१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

अब युवाकै भर

परम्परावादी र सिर्जनशीलता नभएको नेतृत्वबाट राष्ट्र निर्माणमा युवाको सक्रिय सहभागिता बढाउन सम्भव देखिँदैन ।
गोविन्दराज पोखरेल

तीसको दशकको मध्यतिर बीपी कोइरालाले युवालाई लक्षित गरी एउटा सन्देश दिनुभएको थियो, ‘यदि नेपाली जातिको आफ्नो विशेष नियति छ भने त्यसको निर्माण वर्तमान तरुण वर्गले मात्र गर्न सक्छ ।’ त्यतिबेला बीपीले निरंकुश शासन हटाई लोकतन्त्र स्थापना गरी नेपाललाई नयाँ युगमा प्रवेश गराउने सन्दर्भमा त्यस्तो भन्नुभएको थियो । अहिले अलि फरक सन्दर्भमा पनि यसको अर्थ छ । कोरोना भाइरसको महामारीले विश्वको आर्थिक, सामाजिक र राजनीतिक परिदृश्यमा धेरै नसोचेको परिवर्तन ल्याउने देखिएको छ ।

अब युवाकै भर

मुलुकमा एकदलीय व्यवस्था र राजतन्त्रको अन्त्य भए पनि राज्य चलाउनेको संस्कार, शैली, क्षमताप्रति नागरिकले भरोसा गर्न सकेका छैनन् । त्यही कारण, कोरोनाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रभावको सम्बन्धमा आ-आफ्नो हिसाबले आकलन गरेर धेरै देशवासी चिन्तित छन् । उनीहरूले असुरक्षित महसुस गरेका छन् र देशको भविष्यलाई उज्यालो मार्गमा डोर्‍याउने सबल नेतृत्वको चाहना राखेका छन् ।

उचित व्यवस्थापन गर्न नसके कोरोनाको प्रभावका कारण देशको अवस्था झनै बिग्रने हो कि भन्ने आकलन केही तथ्यांकका आधारमा गर्न सकिन्छ । मुलुकको जनसंख्याको झन्डै आधा हिस्सा १६ वर्षदेखि ५० वर्षसम्मका नागरिक छन् । यीमध्ये करिब २६ लाख देशमै बेरोजगार छन् । ४१ प्रतिशत रोजगारयोग्य जनशक्ति अनौपचारिक क्षेत्रमा काम गर्छन् । ती कुनै पनि सामाजिक सुरक्षामा आबद्ध भएका छैनन् र अहिले धेरैजसो बेरोजगार नै भएका छन् । उत्पादनशील उमेरका मानिस ३९ प्रतिशत अर्धबेरोजगार छन् । भारतबाहेक अन्यत्र देशमा जाने करिब ४५ लाखमध्ये ७५ प्रतिशत केही विशेष सीप नलिई बिदेसिएका छन् र तिनको ८० प्रतिशत १८-३५ वर्षका छन् । यिनको रोजगारी पनि कोरोना महामारीले त्यताको आर्थिक अवस्था कमजोर हुँदै जाँदा धरापमा परेको छ । विदेशबाट फर्किएर नेपालमै बसेका १५ प्रतिशत जति पनि बेरोजगार नै छन् ।

लकडाउनले बिथोलिएको अर्थतन्त्रभित्र धेरैको मुख्य ध्यान हात-मुख जोर्नेतर्फ जानेछ । देशको कृषिमा आत्मनिर्भर अनुपात ७४ प्रतिशत मात्र छ । पहिल्यैदेखि खाद्यान्न अपुग हुने ३६ जिल्ला छन् । २० लाख परिवारसँग औसतमा आधा हेक्टरभन्दा कम जमिन छ । हामीले जति नै समृद्धिको नारा लगाए पनि ४१ प्रतिशत जनतालाई आवश्यक मात्रामा चाहिने क्यालोरी पुगेको छैन । झन् ५२ प्रतिशत परिवार जो प्रायः ग्रामीण क्षेत्रमा बस्छन्, तिनलाई आफ्नो उत्पादनले बाह्रै महिना खान पुग्दैन । खाद्यान्न अपुग भएमा सबभन्दा बढी असर बच्चा र महिलामा पर्छ । अहिले पनि करिब चारमध्ये एक बच्चाको तौल कम छ, त्यस्तै तीनमध्ये एक बच्चा कुपोषणले पीडित छ । त्यस्तै, दुईमध्ये एक जनामा रगतको कमी छ । पौष्टिक खानाका लागि खाद्यान्न फलफूल, तरकारी, मासु र दुग्धपदार्थ आयात गर्नमा हामीले अहिले नै वार्षिक करिब २ खर्ब खर्च गरेका छौं जुन धेरै अर्थमा विदेशबाट आउने पैसाले धानेको थियो । प्रत्येक तीनमध्ये एउटा घरबाट कोही न कोही वैदेशिक रोजगारीमा गएको छ । र, औसत नेपाली परिवारले आफ्नो कमाइको आधाभन्दा बढी खानामा मात्रै खर्च गर्छ ।

ठूलो संख्यामा युवाहरू बिस्तारै बेरोजगार भई घर फर्किने हुँदा र कृषि उत्पादन प्रचुर नभएको अवस्थामा समाजमा मुख्यतया ३ प्रकारका परिदृश्य देखिनेछन् । पहिलो, धेरै जनतासित जीविकोपार्जनका लागि पैसा नहुन सक्छ र हात-मुख जोर्न उनीहरूले राहतको सहारा लिनुपर्नेछ । दोस्रो, घरफिर्तीले बढेको जनसंख्यालाई उपलब्ध खाद्यान्नले धान्न सक्ने छैन । र तेस्रो, भोको पेटका बेरोजगार युवाले राजनीतिक र आर्थिक क्षेत्रमा विभिन्न विकल्प खोज्नेछन् ।

यसै पनि मुलुकमा प्रायःजसो तरकारी र फलफूल उत्पादन हुने ठाउँबाट बजारसम्म पुग्दा औसतमा ३०-४० प्रतिशत नास हुने गर्छ । अहिले झन् लकडाउनका कारण कुखुरा, दूध, तरकारी, फलफूललगायत अन्य कृषि उत्पादनहरू खपत हुने ठाउँमा पुग्न नसक्दा नास भएका छन् । कति मानिस गाउँ फर्किएकाले पनि सहरमा किसानको उत्पादन खपत कम भएको छ । यसबाट किसान र उत्पादन गर्नेहरूमा आर्थिक बोझ थपिएको छ ।

कोरोनाको असर स्वास्थ्यका हिसाबले पाको उमेरकालाई धेरै परे पनि आर्थिक र सामाजिक दृष्टिले करिब आधा जनसंख्या ओगटेका युवालाई नै पर्नेछ ।

मुलुकमा विप्रेषण भित्रिने कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत र मलेसियालगायतमा मुलुकमा पनि कोरोनाको संक्रमणले अर्थतन्त्र प्रभावित भएको छ । यस्तै, भारतमा काम गर्ने नेपालीको ठूलो संख्या बन्दाबन्दीपछि रोजगारी गुमाएर घर फर्किएका छन् वा फर्किन आतुर छन् । आर्थिक गतिविधि कम भएपछि औपचारिक या अनौपचारिक रूपमा ती देशका सरकारहरूले पनि विदेशी श्रमिकलाई लामो समयसम्म सजिलै स्वागत गर्ने छैनन् । कोरोनाको संक्रमणको अवधिका बारेमा थुप्रै मत बाहिर आएका छन्, यकिन नभए पनि धेरै क्षेत्रमा यसको असर अलि लामै रहन सक्छ । यसकारण थप मनिस बेरोजगार हुँदै जानेछन् । कतिपयसित अहिले नै खाद्यान्न किन्ने पैसा कमी हुँदै गएको छ । भविष्यमा झन् समस्या हुनेछ । ग्रामीण क्षेत्रमा बेरोजगारको संख्या बढ्ने, खाद्यान्न उत्पादनले नपुग्ने र आयात कम हुने हुँदा भोकमरी लाग्न सक्नेछ । अनि विदेशमा तुलनात्मक रूपमा राम्रो आम्दानी गरेका युवा गाउँघरमा बेरोजगार र भोकै बस्दा राजनीतिक अस्थिरता पनि आउन सक्ने देखिन्छ । यो पाटोको आकलन अहिलेको नेतृत्वबाट भएको देखिँदैन । यसको सम्बोधन हुन नसकेमा यसबाट अनेकौं सामाजिक, आर्थिक एवम् राजनीतिक समस्याहरू सिर्जना हुने सम्भावना रहन्छ ।

कोरोनाको असर स्वास्थ्यका हिसाबले पाको उमेर भएकालाई धेरै परे पनि आर्थिक र सामाजिक रूपले करिब आधा जनसंख्या ओगटेका युवाहरूलाई नै पर्नेछ । ग्रामीण क्षेत्रमा कृषिलाई आधुनिकीकरण गर्ने, विदेशबाट सीप सिकेर आएकाहरूको गरिखाने ऊर्जालाई गति दिने, गाउँको उत्पादनलाई सहरसँग जोडेर साना तथा मझौला उद्योग प्रवर्द्धन गर्ने, हरेक आर्थिक र सामाजिक गतिविधिलाई आधुनिक प्रविधिमा गाँस्ने र प्रविधिको उच्चतम प्रयोग गरेर उत्पादन र उत्पादकत्व बढाउने अनि देशको साधन-स्रोत प्रयोग गरेर युवाहरूलाई स्वरोजगार हुनतर्फ आकर्षित गर्ने काम सरकारले अविलम्ब गर्नुपर्ने देखिन्छ । र, समाजका हरेक पक्षमा सुशासनको अनुभूतिको चेतना र चाहना जगाउने काम युवाहरूले गर्नुपर्नेछ । आयात प्रतिस्थापन गर्न उत्पादन बढाउने र देश विकासका हरेक आयाममा वातावरणमैत्री संस्कार विकास गराउने काम अबको अर्को चुनौती हो ।

कोरोनाको संक्रमणलाई ध्यानमा राख्दै युवाहरू वा बेरोजगार समूहलाई परिचालन गरी अहिले नै कृषि क्षेत्रमा उत्पादन बढाउन सकिन्छ । प्रशोधन, निर्माण सामग्रीको उत्पादन, ढुवानी, स्थानीय स्तरमा बन्दाबन्दी गरी निर्माण कार्य थालनी र उद्योगहरू सञ्चालन गर्न सकिन्छ । व्यापार, शिक्षा र स्वास्थ्यलगायतका सेवा क्षेत्र, कृषि उत्पादनको बजारीकरण, मौसमलगायतका अन्य जानकारी र विभिन्न कच्चा पदार्थ उपलब्ध गराउन डिजिटल प्रविधिको व्यापक प्रयोग गर्न सकिन्छ ।

विदेशमा रोजगारीमा जाने वा पलायन हुने क्रम अब कम हुनेछ । बुद्धिमानी, परिश्रमी र सिर्जनशील धेरै युवा अब नेपालमै बस्नेछन् । देश विकासको क्रमलाई द्रुत रूपमा अघि बढाउन राज्यभित्र र बाहिरका संरचना र संस्थाहरूको क्षमता अभिवृद्धि गर्नतिर आ-आफ्नो ठाउँबाट युवाहरूको ध्यान जानुपर्ने हुन्छ । आधुनिक समाजले दिएको खुला बजार अर्थतन्त्रमा आधारित समृद्धि र उदार लोकतन्त्रले दिएको सामाजिक र राजनीतिक स्वतन्त्रतामा अहिलेको कोरोनाको प्रकोपले समाजको एउटा वर्गलाई प्रश्न उठाउने वातावरण सिर्जना गरिदिएको छ । गुणस्तरीय स्वास्थ्य, शिक्षा, यातायात र स्वच्छ वातावरणको पहुँच गराउने कुरामा राज्यले गाउँदेखि सहरसम्म नेतृत्व लिनैपर्छ । र, अन्य उत्पादन र आपूर्ति सरकारको नियमनमा निजी क्षेत्रले गर्ने भन्ने सैद्धान्तिक पक्षलाई मनन गर्दै युवाशक्तिलाई परिचालन गर्नुपर्छ ।

परम्परावादी र सिर्जनशीलता नभएको नेतृत्वबाट राष्ट्र निर्माणमा युवाको सक्रिय सहभागिता बढाउन सम्भव देखिँदैन । अहिले झन्डै दुईतिहाइ बहुमत ल्याएको र करिब ५ हजार दिन सत्तामा सहभागी भई अनुभव बटुलेको पार्टीले बनाएको वर्तमान सरकारको व्यवस्थापकीय क्षमताको कमी हेर्दा युवाहरूमा निराशा छाउनु स्वाभाविक हो । किनभने, केही करोडको सामग्री सहज रूपमा खरिद गर्न नसकेर सुरक्षा निकाय गुहार्ने, पार्टी फुटाउने तथा राजनीतिक अस्थिरता ल्याउने अध्यादेश ल्याउने जमर्को गरी अलोकतान्त्रिक कार्य गर्न उद्यत हुने र आर्थिक कुशासनलगायतका चरित्र हेर्दा सरकारसित सन्तुष्ट हुने आधार छैन ।

यसअघि २०५२ देखि २०७२ सम्मका हिंसात्मक राजनीतिक आन्दोलनले समावेशिता र संघीयतालगायतका केही राजनीतिक उपलब्धि दिए पनि मुलुकको आर्थिक-सामाजिक रूपान्तरण गर्न सकेको छैन । त्यसैले अहिलेको परिवेशबाट पीडित युवाले देशको सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनको नेतृत्व आफैं लिनुपर्ने हुन्छ । अन्यथा लेखक पल कोलिएरले भनेजस्तै गरिबीमा हिंसात्मक आन्दोलन गर्न उक्साउन सजिलो छ । किनभने, पैसा र लोकरिझ्याउने स्वप्नदर्शी नाराले गरिबी सस्तैमा किन्न सकिन्छ, जुन नेपालमा देखिँदै आएको छ । हिंसात्मक आन्दोलनले उब्जाउने सामाजिक, राजनीतिक र आर्थिक संक्रमणको सिकार युवा स्वयं नै हुनेछन् जसरी यसअघि पनि नेपाली पटकपटक भइरहेका छन् ।

कोरोनाको आर्थिक, सामाजिक र राजनीतिक प्रभाव झेल्ने युवाहरूले नेपालको समृद्धि स्वतन्त्रता, समानता र सुशासनमा आधारित हुनुपर्छ भन्ने मान्यता राख्नुपर्छ । ठूलो राजनीतिक त्याग गरेको भए पनि पुरानो पुस्ताबाट लामो संक्रमणपछि ल्याइएको संविधानको इमानदारीपूर्वक कार्यान्वयन हुन सक्दैन । देश न त साँघुरो राष्ट्रवादबाट बलियो बनाउन सकिन्छ न त निर्दयी र आसेपासे चरित्र बोकेको अर्थतन्त्रबाट समाजका हरेक वर्गको उत्थान गर्न सकिन्छ । न त तानाशाही चरित्रको शासनबाट शान्ति, सद्भाव र समाजको सिर्जनशीलतालाई बढावा दिन सकिन्छ । तसर्थ, तरुण वर्गले नै परिवर्तनको शक्ति बनेर त्यसको परिपक्व नेतृत्व दिने क्षमता राख्नुपर्छ । बीपीले भनेजस्तै, तरुण वर्ग हाम्रो समाजको त्यस्तो प्रभावयुक्त माध्यम हो जसद्वारा वर्तमान ऐतिहासिक आदर्शको प्राप्ति नेपाली जातिले गर्न सक्छ ।

प्रकाशित : वैशाख २३, २०७७ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?