यमै लामै समयका लागि भाडामा उपलब्ध गराउन सकिन्छ । निश्चित नियम बनाई सरकारी पर्ती जमिनहरूसमेत निश्चित वर्षका लागि भाडामा कमाइखान दिन सकिन्छ । वनको राष्ट्रिय उपयोग नीतिअन्तर्गत ‘लिजहोल्ड फरेस्ट्री’ को व्यवस्था पनि प्रभावकारी रूपमा गर्न सकिन्छ ।

हाम्रा गाउँका आम्दानी र रोजगारीको अर्को आधार हो— ग्रामीण पर्यटन । कोरोना व्याधिका कारण तत्काल यसमा गतिरोध उत्पन्न भएको छ । तैपनि तत्काललाई आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै भविष्यमा यसलाई पुन: आम्दानीको ठूलो आधार बनाउन सकिन्छ । पर्यटन पूर्वाधार खडा गर्ने कुरामा केन्द्रदेखि स्थानीय तहसम्म सबै लाग्नुपर्‍यो । हाम्रा नदीनाला, त्यहाँबाट उत्पादन हुने जलविद्युत्, साना जलविद्युत् अन्य महत्त्वपूर्ण आम्दानीका स्रोत हुन् ।

त्यस्तै, आफ्नै कच्चा पदार्थमा आधारित उद्योगहरू, कृषिजन्य र वनजन्य उद्योग, खनिज उद्योग तथा ससाना लघु उद्योग, औषधि उद्योग, हस्तकलाका निर्यातयोग्य सामग्री उत्पादन आदि अनेक उद्योग–व्यवसायलाई गाउँ–गाउँमै पुर्‍याउन सकिन्छ । रोजगारी दिन सकिने असंख्य क्षेत्र छन् हाम्रो प्रकृतिमा । आवश्यकता छ, शिल्पकला तालिम र अभिमुखीकरणको ।

अर्कातर्फ, राज्यका अहिलेसम्म निर्माण र स्थापना भएका संस्थाहरूलाई प्रभावकारी बनाउनुपर्छ । गाउँ–नगरपालिका, सहकारी र सामाजिक तथा गैरसरकारी संस्थाहरूलाई प्रभावकारी अनुगमनका साथ क्रियाशील बनाउनुपर्छ । अहिले गाउँ फर्केको जनसंख्यालाई गाउँमै व्यवस्थापन गर्न सकिन्छ, गाउँमै थमौती गर्न सकिन्छ । राष्ट्रको सम्पूर्ण शक्ति त्यतै उन्मुख गराऔं । शासनमा बस्नेले संकीर्ण सोच त्यागेर देश सबैको हो भन्ने सोची सबैलाई यथोचित सहभागी गराएर एउटा महान् राष्ट्रिय अभियान अघि बढाऔं । स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिऔं । रोग र भोकको सामना गरौं । प्रकृतितिर फर्कौं । प्रकृतिसँग मिलौं र प्रकृतिसँगै तालमा ताल मिलाएर सुखी र सुरक्षित जीवन प्राप्त गरौं । श्रमको सम्मान गरौं, उद्यमशील बनौं । गाउँ बनाऔं, गाउँ–गाउँमै बसौं । जय नेपाल !

प्रकाशित : वैशाख २५, २०७७ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?