१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

वैदेशिक रोजगारीबाट सबै नेपाली फर्के भने...

चेतन अधिकारी

नेपालको ठूलो युवा जनसंख्या रोजगारीका लागि आश्रित भएका खाडी देशहरूले कोरोना महामारीका कारण काम बन्द गरेर मजदुरलाई आफ्नै मुकाममा बन्दाबन्दी गरेर राखेयता नेपाली समाजमा त्यसको असर देखिन थालेको छ ।

वैदेशिक रोजगारीबाट सबै नेपाली फर्के भने...

खाडीका नेपाली कोठाभित्रै थुनिनुपर्दाको पहिलो असर नेपालको अर्थतन्त्रमा देखिनेछ । कोरोना कहर बढ्दै गए कतिपय सरकारले काम नगरेका दिनको तलब नदिने घोषणा गरिसकेका छन् । रेमिटान्सले चम्केका नेपाली घरआँगनमा आकाशमा झैं कालो बादल मडारिन थालेका छन् । कोरोना असर लम्बिँदै जाँदा ती देशले रोजगारीबाट निकाल्न सक्छन्, जसले गर्दा हाम्रो ग्रामीण अर्थतन्त्र एकाएक ठप्प हुनेछ ।

खाडी देशहरूले नेपालीका लागि जब २०५२-५३ सालदेखि रोजगारीको ढोका खोले तब नेपालीका घरआँगनमा रेमिटान्सको प्रवेश सुरु भयो । सशस्त्र द्वन्द्व बढेसँगै खाडी देशमा श्रम बेच्न नेपाली युवाहरू लस्कर लाग्दै गए । खेतबारी बाँझिए पनि रेमिटान्सका कारण घरगाउँमा भोकमरी लागेन । दूरदराजमा सडक सञ्जालको विकास हुँदै जानु र घरघरमा श्रीमान् र छोराहरूको परिश्रमको कमाइ पुग्दै जानुले ग्रामीण जीवनशैली बदलिदियो । गाउँबाट सहर, पहाड र हिमालबाट तराईतर्फको बसाइँसराइ तीव्र भयो । यो असन्तुलित मानव चलायमानताले वर्षौंदेखिको देशको जनसांख्यिक सन्तुलनलाई पनि एकदमै खलबल्याइदियो । बसाइँसराइको यस्तो तीव्रताले हिमाल र पहाडका जिल्लाको जनसंख्या घट्दै गयो, जसले गर्दा पहाडका खेतबारी बाँझै रहे । जनसंख्या घट्नाले निर्वाचन क्षेत्र पनि घटे । सरकारी कोषबाट जाने अनुदान घट्यो ।

अबको सम्भावित दृश्य

कोरोना महामारीका कारण विश्वकै अर्थतन्त्रमा व्यापक क्षति पुगेको छ । यो क्रम अरू बढ्दै छ । कैयौं देशका ठूला रोजगारदाता कम्पनीहरू बन्द हुने अवस्थामा छन् । अर्कातिर, शिथिल अर्थतन्त्रका कारण खाडी देशहरूले अन्य देशमा आपूर्ति गर्ने वस्तु तथा सेवाको मागमा उल्लेख्य गिरावट आउनेमा दुईमत छैन । यसले गर्दा खाडीमा काम गरिरहेको ठूलो संख्याका नेपालीहरूले रोजगारी गुमाउनेछन् । यस्तोमा खाडी र मलेसियामा कार्यरत करिब ३५ लाख नेपाली युवामध्ये अधिकांश स्वदेश फर्किनेछन् । यसले नेपालको जनसांख्यिक सूचकमा व्यापक बदलाव ल्याउने प्रस्टै छ ।

२०६८ सालको जनगणनामा १९ लाख ७१ हजार जनसंख्यालाई घरमा अनुपस्थितको सूचीमा राखिएको थियो । तीमध्ये अधिकांश १९ देखि ५४ वर्ष उमेर समूहका थिए । तर वैदेशिक रोजगार विभागको अनुमानअनुसार, वैधानिक बाटोबाट विदेश गएका नेपालीको करिब ४६ लाख छ । ती नेपाली एकैपटक रोजगारी गुमाएर फर्किए भने देशमा एकपटक हलचल मच्चिन्छ । लामो समयदेखि सुनसान भएका गाउँहरू गुलजार हुनेछन् । युवाको अभावमा निस्ताएका गाउँहरूमा सुरुसुरुमा खुसियाली छाउनेछ । तर, विदेशबाट ल्याएको पैसा सकिएपछि ती युवाले के गर्लान् ? उनीहरूले रोजगारी खोज्नेछन् ।

भनेजस्तो नभएमा युवाहरूमा वितृष्णा सुरु हुन्छ । तिनको असन्तुष्टिलाई वैकल्पिक शक्तिहरूले सरकार र व्यवस्थाकै विरुद्ध पनि प्रयोग गर्ने खतरा हुन्छ । जसरी माओवादीले अभाव, बेरोजगारी, अधिकारको विभेदजस्ता मुद्दा चर्काएर आफ्नो आन्दोलनलाई उचाइमा पुर्‍याएको थियो, त्यसैगरी यी युवाको असन्तुष्टिलाई ऊर्जाका रूपमा कसैले प्रयोग गर्ने

सम्भावनालाई नकार्न सकिँदैन ।

एउटा राम्रो अवसर

खाडीको क्वारेन्टिनमा बसेका केही गाउँले साथीभाइले पंक्तिकारलाई बताएअनुसार, रोजगारी सुचारु हुने आस मर्दै गएको छ । कतार लगायतले त गत वर्षदेखि नै नेपाली कामदार लिनलाई उल्लेख्य मात्रामा कटौती गरेको थियो र त्यहाँ रहेका नेपाली युवाहरूले स्वदेश फर्केर केही उद्यम गर्ने योजना बनाइरहेका थिए ।

अप्रत्याशित रूपमा स्वदेश फर्किनुपरे पनि युवाहरूमा केही सीप त हुने नै छ । समूहमा काम गर्ने बानी परेका ती युवाले तत्कालै वैकल्पिक रोजगारीको सम्भावना नरहेपछि कृषिलाई व्यवसायका रूपमा ग्रहण गर्नेछन् । दोस्रोमा पर्यटन रोज्नेछन् । त्यसपछि केहीले प्राविधिक र अन्य व्यवसायलाई रोज्नेछन् । विगतमा भन्दा यसपटक यस्ता व्यवसायहरूमा युवाहरूको लगाव किन पनि देखिन्छ भने, उनीहरूले यसै व्यवसायबाट परिवार पाल्नुपर्ने र अर्थोपार्जन गर्नुपर्ने बाध्यकारी अवस्था हुनेछ । र, उनीहरूले बिस्तारै वैदेशिक रोजगारीलाई प्राथमिकताबाट टाढा राख्नेछन् ।

यस्तो मानसिकता बोकेर फर्केका युवाहरूलाई सरकारले भरपूर उपयोग गर्न सक्छ । यिनैले खाडी मुलुकलाई समृद्ध बनाए । आफ्नै मुलुकलाई समृद्ध बनाउन तिनलाई प्रयोग गर्न सरकारले खास नीति र कार्यक्रम बनाउनुपर्छ । युवा जाँगरको अभावमा बाँझिएका खेतबारीलाई हराभरा बनाउनुपर्छ । पहाड तथा दुर्गम क्षेत्रमा हावापानी सुहाउँदो खेतीपाती गर्न तिनलाई प्रोत्साहन गर्नुपर्छ ।

त्यसका लागि कृषि औजार किन्न अनुदान, मल बीउमा अनुदान, सिँचाइको प्रबन्ध, ठूलो क्षेत्रफल र ठूलै समूहमा खेती किसानी गर्न प्रोत्साहन गर्नुपर्छ । प्रधानमन्त्री केपी शर्मा ओली पटकपटक दोहोर्‍याउने गर्छन्, ‘हामी पाँच लिटर दूध उत्पादन गरेर बिक्री हुँदैन, के गाईपालन गर्नु भन्छौं । एक डोको सिमी फलाएर बिक्री नै हुँदैन, किन सब्जी खेती गर्नु भनेर क्यारेमबोर्ड खेलेर बस्छौं । त्यसो होइन । हामीले हरेक उत्पादन ठूलो मात्रामा गर्नुपर्छ ।

किन्नका लागि ग्राहक गोठगोठै र बारीका गरागरामा पुग्नेछन् । बजारको अभाव हुँदैन । ट्रकका ट्रक सिमी फलाउनुहोस्, तिनै खाडी देशका व्यापारी तपाईंका बारी आउनेछन् ।’ प्रधानमन्त्रीको यो भनाइलाई अब व्यवहारमा उतार्न सरकारले त्यसैअनुसार नीति बनाएर कार्यान्वयन गर्नुपर्छ । कृषिलाई परम्परागत होइन, आधुनिक र मेसिनीकरण गरेर थोरै श्रमबाट धेरै उत्पादन दिन सक्नुपर्छ, जसले गर्दा लागत कम हुन्छ ।

जब वैदेशिक रोजगारीबाट युवाहरू घर फर्किन्छन्, रेमिटान्सका भरमा सहरमा अस्थायी बसाइँ सरेका तिनका परिवारहरू पनि गाउँ फर्किनेछन् । त्यसपछि गाउँमा पुरानो खुसी पनि फर्कनेछ । गाउँहरू हिजोजस्तो दुर्गम, यातायात र सञ्चारविहीन छैनन् । यसले गर्दा ग्रामीण र कृषि पर्यटनको सम्भावना पनि उत्तिकै हुनेछ । खासगरी सामूहिकता र सहकारीका माध्यमबाट नेपालको ग्रामीण पर्यटनको प्रवर्द्धन गर्न पनि तिनैको अनुभव काम लाग्नेछ । विदेशमा ‘हस्पिटालिटी’ को महत्त्व बुझेका तिनले गाउँमा पैदलमार्ग, परम्परागत एवं ऐतिहासिक स्थल, ताल, खोला, झरना आदिलाई पर्यटन केन्द्र बनाउन सक्छन् । स्थानीय परिकार र संस्कृतिको स्वादमा होम स्टेहरू सञ्चालन गर्न सक्छन् । उनीहरूमा उत्साह भर्न तीनै तहका सरकारले सहुलियत ऋणका केही प्रबन्ध गरिदिनुपर्छ, जसरी अहिले संघीय सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवाहरूले उद्यम गर्न चाहेमा १० लाखसम्मको ऋण सहुलियत दिएको छ । यसलाई सबै सरकारले गच्छेअनुसार अनुकरण गर्नुपर्छ ।

यस अवस्थामा धेरैको रोजाइ गाउँ हुन्छ नै । रित्तिएका गाउँका विद्यालयहरूमा विद्यार्थी भरिनेछन् । मतदाताको अभावमा गुमेका हिमाली र पहाडी जिल्लाका निर्वाचन क्षेत्रहरू क्रमशः फर्कनेछन् । सबै युवा उद्यममा लागेपछि गाउँमा दिगो आर्थिक गतिविधि हुनेछ ।

प्रकाशित : वैशाख १९, २०७७ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?